विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज १, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नेपाल जलस्रोतमा अत्यन्त धनी देश हो तर यो स्रोतको उपयोग अहिलेसम्म मुख्यतः नदीमा आएको पानीलाई तत्काल प्रयोग गरी विद्युत् उत्पादन गर्ने नदी प्रवाही (आरओआर) आयोजनामा केन्द्रित छ । यसबाट वर्षायाममा विद्युत् उत्पादन धेरै हुने र हिउँदमा पानीको बहाब घटेसँगै उत्पादन पनि घट्छ ।

यही कारणले नेपालका लागि अब ठूला भण्डारणयुक्त जलविद्युत्‌ आयोजनाको विकास अपरिहार्य भएको छ । यस दृष्टिले १,२०० मेगावाटको बूढीगण्डकी केवल विद्युत् आयोजना मात्र होइन, नेपालको ऊर्जा सुरक्षा, जल व्यवस्थापन, सुख्खायामको आपूर्ति र विपद् जोखिम न्यूनीकरणसँग जडित राष्ट्रिय महत्त्वको आयोजना हो ।

भोटेकोसी बाढीको पाठ

गत भदौ १० गते रसुवा तथा भोटेकोसी-त्रिशूली नदी प्रणालीमा आएको अत्यन्त ठूलो बाढीले नेपाललाई फेरि एउटा गम्भीर प्रश्न सोधेको छ- हामीले जलविद्युत् आयोजना बनाउँदा विद्युत् उत्पादन मात्र हेर्ने कि पानीको व्यवस्थापन र विपद् जोखिम पनि समानरूपमा हेर्ने ?

उक्त बाढीले सडक, पुल, बस्ती, व्यापारिक पूर्वाधार तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍यायो । जलविद्युत्का धेरै संरचना प्रभावित भए । उद्धार तथा पुनःस्थापनामा ठूलो चुनौती उत्पन्न भयो । यस घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमताल तथा हिमनदीसँग सम्बन्धित जोखिम र अधिक बाढीको सम्भावनालाई गम्भीररूपमा लिनुपर्ने आवश्यकता देखाएको छ ।

अर्को महत्त्वपूर्ण प्रश्न पनि उठेको छ- नदीको माथिल्लो क्षेत्रमा ठूलो भण्डारण क्षमतायुक्त जलाशय र उचित बाढी व्यवस्थापन प्रणाली भएको भए तल्लो क्षेत्रमा बाढीको प्रभाव कति घटाउन सकिन्थ्यो ? यसको उत्तर बुझ्न हामीले भण्डारणयुक्त आयोजनाको अवधारणा राम्रोसँग बुझ्न आवश्यक छ ।

नदी तथा खोलामा बाँध निर्माण गरी ठूलो भण्डारणयुक्त आयोजना विकास गर्दा जलाशयमा ठूलो परिमाणमा पानी सञ्चित हुन्छ । आवश्यकता अनुसार पानी विद्युत् उत्पादन गर्न प्रयोग गरिन्छ । अर्को महत्त्वपूर्ण पक्ष पानीको समयानुसार व्यवस्थापन पनि हो ।

नदीमा बग्ने सम्पूर्ण पानीको परिमाण तत्काल तलतिर बग्न नदिई जलाशयमै सञ्चित गर्न सकिन्छ । यसो हुँदा सामान्य तथा पूर्वानुमान गर्न सकिने बाढी आउँदा जलाशय सञ्चालनमार्फत तलतिर बग्ने पानि केही हदसम्म नियन्त्रण वा घटाउन सकिन्छ । यसका लागि बाँधको संरचना मात्र पर्याप्त हुँदैन । जलाशयको पर्याप्त खाली क्षमता, मौसम तथा बाढी पूर्वानुमान, जलाशय सञ्चालन नियम, समयमै निर्णय र प्रभावकारी 'तात्कालै सङ्‌केत गर्न सकिने प्रणाली' उत्तिकै आवश्यक हुन्छ ।

त्यसैले, भण्डारणयुक्त जलविद्युत् आयोजना आफैँमा बाढी नियन्त्रणको पूर्ण समाधान होइन; तर उचित डिजाइन र सञ्चालन भएको अवस्थामा यो बाढी जोखिम व्यवस्थापनको महत्त्वपूर्ण साधन बन्न सक्छ ।

बूढीगण्डकीको महत्त्व

१,२०० मेगावाटको बूढीगण्डकी नेपालको ठूलो भण्डारणयुक्त जलविद्युत् आयोजना हो; मुख्य उद्देश्य विद्युत् उत्पादन भए पनि ठूलो जलाशयले पानीको मौसमी व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । आयोजनाको आधिकारिक विवरणअनुसार यसमा ठूलो जलाशय तथा उच्च क्षमताको विद्युत् उत्पादनको परिकल्पना गरिएको छ ।

नेपालमा वर्षामा पानी प्रशस्त हुन्छ । यही समयमा अधिक वर्षा हुँदा नदीहरूमा बाढी आउन सक्छ । हिउँदमा बहाब घट्छ र विद्युत् उत्पादनमा कमी आउँछ । भण्डारित आयोजनाले यी दुई अवस्थाबीच सन्तुलन कायम गर्न सहयोग गर्छ ।वर्षामा पानी सञ्चय गर्ने र आवश्यक समयमा प्रयोग गर्ने हुँदा यस्तो आयोजना नेपालको जलस्रोत व्यवस्थापनको दीर्घकालीन आधार बन्न सक्छ ।

बाढी व्यवस्थापन

बूढीगण्डकीजस्ता ठूलो जलाशययुक्त आयोजनाले निम्न क्षेत्रमा योगदान गर्न सक्छ:

१.    बहाबः ठूलो वर्षा हुने पूर्वानुमान भएको अवस्थामा जलाशय सञ्चालन योजनाअनुसार केही भण्डारण क्षमता खाली राख्न सकिन्छ । त्यसले सामान्य वा पूर्वानुमान गर्न सकिने बाढीको केही पानी अस्थायी रूपमा रोक्न र तलतिर जाने बहाब व्यवस्थापन गर्न सहयोग गर्न सक्छ ।

२. जोखिम घट्नेः नदीको बहाब व्यवस्थापन हुँदा तलतिरका बस्ती, पुल, सडक, सिँचाइ तथा अन्य पूर्वाधारमा पर्ने बाढीको दबाब केही हदसम्म घटाउन सकिन्छ ।

३. पानीको उपयोगः वर्षायाममा सञ्चित पानी हिउँदमा विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । यसबाट सुख्खायामको विद्युत् आपूर्ति बलियो हुन्छ र देशको ऊर्जा सुरक्षामा योगदान पुग्छ ।

४. स्थिर प्रणालीः नेपालमा नदी प्रवाही आयोजनाको हिस्सा ठूलो भएकाले वर्षा र हिउँदबीच उत्पादनमा ठूलो अन्तर हुन्छ । जलाशय आयोजनाले आवश्यकता अनुसार समयमा विद्युत् उत्पादन बढाएर प्रणालीलाई थप भरपर्दो बनाउन सक्छ ।

५. न्यून जलवायु असरः हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, हिमनदी पग्लने प्रक्रिया तथा अन्य जलजन्य जोखिम बढ्न सक्ने चिन्ता छ । त्यसैले, भविष्यका ठूला पूर्वाधार आयोजना केवल उत्पादन क्षमताका आधारमा होइन, जलवायु उत्थानशील र विपद् जोखिम व्यवस्थापनलाई समेत ध्यानमा राखेर विकास गर्नुपर्छ ।

यति हुँदा हुँदै पनि एक महत्त्वपूर्ण कुरा बुझ्न आवश्यक छ । हालै भोटेकोसी तथा त्रिशूलीमा आएको विनाशकारी विपद्‌ले एउटा महत्त्वपूर्ण प्राविधिक शिक्षा दिएको छ । ठूलो बाँध भए पनि यस्ता प्रकोप रोक्न सकिँदैन । विशेषतः हिमताल फुट्ने, अचानक हिमनदीसँग सम्बन्धित जोखिम आउने अत्यन्त तीव्र बाढी वा गेग्र्यानजस्ता घटनामा पानीसँगै ढुङ्‌गा, माटो र ठूलो परिमाणमा लेदो आउन सक्छ । यस्ता घटना जलाशय र बाँधको डिजाइनमा छुट्टै जोखिमका रूपमा अध्ययन गर्नुपर्छ ।

अतः बूढीगण्डकीजस्तो आयोजना विकास गर्दा केवल बाँध बलियो बनाउनु पर्याप्त हुँदैन । जलाधार तहको विपद् जोखिम मूल्याङ्‌कन, ठूलो बाढीको विश्लेषण, गेग्र्यान तथा लेदो व्यवस्थापन, पूर्वसूचना प्रणाली, तल्लो तटीय क्षेत्रको आपतकालीन योजना र बाँध सुरक्षा योजनालाई आयोजनाको अभिन्न भाग बनाउनुपर्छ । यसरी मात्र ठूलो बाँधलाई सुरक्षित र बहुउद्देश्यीय राष्ट्रिय पूर्वाधारका रूपमा विकास गर्न सकिन्छ ।

कंक्रिट आर्च बाँध

बूढीगण्डकीजस्तो गहिरो र साँघुरो उपत्यकामा उच्च कंक्रिट आर्च बाँधको अवधारणा प्राविधिक दृष्टिले महत्त्वपूर्ण हुन्छ । आर्च बाँधले पानीको दबाबलाई आफ्नो आर्च संरचनामार्फत दायाँ र बायाँ किनारतर्फ स्थानान्तरण गर्छ । कुनै बाँधको प्रकार केवल उचाइ वा नामका आधारमा उपयुक्त हुँदैन । बाँधको अन्तिम छनोट भूगर्भ, जग निर्माण, बाँध जोड्ने संरचना, नदीको स्वरूप, भूकम्पीय जोखिम, बाढी, लेदो, निर्माण सामग्री, निर्माण प्रविधि र दीर्घकालीन बाँध सुरक्षाको विस्तृत अध्ययनका आधारमा हुनुपर्छ ।

त्यसैले, बूढीगण्डकीको उच्च बाँध निर्माणमा अत्याधुनिक भूगर्भीय, भूकम्पीय, हाइड्रोलोजिकल तथा संरचनागत अध्ययन र अन्तर्राष्ट्रियस्तरका बाँध सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्नु पहिलो प्राथमिकता हुनुपर्छ ।

जल व्यवस्थापन

भोटेकोसीमा आएको विपत्तिले नेपाललाई एउटा गम्भीर सन्देश दिएको छ । अब जलविद्युत् आयोजना केवल “कति मेगावाट विद्युत् उत्पादन हुन्छ?” भनेर मात्र मूल्याङ्‌कन गर्नु हुँदैन ।

सोच्नुपर्छ:

    देशको ऊर्जा सुरक्षा कति बलियो बनाउँछ ?

    सुख्खायाममा कति सहयोग गर्छ ?

    नदीको पानीलाई कसरी व्यवस्थापन गर्छ ?

    बाढीको जोखिम घटाउन भूमिका के हुन सक्छ ?

    अधिक बाढी आएमा आयोजना कति सुरक्षित हुन्छ ?

    तलतिरका बस्ती र पूर्वाधारको सुरक्षा कसरी सुनिश्चित हुन्छ ?

    जलवायु परिवर्तन सम्बन्धी भावी जोखिम कसरी सामना गर्छ ?

यी प्रश्नको समग्र उत्तर नै आधुनिक जलविद्युत् विकासको आधार बन्नुपर्छ ।

जल-ऊर्जा पूर्वाधार

बूढीगण्डकी आयोजना नेपालको ऊर्जा आवश्यकता पूरा गर्ने मात्र होइन, नेपालको दीर्घकालीन जल-ऊर्जा रणनीतिको महत्त्वपूर्ण आधार बन्न सक्छ । यसले वर्षाको पानी व्यवस्थितरूपमा सञ्चित गरी सुख्खायाममा उपयोग गर्न सकिन्छ । यसले विद्युत् प्रणालीलाई थप स्थिर बनाउन सक्छ । उचित जलाशय सञ्चालन र पूर्वानुमान प्रणालीसँग जोडिएको अवस्थामा सामान्य तथा पूर्वानुमान गर्न सकिने बाढीको बहाब व्यवस्थापनमा पनि योगदान गर्न सक्छ ।

त्यसैले, बूढीगण्डकीलाई १,२०० मेगावाटको जलविद्युत् आयोजना भनेर मात्र हेर्नु यसको वास्तविक राष्ट्रिय महत्त्वलाई सीमित गर्नु हो । यसलाई हामीले ऊर्जा सुरक्षा, जल व्यवस्थापन, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र राष्ट्रिय आर्थिक विकासको बहुउद्देश्यीय पूर्वाधारका रूपमा हेर्नुपर्छ ।

प्रकृतिलाई नियन्त्रण गर्न सकिँदैन तर वैज्ञानिक योजना, पूर्वतयारी र सही पूर्वाधारमार्फत यसको जोखिम र प्रभाव कम गर्न सकिन्छ । नेपालले अब ठूलो भण्डारणयुक्त आयोजना विकास गर्न थप ढिला गर्नु हुँदैन । त्यस्ता आयोजना सुरक्षित, वातावरणीयरूपमा जिम्मेवार, जलवायु-सहनशील र बहुउद्देश्यीय दृष्टिकोणबाट विकास गर्नुपर्छ ।

उच्च कंक्रिट आर्च बाँधसहितको बूढीगण्डकी आयोजना यही दीर्घकालीन सोचको एउटा महत्त्वपूर्ण आधार बन्न सक्छ । हाम्रो उद्देश्य केवल बिजुली उत्पादन गर्नु होइन । पानीलाई सुरक्षित राख्ने, सही समयमा सही रूपमा उपयोग गर्ने, ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र सम्भावित विपद्को जोखिम घटाउने राष्ट्रिय क्षमता निर्माण गर्नु पनि हो । बूढीगण्डकी त्यस दिशामा नेपालको एउटा महत्त्वपूर्ण कदम हो ।

रजौरिया, बूढीगण्डकी जलविद्युत्‌ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्  ।

प्रतिक्रिया दिनुहोस

अरुण रजौरिया

अरुण रजौरिया, बूढीगण्डकी जलविद्युत्‌ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्  ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३