विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

र्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी राजनीतिज्ञ हुन्, श्रीराम न्यौपाने । उनी प्रतिनिधिसभा सदस्य हुनु, एक व्यक्तिको चयनमात्र नभइ विवेक र प्रविधिको सन्तुलन देशको नीति निर्माणमा स्थापित हुनु हो । एक हातमा प्राविधिक ज्ञान र अर्कोमा जनताको भरोसा बोकेर अघि बढेका उनी, समकालीन राजनीतिमा आशाको दियो हुन् । नीति र थितिको खडेरी परेको समयमा विकासको नयाँ विम्ब कोर्ने सामथ्र्यवान व्यक्तिको रूपमा लिन सकिन्छ, उनलाई । जो भाषण वा गफभन्दा एक दूरदर्शी कर्मपूजकको रूपमा उभिएका छन् ।

आदिकवि भानुभक्त आचार्यको रामायणी श्लोकहरूले गुञ्जायमान चुँदी रम्घाको त्यो पवित्र सुगन्ध बोकेको माटोमा श्रीरामको जीवनको प्रारम्भिक चेतना जागृत भयो । जसरी भानुभक्तले नेपाली भाषाको जग बसालेर छरिएका मनलाई एउटै मालामा गाँसे, त्यसरी नै उनी विकास र समृद्धिको नयाँ आधुनिक रामायण लेख्न तम्सिएका छन् । उनको व्यक्तित्वमा भानुभक्तीय भूमिको ओजस्वी विरासत त छ नै, सँगै आधुनिक युगको प्राविधिक सामर्थ्य पनि ।

जुझारु इन्जिनियरको दृष्टिले उनले समाजका भत्किएका संरचना मात्र देखेका छैनन् । त्यहाँ निर्माणका सम्भावना केलाइरहेका छन् । उनको हकमा राजनीति केवल सत्ताको सिँढी होइन, मजबुत राष्ट्र निर्माणको ‘ब्लुप्रिन्ट’ समेत हो । व्यवसायीको रूपमा कर्मशीलता र जोखिम मोल्ने साहसले उनलाई सपना देख्ने नेता मात्र बनाएको छैन; भुइँ टेकेर विकासरूपी कला कुध्ने कुशल शिल्पीको आकारमा ढालेको छ ।

मस्र्याङ्दी नदीको अनवरत बहाव र मादीका छालबाट उत्पत्ति भएको बतासले परिवेशलाई सदा मनमोहक बनाउँछ । कुटनीतिज्ञहरू यदुनाथ खनाल (जसलाई राजदूतहरूका पनि राजदूत भनिन्छ), डा. भेषबहादुर थापा, राष्ट्रपति रामचन्द्र पौडेलजस्ता व्यक्ति जन्माएको तनहुँको माटोले धेरैलाई राज्यको उच्च तहमा पुर्‍याएको छ । तिनै मध्ये पछिल्ला अनुहार मान्न सकिन्छ, श्रीरामलाई ।

गोविन्दप्रसाद न्यौपाने र सीतादेवी न्यौपानेका सन्तान श्रीराम वि.सं. २०२६ साल असार २१ गते जन्मे – भानु नगरपालिका–५ (साविक बरभञ्ज्याङ गाविस–५) मा । उनको जीवन–सङ्घर्ष एउटा अविरल यात्रा जस्तो देखिन्छ । उनी कल्पना एवम् भावानात्मकभन्दा जीवनलाई इन्जिनियरिङ रेखाहरूसँग तादम्यता मिलाउन जन्मेका व्यक्ति लाग्छन् ।

उनमा भारतीय सेनाको अनुशासन, देहरादुनको एकान्तबास, पुल्चोक इन्जिनियरिङ क्याम्सको प्राविधिक राप र राजनीतिमा देखिने सफा एवम् हरित ऊर्जाको मिश्रण पाइन्छ ।

देहरादुन र लुइँटेल स्कुल

श्रीरामको प्रारम्भिक जीवन एवम् हुर्काइ आम नेपाली बालबालिकाको भन्दा भिन्न रह्यो । उनका पिता भारतीय सेनामा कार्यरत थिए । यही कारण उनको शिक्षाको जग भारतको देहरादुनमा बस्यो । सन् १९७६ मा देहरादुनको शालिनी प्रिपेरेटरी स्कुलमा भर्ना हुँदा उनी ६ वर्षका थिए । आमाको वात्सल्य, घरपरिवार, साथीसङ्गीसँगको बुर्कुसी, बाल खेलमैदान, गाउँका पाखा–पखेरा, खोलानाला र देउरालीमा रमाउने दिनमा उनी धेरै टाढा पुगिसकेका थिए । उनको बाल्यकालको त्यो अनमोल क्षणलाई उनका बुवाले भविष्यको सुन्दर विरुवाको रूपमा रोपिदिएका थिए ।

उनी बाल्यकाल सम्झिन्छन् – बुवाले शिक्षाको महत्त्व बुझ्नु भएको थियो । त्यही कारण म सानै उमेरमा देहरादुन पुग्नु पर्‍यो । परिवारबाट टाढा बस्नुपर्दाको त्यो एकान्तले सायद मलाई आत्मनिर्भर बन्न सिकायो ।

श्रीराम देहरादुनमा ५ वर्ष बसे । ५ कक्षासम्म पढे । त्यसले उनमा अनुशासन र अङ्ग्रेजी भाषाको जग बसाल्यो । ती दिनको कल्पना गर्दा उनी त्यो महत्त्वपूर्ण पाटो मान्छन् । मन भने तनहुँकै भिरपाखामा थियो ।

यही क्रममा बुवा सैनिक सेवाबाट निवृत्त भए । उनको पनि देहरादुने दैनिकीमा पूर्णविराम लाग्यो ।

नेपाल फर्किएपछि श्रीरामले तनहुँ चुँदीस्थित भानु संस्कृति निम्न माध्यमिक विद्यालयमा ६ र ७ कक्षा पढे । प्राकृतिकरूपमा मादी र मर्स्याङ्दीको धार जति तेज थियो, उनको पढाइ पनि त्यो भन्दा कम थिएन । त्यो प्रतिभाका अगाडि तनहुँ सीमित भूगोलजस्तै लाग्थ्यो । त्यतिबेला तनहुँ, लमजुङ र गोरखाका तीक्ष्ण विद्यार्थीका लागि एउटा मात्र गन्तव्य थियो, गोरखाको अमरज्योति जनता मावि (लुइँटेल स्कुल) । यो त्यही विद्यालय हो, जहाँबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई २०२६ सालको एसएलसीमा नेपाल प्रथम भएर इतिहास रचेका थिए ।

श्रीराम पढाइमा तीक्ष्ण थिए, सिर्जनशीलताका दृष्टिले उतिकै अब्बल । एक हिसाबले डा. भट्टराईले जस्तै उनलाई पनि इतिहास रच्नु थियो । तथापि, लुइँटेल स्कुलमा प्रवेश पाउनु भनेको युद्ध जित्नु जत्तिकै कठिन थियो । सायद उनको परिपक्व हुँदै गएको बाल-मस्तिष्कले समेत अठोट गरेको थियो – मलाई असफल हुने छुट छैन । उनले प्रवेश परीक्षा दिए र सफल भए । विद्यालय शिक्षाका दृष्टिले धेरैका लागि सपना मानिने त्यस स्कुलको प्रवेश उनका लागि भने अत्यन्त सहज बन्यो । त्यो उनकै लगनशीलता, परिश्रम र सिर्जनशीलताको उपलब्धि थियो ।

८, ९ र १० कक्षा लुइँटेल स्कुलमा पढ्दै गर्दा उनले बुझे, मिहिनेतको विकल्प छैन । सोही विद्यालयबाट २०४२ सालमा एसएलसी दिए र २०४३ मा सफलताको प्रमाणपत्र हात पारे । यो एक शैक्षिक खुड्किलो मात्र थिएन, मध्यमवर्गीय परिवारभित्र हुर्किँदै गएको इन्जिनियरिङ शिक्षाको प्रस्थानविन्दुको सपना थियो ।

इन्जिनियरिङ र विद्यार्थी राजनीति

एसएलसीपछि उनको शैक्षिक यात्रा पोखरातर्फ मोडियो ।

सेती नदी पोखरा छोडेर तनहुँ हुँदै दक्षिणी दिशामा बगिरह्यो । उनी सेतीका गहिरा गल्छीसँग सामना गर्दै शिक्षाको चुली टेक्न हतारिँदै थिए । चुली पुग्ने आधारको रूपमा जोडियो –  पोखराको लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) । त्यहाँ उनले ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ पूरा गरे । उनी सो कलेजको पहिलो ‘ब्याच’का विद्यार्थी थिए । पहिलो ब्याच हुनुको चुनौती र अवसर दुवै थियो । उनले ती चुनौतीलाई अवसरमा बदले र सिङ्गो ब्याचमा टप गरे । यसर्थमा उनी शिक्षारूपी माछापुच्छ्रेको आधारशिविर पुगे ।

पढाइमा मात्र होइन, उनी नेतृत्वमा पनि उत्तिकै प्रखर थिए । पोखरामा रहँदा उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा भाग लिए । उनको मिलनसार स्वभाव र स्पष्ट वक्ताको छविका कारण सम्भवतः सर्वाधिक मत ल्याएर सहसचिवमा विजयी भए ।

त्यसपछि श्रीरामको गन्तव्य बन्यो — इन्जिनियरिङ शिक्षाको चारधाम मानिने पुल्चोक क्याम्पस । त्यतिबेला नेपालभरिबाट केवल २४ जनाले मात्र सरकारी कोटामा बिई सिभिल इन्जिनियरिङ पढ्न पाउँथे । उनी यहाँ पनि कोटाभित्र आफ्नो नाम सुरक्षित गर्न सफल भए ।

पुल्चोक पढ्दै गर्दा उनी नेपाल विद्यार्थी संघमा आवद्ध भए र स्ववियुको निर्वाचन लडे । एक कार्यकाल नेविसंघ इकाइको सहसचिव र अर्को कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर विद्यार्थी हकहितका लागि काम गरे । पुल्चोक क्याम्पसले उनलाई इन्जिनियर मात्र बनाएन, समाज र व्यवस्था बुझ्ने राजनीतिक चेतना पनि दियो । खासमा त्यो स्ववियु कार्यकाललाई नै उनको राजनीतितर्फको नयाँ घुम्ती समेत मान्न सकिन्छ ।

सरकारी जागिर र राजीनामा

बिई सिभिल इन्जिनियरिङ पूरा गर्ने वित्तिकै उनले सरकारी सेवामा प्रवेश गरे । तत्कालीन खानेपानी मन्त्रालयको खानेपानी विभागअन्तर्गत तनहुँमा इन्जिनियरको नियुक्ति लिएर गए । त्यो गृहजिल्लामै सेवा गर्ने अवसर थियो । ९ महिनाको छोटो अवधिमा उनले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समेत सम्हाले ।

अपसोच ! सरकारी कर्मचारीको स्थिर र सीमित दायरामा उनको ऊर्जा अटाउन सकेन । उनी जकडिएको सरकारी कार्यशैली, भुत्ते चेतना, आर्थिक अपारदर्शीताभित्र चेपिएर बस्न सकेनन् । अझ यसो भनौँ – उनको चारित्रिक विशेषताका लागि सरकारी सेवा सुहाउँदो भएन ।

उनी स्मृतिमा पुग्छन् – मलाई लाग्यो, म यहाँ फाइल मात्र मिलाउन जन्मिएको होइन । म त केही सिर्जना गर्न र देशलाई प्राविधिकरूपमा गति दिन जन्मिएको हुँ । 

अन्ततः ९ महिनामै उनले सरकारी जागिरबाट राजीनामा दिए । यो निर्णय धेरैका लागि आश्चर्यजनक थियो । श्रीरामका लागि भने एउटा नयाँ युगको थालनी थियो ।

शैक्षिक उद्यमशीलता

सरकारी सेवाबाट विदा लिँदै गर्दा उनको मनमा एउटा नयाँ योजनाको विरुवा टुसाइसकेको थियो - निजी स्तरबाट इन्जिनियरिङ कलेज स्थापना गर्ने । यो सोचको विजारोपणसँगै इन्जिनियरिङ शिक्षामा जागरणरूपी अभियान सुरु गरे । सन् १९९७ मा उनले 'काठमाडौँ इन्जिनियरिङ कलेज' स्थापनामा सक्रिय भूमिका खेले, जुन अहिले कालीमाटीमा सञ्चालनरत छ । सोही कलेजमा पहिलो बिई कोअर्डिनेटरको रूपमा उनले जिम्मेवारी पनि सम्हालेका थिए । करिब डेढ वर्षपछि उनलाई ठूलो संस्थापन समूहसँग घुममिल हुन गाह्रो भयो । त्यो अनुभव उनले जोडेको बौद्धिक पुँजी थियो, यसलाई कतै लगानी गर्न चाहन्थे । त्यसैको सार्थक रूप बन्यो - एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट ।

यो कलेज उनले केवल १५ दिनभित्र अनुमति लिएर सञ्चालनमा ल्याएका थिए । उनको आफ्नै लगानी र भिजनमा चलेको यसले छोटो समयमै ख्याति कमायो । ९ वर्षसम्म संस्थापक प्रिन्सिपलको रूपमा काम गर्दा उनले कलेजलाई यस्तो उचाइमा पुर्‍याए कि पुल्चोक क्याम्पसपछि निजी क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउनेमा 'एडभान्स' नै थियो । स्थापनाकालमा कुपोण्डलमा रहेको यो शैक्षिक संस्था हाल बल्खुमा सञ्चालनरत छ ।

समय सधैँ अनुकुल रहेन । तत्कालीन समयमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । उनले धेरै मानसिक तनाव र असहज वातावरण भोग्नुपर्‍यो । गुणस्तरीय एवम् प्राविधिक शिक्षामार्फत देश निर्माणमा चालिएका पाइला अवरोध हुँदै गए; जहाँ राजनीति हावी हुँदै गयो । चन्दा आतङ्क र कारबाहीका घटना बढ्न थाले । त्यसले उनलाई थकित बनायो । त्यति मात्र होइन, उनले देशै छोड्नुपर्ने परिस्थिति उत्पन्न भयो । केही समय विश्राम नै लिने निर्णय गरेर उनले नेपाल छोडे । करिब डेढ वर्ष बेलायत बसे, थप अध्ययन र अनुभव बटुले ।

'डिजिटल नेपाल'को सपना

जसै उनी नेपाल फर्के, त्यति बेला २०६२/६३ को जनआन्दोलनको समय थियो । आन्दोलनपछि देशमा संविधानसभाको निर्वाचन भयो । ६०१ जना सभासदले नयाँ नेपालको भाग्य लेख्नुपर्ने थियो । नेताहरूले मञ्चबाट 'नेपाललाई सिङ्गापुर र स्वीट्जरल्याण्ड बनाउँछौँ' भन्थे । श्रीरामलाई यिनै भाषण र योजनाले तान्यो तर ती सपना देख्ने आँखासँग आधुनिक संसार हेर्ने चस्मा (प्रविधि) थिएन ।

उनी ती दिन स्मरण गर्छन् - मैले एडभान्स कलेजमा भएका ९६ वटा कम्प्युटर र ४ वटा ल्याब प्रयोग गरेर सभासदलाई तालिम दिने योजना बनाए । प्रमुख ७ दलका नेताहरू गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र चित्रबहादुर केसीलाई भेटेँ । प्राविधिक शिक्षाको महत्व बुझाउने कोसिस गरेँ ।

उनलाई लागेको थियो - २१औँ शताब्दीको संविधान लेख्ने हातहरूले इमेल। इन्टरनेट र गुगल सर्च गर्न (चलाउन) जान्नुपर्छ । आधुनिक सूचना–प्रविधिको ज्ञानबिना 'नयाँ नेपाल' बन्दैन । त्यही सन्दर्भ उनले सबै नेताहरूलाई सम्झाउँदै गए । यसबाट राजनीतिक तहमा उत्साहसमेत बढेको पाइयो । नेताहरू खुसी भए ।

'हामी ह्विप नै जारी गरेर यसमा सहभागी गराउँछौँ' भन्दा श्रीराम आफ्नो योजनाले सार्थकता पाएकोमा हर्षित भए । उद्घाटनका दिन रामचन्द्र पौडेल, सुशील कोइराला र कृष्णबहादुर महरा जस्ता हस्तीहरू कलेजमा पुगे । विडम्बना ! १४ दिने तालिमको दोस्रो दिनदेखि जम्मा ५१ जना मात्र सभासद उपस्थित भए ।

श्रीरामले पछि बुझे — धेरै सभासदलाई कम्प्युटरको किबोर्ड छुन समेत आउँदो रहेनछ । अङ्ग्रेजी 'एबीसीडी' समेत आउँदो रहेनछ । माओवादी जनयुद्ध, १९ दिने आन्दोलन हुँदै संविधानसभामा प्रवेश गरेका सभासदमा शिक्षाको आधारभूत ज्ञानसमेत नभएको पाएपछि उनी केही निराश पनि भए । उनलाई लाग्यो, यो कमजोर चेतना, अल्पविद्या र आवेशले सार्भभौम संविधान कसरी लेखिएला ?

हिजो ६०१ सभासदमा कम्तीमा शिक्षा र सामान्य प्राविधिक ज्ञान भएको भए आज देश एसिया प्रशान्तको गरिब हुने थिएन

‘हिजो ती ६०१ सभासदमा कम्तीमा शिक्षा र सामान्य प्राविधिक ज्ञान भएको भए आज देश एसिया प्रशान्तको गरिब हुने थिएन,’ यो श्रीरामको निष्कर्ष हो ।
पाइला पूर्वाधार विकासतर्फ

श्रीरामले शैक्षिक क्षेत्रमा एक तहसम्म काम गरेपछि विकास निर्माणका ठोस् कामतर्फ पाइला चाले । उनको व्यावसायिक जीवनको सबैभन्दा सफल पाटो 'पूर्वाधार' नै बनेको देखिन्छ; जुन मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने कामबाट आरम्भ भयो । त्यस क्रममा युरोपका अत्याधुनिक मेसिनहरू नेपालमा पहिलो पटक भित्र्याउन सफल भए । तिनै उपकरणमार्फत आयोजनाको 'अम्बाथान खण्ड'मा उनले सब-कन्ट्र्याक्टरको रूपमा काम गरे । सुरुमा घाटा भए पनि यसबाट उनलाई ठूलो प्राविधिक ज्ञान एवम् अनुभव हासिल भयो ।

त्यही अनुभवको आधारमा उनलाई 'नागढुङ्गा सुरुङ मार्ग' निर्माणमा जापानी कम्पनीले छनोट गर्‍यो । सुरुङभित्रको सिभिल इन्जिनियरिङको काम उनकै नेतृत्वमा समयमै सम्पन्न भयो । कोभिडको समयमा संसार ठप्प हुँदा पनि काम रोकिएन । उनले प्रमाणित गरे कि सही व्यवस्थापन भए कामदारलाई १३ दिनमात्र छुट्टी दिएर वर्षभरि काम गर्न सकिन्छ ।

हाल उनी कास्कीको सिकलेसमा ४३ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्दैछन् । यो नेपालकै पहिलो यस्तो आयोजना हो, जहाँ विद्युत्गृहदेखि सबस्टेसनसम्म सबै भूमिगत छन् । सम्भवतः यो देशकै आधुनिक एवम् नमुना आयोजना हुने छ ।

राजनीतिमा जनअनुमोदन

शैक्षिक क्षेत्र, समाजसेवा र पूर्वाधार विकासमा सफल हुँदै आएका श्रीराम आफैँलाई लाग्न थाल्यो – कहीँ केही पुगिरहेको छैन । राजनीति, विकासनीति, समाजनीति र व्यवहारिक शैलीमा केही त खाडल छ । जबसम्म कार्यान्वयनयोग्य कानुन हुँदैन, तबसम्म हुने काम यस्तै-यस्तै हुन् । यही बोधले उनलाई प्रत्यक्ष राजनीतिको मैदानतिर धकेल्यो ।

हुनत, उनी विद्यार्थीकालदेखि प्रत्यक्ष परोक्ष राजनीतिभन्दा टाढा थिएनन् । यतिबेला भने उनले सोचे – अहिलेसम्मका काम र उपलब्धिको समीक्षा गर्दै प्रत्यक्ष राजनीतिमै होमिने ।

'नीति निर्माणको तहमा नपुगी देशको दुर्गति बदलिँदैन' भन्ने अठोठ लिएरै आफू यसतर्फ मोडिएको उनी बताउँछन् । तब उनी रास्वपामा आवद्ध भए । २०८० सालको उप–निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट स्वर्णीम वाग्लेलाई जिताउन लागे । लगत्तै पार्टीको ऊर्जा नीति बनाउन उनले ७ वटै प्रदेशमा पुगेर करिब २ दर्जन जनसंवाद भए । नेपाली राजनीतिक वृत्तमा यसरी जनतासमक्ष पुगेर छलफल, विमर्श र सरसल्लाह गरी नीति बनाएको इतिहास छैन । त्यो श्रीरामले नै गरे, रास्वपालाई उन्नत लोकतन्त्रको आधारभूमिका उभ्याउन ।

जब उनलाई रास्वपाले तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनाउने योजना बनायो । त्यसअघि उनले जनसमक्ष गएर ‘आफू प्रत्यक्ष राजनीतिको हकदार हुन सक्छु कि सक्दिनँ’ भन्ने प्रमाणित गर्ने सोच बनाए । जिल्लाका ४३ वटै वडामा पुगेर जनता र कार्यकर्ताको राय लिए । सरकारी विद्यालयमा स्मार्ट बोर्ड बाँडेर अध्ययन अध्यापनलाई डिजिटलाइज गर्नुपर्ने प्रशिक्षण दिँदै हिँडे । विद्यार्थी र नागरिकलाई जलविद्युत् आयोजनाको भ्रमण गराए । उनले प्रमाणित गरे कि राजनीति भनेको गाली गर्नु होइन, विकासको मोडेल देखाउनु हो । जनताले उनको विकासवादी छविलाई स्वीकार गरे । नेपालको इतिहासमै दुर्लभ मानिने त्यो 'स्व-परीक्षण'मा उनी सफल ठहरिए ।

नागरिक तहबाट अनुमोदन भएको त्यो पक्ष उनले पार्टीमा पेश गरे । रास्वपाले उनलाई उम्मेद्वार पक्का गर्‍यो । त्यही जनअनुमोदनको प्रमाण हो श्रीराम तनहुँ–२ बाट सानदार मतका साथ विजयी भए ।

समृद्धिको शताब्दी

श्रीराम अब प्रतिनिधिसभाको ढोकामा पुगेका छन् । त्यहाँ बसेर उनले कोरा भाषण र पुराना सपनाहरूको पुनरावृत्ति गर्नु छैन ।

सांसदको ५ वर्षे कार्यकालमा तपाइँको योजना के हो त ?

प्रश्नलाई उनले यसरी सरलीकरण गर्छन् – हिजो विकास निर्माणका काम हुँदै भएनन् भन्ने पक्षमा म छैन तर गुणस्तरीय काम हुन सकेनन् । त्यसको कारण स्थायी सरकार, स्थायी कानुन र समयानुकुल प्रविधिसम्मको पहुँचको अभाव रह्यो ।

उनको तर्कमा घोरिँदा हो पनि लाग्छ; गाउँ-गाउँमा बाटो पुग्यो, बिजुली, खानेपानी, इन्टरनेट पुग्यो तर नागरिकको आयस्तर बढेन । जीवनस्तरको पुरानो ढाँचामा परिवर्तन आएन । बदलिँदो प्रविधि शिक्षा, स्वास्थ्य र रोजगारसँग जोडिएन ।

अतः अबको ५ वर्ष स्थायी नीति बनाएर त्यसको कार्यान्वयन गर्ने समय हो भन्छन्, श्रीराम ।

उनी सुनाउँछन् – इतिहासका ८०–९० वर्ष अरबले पेट्रोलियममा एकछत्र राज गर्‍यो । प्रतिव्यक्ति आय पनि निकै वृद्धि भयो । हामीसँग ५ वर्षको मार्गचित्र स्पष्ट छ । नेपालको भाग्य पानीमा छ । वार्षिक १०० अर्ब घनमिटर सफा पानी बगेर जाने यो देशमा हाइड्रोजन ऊर्जा र एमोनिया उत्पादन गरी नेपाललाई विश्वको 'ग्रीन इनर्जी हब' बनाउन सकिन्छ ।

श्रीरामले हिजो ५१ जना सभासदलाई कम्प्युटर सिकाउन खोजे; आज सिङ्गो देशलाई 'नेक्स्ट जेनेरेसन इनर्जी (जेनजी पुस्ताको ऊर्जा)' को पाठ सिकाउन तल्लीन छन् । भ्रष्टाचारको दलदल, बेरोजगारीको पीडा र गरिबीको चक्र तोड्न उनी जुर्मुराएका छन् । यसको अन्त्य गर्न नीतिगत तहमै काम गरेर देशलाई समृद्धिको उचाइमा पुर्‍याउने उनको अठोट छ । यसलाई जेनजी पुस्ताको माग भन्दा अत्योक्ति हुँदैन । यो नै समृद्धिको शताब्दी बन्न सक्छ ।

श्रीराम राजनीतिको नाममात्र होइन, जो विकासको एउटा गतिशील इन्जिन बन्दैछ । उनी त देशलाई अँध्यारो सुरुङबाट निकालेर हरित ऊर्जाको उज्यालोमा पुर्‍याउने सङ्कल्प बोकेका योद्धा हुन्; जसले अब बन्ने सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी कुशलता पूर्वक सम्हाल्न सक्ने हैसियत राख्छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३