विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विश्लेषण

नेपालको जडित प्रणालीमा नियमित विद्युत् कटौती (लोडसेडिङ) को अन्त्य हुनु आधुनिक इतिहासको एउटा सुखद मोड हो । यद्यपि, यसलाई कुनै एक व्यक्तिको जादु वा आकस्मिक सफलताको रूपमा मात्र हेर्नु वस्तुपरक हुँदैन । 

लोडसेडिङको अन्त्य कुनै ‘आकस्मिकता’ वा रातारात भएको कार्य होइन । यो त दशकौँदेखि भइरहेका निर्माण र व्यवस्थापकीय सुधारको सञ्चित परिणाम हो । कसैले चाहेर मात्रै आजको भोलि लोडसेडिङ अन्त्य हुन सम्भव थिएन र छैन । आज हामीले बालिरहेको बिजुलीको जगमा ती परियोजनाहरू छन्, जो वर्षौँअघि सुरु गरिएका थिए । यथार्थमा, यदि पहिलाका नेतृत्व र प्राविधिकहरूले काम नगरेको भए, ठूला आयोजनाहरूको जग नबसालेको भए आज लोडसेडिङको अन्त्य सम्भव नै हुने थिएन ।

पछिल्लो समय हामी एउटा गम्भीर विरोधाभासमा बाँचिरहेका छौँ । एकातिर लोडसेडिङ अन्त्यको ‘सेलेब्रेसन’ (उत्सव) भइरहेको छ, अर्कोतिर उत्पादन र लगानीको हकमा विगत ७ वर्ष निकै कमजोर र निराशाजनक देखिएका छन् । 

प्राप्त तथ्याङ्कलाई केलाउँदा सन् २०१८ देखि २०२५ सम्म नेपाल विद्युत् प्राधिकरणको उत्पादन क्षमतामा भएको वृद्धि कछुवाको गतिमा देखिन्छ । सन् २०१८ मा २ हजार ३०८ युनिट विद्युत् उत्पादन गरेको प्राधिकरणले सन् २०२५ सम्म पुग्दा २ हजार ९५३ युनिट मात्र पुर्‍याएको देखिन्छ । यो ७ वर्षको अवधिमा प्राधिकरणले आफ्नै नेतृत्वमा कुनै पनि उल्लेख्य र ठूला आयोजनाहरूको जग बसाल्न वा सम्पन्न गर्न नसक्नुले दूरदर्शिताको चरम अभावलाई पुष्टि गर्छ ।

विगत ७ वर्षमा प्राधिकरणले आफूलाई ‘उत्पादक’ भन्दा बढी ‘विद्युत् व्यापारी’को रूपमा मात्रै उभ्याएको छ । निजी क्षेत्र (स्वतन्त्र ऊर्जा उत्पादक) बाट हुने खरिद ८ गुणाले बढ्नु र भारतसँगको परनिर्भरता अझै कायमै रहनुले हाम्रो आन्तरिक मेरुदण्ड कति कमजोर छ भन्ने देखाउँछ ।

सन् २०२५ सम्म आइपुग्दा पनि झन्डै १ हजार ७०० युनिट बिजुली भारतबाटै आयात गर्नुपर्ने प्रक्षेपणले हाम्रो ऊर्जा सुरक्षाको पोल खोलिदिन्छ । हिउँदमा नदीको बहाब घट्दा भारतीय बजारको स्विचमा निर्भर रहनुपर्ने बाध्यता र जलाशययुक्त आयोजनाहरू (जस्तै बूढीगण्डकी वा दूधकोसी) मा गरिएको लगानीको ढिलासुस्तीले हाम्रो भविष्य सुरक्षित छैन भन्ने सङ्केत गर्छ ।

लगानीको यो खडेरी र उत्पादनमा देखिएको सुस्तताले प्राधिकरणलाई आत्मनिर्भर बन्नबाट रोकेको छ । हामीले लोडसेडिङ हटाउने तत्कालीन लोकप्रियतामा त ध्यान दियौँ तर दीर्घकालीन ऊर्जा सार्वभौमिकताका लागि आफ्नै स्वामित्वका ठूला आयोजना बनाउन भने पूर्णतः असफल भयौँ । निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राम्रो हो, तर राज्यको आफ्नै मेरुदण्ड (प्राधिकरण) कमजोर हुनु रणनीतिक हिसाबले घातक छ ।

हिजोका कामको ब्याज खाएर आज रमाउन सकिएला तर भोलिको पुस्तालाई ऊर्जामा पूर्ण सुरक्षित राख्न आफ्नै उत्पादन र दूरगामी लगानी अपरिहार्य छ । जबसम्म प्राधिकरणले आफ्नै उत्पादनबाट हिउँदको माग धान्न सक्दैन, तबसम्म ‘उज्यालो नेपाल’को नाराभित्र परनिर्भरताको अँध्यारो लुकिरहने छ ।

अन्त्यमा, लोकप्रियताको सस्तो नाराभन्दा माथि उठेर अब लगानी र उत्पादनको वास्तविक काममा नफर्कने हो भने हामीले प्राप्त गरेको ‘उज्यालो’ कुनै पनि बेला परनिर्भरताको पासोमा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३