• प्राधिकरण : ९८२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५७९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७४२ मे.वा.घन्टा
  • आयात : ५५३१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३२८९३ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५५७ मे.वा.
×

ऊर्जा विकासमा न्यौपाने ग्रुप एन्ड कम्पनीको २३ अर्ब बढी लगानी

२०७८ चैत २८

काठमाडौं । बैंक वित्तीय संस्था तथा अन्य औद्योगिक घराना समूहको जस्तै ऊर्जा तथा जलविद्युत विकासमा पनि निजी क्षेत्रको संगठित लगानीको दायरा फैलिँदै गएको छ । ऊर्जा विकासमा संगठित व्यावसायिक समूहमध्येको एक हो, न्यौपाने एन्ड ग्रुप ।

जलविद्युत उत्पादनको सुरुदेखि नै सक्रियरूपमा अग्रसर हुँदै आएका गुरुप्रसाद न्यौपानेसँग झन्डै ३ दशकभित्र जलविद्युत र सौर्य ऊर्जा गरी सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको स्वामित्व जोडिएको छ । उनी आवद्ध जलविद्युत तथा सौर्य ऊर्जा कम्पनी मध्ये ९ वटाबाट करिब ७० मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

संगठितरूपमा एउटै मुख्य कम्पनी स्थापना गरी विद्युत विकासमा संलग्न नभए पनि न्यौपानेले सहायक कम्पनी स्थापना गर्दै यसलाई व्यावसायिकता प्रदान गर्दै आएको देखिन्छ । उनको स्वामित्व जोडिएका झन्डै दर्जन कम्पनी मार्फत अहिलेसम्म करिब २३ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको देखिन्छ ।

पछिल्लो समय जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत करिब २० करोड र सौर्य ऊर्जाको ८.५० करोड रुपैयाँ अनुमान गर्ने गरिएको छ । यसको आधारमा न्यौपाने ग्रुपले ५ जलविद्युत कम्पनी मार्फत जलविद्युतमा २१ अर्ब १८ करोड रुपैयाँ र अपि पावर र रिडी हाइड्रो मार्फत सौर्य ऊर्जामा १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ लगानी भएको देखिन्छ ।

न्यौपाने समूहको स्वामित्वमा अहिलेसम्म जलविद्युत र सौर्य ऊर्जा गरी कूल १२८.४ मेगावाटका आयोजना रहेका छन् । जसमध्ये, १०५.९ मेगावाट जलविद्युत र २२.५ मेगावाटका सौर्य विद्युत आयोजना छन् ।

लगानी भएका आयोजनामध्ये ६९.९ मेगावाटका ९ आयोजनाको निर्माण पूरा भई विद्युत उत्पादन भइसकेको छ । जसमा, ५६.४ मेगावाटका ६ जलविद्युत र १३.५ मेगावाटका ३ सौर्य आयोजना छन् । बाँकी ५८.५ मेगावाटका ४ आयोजना (२ जलविद्युत ४९.५ मेगावाट र २ सौर्य ९ मेगावाट) निर्माणाधीन छन् ।

निर्माण सम्पन्न आयोजनाहरू

पिलुवा खोला (३ मेगावाट)

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले संखुवासभामा निर्माण गरेको आयोजना हो ३ मेगावाटको पिलुवा खोला । यो आयोजनाबाट २०६० असोज १ गतेदेखि विद्युत भइरहेको छ । २०५६ फागुनदेखि निर्माण सुरु भएको आयोजना साढे ३ वर्षमा सम्पन्न भएको थियो । 

पिपिएको व्यवस्था अनुसार विद्युत प्राधिकरणले हिउँदमा ४.२४ रुपैयाँ र बर्खामा ३ रुपैयाँमा पिलुवाको विद्युत किनीरहेको छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा ३ बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गरेका थिए । विद्युत उत्पादन सुरु गरेको ३ वर्षमै पिलुवा खोलाले ऋण चुक्ता गरीसकेको थियो । 

रिडी खोला (२.४ मेगावाट)

गुल्मीको रिडी खोलामा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको २.४ मेगावाटको रिडी खोलाबाट २०६६ कात्तिक १० गतेदेखि विद्युत उत्पादन भइरहेको छ । उत्पादीत विद्युत ३३ केभी लाइन मार्फत रिडी सबस्टेसनमा जोडिएको छ । निर्माण सुरु भएको २ वर्षमा सम्पन्न भई उत्पादन सुरु भएको आयोजनाको विद्युत प्राधिकरणसँग प्रतियुनिट हिउँदमा ४.२४ रुपैयाँ र बर्खामा ३ रुपैयाँ तोकिएको छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा माछापुच्छ्रे र नेपाल एसबीआई बैंकले ऋण प्रवाह गरेका थिए । 

माथिल्लो नौगड गाढ (८ मेगावाट)

अपि पावर कम्पनीले निर्माण सम्पन्न गरी २०७२ भदौ २ गते सञ्चालनमा ल्याएको हाे, माथिल्लाे नाैगड। दार्चुला जिल्ला अवस्थित विद्युतकेन्द्रले वार्षिक ५१.६९ गिगावाट घन्टा विद्युत उत्पादन गरिरहेको छ । प्राधिकरणसँग २०७३ कात्तिक १२ गते विद्युत खरिद सम्झौता गरी निर्माणको काम सुरु गरेको थियो । यो आयोजना सम्पन्न गर्न १ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूजी लगानी छ । यो आयोजनाको विद्युत ७ किलोमिटर दूरीमा रहेको प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिएको छ । 

नौगड गाढ (८.५ मेगावाट)

यो पनि अपि पावरकै आयोजना हो । यो आयोजनाले २०७६ कात्तिक १३ गतेदेखि नियमित उत्पादन गरीरहेको छ । विद्युतगृहले वार्षिक ५३.६४ गिगावाट घन्टा विद्युत उत्पादन गरिरहेको छ । प्राधिकरणसँग हिउँदमा प्रतियुनिट ४ रुपैयाँ र बर्खामा प्रतियुनिट ७ रुपैयाँमा पिपिए गरिएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । जसमा, ९८ करोड रुपैयाँ ऋण लगानी हो । यो आयोजनाको विद्युत पनि बलाँच सबस्टेसनमा जोडिएको छ ।

काबेली ‘बी’ १ (२५ मेगावाट)

यो आयोजना अरुण काबेली पावर कम्पनीले निर्माण सम्पन्न गरेको हो । २०६७ पुस २३ गते स्थापित भएको कम्पनीले निर्माण गरेको आयोजनाबाट २०७६ कात्तिक २३ गतेदेखि उत्पादन सुरु गरेको हो । कम्पनीले २०६९ असार २९ गते प्राधिकरणसँग हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा विद्युत खरिद सम्झौता गरेको थियो । आयोजनाको विद्युत अमरपुर सबस्टेसनमा जोडिएको  । आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी छ ।

काबेली ‘बी’–१ क्यासकेड (९.५ मेगावाट)

यो पिलुवा खोलाको प्रवद्र्धक अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको आयोजना हो । यो आयोजनाको विद्युत गत २०७८ फागुन १४ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । यो २५ मेगावाटको काबेली ‘बी’ १ को क्यासकेड आयोजना हो । यो आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत लागेको छ । आयोजनामा १ अर्ब४० करोड रुपैयाँ ऋण लगानी छ । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकको ऋण लगानी छ ।

सौर्य आयोजनाहरू

बुटवल सोलार (८.५ मेगावाट)

यो आयोजना रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको हो । कम्पनीले रुपेन्देहीको मनीग्राममा निर्माण गरेको आयोजनाले २०७७ कात्तिक १५ गतेदेखि विद्युत उत्पादन गरीरहेको छ । कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ लगानीमा १० महिनामा सम्पन्न गरेको हो । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा सिटिजन्स बैंक र बंगलादेश बैंकले ऋण लगानी गरेका छन् । प्राधिकरणले यो आयोजनाको विद्युत प्रतियुनिट ७.३ रुपैयाँमा खरिद गरिरहेको छ ।

चन्द्रनिहापुर सोलार (४ मेगावाट)

यो आयोजना अपि पावरकै हो । कम्पनीले प्राधिकरणसँग २०७५ साउनमा पिपिए गरेको सौर्य आयोजनाको विद्युत २०७८ भदौ ६ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । ३३ करोड रुपैयाँ खर्च भएको आयोजनामा बैंक अफ काठमाडौंको एकल लगानी छ । आयोजनाको कूल लागतको २५ प्रतिशत (८.२५ करोड)स्वपूँजी र ७५ प्रतिशत (२४.७५ करोड) ऋण लगानी छ । आयोजनाको विद्युत ३ किलोमिटर दुरीमा रहेको प्राधिकरणको चन्द्रनिहापर सबस्टेसनमा जोडिएको छ । यो सौर्य आयोजनाबाट वार्षिक ६९.२९ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । प्राधिकरणले यो आयोजना विद्युत प्रतियुनिट ७.३० रुपैयाँ किनिरहेको छ ।

ढल्केबर सोलार (१ मेगावाट)

यो पनि अपि पावरकै सौर्य आयोजना हो । आयोजनाको विद्युत गत २०७८ पुस १२ गतेदेखि प्रणालीमा जोडिएको छ । आयोजनाको विद्युत ११ केभी लाइनमार्फत ३.५ किलोमिटर दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजना सम्पन्न गर्न ७ करोड रुपैयाँ खर्च भएको छ । यसमा पनि बैंक अफ काडमाडौंले७० प्रतिशत ऋण लगानी गरेको छ । प्राधिकरणले यसको विद्युत प्रतियुनिट७.३० रुपैयाँ विद्युत किनीरहेको छ ।

निर्माणाधीन आयोजनाहरू

माथिल्लो चमेलिया (४० मेगावाट)

यो आयोजना पनि अपि पावर कम्पनीकै हो । दार्जुलामा निर्माणाधीन आयोजनाको काम आधा भन्दा बढी सकिएको छ । आयोजनको काम २०७७ कात्तिकदेखि सुरु भएको हो । आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ  लागत अनुमान गरिएको छ । आयोजनामा ६ बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य, नेपाल बंगलादेश र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । 

बैंक तथा वित्तिय संस्थाले गरेको यो लगानी कुल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ स्वपुँजी लगानी छ । आयोजनाबाट २०७९ फागुनभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । उत्पादन हुने विद्युत १६ किलोमिटर दुरीमा रहेको प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिनेछ ।

इंगुवा खोला (९.५ मेगावाट)

यो आयोजना इगुंवा हाइड्रो कम्पनीले निर्माण गरीरहेको छ । यो आयोजना ताप्लेजुङमा निर्माणाधीन छ । यो आयोजना पूरा भएपछि ६५.७३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत ३३ केभी लाइनमार्फत १६ किलोमिटर दुरीमा रहेको प्राधिकरणको अमरपुर सबस्टेसनमा जोडिनेछ ।

निर्माणाधीन सौर्य आयोजनाहरू

बारा सोलार (८ मेगावाट)

यो पनि अपि पावरकै सौर्य आयोजना हो । यो बारा जिल्लामा निर्माणाधीन छ । यो आयोजना सम्पन्न गर्न ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा बैंक अफ काठमाडौंले ४९ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको छ । यो आयोजना निर्माण सुरु गरेको ६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाको विद्युत प्राधिकरणको परवानीपुर सबस्टेसनमा जोडिनेछ ।

सिमरा सोलार (१ मेगावाट)

यो पनि अपि पावरकै सौर्य आयोजना हो । यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट बैंशाखभित्र उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit