विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले आफनो क्षेत्रभित्रका निर्माणाधीन र निर्माण तयारीमा रहेका १६ जलविद्युत आयोजनालाई काम रोक्न पत्राचार गरेको छ । विद्युत विकासमा प्रतिकूल असर पर्ने गरी आयोजनाले यस्तो उर्दी जारी गरेको हो ।

यो संरक्षण क्षेत्र सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्जको बीचको भूभाग हो, जुन रामेछाप, दोलखा र सिन्धुपाल्चोकका माथिल्ला क्षेत्र पर्छन् । यही क्षेत्रका हिमाली भेगबाट बग्ने खोला र नदीमा वर्षौं अघिदेखि अध्ययन भएका जलविद्युत आयोजनाहरू छन् । ती सबै आयोजनाहरू सरकारको मापदण्डअनुसार पूर्ववातावरणीय अध्ययन (आईईई) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का साथै विस्तृत अध्ययन गरेरमात्र अगाडि बढाइएका हुन् ।

यस क्षेत्रमा पहिचान भई अध्ययन भइरहेका केही आयोजनाहरू भने ईआईए स्वीकृत गराउने चरणमा छन् । अध्ययन र निर्माणाधीन आयोजनालाई लक्षित गरी उर्दी जस्तो पत्राचार गरेपछि प्रवद्र्धकहरू आन्दोलित बनेका छन् ।

दोलखाको बिगू गाउँपालिका ४ सिंगटीमा मुख्य कार्यालय रहेको जिक्यापले गत माघ ७ गते सबैलाई पत्राचार गरेको पत्ता लागेको छ । पत्रमा स्थानीय तहको कार्यालयलाई जानकारी र स्थानीय संरक्षण व्यवस्थापन समिति, संरक्षण वन समूह र धार्मिक समूहलाई काम रोके÷नरोकेको अनुगमन गरी जानकारी दिन बोधार्थ दिएको छ । पत्रमा जिक्यापको स्वीकृत नलिई काम गरे कानुन बमोजिम हुने समेत धम्कीको भाषा प्रयोग गरिएको छ ।

१० वर्ष अघि स्थापना भएको जिक्यापले विकासे आयोजना निर्माणमा रोक लगाने नियतले यसरी पत्राचार गरेको यो पहिलो घटना हो । ‘वर्षौंदेखि आयोजनाको काम भएको छ, विकासको काम गर्दा केही क्षति त हुन्छ,’ एक जलविद्युत प्रबद्र्धकले ऊर्जा खबरसँग भने, ‘हामीले पनि वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा काम गर्ने हो ।’

आयोजना विकासकर्तासँग कुनै समन्वय र छलफल नै नगरी एक्कासी काम रोक्ने पत्र आउनु यो विकास विरोधी व्यवहार रहेको ती प्रवद्र्धकले बताए । पत्राचार गरेपछि अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले निर्माण गर्न लागेको २२ मेगावाटको रोल्वालिङले आपत्ति जनाएको छ । एक दशक अगाडि स्थापना भए पनि जिक्यापले अहिलेसम्म संरक्षण क्षेत्र विकासमा उल्लेखनीय काम नगरेको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।

जिक्यापका प्रमुख डा. मधु क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा रोक लगाउने प्रावधान भएको ऐन तथा नियमावली तथा निर्देशिकालाई उद्धृत गरिएको छैन । तर, उनले आफ्नो संरक्षण क्षेत्रभित्र रहेका सबै आयोजनालाई आफ्नो प्रगति विवरणसहित कागजात दिएर सम्पर्कमा आउन पनि उर्दी जारी गरेका छन् । सहजीकरणका लागि पत्र पठाए पनि आयोजनाको कामै रोक्ने गरी विकास विरोधी नभएको उनको दाबी छ ।

संरक्षण क्षेत्रले कामको प्रकृति अनुसार धेरैजसोलाई काम रोक्न र केहीलाई स्पष्टिकरण सोधिएको एक कर्मचारीले बताए । ‘प्रायः धेरैलाई पत्राचार गरिएको छ, संरक्षण क्षेत्रको निर्देशनलाई अवज्ञा गर्नेहरूका लागि पत्राचार गरिएको हो,’ उनले भने, ‘व्यहोरा मिल्नेलाई एकै प्रकृतिका र अन्यलाई फरक–फरक व्यहोराको पत्र दिएका छौं ।’

काम रोक्ने गरी पत्राचार गरिएका आयोजनाहरूमा दोलखाका माथिल्लो तामाकोसी, रोल्वालिङ, लप्चे खोला, घट्टे खोला,, रामेछापका नुप्चे–लिखु खोला, उपल्लो खिम्ती, सिन्धुपाल्चोकको, चाकु खोला लगायत छन् । विकास विरोधी जिक्यापका विरुद्ध कसरी अगाडि बढ्ने भन्नेमा सबै जिल्लाका आयोजना प्रवद्र्धकहरू एकबद्ध भएको जनाइएको छ ।

उता बिगू गाउँपालिकाको हिजो (माघ २७ गते) बसेको कार्यकालिका बैठकले जिक्याप हटाउनुपर्ने माग राख्दै गाउँसभा बैठकमा पेस गर्न लागेको छ । आज शुक्रबार गाउँसभा बैठकबाट यससम्बन्धी निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit