विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
मेरो अनुभवमा दशैँ

हिन्दूहरूको महान पर्व दशैँ एक धार्मिकमात्र नभई सांस्कृतिक एकताको चाड पनि हो । पर्व मनाउने परम्पराले निरन्तरता पाएको छ तर यसका सांस्कृतिक एवम् मौलिक विशेषताहरू धुमिल हुँदै गएका छन् । परिवर्तित समय र परिवेशअनुसार यसको रङ फेरिँदै जानु स्वभाविक पनि हो । तथापि, बाल्यकाल तथा यौवनकालका स्मृतिहरूले दशैँलाई फर्काएर पुरानै ठाउँमा पुर्‍याउँदा रहेछन् । मैले तिनै स्मृतिलाई यहाँ संक्षिप्तमा उतार्ने जमर्को गरेको छु ।

बाल्यकालको दशैँ

बाल्यकालको दशैँ सम्झिँदा मेरो मानसपटलमा चार-पाँचवटा कुरा आउँछन् । गाउँमा घर पोत्न आमाले रातोमाटो र कमेरो बोकेर ल्याउनु हुन्थ्यो। दशैँ आउन थालेपछि हजुरआमा र आमाले खड्कुँलोमा धान भिजाएको, हाँडीमा धान भुटेको र त्यसलाई ढिकीमा कुटी चिउरा बनाएको याद आउँछ । “कहिले आफ्नो लुगा सिलाइसक्छ र लगाउनु” भनेर “पहिला मेरो, पहिला मेरो” भन्दै हामी केटाकेटी घरमा आएका दमाईं दाइको वरिपरि झुम्मिएर बस्थ्यौँ ।

हजुरबा, हजुरआमा शाकाहारी भएकाले हाम्रो घरमा खसी काट्ने चलन थिएन । मासुका परिकार पनि खान पाइने र दक्षिणा पनि भेटिने हुँदा आमाको पछि लागेर टीका लगाउन मामाघर जानुको मजा नै अर्कै हुन्थ्यो तर आमासँग मामाघर जान पाउने भाग्यमानीले मात्र पैसा कमाएर ल्याउँथ्यो । जान नपाउने भाइबहिनी पैसा गन्दा अँध्यारो मुख लगाएर ठुस्किएर बस्थे । हजुरबाले हामी नातिनातिनाका लागि घरको करेसामा बाँस टाँगेर बाबियोको पिङ्  हालिदिनु हुन्थ्यो। ठूला मान्छेले हामीलाई पिङमा चढाएर चहचह भन्दै मच्चाइदिन्थे। फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर भन्ने गीतको बोलजस्तै त्यतिखेरको “मनोरञ्जन पर्व” रूपी दशैँ अब कल्पनामै सिमित भएको छ ।

युवा अवस्थाको दशैँ 

युवा अवस्थामा आइपुग्दा दशैँको रौनक निकै घटेको महसुस हुन थाल्यो । यतिखेर कलेज पढ्न गाउँबाट सहर पसियो । नयाँ लुगा लगाउन दशैँको प्रतीक्षा गरिरहन परेन । दशैँमा खाने परिकारहरु सधैँजसो खान पाइने भयो तर पनि मान्यजनबाट टीका/जमरा थापी आशीर्वाद लिन र सहरबाट दशैँ मनाउन गाउँ जाँदा “नेटवर्किंङ्” र भेटघाटका अर्थमा दशैँ सामाजिक पर्वका रूपमा महत्त्वपूर्ण लागिरह्यो।

इन्जिनियरिङ र दशैँ

इन्जिनियरिङ पढ्न विदेश गएपछि घरबाट मेरो दशैँ पनि टाढियो । कलेजमा सबै नेपालीहरू टीकाको दिन एकै ठाउँ जम्मा भइन्थ्यो र सँगै खाने/खेल्ने गरिन्थ्यो । भारतको त्यो सहरमा ठूलो नेपालीहरूको बस्ती थियो। केही वर्षहरूको दशैँमा त्यहाँ गएर पनि हामीले रमाइलो गर्‍यौँ । दशैँको नवरात्रीको अवधिभर महिलाहरूले हातमा रहेको लठ्ठी ठोक्काउँदै नाच्ने गुजराती संस्कृतिको “गर्वा” नृत्यको रमाइलो हेर्न हामीहरू पनि बाहिर निस्किन्थ्यौँ । जताततै चोकमा दुर्गामाताको मूर्ति सजाइ मनाइने दुर्गापूजाको रौनकले हामीलाई दशैँको एक अलग सांस्कृतिक उमङ्ग प्रदान गरेको हुन्थ्यो ।

पेशागत जीवन र दशैँ  

इन्जिनियरिङ पढिसकेर पेशागत जीवनमा प्रवेश गरेपछि पारिवारिक स्वरूप र जिम्मेवारी बदलिन पुग्दा दशैँको अनुभवमा पनि परिवर्तन आएको महसुस भयो । जीवनमा जीवनसाथी र छोराछोरीको आगमनसँगै उनीहरूको खुसीलाई आफ्नो खुसी मान्दै दशैँ मान्न थालियो । आफूले कमाई गर्न थालेपछि दशैँमा परिवारको चाहनालाई केन्द्रमा राखेर लत्ताकपडा किन्ने, घुमफिर गर्ने गर्न थालियो। अघिपछि यति धेरै छुट्टी नमिल्ने हुँदा दशैँको छुट्टीमा सालभरिको कमाई केही बचत गरेर भए पनि केही दिनका लागि परिवारसहित देशभित्र र बाहिर घुमघाम गरी रमाइलो गरिन्थ्यो । मूलत: यो अवस्थामा छोराछोरीको रमाइलो नै दशैँको आफ्नो रमाइलो अनुभव हुन थाल्यो । दशैँ जिम्मेवारीको पर्व जस्तो पनि बन्यो।

यो वर्षको दशैँ 

यसपाली भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा धेरै जनाले ज्यान गुमाएको र सिंहदरबारलगायत धेरै सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिको आगजनी/तोडफोड भएको हुँदा यसपाली दशैँ आए पनि मनमा उल्लासको बहार आउन सकेको छैन । देश पीडामा भएकाले यो वर्षको दशैँ खल्लो हुने अवस्था छ । दशैँका लागि बनाएका केही योजनाहरू अब थन्क्याएको छु । नयाँ लुगा नकिन्ने, घरमा रङरोगन नगर्ने र पशुबलि जस्ता कार्य नगर्ने योजना छ । त्यसबाट बच्ने रकम बरु आन्दोलनबाट क्षति पुगेका सार्वजनिक सम्पत्ति पुनर्निर्माणका लागि योगदान गर्ने सोच बनाएको छु । मेरो सानो योगदानले पनि सार्वजनिक सम्पत्ति पुनर्निर्माणमा भरथेग होस् । यो वर्षको दशैँ सांस्कृतिक निरन्तरताका रूपमा मात्र आफ्नै घर-परिवारभित्र सीमित भई मनाउने योजनामा छु ।

लेखक, वरिष्ठ ऊर्जा विज्ञ तथा नेपाल विद्युत प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३