विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ ३१, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको मुख्य कारण र वैज्ञानिक प्रमाण पहिचान गर्न सरकारले विज्ञहरूको ७ सदस्यीय अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा उक्त समिति निर्माण गरेको हो । 

समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिएका छन् ।

उनका अनुसार बाढीको उत्पत्ति, हिमाली भू-जोखिमको वास्तविक कारण र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे तथ्यपरक निष्कर्ष निकाल्न विज्ञ टोलीले उद्गमस्थलदेखि नै स्थलगत अध्ययन गर्ने भएको छ । उच्च हिमाली क्षेत्रमा विकसित भएका भौगोलिक, हिमनदीय तथा जलविज्ञानसम्बन्धी जोखिमहरू एकपछि अर्को जोडिएर यो 'शृंखलाबद्ध विपद्'का रूपमा देखा परेको जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अनुमान छ । यसअघि आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययनले विपद्को ठोस उत्पत्ति स्थल र भौतिक प्रक्रियाबारे पर्याप्त प्रमाण जुटाउन नसकेकाले विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

बाढीले भोटेकाेसी तथा त्रिशूली नदी करिडोरका जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएकाले आगामी दिनमा अन्य नदी प्रणालीमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले यो अध्ययनको अग्रसरता लिएको हो । २ महिनाको समयावधि दिइएको विज्ञ समितिले तीन चरणमा अध्ययन सम्पन्न गर्ने जनाइएको छ । 

त्यसअनुसार समितिले पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि ल्हेन्दे-भोटेकोसी नदी प्रणाली र तटीय क्षेत्रसम्मको समयक्रम, भौगोलिक क्षति, पहिरो, लेदो र नदीको बहावबीचको अन्तरसम्बन्ध विश्लेषण गर्ने छ ।

त्यसैगरी, दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारणहरू पहिचान गरिने र तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले घटनाको तीव्रता र जोखिम बढाउन खेलेको भूमिकाको वैज्ञानिक मूल्याङ्कन हुनेछ ।

अध्ययन समितिले ड्रोन, स्याटेलाइट प्रविधि तथा प्रत्यक्ष स्थलगत निरीक्षणमार्फत विस्तृत तथ्य सङ्कलन गर्नेछ । समितिको अन्तिम प्रतिवेदन र प्राप्त प्रमाणका आधारमा ऊर्जा मन्त्रालयले यस बाढीलाई उपयुक्त वैज्ञानिक नाम दिनेसमेत तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३