काठमाडौँ । ल्हेन्दे खोलामा आएको बाढी कम हुँदै गएपछि १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्र पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । खोलामा एक्कासी लेदोसहितको बाढी बढेपछि केन्द्रको उत्पादन आइतबार राति ८ बजेदेखि बन्द गरिएको थियो ।
लेदोसहितको बाढीमा आएको गिट्टी, बालुवा तथा ढुङ्गाले आयोजनाका संरचनामा क्षति पुर्याउने भएकाले उत्पादन बन्द गर्नुपरेको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सत्यराम ज्याख्वाले बताए । ‘विगतमा पनि ल्हेन्दे खोलाकै बाढीले आयोजनाले ठूलो क्षति पुर्याएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उत्पादन बन्द गरिएको हो,’ उनले भने, ‘अहिले भने बाढी घटेकोले आयोजना सञ्चालनको तयारीमा लागेका छौँ ।’ नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रसँग समन्वय गरी विद्युत् माग अनुसार आयोजना सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी २ महिनाअघि मात्रै आयोजना पूर्ण सञ्चालनमा ल्याइएको थियो ।
सिइओ ज्याख्वाका अनुसार सम्भावित क्षति टार्न आइतबार राति सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको हो । खोलाको बहावको निरन्तर अनुगमन भइरहेको र बाढी घट्दै गएकोले आजैबाट उत्पादन पुनः सुरु गर्न सकिने सम्भावना छ ।