काठमाडौँ । नेपालले भारत तथा बंगलादेशमा गरी कूल ६४४ मेगावाट विद्युत् निर्यात गर्न सुरु गरेको छ । आइतबार राति १२ बजेदेखि उक्त परिमाण बराबरको विद्युत् निर्यात सुरु गरिएको हो ।
निर्यात गरिएको परिमाणमध्ये भारतमा ६०४ मेगावाट र बंगलादेशमा ४० मेगावाट रहेको छ । यस्तै, भारतमा निर्यात गरिएकोमा पनि बिहार राज्यमा २०४ मेगावाट र हरियाणामा ४०० मेगावाट निर्यात सुरु भएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाले ऊर्जा खबरलाई जानकारी दिए ।
बंगलादेशमा ५ वर्षसम्म वर्षाका ५ महिना सो परिमाणमा विद्युत् निर्यातका लागि २०८१ कात्तिक ३० गते पाएको अनुमति अनुसार आइतबारदेखि निर्यात सुरु गरिएको उनले बताए । ‘पाँच वर्षसम्म हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मका लागि निर्यातको अनुमति पाएअनुसार नै यस वर्षको निर्यात सुरु गरिएको हो,’ उनले भने, ‘अक्टोबरको अन्तिमसम्म यो परिमाणको विद्युत् निर्यात हुने छ ।’
प्राधिकरणले चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादन हुने २१.४० र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादन हुने १८.६० मेगावाट विद्युत् बंगलादेश निर्यातका लागि अनुमति पाएको थियो । आफ्नो प्रसारण संरचना प्रयोग गरी उक्त परिमाणको विद्युत् सन् २०२९ अक्टोबरसम्म बंगलादेश निर्यातका लागि भारतले नेपाललाई अनुमति दिएको थियो । सम्झौता अनुसार नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा विद्युत् निर्यात गरिरहेको छ । यसअनुसार गत वर्ष १४७ गिगावाट घन्टा विद्युत् बंगलादेश निर्यात गरेर प्राधिकरणले ९० लाख ४३ हजार ६०० अमेरिकी डलर आम्दानी गरेको प्राधिकरणको तथ्याङ्क छ ।
निर्देशक थापाका अनुसार द्विपक्षीय सम्झौता अनुसार आइतबार रातीदेखि नै नेपालले भारतको बिहार राज्यमा उपलब्धता अनुसार बढीमा २०४ मेगावाट र हरियाणा राज्यमा बढीमा ४०० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसअघि अतिक्त यो प्राधिकरणले विद्युत् उत्पादन र मागका आधारमा करिब ६०० मेगावाटसम्म भारतीय प्रतिस्पर्धी विद्युत् विनिमय बजार (इन्डियन इनर्जी एक्सचेन्ज–आइइएक्स) मा बिक्री गर्दै आएको थियो ।
द्विदेशीय सीमापार प्रसारण लाइनको क्षमता सीमित भएकाले नेपालले चाहेजति विद्युत् भारतमा निर्यात गर्न सक्ने अवस्था तत्कालका लागि बनेको छैन ।
कुल १००० मेगावाट विद्युत् आयात–निर्यात गर्न सकिने क्षमता रहेको ढल्केबर–मुजफ्फरपुर लाइनबाट हाल ९२५ मेगावाट निर्यात गर्न सकिने अनुमति छ । अनुमतिको सीमा बढाइए यो लाइनबाट भारतमा थप ७५ मेगावाट विद्युत् निर्यात गर्न सकिने सम्भावना छ ।
नेपाल–विहारका १३२ केभी प्रसारण लाइनबाट कुल ४०० मेगावाट निर्यात गर्न सकिने सम्भावना छ । यस अनुसार यी लाइनबाट थप करिब २०० मेगावाट बिहारमा निर्यात गर्न सकिने सम्भावना छ । त्यस्तै, सम्पत्तिया–मैनहिया १३२ केभीबाट करिब ८० मेगावाट उत्तर प्रदेशमा दिन सकिन्छ ।
‘तत्कालको प्रसारण लाइनको क्षमता अनुसार सहमति पाए थप ३०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि हामीले सहमति माग गरिरहेका छौँ ।’ सीतामढी–ढल्केबर ४००/२२० केभी अन्तर्देशीय प्रसारण लाइनको नेपालतर्फ डेढ किलोमिटर खण्ड निर्माण गर्न सकिए थप विद्युत् निर्यात बढाउन सकिने उनको भनाइ छ ।
यी सबै सम्भावनालाई मध्यनजर गरेर प्राधिकरणले भारतसँग कुल १ हजार ९५० मेगावाट विद्युत् निर्यातको सहमति तत्काल प्रदान गर्न प्रस्ताव गरेको समेत उनले जानकारी दिए । हाल द्विपक्षीय सम्झौता अनुसार नेपालले भारत र बंगलादेशमा गरी करिब १ हजार २०० मेगावाटको मात्र निर्यात अनुमति पाएको छ ।
निर्देशक थापाका अनुसार हाल देशको विद्युत् उत्पादनको जडित क्षमता कुल ४ हजार १७४ मेगावाट रहेको छ । नयाँ विद्युत् केन्द्रले समेत परीक्षण उत्पादन सुरु गरेको र व्यापारिक उत्पादन सुरु गरेपछि यो तथ्याङ्क बढ्ने उनको भनाइ छ ।
हाल बर्खा सुरु भएको तथा नदी–खोलामा पानीको बहाबसमेत बढ्न थालेकोले विद्युत् उत्पादन समेत वृद्धि हुन थालेको छ । यस्तो अवस्थामा नेपालमा खपत हुन नसकेको अतिरिक्त विद्युत्को निर्यात बढाउनुपर्ने बाध्यता प्राधिकरणको देखिन्छ ।