images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा निर्माणाधीन ९९.८ मेगावाटको तामाकोसी–५ मा अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडलाई १० प्रतिशत स्वपुँजी लगानी गर्न दिइने भएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको संस्थापक सेयरमध्येबाट उक्त परिमाण दिने प्रक्रिया अगाडि बढाइएको हो ।

आयोजना अगाडि बढाइरहेको तामाकोसी तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले यससम्बन्धी निर्णय गरी प्राधिकरणमा पेश गरेको छ । प्राधिकरणले पनि उक्त विषय सञ्चालक समितिमा लगेर छलफल सुरु गरेको छ । सञ्चालक समितिले कानुनी राय लिएर अन्तिम निर्णय गर्ने तयारी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

अप्पर तामाकोसीले ४५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यसैको टेलरेस (पानी निकास सुरुङ) बाट निस्किएको पानी ट्याप (उपयोग) गरी तामाकोसी–५ को विद्युतगृहमा लगेर खसालिनेछ । साथै, अप्पर तामाकोसीले निर्माण गरेको २२० केभी डबल सर्किट प्रसारण लाइनमा उत्पादित विद्युत जोड्नुपर्ने हुँदा कम्पनीमा अप्पर तामाकोसीलाई साझेदार बनाउनुपर्ने बताइएको छ ।

आयोजनाबाट उत्पादित विद्युत अप्पर तामाकोसीले निर्माण गरेको २२० केभी लाइनमा ‘लुप इन लुप आउट’ प्रविधिमार्फत राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने योजना छ । माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानी उपयोग गर्दा तामाकोसी–५ का लागि छुट्टै बाँध निर्माण गर्नु नपर्ने हुँदा पनि १० प्रतिशत सेयर दिनु उपयुक्त रहेको प्राधिकरणको तर्क छ ।

तामाकोसी कम्पनी स्थापना हुँदा यसमा प्राधिकरणको ६८ प्रतिशत स्वामित्व थियो । पछि यो आयोजनालाई ‘जनताको जलविद्युत’ कार्यक्रममा राखियो । त्यसको मापदण्डअनुसार प्राधिकरणको स्वामित्व ४१ प्रतिशतमा सीमित भयो । त्यही ४१ प्रतिशतबाट १० प्रतिशत अप्परलाई दिने प्रक्रिया भइरहेको छ ।

सुरुको सेयर संरचना प्राधिकरण ६८ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहमा ३२ प्रतिशत राखिएको थियो । सर्वसाधारण सेयरधनी समूहअन्तर्गत सर्वसाधारण नागरिकलाई १५ प्रतिशत, आयोजना प्रभावित जिल्लालाई १० प्रतिशत, लगानीकर्ता र कम्पनीका कर्मचारीलाई ५ प्रतिशत र अतिविपन्न नागरिक परिवार तथा अपाङ्गलाई २ प्रतिशत छुट्ट्याइएको थियो ।

आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा राखेपछि सरकार वा सरकारले तोकेको निकाय (प्राधिकरण) ४१ प्रतिशत, सम्बन्धित प्रदेश सरकारको ५ प्रतिशत, आयोजना रहेको जिल्लाका स्थानीयका लागि ५ प्रतिशत, कम्पनीमा कार्यरत कर्मचारीलाई ३ प्रतिशत, आयोजनाबाट प्रभावित बासिन्दाका लागि १० प्रतिशत, अन्य जिल्लाका सर्वसाधारणलाई ३३ प्रतिशत र सम्बन्धित आयोजनाको प्रसारण लाइनबाट प्रभावित बासिन्दाका लागि ३ प्रतिशत स्वामित्व विनियोजन गरिएको छ ।

आयोजनाका अनुसार अहिलेसम्म आवास संरचना निर्माण भइरहेको, परापर्शदाता नियुक्त गर्न खरिद प्रक्रिया सुरु गरिएको र विस्तृत इन्जिनियरिङ अध्ययन पूरा भएको छ । यस्तै, वातावरणीय अध्ययन पूरा गरी सरकारबाट स्वीकृत भइसकेको र ठेक्कापट्टा सम्बन्धी कागजात तयार भइसकेको छ । करिब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि ७५ प्रतिशत ऋण (१२ अर्ब रुपैयाँ) लगानी गर्न कर्मचारी सञ्चय कोष सहमत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit