विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । असोज पहिलो साता देशभर ठूलो झरी पर्यो । झरीसँगै आएको बाढी–पहिरोले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुग्दा विद्युत् आपूर्ति अनियमित हुन पुग्यो । विद्युत् अवरुद्ध हुन थालेपछि सर्वसाधारणले ‘पुनः लोडसेडिङ हुन लागेको’ आशंक गरे । सामाजिक सञ्जालमा यस्तै खालका सन्देश र प्रतिक्रिया आइरहे । नेपाल विद्युत् प्राधिकरणले सामाजिक सञ्जालमा आएका यस्ता खबरमा सत्यता नभएको भन्दै स्पष्टीकरण नै दिनुपर्यो । सूचना जारी गरेर भ्रमपूर्ण हल्लामा नलाग्न पनि अनुरोध गर्यो ।

प्राधिकरणको वितरण प्रणालीमा देखिने यस्ता समस्या नौला होइनन् । विगत वर्षौंदेखि मौसममा आउने खराबी तथा प्राविधिक कारणले विद्युत् आपूर्ति अनियमित हुने गरेको थियो । वितरण प्रणाली स्वस्थ र गुणस्तरी नहुँदा यो समस्या हिजो थियो, आज छ । र, भोलि पनि रहिरहन्छ ।

जबसम्म वितरण प्रणाली स्वस्थ हुँदैन । ग्राहकका घरघर विद्युत् पुर्याउने ट्रान्सफर्मर, पोल, लाइन जस्ता उपकरण गुणस्तरीय हुँदैनन् तबसम्म यी समस्या दोहोरिइरहन्छन् । पछिल्ला ४–५ वर्षमा प्राधिकरणले ग्राहकको घरमा बिजुलीको बल्ब झुड्याउने काम गर्यो तर वितरण प्रणाली सुधारमा ध्यान पुर्याउन सकेन । यद्यपि, प्राधिकरणले प्रणाली सुधार, स्मार्ट मिटर र वितरण लाइन भूमिगत गर्ने काम गरिरहेको छ । यी काम पूर्ण भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने विश्वास गर्न सकिन्छ ।

यता प्राविधिक कारण वा समस्या आउँदा जनधनको सुरक्षाका लागि पनि विद्युत् लाइन काटिन्छ भन्नेमा सर्वसाधारण जागरुक छैनन् । यही कारण उनीहरूले लामो समय विद्युत् आपूर्ति बन्द हुनुलाई लोडसेडिङसँग जोडिरहेका हुन्छन् । ‘किन काटिन्छ त बेलाबेलामा विद्युत् लाइन’ भन्नेबारे ऊर्जा खबरले तथ्यहरू बाहिर ल्याउने गरेको छ । यसैक्रममा उपत्यकाका विभिन्न वितरण केन्द्र प्रमुखहरूसँग विद्युत् आपूर्ति अनियमित हुनुको कारण सोधिएको छ । जसलाई यहाँ जस्ताको त्यस्तै राख्ने प्रयास गरिएको छ ।

‘प्राविधिक कारणले विद्युत काटिँदा लोडसेडिङसँग जोड्नु न्यायिक हुँदैन’

नरेन्द्र श्रेष्ठ
प्रमुख, पुलचोक वितरण केन्द्र

विद्युत् प्रसारण तथा वितरण प्रणालीमा समस्या आउँदा बिनासूचना विद्युत् काटिन्छ । निरन्तर झरी परेर विद्युतीय संरचनाहरूमा क्षति पुगेका बेला अलि लामो समय आपूर्ति बन्द हुने गरेको छ । यो समस्या वर्षभरि नै भइरहेको हुन्छ । झरी परेको समयमा बाढी पहिरो आउँदा अलि बढी समय सेवा अवरुद्ध हुन्छ ।

सुख्खायाममा घामको तापले वितरण लाइनको इन्सुलेटर चर्केको, बिग्रेको हुनसक्छ । जब बर्खा सुुरु हुन्छ तब पानी पर्छ र इन्सुलेटरमा समस्या आई लाइन ट्रिप हुन्छ । यो समयमा बत्ती काटिन्छ । यही कारण कहिले काहीँ हल्का वर्षा हुँदा पनि उपभोक्ताको घरमा बत्ती जान्छ । कहिले वितरण लाइनको वरपर ठूलो रुख ढलेको अवस्थामा बत्ती काटिने गरेको छ । रुख ढलेको, तार चुँडिएको , जम्फर खाएको कारण अवरुद्ध लाइन चाँडै सुचारु हुन्छ । फल्ट पत्ता लगाउन अलि बढी समय लाग्छ ।

इन्सुलेटर पञ्चर भएको अवस्थामा अलि लामो समय बत्ती काटिन्छ । वितरण लाइनमा कहाँनेर समस्या देखियो भन्ने कुरा ‘नो लाइट’ ले पत्ता लगाएर नै आपूर्ति सुचारु गराउने हो । तर,  नाङ्गो आँखाले नदेखिने खालको फल्ट भएको छ भने आपूर्ति सुचारु गर्न समय लाग्छ । अन्यथा, पानी परेकै कारणले सधै बत्ती काटिन्छ भन्ने होइन ।

अहिले वितरण लाइनमा आउने समस्या विद्यार्थीहरूको अनलाइन कक्षाका कारण पनि बढेको छ । कोरोना (कोभिड–१९) महामारीका कारण विद्यालय, क्याम्पस नखुलेकाले विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेकाले नियमितरूपमा वितरण लाइन मर्मत गर्न पाएका छैनौं । पहिले अनलाइन कक्षा नहुँदा नियमित लाइन मर्मतको काम हुन्थ्यो र कम समस्या आउँथ्यो ।

अहिले फल्ट आएको लाइनको मर्मत गरेर विद्युत् आपूर्ति सुचारु गर्ने काम मात्रै वितरण केन्द्रहरूले गरिरहेका छन् । यो वर्ष अनलाइन कक्षाका कारण वितरण लाइन वरपरको रुखको हाँगाहरू काट्ने, इन्सुलेटरहरू फेर्ने, जम्पर बदली गर्ने, लाइनको मर्मत गर्ने काम नियमित गर्न पाएका छैनौं । अधिकांश वितरण केन्द्रले शनिबार पारेर यी कामहरू गर्ने गरेका छन् ।

यो सबै वितरण प्रणालीमा आएको प्राविधिक समस्याले भएको होे । यसलाई लोडसेडिङसँग जोड्नु न्यायिक हुँदैन । जनतालाई बत्ती काटिनुको प्रविधिक कारण थाहा हुँदैन । प्राविधिक कारणले बत्ती काटिनेबारे हामीले उपभोक्तालाई बुझाउन नसकेर पनि उपभोक्तालाई लोडसेडिङको भान भएको हुनसक्छ । हाम्रो वितरण केन्द्र अन्तर्गतको वितरण लाइनमा पनि बेला बेला समस्या आइरहेकै हुन्छ ।

अहिलेको वितरण प्रणाली पोलबाट लगिएको छ । कहीँ जंगल त कहींँ घना बस्तीबाट लाइन तानिएको छ । यही कारण घाम पानीले वितरण लाइनमा समस्या ल्याइरहेको हुन्छ । वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन लाइनको नियमित मर्मत संभार र स्तरोन्नति गर्नुपर्छ । विस्तारै वितरण प्रणालीलाई भूमिगत बनाउनुपर्छ । यसको सुरुवात भइसकेको छ । वितरण प्रणालीलाई भूमिगत बनाउन सके जथाभावी विद्युत् काटिने समस्याको दीर्घकालीन समाधान हुन्छ ।

‘फल्ट पत्ता नलाग्दा आपूर्ति सुचारु गर्न समय लाग्छ’

प्रज्वलमान श्रेष्ठ
प्रमुख, रत्नपार्क वितरण केन्द्र

झरी परेको बेला ११ केभी ‘ओभर हेड’ लाइनमा समस्या आइरहेको हुन्छ । यस्तो बेला हाम्रा प्राविधिक साथीहरू समस्याग्रस्त ठाउँको लाइन मर्मत गरेर आपूर्ति सुचारु गर्न फिल्डमा खटिन्छन् । झरी परेको समयमा बत्ती काटिँदा मुख्य गरी फल्ट कहाँ भएको हो पत्ता लगाउन धेरै समय लाग्छ । राति समस्या आएको लाइनमा बिहानसम्म पनि फल्ट पत्ता नलाग्दा लामो समय सेवा सुचारु हुँदैन ।

फल्ट चाँडै पत्ता लाग्दा लाइन अवरुद्ध भएको केही मिनेटमै सुचारु भइहाल्छ । हावाहुरी आउँदा रुख नै ढलेर सेवा अवरुद्ध भइरहेको हुन्छ । यस्तो अवस्थामा पनि लाइन सुचारु हुन अलि बढी समय लाग्ने गरेको छ । प्राविधिक कारणले बत्ती काटिँदा उपभोक्ताले लोडसेडिङ भएको हो भन्दै फोन गर्छन् । हामीले प्राविधिक समस्याले बत्ती गएको हो भनेर जवाफ दिने गरेका छौं ।

कुलमान सरको कार्यकालमा लोडसेडिङ अन्त्य भएकाले उहाँ प्राधिकरणबाट बाहिरिएपछि प्राविधिक कारणले बत्ती काटिँदा पनि लोडसेडिङ भएको भनेर उपभोक्ताले आशंका गरेको हुनुपर्छ । प्राधिकरण केन्द्रीय कार्यालयमा हट लाइन सेवा छ । रत्नपार्कको कुन फिडर अवरुद्ध हुँदा मेरो कार्यालयमा भन्दा बढी गुनासो हटलाइनमा पुग्ने गरेको छ ।

हामीले ११ केभी लाइनको मर्मतलाई पहिलो प्राथमिकता दिएर काम गर्छौं । एउटै टोलीले नभ्याएको अवस्थामा धेरै वटा टोली खटाउँछौं । ट्रान्सफर्मर पड्किँदा, जल्दा एउटा समूदायको मात्रै सेवा अवरुद्ध हुन्छ । कहीले काहीँ ग्राहकको घरमै समस्या देखिएर आपूर्ति बन्द हुन्छ । स्वीचिङ हुँदा छोटो समयका लागि बत्ती काटिन्छ । स्वीचिङ हुँदाको अवस्थामा ३-४ मिनेटभित्रमा आपूर्ति सुचारु भइसक्छ ।

‘कमजोर वितरण प्रणाली एकै रातमा सुधार हुँदैन’

बाबुराम सुवेदी,
प्रमुख, बानेश्वर वितरण केन्द्र

असोज सुरुमा देशैभरि भारी वर्षा भयो । यही बेला रुखका हाँगा खस्ने, बाँस ढलेर तारमा लाग्ने, कतै रुख नै ढल्ने समस्याले ११ केभी लाइनमा धेरै समस्या आयो । र, उपभोक्ताको घरमा विद्युत् काटिन पुग्यो । यसप्रकारका समस्या यस केन्द्रअन्तर्गतका वितरण लाइनहरूमा पनि देखियो ।

जथावाभी बत्ती जानुका पछाडि कोभिड—१९को असर पनि प्रमुख कारण बनेको छ । कोभिड—१९ को संक्रमण रोक्न गरिएको लकडाउन र निशेधाज्ञाले नियमितरूपमा गर्नुपर्ने लाइन मर्मतको काम हुन सकेन । त्यसैको असर अहिले वितरण प्रणालीमा परिरहेको छ ।

अर्कातिर, सडक विभागले पनि यही बेला सडक विस्तारको काम गरिरहेकाले वितरण लाइन स्थानान्तरण गर्न विद्युत् लाइन काटिने गरेको छ । कहिले काहीँ गाडीले विद्युत्ीय संरचनामा ठक्कर दिँदा विद्युत् आपूर्ति बन्द गर्नुपर्छ । बौद्धमा केही दिनअघि रातको समयमा गाडीले ठक्कर दिएर ट्रान्सफर्मरसहित ११ केभी लाइनको पोल नै ढालिदियो । यस्ता घटना हुँदा क्षतिग्रस्त ट्रान्सफर्मर, लाइन तथा पोलको मर्मत नगरी आपूर्ति सुचारु गर्न सकिँदैन ।

हाम्रो वितरण संरचना धेरै पुरानो र कमजोर छ । लामो समय घाम लागेर पानी पर्दा वितरण प्रणालीमा सधैं समस्या आउँछ । यो वर्ष यस केन्द्रका फिडरहरू त्यति धेरै ट्रिप भएका छैनन् । २–३ पटक अलि ठूलो समस्या आयो । यसबाहेक काटिने त्यत्ति समस्या यस पटक देखिएको छैन ।

प्राधिकरण नेतृत्व परिवर्तन भएपछि लाइन धेरै काटिन थाल्यो भनेर जनगुनासो सुनिए पनि यस केन्द्रले ग्राहकको गुनासो झेल्न परेको छैन । अन्यत्रको तुलनामा यहाँका फिडरको समस्या न्यून छ । ग्राहकको इच्छा २४ घन्टा विद्युत् आपूर्ति नियमित होस् भन्ने हुन्छ ।

कोभिड–१९ का कारण पनि विद्यालय, क्याम्पसका विद्यार्थी घरमै बसेर अनलाइन कक्षाबाट पढिरहेकाले लाइन गयो कि गुनासो आइहाल्छ । चैतअघिसम्म विद्यालय, क्याम्पस लाग्दा दिउँसो एकछिन बत्ती काटिँदा खासै गुनासो आउँदैन थियो । अहिले त्यही भएर ग्राहकको बढी गुनासो आइरहेको हो ।

वितरण प्रणाली दिगो र गुणस्तरीय बनाउन एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा उपत्यकाको वितरण प्रणाली भूमिगत बनाउन काम सुरु भइसकेको छ । यो एकै रातमा हुने कुरा होइन । यसका लागि समय लाग्छ । ग्राहकले पनि यस्ता सामान्य कुरा र समस्या बुझिदिनुपर्छ ।

‘विद्युतीय दुर्घटना रोक्न पनि कहिलेकाहीँ लाइन काट्नुपर्छ’

सुबोध शर्मा
प्रमुख, ठिमी वितरण केन्द्र

सडक विभागले सडक विस्तारको काम गरिरहेका बेला लाइन काटिन्छ । सडक विस्तार सकिएपछि विद्युतीय पोल सार्न पनि सूचना दिएरै लाइन काट्ने गरिन्छ । अन्य समयमा प्राविधिक कारणले लाइन काटिन्छ । भर्खरै वा असोज पहिलो साता देशभरि परेको झरीले वितरण प्रणालीमा समस्या आउँदा बढी लाइन काटियो । यस केन्द्रअन्तर्गतका वितरण लाइनमा पनि सामान्य समस्या आयो । तर, अन्यत्रको तुलनामा ग्राहकले त्यति धेरै बत्ती काटिने समस्या झेल्नु परेन ।

मौसममा आउने परिवर्तनले पनि वितरण प्रणालीमा समस्या ल्याउँछ र विद्युत् अवरुद्ध हुन पुग्छ । हावा हुरी चलेका बेला ठाउँ–ठाउँमा विद्युत्ी पोल ढल्ने गरेकाले विद्युत्ीय दुर्घटना नहोस भनी लाइन काट्नु पर्छ ।

सामान्यरुपमा ट्रान्सफर्मरको फ्युज जान्छ । फ्युज हालुन्जेलमा लाइन सुचारु गर्न कम्तीमा १५÷२० मिनेट त लागिहाल्छ । अस्स्ति धेरै झरी परेर वितरण प्रणालीमा समस्या आउँदा सामाजिक सञ्जालहरूमा फेरि लोडसेडिङ सुरु भएको हो कि भन्ने अफवाह धेरै चलेको देखियो । यसमा अलिकति पनि सत्यता छैन । केहीबेर बत्ती गयो भन्दैमा त्यसलाई लोडसेडिङ भइहालेको भन्न मिल्दैन । जब देशमा लोडसेडिङ थियो । त्यो बेला तालिका दिएर बत्ती काटिन्थ्यो । अब यस्तो हुँदैन । प्राधिकरण व्यवस्थापनले पनि यो विषयलाई प्रष्ट पारिसकेको छ । अहिले माग र आपूर्तिमा समस्या छैन । बरु खपत बढाउँदै लैजानुपर्ने देखिन्छ ।

कुलमान घिसिङ सरको कार्यकारी निर्देशकको कार्यकाल पूरा हुनु र खराब मौसमका कारण विद्युत् लाइन काटिने क्रम एकै पटक भएकाले धेरैले यसलाई लोडसेडिङ हो कि भनेर आशंका गरे । ग्राहकले बत्ती जाने र आउने क्रमलाई हेर्छन् । कहीले काहीँ देशभरकै सिस्टम फल्ट हुन्छ । यस्तो बेलामा ठिमीका ग्राहकको घरको बत्ती पनि काटिन्छ । यसमा ठिमी एक्लैको दोष हुँदैन ।

ग्राहकलाई प्राविधिक कुरा थाहा हुँदैन । यसबारे ग्राहकलाई बुझाउन नसक्नुमा हाम्रो कमजोरी हुनसक्छ । वितरण प्रणाली कमजोर छ । यो हामीले स्वीकार्नुपर्छ । यो केन्द्र एक्लैले वितरण प्रणालीमा सुधार गर्न सक्दैन । विद्युत् सेवा दिगो र गुणस्तरीय बनाउन केन्द्रीय कार्यालयको नीति अनुसार काम गर्नुपर्छ ।

यसका लागि प्राधिकरण व्यवस्थापन नै लागिरहेको छ । यसबारे निमित्त कार्यकारी निर्देशक लेखानाथ कोइरालाले सबै कार्यालय प्रमुखहरूलाई बोलाएर वितरण प्रणाली सुधार गर्न निर्देशन दिइसक्नु भएको छ । यो एकै दिनमा हुने कुरा नभएकाले यसका लागि समय लाग्छ । अबको केही वर्षभित्र जनताले पाउने विद्युत् सेवा अवश्य अहिलेको भन्दा दिगो र गुणस्तरीय हुनेछ ।

‘लोड मिलाउन हामी विगतमा भन्दा बढी खटिएका छौं’

वीरेन्द्रकुमार सिंह
प्रमुख, महाराजगन्ज वितरण केन्द्र

यस केन्द्रमा ओभरलोडका कारण समस्या आएको सुनिएको छैन । तर, बेलाबखत फिडरमा समस्या आउँदा आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउँछ । अस्ति बालाजुको फिडरमा समस्या आयो र लोड धान्ने अवस्था रहेन । यस्तो बेलामा आधी–आधी घन्टा आपूर्ति बन्द गरेर सन्तुलन मिलाइएको हुन्छ । अन्यथा, समस्या हुँदैन ।

गत वर्ष चाबेल वितरण केन्द्रमा समस्या थियो । किनिकि, ओम फिडर ओभर लोड थियो । यो वर्ष सुकेधारा फिडर निर्माण भएको छ । यसो हुँदा ओमको लोड बाँडियो र समस्या न्यूनिकरण भयो ।

कुलमान सर कार्यकाल सकेर बाहिरिएपछि लोडसेडिङ सुरु हुन थाल्यो भनेर हल्ला फैलाइएको छ । कर्मचारीहरूले पहिले जस्तो काम गरेनन् भन्ने आरोप पनि छ । वितरण प्रणाली सिस्टममा चल्ने हो । कुनै एमडी वा डिएमडी आउँदा वितरण लाइनले काम गर्ने र नआउँदा नगर्ने भन्ने हुँदैन ।

यहाँ कुलमान सर जाने र निरन्तर झरी पर्ने क्रम एकैपटक भयो । तर, सबैतिर समस्या समाधान गर्दै लगिएको छ । अघिल्ला वर्षहरू जतिबेला कुलमान सर हुनुहुन्थ्यो त्यतिबेला बरु प्रणालीमा अलि बढी समस्या थियो । अहिले त्यस्तो छैन । हामीहरू विगतमा भन्दा बढी फिल्डमा खटिइरहेका छौं । अरू कर्मचारीहरू पनि त्यसरी नै खटिएका छन् । मन्त्रालय र व्यवस्थापनको उतिकै सहयोग छ ।

अहिले ट्रान्सफर्मर, तार, इन्सुलेटर जस्ता उपकरण नियमित मर्मत गर्न पाइएको छैन । अघिल्ला वर्षहरूमा यी काम नियमित भएका थिए र समस्या कम देखिएको थियो । मर्मत गर्न लाइन काट्नुपर्छ । लाइन काट्दा ग्राहकको गुनासो आउँछ । यी सबैको एउटै उपाय वितरण प्रणाली गुणस्तरीय बनाउनु हो । जसको पहिलो सुरुवात महाराजगन्ज र रत्नपार्कबाट लाइन भूमिगत बनाउने प्रक्रिया अगाडि बढेको छ ।

‘वितरण लाइनको लम्बाई बढी हुँदा समस्या आउँछ’

रामदुलार यादव
प्रमुख, लगनखेल वितरण केन्द्र

पाटन वा लगनखेल वितरण केन्द्रबाट गएको लाइन दक्षिण ललितपुर हुँदै मकवानपुर र काभ्रेको सिमानासम्म पुगेको छ । ३३ केभी यो लाइनको लम्बाई नै करिब १ सय ८० किलोमिटर छ । वितरण लाइन यति लामो हुँदा बीचबीचमा समस्या आउँछ । समाधान गर्न पनि त्यतिकै समय लाग्छ ।

पछिल्लो समय देशभरि निरन्तर पानी परेकाले यो वितरण लाइनमा धेरै समस्या आयो । र, लोडसेडिङ हुन लाग्यो भन्ने हल्ला चल्यो । कहाँ कसरी लाइन गयो वा काटियो भन्ने सबै विवरण सबस्टेसनमा हुन्छ । कुनै पनि वितरण केन्द्रले मन लागेर लाइन काट्ने वा दिने भन्ने हुँदैन । प्राविधिक कारणले हुने समस्या बाहिर ल्याउन हामीले पनि प्रयास गर्नुपर्छ ।

यस केन्द्र अन्तर्गत महानगरपालिका, नगरपालिका र गाउँकालिका छन् । यी सबैमा समस्या फरक–फरक हुन्छ । गाउँ र शहरको वितरण प्रक्रिया छुट्टयाइँदैछ । यसो भने समस्या कम आउँछ । अर्कोतर्फ, दक्षिण ललितपुरको उमीचौरमा नयाँ सबस्टेसन बन्दैछ । यो बनेपछि वितरण लाइनको लम्बाई छोटिन्छ र समस्या पनि कम हुन्छ ।

हाम्रो काम गराई हिजो र आजमा कुनै फरक छैन । हिजोभन्दा आज कम खटेको वा कम काम गरेको भन्ने हुँदै होइन । महिनाको २९ दिन राम्रोसँग विद्युत् आपूर्ति भयो तर एक दिन समस्या भयो भने ग्राहकले त्यही दिनलाई महिनाभरिको समस्या ठानिदिन्छन् । यसो हुँदा पनि समस्या बढी सुनिएको जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit