म्याग्दी । म्याग्दीमा पछिल्लो १० वर्षयता कूल २८६ मेगावाट क्षमताका ९ वटा आयोजना निर्माण पूरा भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । थप ६२.५ मेगावाटका २ आयोजना निर्माण सकेर यसै वर्ष राष्ट्रिय प्रणालीमा जोडिने तयारीमा छन् । कुल २८२.२५ मेगावाट क्षमताका ९ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । जिल्लामा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेसन निर्माण भइसकेको छ ।
१३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छ । सबस्टेसन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेको हो । कालीगण्डकी, राहुघाट र म्याग्दी नदी जलाधार क्षेत्रको भूगोलमा विभाजित म्याग्दी जलविद्युत् उत्पादनका हिसाबले पर्याप्त सम्भावना भएको जिल्ला हो ।
प्रसारण पूर्वाधार निर्माण तथा जलविद्युत् आयोजना निर्माणमा लगानी भित्र्याउन सफल म्याग्दीका राजनीतिक दलका उम्मेदवारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जलविद्युत्बाटै म्याग्देलीको जीवनस्तर सुधार्ने मुद्दा अघि सारेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) ले जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता तथा जिल्लाभरका जनतालाई सहज हुने गरी जलविद्युत्मा जोड्ने काम गर्ने बताए ।
नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रको सामाजिक क्षेत्रमा परिचालन गर्ने बजेटलाई पारदर्शी र प्रभावकारी बनाउने तथा जिल्लावासीलाई लगानीको वातावरण बनाउन नीति निर्माणमा भूमिका खेल्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाले म्याग्दीमा निर्माण सम्पन्न भएका आयोजनाले प्रभावितका लागि उपलब्ध गराउनुपर्ने कुल लागतको १० प्रतिशत संस्थापक सेयर लगानीको प्रक्रियामा भएको ढिलाइ प्रति चासो देखाएका छन् । ‘प्रभावितलाई सेयर लगानीमा ढिलाइ हुनुको कारण र समस्या पहिचान गरेर नीतिगत हिसाबले समाधान गर्नु मेरो प्राथमिकता हुनेछ,’ उनले भने, ‘थोरै पुँजी भएका सर्वसाधारणले पनि नीतिगत व्यवस्थाअनुसार सेयर लगानीको अवसर पाएमा उनीहरूको आर्थिक स्तर सुधार्न सहयोग पुग्नेछ ।’
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा २०७७ सालमा निर्माण भएको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनामा संस्थापक सेयर लगानी गरेका प्रभावित क्षेत्रका बासिन्दाले राम्रो मुनाफा आर्जन गरिरहेका छन् । मिस्त्रीखोला र ५ मेगावाटको घलेम्दीखोला बाहेकका आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि संस्थापक सेयर जारी गरेका छैनन् ।
अन्तरिम सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीमा चुनावी प्रतिस्पर्धा गर्न आएका महावीर पुनले आर्थिक समृद्धि र रोजगारीको लागि जलविद्युत् आयोजनाहरू सम्भावनाको क्षेत्र भएको बताए ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका बासिन्दालाई जति सक्दो छिटो संस्थापक सेयर लगानीको वातावरण बनाउनुपर्ने बताए । जिल्लाभित्रै रोजगारी, पेसा व्यवसाय, मजदुरी गर्नेदेखि प्रवासी म्याग्देलीले जलविद्युत्मा लगानी गरेर आर्थिकस्तर सुधारको अवसर पाउने उनको अपेक्षा छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ५ मेगावाटको घलेम्दीखोला, ६ मेगावाटको रेलेखोला, ४०.७ मेगावाटको निलगिरि पहिलो जलविद्युत् आयोजना निर्माण सकिएको छ ।
अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा १८४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना सुरु भएको छ । ६६.५ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ ।
रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाटको मङ्गले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण सकिएको छ ।
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, र २२.५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारीमा छन् ।
म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् । १४ मेगावाट क्षमताको मुदीखोला र ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सुरु भएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ५.५ मेगावाटको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपर कालीगण्डकी तथा ५०.५३ मेगावाटको बेनी कालीगण्डकी गरी १७३.५३ मेगावाटका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् ।
बेनी कालीगण्डकीको ‘अलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ । जलविद्युत् आयोजनाले बनाएको पहुँचमार्गले नारच्याङ लेकगाउँ, रघुगङ्गाको दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमङ्गले, धवलागिरिको खिवाङ, नाउरा, चेचुङ, बगर जस्ता दुर्गम बस्तीमा सडक यातायातको पहुँच पुगेको छ । सामुदायिक उत्तरदायित्वका कार्यक्रमले स्थानीय विकासमा सहयोग पुगेको छ ।
यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसका भण्डारी एमालेका श्रेष्ठ, नेकपाका अर्जुन थापा, स्वतन्त्र उम्मेदवार पुन, नेत्रविक्रम चन्द (विप्लव)बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार छन् ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र छन् ।