विद्युत आपूर्ति : प्राधिकरण : ९४६७ मे.वा.घन्टा / निजी क्षेत्र : १८६८६ मे.वा.घन्टा / आयात : १३३४ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९४८७ मे.वा.घन्टा/ उच्च माग : १४२८ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

निशेधाज्ञा प्रभावले चार्जिङ स्टेसन निर्माणमा ढिलाइ

२०७८ जेठ २५

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमणको जोखिम उच्च भएपछि लगाइएको निशेधाज्ञा प्रभावले उपत्यकासहित देशभरमा ५० चार्जिङ स्टेसनको निर्माण सुरु गर्न ढिलाइ भएको छ । निशेधाज्ञामा चार्जिङ स्टेसन निर्माणका लागि आवश्यक उपकरण चीनबाट आउन नसक्दा काम सुरु गर्न ढिलाइ भएको हो ।

जडान हुने उपकरण आउन नसकेकाले निशेधाज्ञा नखुलुन्जेल निर्माण सुरु गर्न सकिने अवस्था नरहेको आयोजना प्रमुख सागरमणि ज्ञवालीले बताए । ‘यति बेला काम सुरु भइसक्नु पर्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘चार्जिङ स्टेसनमा जडान हुने उपकरण आयात हुन नसकेकाले ढिलो हुन पुग्यो ।’

निशेधाज्ञा खुले लगत्तै उपकरण आयात गरेर काम सुरु गर्ने योजना रहेको पनि उनले बताए । चार्जिङ स्टेसनमा जडान हुने उपकरण चीनमा उत्पादन भइरहको उनले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजना अन्तर्गत उपत्यकासहित देशभर ५० सबस्टेसन निर्माण हुँदैछन् । चार्जिङ स्टेसन निर्माण गर्न चीनको वाङबाङ डिजिटर इनर्जी कर्पोरेशन लिमिटेसँग ठेक्का सम्झौता भइसकेको छ ।

ठेक्का सम्झौताअनुसार १ वर्षभित्र सबै चार्जिङ स्टेसन निर्माण पूरा गरी सञ्चालन गर्नुपर्नेछ । निशेधाज्ञा प्रभावले काम सुरु गर्न ढिलाइ भइरहे पनि सम्पन्न गर्ने तालिका परिवर्तन नहुने ज्ञवालीले दाबी गरे ।

चार्जिङ स्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको ५ वर्षसम्मको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने सम्झौता छ । ५० वटै चार्जिङ स्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमता (७१०० किलोवाट) को चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित ३ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट प्राधिकरणले जनाएको छ । सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड तथा मोबाइल एपमार्फत सवारी साधन चार्ज गरेको बिलको भुक्तानी गर्नुपर्नेछ । 

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमता (७१०० किलोवाट) को चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान हुनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।

३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन निर्माण गर्न एसियाली विकास बैंकले ऋण लगानी गरेको छ । ५० मध्ये उपत्यकामा ७ वटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । यसबाहेक पनि बागमति प्रदेशमा १३ वटा चार्जिङ स्टेसन निर्माण गरिनेछ । उपत्यका बाहिर मलेखु, बिपि राजमार्ग (सिन्धुली), हेटौंडा, भरतपुर, मुङलिन/कुरिनटार र बनेपामा चार्जिङ स्टेसन राखिनेछ ।

यस्तै, प्रदेश–१ मा भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा गरी ५ स्थानमा चार्जिङ स्टेसन निर्माण हुने उनले बताए । प्रदेश–२ मा वीरगन्ज, सिमारा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजबिराज गरी ७ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिने छ ।

गण्डकी प्रदेशमा पनि ६ वटा चार्जिङ स्टेसन निर्माण हुने उनले बताए । यो प्रदेशमा नवलपुर (पूर्वि नवलपरासी), दमौली, स्याङ्जामा १/१ वटा तथा पोखरामा ३ चार्जिङ स्टेसन निर्माण हुने प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेश, कर्णाली र सूदुर पश्चिम प्रदेशमा क्रमशः ८, १ र ३ वटा गरी १२ चार्जिङ स्टेसन निर्माण हुनेछन् । लुम्बिनीमा नेपालगन्ज, भालुवाङ, बुटवल (३), दाङ र बर्दघाट/ सुनवल (२) मा चार्जिङ स्टेसनको संरचना राखिने भएको छ । कर्णालीको सुर्खेतमा एउटा तथा सूदुरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ ।

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit