विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज १, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपालको स्वच्छ ऊर्जा क्षेत्रको विकासका लागि लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागिएको हो ।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ नारासहित आयोजना हुने एक्स्पो सन् २०१७, २०१८, २०२२ र २०२४ मा आयोजना भएका संस्करणको निरन्तरता हो । आयोजक इपानका अनुसार यो पाँचौँ संस्करणको एक्स्पोलाई नेपालको जलविद्युत् क्षेत्रमा मात्र सीमित नराखी समग्र स्वच्छ तथा हरित ऊर्जा क्षेत्रको वार्षिक कार्यक्रमका रूपमा विकास गर्न लागिएको छ ।

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको र आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य रहेको सन्दर्भमा एक्स्पो आयोजना गर्न लागिएको इपानले जनाएको छ । उत्पादन क्षमता विस्तारसँगै घरेलु विद्युत् खपत बढाउने, औद्योगिक विद्युतीकरण गर्ने, विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने, ऊर्जा भण्डारण प्रणाली विकास गर्ने तथा भारत र बंगलादेशसँग अन्तरदेशीय विद्युत् व्यापार विस्तार गर्न आवश्यक लगानी, प्रविधि, बजार र साझेदारी निर्माण गर्ने उद्देश्य एक्स्पोको रहेको इपानले उल्लेख गरेको छ ।

इपानका अनुसार राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको करिब ४ हजार ३०० मेगावाट उत्पादन क्षमतामा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ । अहिले करिब ६ हजार ४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पिपिए) का लागि आवेदन दिएर निर्माणको तयारीमा छन् । यसले आगामी वर्षमा नेपालको विद्युत् उत्पादन क्षमता थप तीव्र रूपमा बढ्ने सम्भावना देखाएको इपानले उल्लेख गरेको छ ।

इपानका अनुसार उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, ऊर्जा भण्डारण, औद्योगिक विद्युतीकरण र क्षेत्रीय विद्युत् व्यापारमा आवश्यक पूर्वाधार तथा लगानीलाई पनि एक्स्पोको मुख्य विषय बनाइएको छ । ३० हजार मेगावाटको राष्ट्रिय लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र, लगानीकर्ता, प्रविधि प्रदायक र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकाले एक्स्पोलाई त्यसका लागि साझा मञ्चका रूपमा विकास गर्न लागिएको हो ।

जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो र गेग्रान बहावको जोखिमलाई समेत एक्स्पोले प्राथमिकतामा राख्ने भएको छ । पछिल्ला वर्षमा इलाम, संखुवासभा, लमजुङलगायतका क्षेत्रमा भएका बाढी तथा पहिरो र हालै भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएका विपद्ले ऊर्जा आयोजनाका पूर्वाधारमा क्षति पुर्‍याएको भन्दै आयोजकले सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माणको विषयलाई बहसको केन्द्रमा राख्ने जनाएको छ ।

एक्स्पोमा जलविद्युत्सँगै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आइओटी) र जलवायु प्रविधिसहितका क्षेत्रमा केन्द्रित प्रदर्शनी तथा कार्यक्रम सञ्चालन हुनेछन् । यसपटक ‘एकीकृत हरित ऊर्जा बजार’को अवधारणालाई अघि बढाइने आयोजकले जनाएको छ ।

एक्स्पोमा ऊर्जा उत्पादक तथा आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप र विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण तथा ज्ञान आदानप्रदानका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

एक्स्पोका प्रमुख आकर्षणका रूपमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, विद्युतीय सवारी र्‍याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिनेछ ।

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि राखिनेछन् । विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई समेत एक्स्पोमा समावेश गरिनेछ ।

प्रदर्शनीमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालालाई सहभागी गराउने आयोजकको तयारी छ । सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई समेत सहभागी गराउने आयोजकले जनाएको छ ।

इपानले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागेको एक्स्पोलाई हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना हुने वार्षिक ऊर्जा कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । इपानले ऊर्जा उत्पादन विस्तार, लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि स्थापनाकालदेखि नै पहल गर्दै आएको जनाएको छ ।

एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । प्रदर्शनीसँगै ज्ञान, प्रविधि, लगानी र व्यावसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

इपानका अध्यक्ष मोहनकुमार डाँगीद्वारा जारी विज्ञप्तिमा एक्स्पोले ३० हजार मेगावाटको राष्ट्रिय विद्युत् उत्पादन लक्ष्य हासिल गर्ने यात्रामा आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्न तथा जलवायुजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित, दिगो र उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ । स्टल बुकिङ तथा सहभागितासम्बन्धी थप जानकारीका लागि इपान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालिमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३