विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ २, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

रकारले विद्युत् उत्पादनको जडित क्षमता १० वर्षमा ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य पूरा गर्नु नेपाल विद्युत् प्राधिकरणको पहिलो दायित्व हो भने निजी क्षेत्रसमेत उत्तिकै जिम्मेवार बन्नुपर्ने अवस्था छ । हामी निजी क्षेत्र यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वाससाथ अनवरत कार्यरत रहेका छौँ । 

प्राधिकरणले लगभग १२ हजार मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । यसमध्ये करिब  ३ हजार ५०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरेको छ । लगभग ६ हजार २०० मेगावाट निर्माणाधीन रहेका छन् । लगभग २ हजार ३०० मेगावाट वित्तीय व्यवस्थापनको चरणमा रहेका छन् । अहिले निजी क्षेत्रका लगभग १६ हजार १४० मेगावाट पिपिएको पर्खाइमा रहेका छन् ।

निजी क्षेत्रले १/२ मेगावाट साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन यात्रा सुरु गरेका थिए । यस दौरान २१६, २८५ हुँदै ३४१ मेगावाटसम्मका आयोजनाहरू निर्माण सुरु गरिसकेका छन् भने ४४० मेगावाटको आयोजनाको वित्तीय व्यवस्थापनको अन्तिम तयारीमा पुर्‍याइसकिएको छ । यसले निजी क्षेत्रको प्राविधिक र आर्थिक क्षमता वृद्धि भएको स्पष्ट पार्दछ । यो क्षमता, अनुभव र आत्मविश्वास पनि राज्यको सम्पत्ति हो । 

विद्युत् उत्पादनमा लागेका ४०/५० वटा लगानीकर्ताहरूको समूहले १० वर्षमा ४००/५०० मेगावाटका १/१ वटा आयोजनाहरू निर्माण गर्न सके नेपाल सरकारको लक्ष्य हासिल गर्न सकिनेमा दुईमत छैन । यो लक्ष्य हासिल गर्नु भनेको देश समृद्धिको मार्गमा प्रवेश गर्नु हो ।

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड रुपैयाँ बराबरको बैदेशिक मुद्रा देशमा भित्र्याएको छ । १५ हजार मेगावाट निर्यात गर्न सके यस वर्षको हिसाबले करिब ३ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्न सकिन्छ । १५ हजार मेगावाट नेपालमा खपत गर्न सके प्रतिव्यक्ति वार्षिक खपत १ हजार ५०० किलोवाट आवर पुग्नेछ भने देशको अर्थतन्त्र कम्तीमा ३ गुणाले बढ्नेछ ।

जलस्रोत हाम्रो सम्पत्ति हो, यसको भरपुर उपयोग गर्न निर्माण चरणमा नपुगेका सबै आयोजनाको क्यु४० को डिजाइन परिमार्जन गरी क्यु२५ अनुसार निर्माणमा लैजानु उपयुक्त हुन्छ । यसो गर्दा ८५ प्रतिशत क्षमता वृद्धि हुने ऊर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राधिकरणका कार्यकारी निर्देशकसमेत रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । 

भारतीय कम्पनी सतलज जलविद्युत् निगमको लगानीमा नेपालमा निर्माण भइरहेको अरुण-३ जलविद्युत् आयोजनासमेत क्यु२० मै डिजाइन गरी निर्माण भइरहेको छ । यसो गर्दा आयोजनाको क्षामता ३०० मेगावाटबाट वृद्धि भई ९०० मेगावाट पुगेको हो । निर्माण सुरु भइ नसकेका अन्य सबै आयोजना यही डिजाइनमा बनाउन सके पिपिएको पर्खाइमा रहेका आयोजनाको मात्र क्षमता पनि बढेर ५० हजार मेगावाटभन्दा माथि पुग्ने छ । यसले उत्पादन लागत घटाई विद्युत् अझ सस्तो र सर्वसुलभ बनाउने छ ।

झन्डै दुईतिहाई बहुमतसहित बनेको वर्तमान सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउने लक्ष्य तय गरेको छ तर हामी कसरी पिपिए नगर्ने,  कसरी आरसिओडी नथप्ने, कसरी कम क्षमतामा विद्युत्‌गृह चलाउने, कसरी विद्युत् कम क्षमतामा मात्र उत्पादन गर्ने भन्नेमा समय खर्चिरहेका छौँ । त्यसकारण हाम्रा परम्परागत काम गर्ने तरिकालाई आमूल परिवर्तन गरी सरकारको लक्ष्य पूरा गरेर देशलाई समृद्धिको मार्गमा लाने प्रमुख जिम्मेवारी प्राधिकरण र निजी क्षेत्रको रहेको छ । निजी क्षेत्र यसका लागि तयार छ ।

प्राधिकरणले देशभर लगभग शतप्रतिशत ग्रामीण विद्युतीकरण गरिसकेको छ । यो प्रशंसनीय कार्य हो । अब देशभित्र खपत वृद्धि हुने एउटा महत्त्वपूर्ण क्षेत्र एलपिजी ग्यासको विस्थापन पनि हो । ७७ वटै जिल्लाका एक/एक पालिकाका एक/एक वडाहरूमा डेडिकेटेड फिडरमार्फत विद्युत् दिएर एलपिजी ग्यास निषेधित क्षेत्र घोषणा गरी नमुनाको रूपमा काम गर्न सके अन्य क्षेत्रमा पनि सोही अनुसार क्रमशः विद्युत् माग बढ्न सक्छ ।

त्यसकारण, निजी क्षेत्रले आवेदन गरेका सम्पूर्ण आयोजनाको पिपिए प्राधिकरणले गरी देओस् । खपत वृद्धि गरोस्, निर्यात गरोस् । हामी निजी क्षेत्रको सदैव साथ रहनेछ । हामी विद्युत् उत्पादन गरी प्राधिकरणलाई दिन्छौँ तर प्राधिकरणले उच्च परिमाणमा विद्युत् व्यापार गर्न नसक्ने हो भने हामी निजी क्षेत्रलाई व्यापारको अनुमति यथाशीघ्र दिनुपर्दछ । अहिले पिपिएको पर्खाइमा रहेका आयोजनाहरूमा निजी क्षेत्रको करिब ६६ अर्ब लगानी भएको छ । उक्त लगानी सुरक्षाका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति माग गर्नु रहर होइन, बाध्यता हो ।

बि.सं. २०५५ सालमा पिपिएको दर निर्धारण गरेपछि मात्रै विद्युत् उत्पादनमा निजी क्षेत्रले विधिवत् रूपमा प्रवेश पाएको हो । त्यसपछिका २५/२६ वर्षमा विद्युत् उत्पादनमा लगभग ८० प्रतिशत हिस्सा पुर्‍याउन सफल भएको छ । हरेक विद्युत्‌गृहदेखि प्राधिकरणको सबस्टेसनसम्म विभिन्न क्षमताका प्रसारण लाइनहरू निर्माण गरिरहेकोले निजी क्षेत्रले प्रसारण लाइन पनि निर्माण गर्न सक्छ भन्ने प्रमाणित गरेको छ ।

त्यसकारण विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणमा प्रमाणित भई सकेको निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको अनुमतिपत्र दिन ढिलाइ गर्नुहुन्न । 

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) अध्यक्ष डाँगीद्वारा व्यक्त विचारको सम्पादित सार ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३