विद्युत अपडेट

  • प्राधिकरण : ९९३२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८९९ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : १६१८ मे.वा.घन्टा
  • निर्यात : १०१९१ मे.वा.घन्टा
  • ट्रिपिङ : १२०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५६३३३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३७६ मे.वा.
२०८१ असार ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । करिब एक दशकदेखि सुशासन, आर्थिक पारदर्शिता र व्यावसायिक निष्ठामा रहेर काम गर्दै आएको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अहिले आफ्ना केही पूर्वसञ्चालकबाटै बदनाम हुनु परेको छ । कम्पनीभित्र आर्थिक अनियमितताको आरोप लगाउँदै उनीहरूले मुद्दा–मामिला गर्ने र नियमित वार्षिक साधारणसभा समेत गर्न नदिने हर्कत सुरु गरेका छन् ।

अहिले, नेशनल हाइड्रोले ७.५ मेगावाटको इन्द्रावती–३ जलविद्युत् केन्द्र सञ्चालन गर्दै आएको छ । यो आयोजना निर्माणको सुरुवातकर्ता तत्कालीन एनबी ग्रुपले नै कम्पनीलाई बदनाम गर्ने गतिविधि गरेको तथ्य सतहमै आएको छ । यस समूहले वर्तमान कम्पनी सञ्चालकहरूले आर्थिक अनियमितता गरेको आरोप लगाएको छ ।

बाहिर जे जति आरोप आएका छन्, ती शतप्रतिशत झुटा रहेको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए । ‘हामी आउनुअघि आर्थिक पारदर्शिता र सुशासनकै अभावमा यो कम्पनी धराशयी भई थला परेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीले संस्थागत सुशासनको मर्म अनुसार काम गर्दै थप ४ वटा जलविद्युत् आयोजनामा लगानी गर्न र लाभांश बाँड्न सक्ने हैसियतमा पुर्‍यायौँ ।’

जो जसले संस्थामा आर्थिक पारदर्शितामा प्रश्न उठाएका छन्, तिनलाई कम्पनीको इतिहास र यसले लिएको सुधारको अभियानका विषयमा एक पटक अध्ययन गर्न पाण्डेले आग्रह गरे । हिजोकै अवस्थामा छोडिदिएको भए हजारौँ सर्वसाधारणको लगानी डुब्ने अवस्था रहेको र पछिल्ला सञ्चालकहरूले त्यो जोगाएको उनको भनाइ छ ।

खासगरी, कम्पनीले आफ्नो ४५ प्रतिशत सेयर स्वामित्व रहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोलामा प्रक्षेपण गरेभन्दा बढी रकम लगानी गरेको विषयमा नै अनियमितताको प्रश्न उठाइएको छ । बढ्दो बैंक ब्याज, कोरोना महामारी (कोभिड–१९) बाट निर्माणमा भएको समय वृद्धि, निर्माण सामग्रीको मूल्यवृद्धि जस्ता कारणले आयोजनामा केही रकम बढी लगानी गर्नुपर्ने परिस्थिति नबुझी दुष्प्रचार गर्ने चेष्टा गरिएको पनि पाण्डेको विश्लेषण छ ।

उक्त विषय सबै सेयरधनीले प्रस्टसँग बुझ्ने गरी वार्षिक प्रतिवेदनमै उल्लेख गरिएको उनले बताए । ‘हामीले लुकाएर कुनै काम गरेका छैनौँ, कुनै पनि विषयमा शंका लागेमा सेयरधनीले साधारणसभामा उपस्थित भएर प्रश्न उठाउन पाउँछ तर यहाँ त साधारणसभा नै गर्न नदिने वातावरण बन्यो,’ उनले खुलाए, ‘हामी सबै सेयरधनीलाई आह्वान गर्छौं, साधारणसभा गरौँ, सबै शंका निवारण गर्न हामी तयार छौँ ।’

नेशनल हाइड्रोले गत आर्थिक वर्षमा हकप्रद सेयर जारी गरी संकलन गरेको पुँजीमध्ये ३२ करोड रुपैयाँ तल्लो इर्खुवाको निर्माणमा लगानी गरेको छ । उक्त आयोजनामा कम्पनीले लिएको सेयर स्वामित्वबापत गर्नुपर्ने लगानीभन्दा केही बढी लगानी गर्नु परेको र त्यो रकम ४.५ मेगावाटको तल्लो इन्द्रावतीका लागि छुट्ट्याइएको मध्येबाट लिइएको २७औँ वार्षिक प्रतिवेदनमै उल्लेख छ ।

कम्पनीले नै निर्माण गरिरहेको तल्लो इन्द्रावतीमा रकम अपुग भएको अवस्थामा बैंकबाट ऋण लिएर लगानी गर्ने समेत प्रतिवेदनमा स्पष्ट उल्लेख छ । यही विषयमा शंका गर्दै एउटा समूह कम्पनीलाई बदनाम गर्ने र यसले अगाडि बढाएका आयोजनाको निर्माणमा समेत अवरोध गर्ने गतिविधिमा लागेको देखिन्छ ।

‘एउटा आयोजनाका लागि छुट्ट्याएको रकम अर्कोमा लगानी गरियो’ भन्दै पूर्व–सञ्चालकहरूले बखेडा झिकिरहेका छन् । कम्पनीले १०ः५ को अनुपातमा जारी गरेको उक्त हकप्रद सेयरबापतको रकममध्ये ३६ करोड ४३ लाख रुपैयाँ तल्लो इन्द्रावतीको निर्माणमा, १३ करोड ७७ लाख रुपैयाँ इन्द्रावती–३ को स्तरोन्नतिमा लगानी गरेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ । साधारणसभा हुन नसकेको हुँदा यो वास्तविक तथ्य सर्वसाधारणलाई बुझाउन नसकिएको पाण्डेको भनाइ छ ।

तीन पटक रोकियो साधारणसभा

केही पूर्व–सञ्चालकको आरोपकै आधारमा कम्पनीको २७औँ वार्षिक साधारणसभा ३ पटकसम्म स्थगित भइसकेको छ । २७औँ साधारणसभा गर्न पहिलो पटक गत मंसिर २२ गते समय तोकिएको थियो तर कोरम पुग्न नसकेर स्थगित हुन गयो । त्यस्तै, दोस्रो गत पुस ५ गते र तेस्रो पटक फागुन ३० गतेलाई तय भएको साधारणसभामा समेत कायम रहेका सेयर सदस्यमध्ये २५ प्रतिशत पनि उपस्थित नभएपछि स्थगित भयो ।

दोस्रो पटकसमेत गणपूरक संख्या नपुगी साधारणसभा स्थगित भएपछि के कसरी गर्ने भनी नेशनल हाइड्रोले नियामक निकाय कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा निवेदन गरी निकास माग गरेको थियो । यसमा कम्पनी रजिष्ट्रारबाट सेयरधनीहरूलाई पर्याप्त सूचना दिई न्यूनतम २५ प्रतिशत गणपूरक संख्या पुर्‍याई यथाशीघ्र साधारणसभा सम्पन्न गरी कम्पनी अध्यावधिक गर्न गत फागुन ९ गते पत्राचार भएको थियो । सोही आधारमा पुनः तेस्रो पटक साधारणसभा बोलाइएको थियो ।

कोरम नपुग्नु र पटक–पटक तय भएको साधारणसभा स्थगित हुनुमा हिजो कम्पनीलाई दोहन गरेर कमाउन पल्केको समूह नै हाबी रहेको दाबी गरिएको छ । साधारणसभामा उपस्थितिका लागि गोरखापत्रसहित दैनिक पत्रिका, रेडियो, टेलिभिजन, टेलिफोन र मोबाइल एसएमएस लगायत सञ्चार माध्यमबाट प्रचार–प्रसार, सूचना प्रसारण तथा निमन्त्रणा गरिएको र भौतिकरूपमा उपस्थित हुन नसक्ने सेयरधनीलाई जुमको माध्यमबाट समेत हाजिर गर्न सक्ने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।

उपलब्ध र सम्भव भएसम्मका स्रोतमार्फत सूचना प्रकाशन, प्रचार र निमन्त्रणा गर्दा पनि साधारणसभामा सेयरधनीको कोरम नपुग्नुले आफूलाई आश्चर्य चकित बनाएको पाण्डेले बताए । यसो हुनुमा गलत नियतका मानिसले सेयरधनीमा मनगढन्ते प्रचार गरेको पनि उनले दाबी गरे ।

कम्पनी उकास्ने पाण्डेमाथि नै खनिए पूर्व–सञ्चालकहरू 

नेशनल हाइड्रो पावर लिमिटेडको स्थापना २०५२ साल पुस १३ गते भएको थियो । कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने इन्द्रावती नदीमा ७.५ मेगावाटको इन्द्रावती–३ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्यायो ।

आयोजनाबाट २०५९ साल असोज २१ गतेबाट विद्युत् उत्पादन सुरु भएको थियो तर विद्युत् उत्पादन सुरु गरेको केही वर्षमै कम्पनीभित्रको आर्थिक अनियमितता छताछुल्ल भयो । आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन नसकेपछि आम्दानी गुम्दै गयो र कम्पनी पनि धराशयी हुँदै गयो । कम्पनी धराशयी भएपछि क्यासकेड आयोजनाको रूपमा अघि बढाउन खोजिएको ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमतिपत्र सरकारले खोस्यो ।

कम्पनीभित्र मौलाएको अनियमितताबारे सबै सूचना बाहिर आए । यसले कम्पनीको सेयर मूल्यमा समेत गम्भीर असर गर्‍याे । त्यसताका धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल हाइड्रोको सेयर अंकित मूल्य (प्रतिकित्ता १०० रुपैयाँ) भन्दा पनि तल झरेर ३९ रुपैयाँसम्म आयो । यसलाई कम्पनीभित्र मौलाएको आर्थिक अनियमितता र भ्रष्टाचारको बलियो सूचक मान्न सकिन्छ ।

२०६९ साल माघमा सम्पन्न कम्पनीको १७औँ साधारणसभाले सञ्चालक समितिमा कुमार पाण्डे नेतृत्वको समूहलाई निर्वाचित गर्‍यो । ३ दशकभन्दा लामो समयदेखि जलविद्युत् विकास, परामर्श र निर्माणको पक्षलाई नजिकबाट नियालेका इन्जिनियर पाण्डेको समूह नेतृत्वमा आएपछि भने कम्पनी विस्तारै प्रगतितर्फ लम्किन थाल्यो ।

सुरुमा पाण्डे समूह जलविद्युत् केन्द्रको मर्मत–सम्भार र स्तरोन्नति गरी क्षमता अनुसार विद्युत् उत्पादनतर्फ लाग्यो । विद्युत्‌गृहमा बिग्रिएका र उत्पादन कम दिने पार्टपूर्जा फेर्ने काम भयो । त्यस्तै, चलिरहेका उपकरण बिग्रिएमा तत्काल फेर्न मिल्ने गरी जगेडा पार्टपूर्जाको व्यवस्थापन गरियो । यसले विद्युत् उत्पादन र वार्षिक आयमा वृद्धि हुँदै गयो ।

अनावश्यक कर्मचारी कटौती, सञ्चालन खर्चमा मितव्ययिता, पारदर्शी लेखा प्रणालीको विकासजस्ता अनेक काम गरेर पाण्डे समूहले कम्पनीलाई सञ्चित नोक्सानीको अवस्थाबाट नाफामा पुर्‍यायो । यही उपलब्धिका कारण विगतमा प्रतिकित्ता ३९ रुपैयाँसम्म झरेको कम्पनीको सेयरमूल्य ५०० रुपैयाँ हाराहारीसम्म पुगेको थियो । यसरी, एउटा आर्थिक दलदलमा भासिएको कम्पनीलाई सुधार गरी बैंकिङ जगतले पत्याउने तहमा पुर्‍याउने समूहलाई अहिले बदनाम गर्न खोजिएको देखिन्छ ।

एक साथ ५ आयोजना अघि बढाउँदै

कम्पनीको सञ्चालक–व्यवस्थापनमा कुमार पाण्डे नेतृत्वको समूहले राम्रो नतिजा देखाएपछि विद्युत् विकास विभागले पनि विश्वास गर्‍यो । इन्द्रावती–३ को क्यास्केड ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमतिपत्र पुनः यही कम्पनीले पायो । यो आयोजनाको निर्माण अहिले ५० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ ।

यसबाहेक कम्पनीले आफ्नो अधिकतम सेयर स्वामित्व रहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला (भोजपुर) को निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । त्यस्तै, ७५ प्रतिशत सेयर स्वामित्वको ३६ मेगावाटको लिखु खोला, ६० प्रतिशत सेयर स्वामित्वको ४० मेगावाटको संखुवाखोला, २० प्रतिशत सेयर स्वामित्वको त्रिशूली गंगा जस्ता आयोजनाहरू निर्माण अघि बढाइएको छ ।

तल्लो इर्खुवा खोलाबाट चालु आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गरी व्यावसायिक आम्दानी गर्ने लक्ष्य राखेको छ । यसबाट विद्युत् उत्पादन भएपछि वित्तीय अवस्था अझ दरिलो हुने कम्पनीको विश्वास छ ।

कम्पनीका आगामी योजना

कम्पनीले तल्लो इन्द्रावती तथा तल्लो इर्खुवाको निर्माण तोकिएको समयमै पूरा गर्ने, इन्द्रावती–३ को नियमिति सञ्चालन, मर्मत तथा विभिन्न प्राविधिक समस्या समाधान गरी आय वृद्धिको योजना बनाएको छ । ३६ मेगावाटको लिखु आंशिक जलाशयको पिपिए सम्पन्न गर्ने, ४० मेगावाटको संखुवा खोलामा लगानी गर्नुपर्ने स्वपुँजी र ऋणको व्यवस्थापन गर्ने जस्ता योजना अगाडि बढाइएको छ ।

लगानी विविधिकरणका लागि कम्पनीले जलविद्युत् बाहेकका सम्भाव्य क्षेत्रको समेत खोजी गर्ने नीति लिएको छ । कम्पनीलाई सबै सेयर–सदस्यको विश्वास र भरोसायोग्य बनाइराख्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी तथा पारदर्शीता कायम गर्दै प्रविधिमैत्री कर्मचारी सञ्चालन प्रणालीको रणनीति अघि बढाइएको छ । यसले नेशनल हाइड्रोलाई आगामी दिनमा सुशासनयुक्त, पारदर्शी, मुनाफामुखी र आम–लगानीकर्ताका लागि आकर्षक कम्पनीका रूपमा स्थापित गर्न सक्ने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३