• प्राधिकरण : १०९१६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११४३२ मे.वा.घन्टा
  • आयात : ६८८ मे.वा.घन्टा
  • निर्यात : ३१०४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३३९५७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५६७ मे.वा.
×

स्वदेशी विद्युतगृहको हिउँदे उत्पादनको अवस्था दयनीय, माग धान्न सधैं भारतको भर

२०७७ चैत २८

काठमाडौं । विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार केन्द्रीय प्रणालीमा विद्युत् जडित क्षमता १४१८ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणको ६४६ मेगावाट र निजी क्षेत्रको ७७२ मेगावाट देखिन्छ ।

प्राधिकरणकै तथ्यांकअनुसार निजी क्षेत्रको जडित क्षमता ७४२.४४५ मेगावाट छ । तर, केही समय यता २२ मेगावाटको चाकु र ८ मेगावाटको टक्सार पिखुवा पनि प्रणालीमा जोडिएर व्यापारिक उत्पादन सुरु गरिसकेका छन् । यसको आधारमा निजी क्षेत्रको जडित क्षमता ७७२.४४५ मेगावाट पुग्छ ।

उल्लेखित अंकका आधारमा निजी क्षेत्रको उत्पादन सरकारी भन्दा १२६ मेगावाट बढी छ । तर, गुणस्तरीय विद्युत् आपूर्तिमा निजी क्षेत्रको योगदान ज्यादै दयनीय देखिएको छ । बुधबार (चैत २५ गते) को तथ्यांक हेर्ने हो भने उसले आफ्नो जडित क्षमताको ५६६ मेगावाट कम अर्थात् २०६ मेगावाटमात्र उत्पादन गरेको देखिन्छ ।

हिउँद वा सुख्खायाममा यति कम विद्युत् उत्पादन गर्न थालेपछि निजी क्षेत्रको योगदानको विषयमा धेरै चर्चा गर्नु उचित देखिँदैन । बुधबारकै तथ्यांक आधार मान्दा निजी क्षेत्रको उत्पादन जडित क्षमताको २६.६७ प्रतिशतमात्र छ । बर्खामा भेल बाढी विद्युत्गृहमा हुलेर बढी उत्पादन गर्ने तर हिउँदमा यसरी स्वाट्टै घट्ने गरी आयोजना डिजाइन वा अध्ययन हुनुमा कहीँ न कहीँ निजी क्षेत्रको कमजोरी देखिन्छ ।

हुन त, पछिल्ला केही महिना यता पानी परेको छैन । खोला तथा नदीको बहाब निरन्तर घट्दै गइरहेको छ । नदी प्रवाही (आरओआर) आयोजनाबाट हिउँदमा उत्पादन घट्नु स्वभाविक पनि हो तर जडित क्षमताको ४०–५० प्रतिशत पनि उत्पादन गर्न नसक्ने गरी आयोजना अध्ययन तथा डिजाइन गरिनुलाई त्रुटिपूर्ण मान्नुपर्ने अवस्था आएको छ ।

पानीको बहाबको प्रभावकारी अध्ययन (हाइड्रोलोजी) नगर्ने, आयोजना डिजाइन गर्दा बढी क्षमतामा गर्ने, कमशल उपकरण जडान गर्ने जस्ता कारणले पनि हिउँदमा निजी विद्युत्गृहको उत्पादन जडित क्षमताको २० प्रतिशतसम्म झर्ने गरेको छ । अझ, आफ्ना कमजोरी लुकाएर गुणस्तरीय आयोजना बनाउन नसक्ने निजी प्रवर्द्धकले सरकारसँग यो वा त्यो नाममा उल्टै क्षतिपूर्ति मागिरहेका छन् ।

चालू आर्थिक वर्षको ९ महिनामा निजी क्षेत्रले ७७ मेगावाट (जलविद्युत्, सौर्य विद्युत र चिनी उद्योगसहित) विद्युत प्रणालीमा थपेको छ । यति विद्युत् प्रणालीमा थपिँदा समेत निजी क्षेत्रको बुधबारको उत्पादन अघिल्लो वर्ष यही दिनको तुलनामा ३१ मेगावाट कम छ ।

२०७६ चैत २५ गते निजी क्षेत्रले प्राधिकरणलाई २३७ मेगावाट विद्युत् बेचेको थियो । गत साउन यता १० विद्युत् आयोजना प्रणालीमा जोडिँदा गत वर्षभन्दा कम उत्पादन हुनेले यो वर्ष धेरैले प्राधिकरणलाई हर्जना तिनुपर्ने अवस्था देखिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

पानीको बहाबको प्रभावकारी अध्ययन (हाइड्रोलोजी) नगर्ने, आयोजना डिजाइन गर्दा बढी क्षमतामा गर्ने, कमशल उपकरण जडान गर्ने जस्ता कारणले पनि हिउँदमा निजी विद्युत्गृहको उत्पादन जडित क्षमताको २० प्रतिशतसम्म झर्ने गरेको छ ।

‘जडित क्षमताका हिसाबले निजी क्षेत्रको उत्पादन बढी छ तर हिउँदमा यो वर्षको उत्पादन अहिलेसम्मकै न्यून भयो’, उनले शुक्रबार ऊर्जा खबरसँग भने, ‘जाडो सुरु भएदेखि घट्न थालेको उत्पादन झन् झन् घटिरहेको छ, अब हिउँ पग्लेर खोलामा पानीको बहाब बढ्न थालिसक्यो । तैपनि, निजी विद्युत्गृहको उत्पादन घटेकै देखिन्छ ।’

उसो त यस वर्ष प्राधिकरणका विद्युत्गृहको उत्पादन पनि घटेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार गत वर्ष यही समयको तुलनामा यस वर्षको उत्पादन १००० देखि ११०० मेगावाट घन्टासम्म कम छ । प्राधिकरण र निजी क्षेत्र दुवैको उत्पादनमा कमी आएको उनको भनाइ छ ।

यता प्राधिकरणका ३ जलाशय र आधा दर्जन जति अर्धजलाशय आयोजनाले प्रणालीलाई धानिरहेको देखिन्छ । उता निजी क्षेत्रको उत्पादनमा सुधार आउन बर्खा लाग्नैपर्ने तिम्सिनाले बताए । निजी क्षेत्र र प्राधिकरणको समेत उत्पादन कम हुँदा माग पूरा गर्न भारतबाट बढी विद्युत् आयात गर्नुपर्ने बाध्यता उत्पन्न भइरहेको छ ।

बुधबार विद्युत्को उच्च माग १४३४ मेगावाट हुँदा प्राधिकरणले माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट ७५७ मेगावाट विद्युत आयात गरेको जानकारी दिएको छ । भारतबाट गरिएको यो आयात देशभरको कूल विद्युत् मागको करिब ५३ प्रतिशत हो ।

‘विद्युतको उच्च माग गत वर्ष यही दिन (चैत २५ गते) को तुलनामा करिब ४५० मेगावाट बढेको छ,’ तिम्सिनाले थपे, ‘दैनिक ऊर्जा खपत पनि साढे ९ लाख युनिट छ तर नदी तथा खोलामा पानीको बहाब घटेर विद्युत उत्पादनमा कमी आउँदा माग व्यवस्थापन गर्न आयातमा भर पर्नु परेको छ ।’

भारतबाट आयात हुने विद्युतको परिमाण पनि गत वर्ष सोही दिनको तुलनामा ४५५ मेगावाट बढेको छ । गत वर्ष चैत २५ गतेकै दिन भारतबाट ३०२ मेगावाट मात्रै आयात भएको थियो । निजी क्षेत्रको उत्पादनको अवस्था हेर्दा सरकारले केही वर्षभित्र जलाशय आयोजना निर्माणलाई प्राथमिकता नदिने हो भने लामो समयसम्म भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता रहिरहने देखिन्छ ।

जडित क्षमता ६४६ मेगावाट रहेको प्राधिकरणका जलविद्युतगृहको उत्पादन अहिले ४७१ मेगावाट छ । यो उत्पादन अघिल्लो वर्ष यही दिनको तुलनामा ३३ मेगावाट बढी हो । प्राधिकरणका १०६ मेगावाटको कुलेखानी जलाशय, १४४ मेगावाटको कालीगण्डकी ‘ए’, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ अर्धजलाशय हुन् । यिनै विद्युत्गृहले मात्र प्राधिकरणको प्रणालीलाई बचाइरहेका छन् ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit