विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज १, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

त भदौ १० गतेको शान्त बिहानी एकाएक कोलाहाल र असामान्य बन्यो । धुन्चेमा रहनु भएका माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजना निर्माणकर्ता कम्पनीका वरिष्ठ प्रबन्धकले करिब ८ः५७ बजेतिर मैलुङ क्याम्पका कामदार तथा कर्मचारीलाई आपतकालीन सन्देश जारी गरे– बाढी आउँदैछ सुरक्षित रहनु होला । खबर गरेको क्षणभरमै भोटेकोसी–त्रिशूली नदीको विनाशकारी रूप आफ्नो बाटोमा परेका मानव, गाउँबस्ती, संरचना, बाटोघाटो र भूभाग तहसनहस बनाउँदै अघि बढ्यो ।

आयोजनाका विभिन्न साइटहरू बाढीको चपेटामा परे, जसको तत्कालै लेखाजोखा सम्भव छैन । त्यसबखत आयोजनाका विभिन्न स्थानमा कम्पनीका कामदार तथा कर्मचारी काममा लागि सकेका थिए । बाढीपछि सबै सम्पर्क विच्छेद भयो । स्थिति एकाएक अन्योल र कहालीलाग्दो बन्यो । छिनभरमै धेरै स्थानीय बासिन्दासहित जलविद्युत् कम्पनीका कामदार तथा कर्मचारी सम्पर्कविहीन भए ।

त्यही क्षणबाट सुरु भयो कठिन खोजी र उद्धार यात्रा ।

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) लिमिटेड र ठेकेदार कम्पनीका लागि यो एउटा प्राविधिक उद्धार अभियान थिएन । सम्पर्कविहीन आफ्ना कामदार तथा कर्मचारीको खोजी गर्नु, तिनका परिवारलाई विश्वसनीय सूचना दिनु र सरकारी तथा सुरक्षा निकायसँग समन्वय गर्नु सबै कार्य समानरूपमा एकैसाथ गर्नुपर्ने भयो ।

स्वभावैले पहिलो प्राथमिकता जीवनको खोजी रह्यो । बाढी आएकै क्षणदेखि कम्पनीले विभिन्न तहमा कार्य–संयन्त्र सक्रिय बनायो । धुन्चेमा रहेका कम्पनीका वरिष्ठ प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँग समन्वय सुरु गरे । काठमाडौँस्थित कम्पनी व्यवस्थापनको विशेष टोली बिहान ११ बजे आवश्यक समन्वयका लागि बट्टारतर्फ प्रस्थान गर्‍यो । कम्पनी व्यवस्थापन समूह काठमाडौँ गर्नुपर्ने समन्वय कार्यमा जुट्यो ।

एनडब्लुइडिसको कार्यलयमा अभिलेख गरिएको दैनिक विवरणका आधार (https://nwedcpl.com/disaster-and-rescue-recovery/#tab-7882) मा खोजी र उद्धारका मुख्य गतिविधिलाई यहाँ सरसर्ती वर्णन गरिएको छ ।

पहिलो दिन बाढीबाट जोगिएर जङ्गलको बाटो हुँदै कालिकास्थान गाउँपालिकाको ग्राङ्गसम्म आइपुगेका तीन कर्मचारीलाई कम्पनीको टोलीले उद्धार गर्‍यो । एक जनालाई परिवारसँग पुनर्मिलन गराइयो भने दुई जनालाई हेलिकप्टरमार्फत बट्टार पुर्‍याइयो । केही व्यक्तिको उद्धारको यो क्षणसँगै अर्को कठोर यथार्थ सामुन्नेमा थियो । धेरै जना अझै सम्पर्कविहीन थिए ।

पहिलो दिनदेखि नै सम्पर्कविहीन व्यक्तिका परिवारसँग सम्पर्क प्रयास सुरु भयो । खोजी कहाँ भइरहेको छ, के प्रगति भइरहेको छ ? कस्ता कठिनाइ छन् ? जानकारी खोजी तथा उद्धार टोलीका लागि मात्र होइन, आफन्तजनका लागि झन महत्त्वपूर्ण थिए । परिवारसम्म यी जानकारी पुर्‍याउने काम पनि उद्धार प्रयासकै हिस्सा बन्यो ।

११ गते कम्पनीको टोलीले आयोजनाका विभिन्न साइटको हवाई निरीक्षण गर्‍यो । यसको मुख्य उद्देश्य बाढीले पुर्‍याएको क्षति र सम्भावित खोजीका क्षेत्रबारे प्रारम्भिक जानकारी प्राप्त गर्नु थियो । सम्पर्क विच्छेद र पहुँचविहीन भूगोलमा खोजी तथा उद्धार नै आपतकालीन कार्य थियो । बाढीपछि आयोजनाका धेरै क्षेत्रमा पुग्नै ठूलो चुनौती थियो । कतिपय सडक र पहुँचमार्ग अवरुद्ध थिए । जङ्गल, लेदो, भग्नावशेष र नदीको तीव्र बहाबका कारण पैदल हिँडेर पनि सबै स्थानमा पुग्न सम्भव थिएन ।

भदौ १३ गते स्थानीयसहित ९ सदस्यीय टोली गठन गरी कालिकास्थान गाउँपालिकाको ग्राङ्गदेखि मैलुङसम्मको जङ्गल क्षेत्रमा खोजी तथा उद्धार कार्य सुरु भयो । मैलुङ क्षेत्रमा एउटा शव परबाट देखिएको थियो तर सबैतिर लेदोको दलदलका कारण उद्धार टोली त्यहाँसम्म पुग्न सकेन । पैदल पहुँच जटिल भएपछि खोजीको दायरा बढाएर ड्रोन प्रविधिको सहायता लिने विकल्प खोजियो । ग्राङ्‌गबाट ड्रोनमार्फत सर्वेक्षण सुरु भयो । आयोजनाको हेडवक्र्सको दायाँ किनारा, डाँडागाउँ र ठूलो हाक्कु क्षेत्रमा पनि ड्रोन परिचालन गरियो ।

हवाई पहुँच सम्भव भएका ठाउँमा हेलिकप्टरबाट जनशक्ति र उपकरण पुर्‍याउने कार्य भए । नेपाली सेना, गृह मन्त्रालय, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सम्बन्धित निकायसँगको समन्वयपछि खोजी तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्ने प्रबन्ध मिलाइयो । खोजी तथा उद्धारका जटिलता यति मात्र थिएनन् । उपकरणका साथै विशेष टोलीहरू घटनास्थलमा पुग्नु अर्को जरुरी कदम बन्यो । आवश्यकता अनुसार विशेषज्ञ टोली र सुरक्षा निकाय परिचालित हुँदै गए । नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसनको टोलीले अडिट–१ र डिस्यान्डर क्षेत्रमा खोजी सुरु गर्‍यो । नेपाली सेना र चिनियाँ टोलीले हेडवक्र्स क्षेत्रमा संयुक्तरूपमा खोजी र उद्धार अघि बढाए ।

कुकुरसहितको खोजी तथा उद्धार टोलीले सल्लेटार, मैलुङ तथा अन्य सम्भावित क्षेत्रमा खोजी प्रयास जारी राख्यो । ९औँ दिनमा सल्लेटार क्षेत्रमा फेला परेका ६ शवको पहिचान गरी नेपाली सेनामार्फत बट्टार पुर्‍याइयो । यसरी अडिट–३ को सुरुङको माथिल्लो भागबाट एउटा शव निकालियो । सल्लेटार र भाँगे झरनाबीचको क्षेत्रमा पनि अर्को शव फेला पारेर पहिचान गरियो । त्रिशूली नदीको बायाँ किनारमा पर्ने हाकुबेँसीको फूलबारीमा फेला परेको शवको पहिचान गरी नेपाल प्रहरीलाई जानकारी गराइयो ।

यी प्रत्येक पहिचान एउटा खोजीको नतिजा मात्र थिएनन् । हरेक पहिचानले एउटा परिवारलाई लामो अन्योलबाट बाहिर ल्याउने बाटो खोलेको पनि थियो ।
सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो । खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो । डिस्यान्डर बेसिनमा पानी जमेको थियो । सुरुङ तथा चेम्बरहरू लेदो, ढुङ्गा र भग्नावशेषले भरिएका थिए । पानी र लेदो निकाल्दै, अवरोध हटाउँदै र जोखिमको मूल्याङ्कन गर्दै खोजी तथा उद्धार टोली भित्र पस्ने प्रयास गरिरहेको थियो । नेपाली सेनाको टोलीले भदौ १७ गते डिस्यान्डर बेसिनबाट हेडरेस सुरुङभित्र करिब १५५ मिटरसम्म खोजी अघि बढायो ।

त्यसै बीच भदौ २० गते एउटा महत्त्वपूर्ण सफलता हात लाग्यो । डिस्यान्डर चेम्बर–१ देखि चेम्बर–२ सम्म खोजी विस्तार गर्ने क्रममा सम्पर्कविच्छेद भएको ११ दिनपछि एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफलता मिल्यो । यो घटनाले कठिन परिस्थितिमा पनि जीवनको सम्भावना बाँकी रहन्छ भन्ने आशासहित खोजीमा संलग्न सबैलाई थप ऊर्जा थपेको थियो ।

खोजी र उद्धार इच्छाशक्तिले मात्र सम्भव हुँदैन । यस कार्यलाई सहज बनाउन उपकरण जुटाउनु त्यत्तिकै अनिवार्य थियो । खोजी अगाडि बढाउन दक्ष जनशक्तिसँगै विशेष उपकरणको आवश्यकता थियो । त्यसका लागि एनडब्लुइडिसीले सरकार, नेपाली सेना र सम्बन्धित निकायसँग अथक समन्वय गरिरह्यो । कम्पनीका तर्फबाट मिनी एक्साभेटर, ज्याक ह्यामर, ह्यान्ड रक ड्रिल, जेनेरेटर, पानी पम्प, कम्प्रेसर, पाइप तथा होज पाइपलगायत उपकरण बट्टारमा रहेको उद्धार क्याम्पमा पुर्‍याउने कार्य भयो । लेदो फाल्ने मड पम्प पनि उपलब्ध गराइयो । डिस्यान्डर क्षेत्रमा पानी फाल्ने लगायत खोजीका लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत पुर्‍याइयो ।

उपकरण जुटाउने क्रम जारी रह्यो । भदौ २५ गते एउटा मिनी एक्साभेटर एमआई–१७ हेलिकप्टरमार्फत मैलुङ क्याम्पमा पुर्‍याउने कार्य भयो । सबै स्थानमा हेलिकप्टर अवतरण सम्भव थिएन । भदौ २६ गते आयोजनास्थल पुगेको टोलीले अडिट–१ को पोर्टल निरीक्षण गर्दा सुरुङभित्र ढुङ्गा र लेदो भरिएको थियो । मैलुङमा मिनी एक्साभेटरमार्फत उत्खनन सुरु गर्‍यो । अडिट–३ मा मेसिन परिचालनका लागि मेकानिक र एक्साभेटर अपरेटर पठाउने व्यवस्था मिलाइयो ।

भदौ २७ गते एनडब्लुइडिसी, डुसान इर्नबिलिटी (डिइ) र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पिसी) का व्यवस्थापन प्रतिनिधिले बट्टारस्थित नेपाली सेनाका अधिकारीसँग आगामी दिनको सुरुङ उद्धार र समन्वयबारे थप छलफल गरे । अडिट–३ को माथिल्लो क्षेत्रमा रहेका दुई एक्साभेटर चलाउन सकिने अवस्थामा रहेको पाइएपछि सुरक्षित ढङ्गले खोजी कार्यमा प्रयोग गर्ने टुङ्‌गो लाग्यो ।

उद्धार अभियानको अर्को अनिवार्य र महत्त्वपूर्ण पक्ष थियो– प्रभावित परिवारसँग निरन्तर संवाद कायम गर्नु ।

सम्पर्कविहीन व्यक्तिका आफन्तसँग नेपाल प्रहरीको समन्वयमा परामर्श तथा संवाद सुरु गरियो । खोजीको प्रगति, चुनौती र सम्भावनाबारे परिवारलाई जानकारी उपलब्ध गराउन थालियो । पहिचान प्रक्रियालाई सहयोग पुर्‍याउन परिवारका सदस्यको डिएनए नमुना परीक्षणका लागि सम्बन्धित वैज्ञानिक संस्थाको सहयोग लिन सम्झौता गरियो ।

कम्पनीका लागि परिवारलाई सूचना दिनु औपचारिक दायित्वमात्र थिएन । अन्योलपूर्ण अवस्थामा रहेका परिवारका लागि हरेक भरपर्दो सूचना आफैँमा महत्त्वपूर्ण थियो । कहिलेकाहीँ एउटा सानो प्रगतिले आशा जगाउँथ्यो । कहिलेकाहीँ नयाँ चुनौतीले फेरि प्रतीक्षालाई लम्ब्याउँथ्यो । प्रभावित आफन्तसँगको संवाद निरन्तर रह्यो ।

विपद्का समयमा खोजी तथा उद्धारको सफलताको मूल मन्त्र भनेकै समन्वयमा आधारित सामूहिक पहल हो । अकल्पनीय विपदपछिको खोजी अभियान एउटा मात्र संस्था, टोली वा प्रविधिको बुताभित्रको कुरा थिएन । नेपाली सेना, नेपाल प्रहरी, सरकारी निकाय, एनडब्लुइडिसी, डिई, पिसी, स्थानीय समुदाय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोलीहरू विभिन्न चरणमा जोडिँदै गए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, लगानी बोर्ड र स्थानीय प्रशासनसँग अवस्था र आवश्यकताबारे जानकारी आदानप्रदान भयो । थप उपकरण, हेलिकप्टर, विशेषज्ञ जनशक्ति तथा अन्तरसंस्थागत समन्वयका लागि पनि निरन्तर पहल भइरह्यो । यस अवधिमा खोजी अभियानले थुप्रै चरण पार गरिसकेको छ । पैदल खोजीदेखि ड्रोन सर्वेक्षण, कुकुरसहितको खोजी, हवाई निरीक्षण, सुरुङभित्रको अभियान, पानी तथा लेदोको निकास, भग्नावशेष हटाउने कार्य र भारी उपकरण परिचालनसम्म हरसम्भव उपाय अपनाइएको छ ।

भौगोलिक कठिनाइ छ, पानी, लेदो, भग्नावशेष छन् र भौगोलिक पहुँचका चुनौती छन् । यतिहुँदा हुँदै पनि खोजी तथा उद्धारका प्रयास निरन्तर अघि बढिरहेका छन् । खोजी र उद्धार जारी छ । समन्वय निरन्तर कायम छ । परिवारसम्म यकिन र भरपर्दा सूचना पुर्‍याउने प्रयास चलिरहेको छ । अर्थात् खोजी तथा उद्धार, समन्वय, सम्पर्क अटुट छ र अटुट रहिरहने छ, किनभने यो कार्य हराइरहेका मानिसहरूको खोजी र उद्धारमात्र होइन, जीवनको सम्भावना खोज्ने अथक प्रयास हो, सम्पर्कविहीन व्यक्तिहरूलाई पर्खिरहेका आफन्तजनको दृढ आशाको खोजी हो ।

विष्ट, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको वातावरण हेर्ने, महाप्रबन्धक हुन ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३