विद्युत अपडेट

  • प्राधिकरण : ८७२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२२२ मे.वा.घन्टा
  • आयात : १९५६ मे.वा.घन्टा
  • निर्यात : ६९५० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५२२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८३ ब‌ैशाख ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

पूर्वी नेपालको पहाडी भूगोल, जहाँ बिहानी घामका किरणले धनकुटाका पाखापखेरामा पहिलो स्पर्श गर्छन् । सिँदुवाको डाँडामा कुदिरहने कुहिरो र चिसो बतासले सिर्जनाका नयाँ–नयाँ पालुवा हालेको अनुभूत हुन्छ । त्यही परिवेशमा एउटा सपनाको बीजारोपण भयो । मध्यमवर्गीय परिवारमा रोपिएर पलाएको त्यही बिउ थियो, टि.एन. आचार्य ।

चेतनाको उडान

वि.सं. २०३१ सालको एक बिहान जहाँ टि.एन. जन्मिए । प्रकृतिले काँचुली फेर्दै थियो । छथर जोरपाटीको एक मध्यमवर्गीय परिवारमा नयाँ सन्तान थपिएको थियो । त्यो जन्ममात्र थिएन, भविष्यको सुन्दर सिर्जना थियो । समाज र देश निर्माणको एउटा आशालाग्दो आधार । आज त्यही व्यक्तिले नेपाली वित्तीय परामर्श र जलविद्युत् क्षेत्रमा आफूलाई स्थापित गरेको छ । ऊ सबैका नजरमा एक इमानदार सारथिको रूपमा परिचित हुँदै गएको छ ।

टि.एन.को व्यक्तित्व नियाल्दा लाग्छ, उनी कुनै शान्त तलाउ हुन् । गहिराइमा वित्तीय अनुशासनका गम्भीर प्रकृतिका कमलका थुँगा फक्रिँदैछन् । शालिन, निडर र सौम्य उनको व्यक्तित्वले निजी क्षेत्रमा कहीँ सुशासनको जग हालिरहेको आभास पनि हुन्छ । एकातिर उनी वित्तीय र ऊर्जा क्षेत्रको प्राविधिक दुनियाँसँग जोडघटाउ गरिरहेका हुन्छन् । अर्कोतिर, साहित्यिक कोमलताको तरङ्गमा पौडिरहेका भेटिन्छन् ।

धनकुटाको पहाडी हावापानीमा जन्मे हुर्के पनि प्रकारान्तरमा अभिभावकले मोरङको लेटाङमा स्थायी बास बनाए । धनकुटाको उकाली–ओराली र लेटाङको समथर भू–भागले उनलाई जमिनमात्र चिनाएनन् । जीवनको आरोह–अवरोहलाई सन्तुलनमा राख्ने कला सिकाए । यसर्थमा उनको जीवनको पहिलो भाग सिँदुवा र लेटाङबीचको पुल वारपार गरेर बितेको अनुभूत हुन्छ ।

शिक्षा र सफलता

दाजुभाइ र दिदीबहिनी गरेर सात सन्तान । तेस्रो सन्तान हुनुको आफ्नै गरिमा र जिम्मेवारी थियो । दाजुभाइमा दोस्रो अर्थात् माहिला टि.एन.को बाल्यकाल त्यसरी नै बित्यो, जसरी आम मध्यमवर्गीय बालकले गुजार्ने गर्छ । विलासितामा होइन, मूल्य र मान्यताको पाठशालामा शैशवकालका पातहरू छिप्पिए । उनले स्थानीय शान्ति भगवती माध्यमिक विद्यालयको आँगनमा कखरा सिके । त्यहीँ बुझे – शिक्षा नै त्यो हतियार हो, जसले भविष्यको अँध्यारो चिर्न सक्छ । आफ्नो पैतालामा आफैँ टेकेर उभिन सक्ने बन्नुपर्छ ।

स्कुले दिन पूरा गरेर उच्च शिक्षातिर लम्किए । उनको शैक्षिक यात्रा प्रमाणपत्रको सङ्कलन थिएन । त्यसले आरम्भदेखि नै पढाइ इस्पातमा धार लाउँदै गए । त्यसैको परिणाम थियो, धरान महेन्द्र बहुमुखी क्याम्पसमा वाणिज्य शास्त्र (विकम) पढ्दाको ‘क्याम्पस टपर’ बन्नु । उनको मिहिनेतमा ‘नम्बर’ र ‘नियम’प्रतिको लगाव थियो । एउटा मूर्तिकारले ढुङ्गा कुँदेर आकृति दिएजस्तै वाणिज्य शास्त्रले उनको मस्तिष्कमा विश्लेषण, विचार र दर्शनको विजारोपण गर्‍यो । चेतनाको पिँधमा रोपी छोडेको थियो, एउटा व्यावसायिक जातको बिउ ।

चेन्नाईको तपस्या

धरान क्याम्पसबाट ‘विकम’मा टप गरेपछि उनमा अलग्गै खालको आत्मविश्वास बढायो । यही ‘सफ्ट स्किल्स’ र आत्मविश्वासले उनले सूर्य नेपालजस्ता प्रतिष्ठित संस्थामा मार्केटिङ सुपरभाइजरको जिम्मेवारी कुशलताका साथ पूरा गरे । छोटो अवधि त्यहाँ काम गरे पनि यस अनुभवले उनलाई बजारको नाडी छाम्ने अवसर दियो । यो अनुभवले उनलाई चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न घच्घच्यायो । त्यसका लागि उनी भारत प्रस्थान गरे ।

नेपालको सीमा नाघेर भारतको चेन्नाई पुग्नु टि.एन.का लागि एउटा ठूलो फड्को थियो । समुद्री किनारको त्यो तातो सहरमा उनले जीवनको सबैभन्दा कठिन – सिएको तयारी गरे । सन् २००३ मा ‘इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ इन्डिया’बाट अध्ययन पूरा गरे । उनी सिए मात्र बनेनन्, वित्तीय अनुशासनका एक ‘कमाण्डर’को रूपमा उभ्भिन समर्थ भए । नेपाली वित्तीय क्षेत्रमा सुशासन र पारदर्शीताको जग बसाउने योजनाका साथ देश फर्किएका थिए ।

चेन्नाईको अध्ययनले उनलाई अन्तर्राष्ट्रिय लेखापरीक्षणका सुक्ष्मताहरू सिकायो । विभिन्न संस्कृति र कार्यशैलीका मानिसहरूसँग निकट पुर्‍यायो । सहकार्यका विधि, पद्धति र अनुशासन सिकायो । यो वित्तीय अनुशासनको एक नवीन क्षितिज पनि बन्दै गयो ।

साख, सुशासन र ऊर्जा

टि.एन. सूर्य नेपालको जिम्मेवारीबाट अलग भए । उनका लागि वि.सं. २०६१ साल एउटा कोशेढुङ्गा सावित भयो । उनले ‘टि.एन. आचार्य एण्ड कम्पनी’ स्थापना गरे । यही संस्था नै पेशागत नैतिकताको नयाँ पारिचायक बन्यो । धेरैका लागि लेखापरीक्षण अङ्कहरूको जोड–घटाउमात्र हुन सक्छ । टि.एन.का लागि भने ‘सुशासनको दर्पण’ थियो ।

बैंक, वित्तीय संस्था, सहकारीदेखि पर्यटन र ऊर्जासम्म उनको फर्मको पहुँच पुग्यो । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) जस्ता नियामक निकायसँगको सहकार्यले उनलाई प्रणालीको भित्री तहसम्म पुग्न मद्दत गर्‍यो । नोबेल मेडिकल कलेज र न्युरो अस्पतालजस्ता स्वास्थ्य संस्थामा उनको वित्तीय परामर्शले सेवा र नाफाबीचको सन्तुलन मिलाउने नयाँ मोडल प्रस्तुत गर्‍यो ।

देशमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत टि.एन. आचार्यले आफ्नो छबि बलियो बनाएका छन् । डब्लुडब्लुएफ, केयर नेपाल र मर्सी क्रप्सजस्ता विश्वप्रसिद्ध संस्थासँगको आबद्धताले उनलाई ‘ग्लोबल माइन्डसेट’ प्रदान गरेको छ । विकास परियोजनाको प्रभाव विश्लेषण र अनुगमन गर्दा उनले बुझे, पैसाको सही परिचालनले मात्र समाजमा दिगो परिवर्तन ल्याउन सक्छ । उनले अन्तर्राष्ट्रिय मापदण्डलाई नेपाली माटो सुहाउँदो गरी प्रयोग गर्ने प्रयास गरिरहेको देखिन्छ ।

विकास परियोजनाको प्रभाव विश्लेषण र अनुगमन गर्दा उनले बुझे, पैसाको सही परिचालनले मात्र समाजमा दिगो परिवर्तन ल्याउन सक्छ । उनले अन्तर्राष्ट्रिय मापदण्डलाई नेपाली माटो सुहाउँदो गरी प्रयोग गर्ने प्रयास गरिरहेको देखिन्छ ।

टि.एन.को व्यक्तित्वको अर्को चम्किलो पाटो हो – जलविद्युत् । उनी कागजी एकाउन्टेन्टमात्र रहेनन्, ‘ऊर्जा उद्यमी’का रूपमा समेत देखा परे । भिजन इनर्जी एन्ड पावर लिमिटेडको कार्यकारी अध्यक्षको रूपमा ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजना अगाडि बढाउनु चानचुने थिएन । १००५ मिटरको ‘ग्रस हेड’ भएको यो आयोजना प्राविधिक र वित्तीय दुवै हिसाबले एक अग्निपरीक्षा हो । यो आयोजना आज निर्माणको अन्तिम चरणमा छ ।

टि.एन.सँग क्रेडिबल होल्डिङ्स फण्ड मार्फत खिम्ती–२, इसुवा खोला र सुपर न्यादी जस्ता करिब दुई दर्जन आयोजनामा लगानी र नेतृत्वको सञ्जाल छ । उनको दृष्टिकोण प्रष्ट छ – नेपालको समृद्धि जलविद्युतमै छ, यसका लागि निजी क्षेत्रको साहस र वित्तीय अनुशासन अनिवार्य छ ।

नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण र नागरिक लगानी कोषजस्ता राज्यका गौरवका संस्थामा सञ्चालक रहँदा उनले सधैँ पारदर्शिताको मुद्दा उठाए । संस्थागत सुशासन उनका लागि लेखिने शब्द मात्र होइन । आचरण पनि बनेको छ । सार्वजनिक संस्थानमा हुने वित्तीय विचलन रोक्न उनले गरेका नीतिगत कामहरू आज पनि प्रभावकारी देखिएका छन् । सरकारी संस्थामा मात्र होइन, निजी क्षेत्रले समेत सुशासनमा उतिकै तत्परताका साथ काम गर्नुपर्नेमा उनी सधैँ प्रतिबद्ध छन् ।

बहुआयामिकता

तथ्याङ्क र यसको प्रशोधनमा एवम् परीक्षणमा हराउने मानिस कसरी कवि र गीतकार हुन सक्छ ? धेरैलाई यस्तै लाग्न सक्छ तर टि.एन. यसका अपवाद हुन् । उनले व्यावसायिक निष्ठा, साहित्य र सिर्जनालाई एकसाथ अघि बढाएका छन् । उनी गीतका शब्दहरूमा रमाउँछन्, कविताका फूलहरूमा झुलिरहेका हुन्छन्, नियात्रा तथा निबन्धमा सामाजिक चेतना भर्छन् । उनका कवितामा समाजको विम्ब पाइन्छ, गीतमा जीवनको लय ।

सिर्जनाको फरक धार सिनेमा दुनियाँको पनि उनीसँग अलग्गै अनुभव छ । उनले ‘श्री ५ अम्बरे’ निर्माण गरे । यसलाई उनको समग्र कला क्षेत्रप्रतिको गहिरो अनुराग मान्न सकिन्छ । शब्द अभिव्यञ्चनाका अनुपम प्रस्तुतिको रूपमा लिन सकिन्छ । उनको लेखनमा शब्दमात्र हुँदैनन् । जिम्मेवार नागरिकको मनोचिन्तन प्रस्फुटित हुन्छन् ।

टी.एन. व्यक्ति होइनन् । एक संस्थाको धरोहरसमेत मान्न सकिन्छ । धनकुटाको पखेराबाट सुरु भएको यात्रा देशको नीति निर्माण र ऊर्जा क्रान्तिको केन्द्रमा आइपुगेको छ । वित्तीय अनुशासन, ऊर्जा नेतृत्व र साहित्यिक चेतको यो त्रिवेणीले आगामी दिनमा नेपाली ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास राख्न सकिन्छ ।

उनको जीवनले सिकाउँछ — सफा नियत र मिहिनेतमा इमानदारी छ भने जुनसुकै निम्न वा मध्यमवर्गीय युवाले राष्ट्रकै आर्थिक भविष्यको रेखा कोर्न सक्छ । उनको यो अटुट यात्रा आगामी दिनमा अझ सुन्दर र प्रकाशमय हुनेमा ढुक्क हुन सकिन्छ ।

इपान र सङ्कल्प

टि.एन. अहिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) को आगामी तीन वर्षे कार्यकालमा महासचिवको दाबेदारका रूपमा मैदानमा उत्रिएका छन् । लगनशीलता, सुशासनप्रतिको दृढता र पारदर्शी विशेषताले आउँदा तीन वर्ष उनकालाई निकै महत्वपूर्ण मान्न सकिन्छ । देशको अर्थतन्त्रको खाका कोर्न सरकारको बलियो सहयात्रीको पुष्ठभूमिमा निजी क्षेत्रलाई उभ्याउन उनी क्षमता राख्छन् । कार्यसमिति सदस्यको रूपमा आजसम्म निजी क्षेत्रका पीडा सरकारको ढोकासम्म पुर्‍याए । अबका दिनमा नीति निर्माणको मञ्चसम्म पुर्‍याउने हुटहुटी लिएर अघि बढिरहेका छन् ।

आगामी जेठ २९ गते हुने निर्वाचनमा ‘महासचिव’ पदको उम्मेदवारी दिँदै गर्दा, उनले एउटै मन्त्र बोकेका छन् – इपान–मार्गमा सँगै हिँडौँ र सँगसँगै अघि बढौँ ।

महासचिवको दाबेदारी पदका लागि नभई ऊर्जा क्षेत्रमा व्याप्त नीतिगत झमेलालाई वित्तीय विशेषज्ञताको कसीमा राखेर समाधान गर्ने ‘टि.एन. हुटहुटी’को रूपमा बुझ्न सकिन्छ । उनी चाहन्छन् – ऊर्जा विकासमा एउटा यस्तो निजी क्षेत्र, जहाँ लगानीकर्ता सुरक्षित महसुस गरुन् । राष्ट्रले समृद्धिका पाइला चाल्दै जावस् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३