नेपाल जलस्रोतमा अत्यन्त धनी देश हो तर यो स्रोतको उपयोग अहिलेसम्म मुख्यतः नदीमा आएको पानीलाई तत्काल प्रयोग गरी विद्युत् उत्पादन गर्ने नदी प्रवाही (आरओआर) आयोजनामा केन्द्रित छ । यसबाट वर्षायाममा विद्युत् उत्पादन धेरै हुने र हिउँदमा पानीको बहाब घटेसँगै उत्पादन पनि घट्छ ।
यही कारणले नेपालका लागि अब ठूला भण्डारणयुक्त जलविद्युत् आयोजनाको विकास अपरिहार्य भएको छ । यस दृष्टिले १,२०० मेगावाटको बूढीगण्डकी केवल विद्युत् आयोजना मात्र होइन, नेपालको ऊर्जा सुरक्षा, जल व्यवस्थापन, सुख्खायामको आपूर्ति र विपद् जोखिम न्यूनीकरणसँग जडित राष्ट्रिय महत्त्वको आयोजना हो ।
भोटेकोसी बाढीको पाठ
गत भदौ १० गते रसुवा तथा भोटेकोसी-त्रिशूली नदी प्रणालीमा आएको अत्यन्त ठूलो बाढीले नेपाललाई फेरि एउटा गम्भीर प्रश्न सोधेको छ- हामीले जलविद्युत् आयोजना बनाउँदा विद्युत् उत्पादन मात्र हेर्ने कि पानीको व्यवस्थापन र विपद् जोखिम पनि समानरूपमा हेर्ने ?
उक्त बाढीले सडक, पुल, बस्ती, व्यापारिक पूर्वाधार तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्यायो । जलविद्युत्का धेरै संरचना प्रभावित भए । उद्धार तथा पुनःस्थापनामा ठूलो चुनौती उत्पन्न भयो । यस घटनाले हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमताल तथा हिमनदीसँग सम्बन्धित जोखिम र अधिक बाढीको सम्भावनालाई गम्भीररूपमा लिनुपर्ने आवश्यकता देखाएको छ ।
अर्को महत्त्वपूर्ण प्रश्न पनि उठेको छ- नदीको माथिल्लो क्षेत्रमा ठूलो भण्डारण क्षमतायुक्त जलाशय र उचित बाढी व्यवस्थापन प्रणाली भएको भए तल्लो क्षेत्रमा बाढीको प्रभाव कति घटाउन सकिन्थ्यो ? यसको उत्तर बुझ्न हामीले भण्डारणयुक्त आयोजनाको अवधारणा राम्रोसँग बुझ्न आवश्यक छ ।
नदी तथा खोलामा बाँध निर्माण गरी ठूलो भण्डारणयुक्त आयोजना विकास गर्दा जलाशयमा ठूलो परिमाणमा पानी सञ्चित हुन्छ । आवश्यकता अनुसार पानी विद्युत् उत्पादन गर्न प्रयोग गरिन्छ । अर्को महत्त्वपूर्ण पक्ष पानीको समयानुसार व्यवस्थापन पनि हो ।
नदीमा बग्ने सम्पूर्ण पानीको परिमाण तत्काल तलतिर बग्न नदिई जलाशयमै सञ्चित गर्न सकिन्छ । यसो हुँदा सामान्य तथा पूर्वानुमान गर्न सकिने बाढी आउँदा जलाशय सञ्चालनमार्फत तलतिर बग्ने पानि केही हदसम्म नियन्त्रण वा घटाउन सकिन्छ । यसका लागि बाँधको संरचना मात्र पर्याप्त हुँदैन । जलाशयको पर्याप्त खाली क्षमता, मौसम तथा बाढी पूर्वानुमान, जलाशय सञ्चालन नियम, समयमै निर्णय र प्रभावकारी 'तात्कालै सङ्केत गर्न सकिने प्रणाली' उत्तिकै आवश्यक हुन्छ ।
त्यसैले, भण्डारणयुक्त जलविद्युत् आयोजना आफैँमा बाढी नियन्त्रणको पूर्ण समाधान होइन; तर उचित डिजाइन र सञ्चालन भएको अवस्थामा यो बाढी जोखिम व्यवस्थापनको महत्त्वपूर्ण साधन बन्न सक्छ ।
बूढीगण्डकीको महत्त्व
१,२०० मेगावाटको बूढीगण्डकी नेपालको ठूलो भण्डारणयुक्त जलविद्युत् आयोजना हो; मुख्य उद्देश्य विद्युत् उत्पादन भए पनि ठूलो जलाशयले पानीको मौसमी व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । आयोजनाको आधिकारिक विवरणअनुसार यसमा ठूलो जलाशय तथा उच्च क्षमताको विद्युत् उत्पादनको परिकल्पना गरिएको छ ।
नेपालमा वर्षामा पानी प्रशस्त हुन्छ । यही समयमा अधिक वर्षा हुँदा नदीहरूमा बाढी आउन सक्छ । हिउँदमा बहाब घट्छ र विद्युत् उत्पादनमा कमी आउँछ । भण्डारित आयोजनाले यी दुई अवस्थाबीच सन्तुलन कायम गर्न सहयोग गर्छ ।वर्षामा पानी सञ्चय गर्ने र आवश्यक समयमा प्रयोग गर्ने हुँदा यस्तो आयोजना नेपालको जलस्रोत व्यवस्थापनको दीर्घकालीन आधार बन्न सक्छ ।
बाढी व्यवस्थापन
बूढीगण्डकीजस्ता ठूलो जलाशययुक्त आयोजनाले निम्न क्षेत्रमा योगदान गर्न सक्छ:
१. बहाबः ठूलो वर्षा हुने पूर्वानुमान भएको अवस्थामा जलाशय सञ्चालन योजनाअनुसार केही भण्डारण क्षमता खाली राख्न सकिन्छ । त्यसले सामान्य वा पूर्वानुमान गर्न सकिने बाढीको केही पानी अस्थायी रूपमा रोक्न र तलतिर जाने बहाब व्यवस्थापन गर्न सहयोग गर्न सक्छ ।
२. जोखिम घट्नेः नदीको बहाब व्यवस्थापन हुँदा तलतिरका बस्ती, पुल, सडक, सिँचाइ तथा अन्य पूर्वाधारमा पर्ने बाढीको दबाब केही हदसम्म घटाउन सकिन्छ ।
३. पानीको उपयोगः वर्षायाममा सञ्चित पानी हिउँदमा विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । यसबाट सुख्खायामको विद्युत् आपूर्ति बलियो हुन्छ र देशको ऊर्जा सुरक्षामा योगदान पुग्छ ।
४. स्थिर प्रणालीः नेपालमा नदी प्रवाही आयोजनाको हिस्सा ठूलो भएकाले वर्षा र हिउँदबीच उत्पादनमा ठूलो अन्तर हुन्छ । जलाशय आयोजनाले आवश्यकता अनुसार समयमा विद्युत् उत्पादन बढाएर प्रणालीलाई थप भरपर्दो बनाउन सक्छ ।
५. न्यून जलवायु असरः हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, हिमनदी पग्लने प्रक्रिया तथा अन्य जलजन्य जोखिम बढ्न सक्ने चिन्ता छ । त्यसैले, भविष्यका ठूला पूर्वाधार आयोजना केवल उत्पादन क्षमताका आधारमा होइन, जलवायु उत्थानशील र विपद् जोखिम व्यवस्थापनलाई समेत ध्यानमा राखेर विकास गर्नुपर्छ ।
यति हुँदा हुँदै पनि एक महत्त्वपूर्ण कुरा बुझ्न आवश्यक छ । हालै भोटेकोसी तथा त्रिशूलीमा आएको विनाशकारी विपद्ले एउटा महत्त्वपूर्ण प्राविधिक शिक्षा दिएको छ । ठूलो बाँध भए पनि यस्ता प्रकोप रोक्न सकिँदैन । विशेषतः हिमताल फुट्ने, अचानक हिमनदीसँग सम्बन्धित जोखिम आउने अत्यन्त तीव्र बाढी वा गेग्र्यानजस्ता घटनामा पानीसँगै ढुङ्गा, माटो र ठूलो परिमाणमा लेदो आउन सक्छ । यस्ता घटना जलाशय र बाँधको डिजाइनमा छुट्टै जोखिमका रूपमा अध्ययन गर्नुपर्छ ।
अतः बूढीगण्डकीजस्तो आयोजना विकास गर्दा केवल बाँध बलियो बनाउनु पर्याप्त हुँदैन । जलाधार तहको विपद् जोखिम मूल्याङ्कन, ठूलो बाढीको विश्लेषण, गेग्र्यान तथा लेदो व्यवस्थापन, पूर्वसूचना प्रणाली, तल्लो तटीय क्षेत्रको आपतकालीन योजना र बाँध सुरक्षा योजनालाई आयोजनाको अभिन्न भाग बनाउनुपर्छ । यसरी मात्र ठूलो बाँधलाई सुरक्षित र बहुउद्देश्यीय राष्ट्रिय पूर्वाधारका रूपमा विकास गर्न सकिन्छ ।
कंक्रिट आर्च बाँध
बूढीगण्डकीजस्तो गहिरो र साँघुरो उपत्यकामा उच्च कंक्रिट आर्च बाँधको अवधारणा प्राविधिक दृष्टिले महत्त्वपूर्ण हुन्छ । आर्च बाँधले पानीको दबाबलाई आफ्नो आर्च संरचनामार्फत दायाँ र बायाँ किनारतर्फ स्थानान्तरण गर्छ । कुनै बाँधको प्रकार केवल उचाइ वा नामका आधारमा उपयुक्त हुँदैन । बाँधको अन्तिम छनोट भूगर्भ, जग निर्माण, बाँध जोड्ने संरचना, नदीको स्वरूप, भूकम्पीय जोखिम, बाढी, लेदो, निर्माण सामग्री, निर्माण प्रविधि र दीर्घकालीन बाँध सुरक्षाको विस्तृत अध्ययनका आधारमा हुनुपर्छ ।
त्यसैले, बूढीगण्डकीको उच्च बाँध निर्माणमा अत्याधुनिक भूगर्भीय, भूकम्पीय, हाइड्रोलोजिकल तथा संरचनागत अध्ययन र अन्तर्राष्ट्रियस्तरका बाँध सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्नु पहिलो प्राथमिकता हुनुपर्छ ।
जल व्यवस्थापन
भोटेकोसीमा आएको विपत्तिले नेपाललाई एउटा गम्भीर सन्देश दिएको छ । अब जलविद्युत् आयोजना केवल “कति मेगावाट विद्युत् उत्पादन हुन्छ?” भनेर मात्र मूल्याङ्कन गर्नु हुँदैन ।
सोच्नुपर्छ:
देशको ऊर्जा सुरक्षा कति बलियो बनाउँछ ?
सुख्खायाममा कति सहयोग गर्छ ?
नदीको पानीलाई कसरी व्यवस्थापन गर्छ ?
बाढीको जोखिम घटाउन भूमिका के हुन सक्छ ?
अधिक बाढी आएमा आयोजना कति सुरक्षित हुन्छ ?
तलतिरका बस्ती र पूर्वाधारको सुरक्षा कसरी सुनिश्चित हुन्छ ?
जलवायु परिवर्तन सम्बन्धी भावी जोखिम कसरी सामना गर्छ ?
यी प्रश्नको समग्र उत्तर नै आधुनिक जलविद्युत् विकासको आधार बन्नुपर्छ ।
जल-ऊर्जा पूर्वाधार
बूढीगण्डकी आयोजना नेपालको ऊर्जा आवश्यकता पूरा गर्ने मात्र होइन, नेपालको दीर्घकालीन जल-ऊर्जा रणनीतिको महत्त्वपूर्ण आधार बन्न सक्छ । यसले वर्षाको पानी व्यवस्थितरूपमा सञ्चित गरी सुख्खायाममा उपयोग गर्न सकिन्छ । यसले विद्युत् प्रणालीलाई थप स्थिर बनाउन सक्छ । उचित जलाशय सञ्चालन र पूर्वानुमान प्रणालीसँग जोडिएको अवस्थामा सामान्य तथा पूर्वानुमान गर्न सकिने बाढीको बहाब व्यवस्थापनमा पनि योगदान गर्न सक्छ ।
त्यसैले, बूढीगण्डकीलाई १,२०० मेगावाटको जलविद्युत् आयोजना भनेर मात्र हेर्नु यसको वास्तविक राष्ट्रिय महत्त्वलाई सीमित गर्नु हो । यसलाई हामीले ऊर्जा सुरक्षा, जल व्यवस्थापन, जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र राष्ट्रिय आर्थिक विकासको बहुउद्देश्यीय पूर्वाधारका रूपमा हेर्नुपर्छ ।
प्रकृतिलाई नियन्त्रण गर्न सकिँदैन तर वैज्ञानिक योजना, पूर्वतयारी र सही पूर्वाधारमार्फत यसको जोखिम र प्रभाव कम गर्न सकिन्छ । नेपालले अब ठूलो भण्डारणयुक्त आयोजना विकास गर्न थप ढिला गर्नु हुँदैन । त्यस्ता आयोजना सुरक्षित, वातावरणीयरूपमा जिम्मेवार, जलवायु-सहनशील र बहुउद्देश्यीय दृष्टिकोणबाट विकास गर्नुपर्छ ।
उच्च कंक्रिट आर्च बाँधसहितको बूढीगण्डकी आयोजना यही दीर्घकालीन सोचको एउटा महत्त्वपूर्ण आधार बन्न सक्छ । हाम्रो उद्देश्य केवल बिजुली उत्पादन गर्नु होइन । पानीलाई सुरक्षित राख्ने, सही समयमा सही रूपमा उपयोग गर्ने, ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र सम्भावित विपद्को जोखिम घटाउने राष्ट्रिय क्षमता निर्माण गर्नु पनि हो । बूढीगण्डकी त्यस दिशामा नेपालको एउटा महत्त्वपूर्ण कदम हो ।
रजौरिया, बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।
अरुण रजौरिया, बूढीगण्डकी जलविद्युत्‌ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।