• प्राधिकरण : ९८०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३२५० मे.वा.घन्टा
  • आयात : २८७ मे.वा.घन्टा
  • निर्यात : ७१२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३०१२७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५१८ मे.वा.
×

प्रविधिमैत्री विद्युत प्राधिकरण आजको आवश्यकता

२०७८ भदौ २

काठमाडाैं । विद्दुत उत्पादन, प्रसारण र वितरणलाइ सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्दुत आपूर्तिको भरपर्दो व्यवस्था गर्न नेपाल विद्दुत प्राधिकरण ऐन, २०४१ अन्तर्गत वि सं २०४२ भाद्र १ गते प्राधिकरणको स्थापना भएको हो । प्राधिकरण सरकारको पूर्ण स्वामित्वकाे जनपयोगी क्षेत्रको सार्वजनिक संस्थान हो र यसको देशका ७७ वटै जिल्लासम्म संगठनात्मक संरचना पुगेको छ ।

१. विषयवस्तुको उठान

सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी जनशक्ति कार्यरत रहेको यस संस्थाले विद्दुत सेवा जनताको घरघरमा सर्वसुलभरूपमा पुर्याउने पहिलो दायित्व बाेकेको छ। विद्दुत सेवा प्रभावकारी बनाउन प्राधिकरणले आफूलाई समयसापेक्षरूपमा अद्यावधिक गर्दै जानेक्रममा विभिन्न नविनतम् प्रविधि विकास गर्ने तथा भित्र्याउने कार्य गरिरहेको छ । प्रविधिको प्रयोगले विद्दुत प्राधिकरणको सेवा प्रवाह छिटो, छरितो र पारदर्शी बन्न गइ ग्राहकहरू सन्तुष्ट हुनुका साथै प्राधिकरणको सञ्चालन संभार खर्च पनि उल्लेख्य कटौती भई मुनाफा आर्जनमा समेत  महत्त्वपूर्ण योगदान पुर्याउँछ।

२. विद्यमान अवस्था

विद्दुत् प्राधिकरणले आफ्नो आन्तरिक कार्य र सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन विभिन्न प्रयास गरिरहेको छ र ती प्रयासहरूले सकारात्मक नतिजा समेत दिएका छन् । प्रविधिको प्रयोगप्रति चासो समेत दिनप्रतिदिन बढ्दै गएको पाइन्छ। प्राधिकरणलाई प्रविधिमैत्री बनाउन सूचना तथा प्रवधि विभाग र कम्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखा क्रियाशील रहेका छन् । प्रविधि प्रयोगमा प्राधिकरणको विद्यमान अवस्था निम्नानुसार छ :

प्राधिकरणको आफ्नो वेबसाइट क्रियाशील रहेको छ, जसमा विभिन्न सार्वजनिक महत्त्वका सूचनाका साथै कार्यालयका आन्तरिक सूचना प्रकाशन गर्ने गरिन्छ । प्राधिकरणको बारेमा आधिकारिक जानकारी लिनुपरेमा सरोकारवालाले वेबसाइट प्रयोग गर्न सक्छन् ।

प्राधिकरणको महसुल संकलनलाई प्रविधिमा आधारित बनाउन एवम् पावर बिलिङ सफ्टवेयर आन्तरिक प्रयोजनका लागि प्रयोगमा रहेको सूची व्यवस्थापन, अनुकूलित लेखा सूची, सम्पत्ति व्यवस्थापन र पे राेल व्यवस्थापन प्रणाली लगायतका सफ्टवयेर सञ्चालनमा रहेका कर्मचारीको अभिलेख राख्न व्यक्तिगत सूचना प्रणाली र दरबन्दी व्यवस्थापन प्रणाली प्रयोगमा रहेको भारप्रेषण केन्द्रमा एकीकृत राष्ट्रिय विद्युत प्रणाली प्रयोगमा रहेको उत्पादन गृहमा टिओडी मिटरको अनलाइनबाटै रिडिङ गर्न सकिने एएमआर प्रविधि महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको पुरानो एनालग मिटर प्रतिस्थापन गरी नयाँ स्मार्ट मिटर जडान गर्ने काम भइरहेको छ ।

जसले गर्दा मिटर रिडिङ डिजिटलाइज हुने क्रम सुरु भएको ग्राहकले अनलाइन प्रणालीबाट भुक्तानि गर्न अनलाइन पेमेन्ट  प्रयोग बढ्दो छ । यसक्रममा ग्राहकले आफ्नो मिटर रिडिङ आफैं गर्न सेल्फ मिटररिडिङ एपको विकास  र प्रयोग, अनलाइन गुनासो राख्न कन्जुमर रिलेसनसिप म्यानेज्मेन्ट सिस्टमको विकास र प्रयोग प्राधिकरणले आफ्नो फेसबुक पेजबाट प्राधिकरण सम्बन्धी अद्यावधिक जानकारी सम्प्रेषण गर्ने गरेको छ ।

साथै, आफ्नै युट्युब च्यानलसमेत सञ्चालनमा रहेको प्राधिकरणका कर्मचारीहरूबीच म्यासेन्जर ग्रुप भाइबर ग्रुप वाट्स एप ग्रुपबाट सूचना तथा जानकारी आदानप्रदान हुने गरेको छ । जुम मिटिङलाई भौतिक उपस्थितिको मिटिङका विकल्पका रूपमा भरपूर प्रयोग गरिएको छ । कर्मचारीको खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा अनलाइन आवेदन फारामको प्रयोग सुरु गरिएको छ । हाजिरी प्रणालीलाई व्यवस्थित गर्न केन्द्रीय इ-हाजिरी प्रणाली र खरिदलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन इ-बिडिङ लागू गरिएको छ । प्राधिकरणबाट प्रवाह हुने अनलाइन सुविधालाई एकीकृत गरी विद्दुत प्राधिकरणको मोबाइल एप पनि जारी भएको छ ।

३. समस्याहरू :

१. छरिएर रहेका विभिन्न सफ्टवेयरलाई एउटै एकीकृत प्रणालीभित्र  समावेश गर्न  नसकिएको 

२. सूचना प्रविधिको प्रयोगमा  रहेका सफ्टवेयरहरूको सुरक्षा अवस्था सन्तोषजनक नरहेको

३. साइबर सुरक्षामा पर्याप्त लगानी नभएको

४. विद्दुत प्राधिकरणले सुरु गरेका नविनतम् प्रविधियुक्त सेवाका बारेमा सम्पूर्ण सरोकारवाला अझै पनि सू-सुचित हुन नसकेको

५. प्रविधिको प्रयोग गरी सेवा लिने सम्बन्धमा प्रविधिको प्रयोगमा ग्राहक अझै पनि विश्वस्त हुन नसकेको

६. प्रविधिमैत्री मानव संसाधनको विकासका लागि तालिम तथा विकासका लागि न्यून लगानी/अत्यन्त न्यून कार्यक्रम सञ्चालन हुने गरेको

७. अनुसन्धान तथा विकासमा न्यून लगानी

८. सूचना प्रविधि प्रयोगकर्ताले गर्न सक्ने वदनियतपूर्ण कार्यको निगरानी र नियन्त्रण प्रभावकारी नभएको

९. सूचना प्रविधिको अत्याधिक केन्द्रिकरण

१०. सफ्टवेयरहरू समसामयिकरूपमा अपग्रेड हुन नसकेको

११. नविनतम् प्रविधि संगठनमा भित्र्याउन खोज्दा कर्मचारीको परिवर्तन विरोधी मानसिकताले गर्दा अवरोध गर्न खोज्ने परिपाटी

१२. संगठनमा भित्रिएका नविनतम् प्रविधिलाई आन्तरिकिकरण गर्न समय लाग्ने गरेको

१३. डाटा ब्याकअपमा समेत यथोचित ध्यान नपुर्याइएको

४. चुनौतीहरू :

माथि उल्लेखित समस्याका साथमा प्राधिकरणमा सूचना प्रविधिको प्रयोगका सम्बन्धमा केही चुनौतीहरू पनि छन् । ती चुनौतीमा प्राधिकरणमा विभिन्न निर्देशनालयअन्तर्गतका कार्यालयहरूले प्रयोग गरिरहेका सफ्टवेयरलाई एकीकृत गर्नु, साइबर सुरक्षालाई प्रभावकारी बनाई सफ्टवेयरलाई सुरक्षित बनाउनु, सूचना प्रविधिको प्रयोग गर्न सक्ने सक्षम जनशक्तिको विकासका लागि तालिम तथा विकासका पर्याप्त कार्यक्रम सञ्चालन गर्नु, प्रविधिको पहुँच सेवाग्राहीसम्म पुर्याई प्रविधिको प्रयोगप्रति ग्राहकलाई आश्ववस्त पार्नु, अनुसन्धान र विकासका लागि लगानी बढाउनु लगायतका चुनौती प्राधिकरण समक्ष छन् ।

५. भावी कार्यदिशा :

प्राधिकरणलाई प्रविधिमैत्री बनाउन माथि उल्लेखित समस्याको दिगो समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्नु प्राधिकरणको मुख्य कार्यभार हो । प्रविधिसँगको सामिप्यतालाई थप प्रभावकारी बनाउँदै अधिकांश कार्यलाई प्रविधियुक्त बनाउन प्राधिकरणको भावी कार्यदिशा निम्नानुसार हुनुपर्दछ :

१. विभिन्न क्षेत्रमा छरिएर रहेका सफ्टवेयरलाई एउटै छाताभित्र समेट्न उद्मम स्राेत याेजना (इआरपी) यथाशक्य छिटो लागू गर्नुपर्ने हुन्छ । जसले गर्दा सूचना तथा तथ्यांकमा एकरूपता शीघ्रता  विश्वसनीयता कायम भई समग्र कार्यसम्पादन प्रभावकारी हुन जान्छ।

२. सफ्टवेयरको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन साइबर सुरक्षाको पाटो मजबुद बनाउने/साइबर सुरक्षामा लगानी बढाउनुपर्दछ।

३. संगठनका लागि आवश्यक पर्ने नविनतम प्रविधिको  विकासका लागि संगठनभित्र विद्यमान जनशक्तिको भरपूर प्रयोग गर्ने र अनुसन्धान तथा विकासमा लगानी बढाउने ।

४. प्रविधिमैत्री जनशक्तिलाई संगठनमा भित्र्याउन पदपूर्तिमा कम्प्युटर स्किल टेष्ट सबै पदका लागि अनिवार्य गर्ने र संगठनमा विद्यमान कर्मचारीको क्षमता विकासका लागि तालिम तथा विकासका कार्यक्रम पर्याप्त सञ्चालन गर्ने ।

५. प्राधिकरणले प्रयोग गरिरहेका प्रविधिको प्रयोगका सम्बन्धमा सरोकारवालालाई जानकारी गराउने /प्रयोगमा भएका प्रविधि विश्वसनीय रहेको विषयमा सबैलाई आश्वस्त पार्ने ।

उल्लेखित कार्यदिशामा प्राधिकरण अगाडि बढे अधिकांश सेवा पेपर लेस, फेस लेस हुँदै जाने एवं पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वमा समेत सकारात्मक प्रभाव पर्नेछ । साथै, समग्र सेवा प्रवाह प्रभावकारी बन्छ । संस्थागत सुशासन कायम हुन्छ र प्राधिकरणप्रति ग्राहकको विश्वास बढ्दै जानेछ ।

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit