काठमाडौं । नेपाली जलविद्युत् क्षेत्रमा लगानीको आकार बढ्दै जाँदा आयोजनाको नेतृत्वमा महिलाको उपस्थिति कमजोर देखिन्छ । यही रिक्तताबीच एउटी महिला जलविद्युत् उद्यमीको नेतृत्वमा झण्डै ७०० मेगावाट क्षमताका आयोजना अघि बढिरहेका छन् । उनी हुन्– सुसन कर्माचार्य ।
कर्माचार्यको नेतृत्व, लगानी र संलग्नतामा अहिले करिब ६८७.७९ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न, निर्माणाधीन तथा वित्तीय व्यवस्थापनको चरणमा पुगेका छन् । जलविद्युत् विकासमा ठूलो लगानी, जोखिम र लामो समयको प्रतिबद्धता आवश्यक पर्ने भए पनि उनले पुरुषको वर्चस्वको यो क्षेत्रमा आफ्नै पहिचान बनाउँदै आएकी छन् ।
उनको पछिल्लो र सबैभन्दा ठूलो जिम्मेवारीमा आएको छ- ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजना । हाल यसको २९८ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ भने बाँकीको अगाडि बढाइएको छ । एससी पावर कम्पनी प्रालिले निर्माण प्रक्रिया अगाडि बढाएको तिला–१ हालसम्म निजी क्षेत्रले नेतृत्व लिएको सबैभन्दा ठूलो आयोजना हो । यसको आज (भदौ २ गते) वित्तीय व्यवस्थापन हुन गइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीपछि हालसम्म देशमा निर्माण भएको सबैभन्दा ठूलो आयोजना हो । यसपछि सरकार र निजी क्षेत्र दुवैका लागि ठूला आयोजना अघि बढाउनु चुनौतीपूर्ण बन्दै आएको छ । यस्तो अवस्थामा यति ठूलो आयोजना वित्तीय व्यवस्थापनको चरणसम्म पुर्याउनु आफैंमा महत्वपूर्ण उपलब्धि हो ।
कर्माचार्य नै अध्यक्ष रहेको एससी पावरद्वारा प्रवर्द्धित तिला–१ मा एनएमबी बैंक लिमिटेडले लिड बैंकको भूमिका निर्वाह गरेको छ । यस्तै, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक को–लिड बैंकका रूपमा रहेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाको समेत आयोजनामा सहभागिता रहेको कम्पनीले जनाएको छ ।
यति ठूलो आयोजनामा आवश्यक लगानी जुटाउनेदेखि वित्तीय संस्थासँग समन्वय गर्नेसम्मको प्रक्रियामा कर्माचार्यको नेतृत्वलाई निकै अर्थपूर्ण रूपमा समेत हेरिएको छ । यसअघि निजी क्षेत्रका टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बूढीगण्डकी आंशिकजलाशय र तमोर इनर्जी प्रालिले २८५ मेगावाटको माथिल्लो तमोरजस्ता ठूला आयोजना अघि बढाएका छन् ।
३६ मेगावाट सञ्चालनमा
ठूला मात्र होइन, कर्माचार्यको नेतृत्वमा विभिन्न साना तथा मध्यम आकारका आयोजना समेत निर्माण सम्पन्न भइसकेका छन् ।
कास्कीको सिक्लेसमा मादमे खोला हाइड्रोपावर लिमिटेडद्वारा निर्मित २४ मेगावाटको मादमे खोला उनको नेतृत्वमा बनेर सञ्चालनमा आएको ठूलो आयोजना हो । उनी त्यस कम्पनीको कार्यकारी अध्यक्षको जिम्मेवारीमा छन् ।
यसैगरी, सिन्धुपाल्चोकको ७.२७ मेगावाटको याम्बालिङ खोला र भोजपुरको ५ मेगावाटको पिखुवा खोला पनि कर्माचार्यकै नेतृत्वमा निर्माण सम्पन्न भएका आयोजना हुन् । उनी यी दुवै आयोजनाका प्रवर्द्धक कम्पनीहरू याम्बालिङ हाइड्रोपावर लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेड उनैले नेतृत्व गरेकी छन् ।
यसैगरी, निर्माण सम्पन्नसँगै कर्माचार्यको संलग्नतामा ८.५२ मेगावाटका आयोजना निर्माणाधीन छन् । बागलुङमा माइलस्टोन हाइड्रोपावर प्रालि मार्फत ४.५ मेगावाटको मध्यदरम खोला ‘बी’ र ह्वाइट गोल्ड मल्टी–इनर्जी लिमिटेडले अगाडि बढाएको ४.०२ मेगावाटको मध्यदरम खोला–ए रहेका छन् । यी दुवै कम्पनी पनि उनको नेतृत्वमा छन् ।
यसरी निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाबाट उनले आयोजना विकासको व्यवहारिक अनुभवसमेत हासिल गरिसकेकी छन् ।
गह्रुङ्गो जिम्मेवारी
कर्माचार्यको सबैभन्दा ठूलो चुनौती र अवसर भने अब ठूला आयोजनामा देखिएको छ । उनको नेतृत्व तथा संलग्नतामा ६४३ मेगावाट क्षमताका दुई ठूला आयोजना वित्तीय व्यवस्थापनको चरणमा छन् ।
तिला–१ को वित्तीय व्यवस्थापनको टुंगो लागिसकेको छ । अब गोरखामा कैलाश इनर्जी प्रालिमार्फत निर्माण हुने २०३ मेगावाटको माथिल्लो बूढीगण्डकी आंशिकजलाशय आयोजना अगाडि बढाइएको छ । कम्पनीकी अध्यक्ष कर्माचार्य भन्छिन्– आयोजनाको प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेको छ भने पिपिएको पालो कुरेर बसेको छ ।
तीला-१ र माथिल्लो बूढीगण्डकी मात्रै पूरा हुँदा जलविद्युत् विकासमा उनको नेतृत्वको उचाइ अग्लो हुने प्रस्ट छ ।
ऊर्जामा फेरिँदो अनुहार
जलविद्युत् आयोजना विकासलाई लामो समयसम्म पुरुषप्रधान व्यवसायका रूपमा हेरिँदै आएको छ । प्राविधिक जनशक्ति, वित्तीय जोखिम, राजनीतिक तथा प्रशासनिक समन्वय, जग्गा अधिग्रहणदेखि निर्माण व्यवस्थापनसम्मका जटिलताले ऊर्जा क्षेत्रको नेतृत्वमा महिलाको प्रवेशलाई अझ चुनौतीपूर्ण बनाएको छ ।
तर कर्माचार्यको यात्रा त्यस धारणालाई चुनौती दिने उदाहरण बनेको छ ।
केही मेगावाटका आयोजनाबाट सुरु भएको उनको संलग्नता अहिले सयौं मेगावाट क्षमताका आयोजनाको नेतृत्वसम्म पुगेको छ । अझ महत्वपूर्ण कुरा, उनको नेतृत्वमा आयोजनाहरू कागजमा मात्रै सीमित छैनन्; केही निर्माण सम्पन्न भइसकेका छन्, केही निर्माणाधीन छन् भने ठूला आयोजनाहरू वित्तीय व्यवस्थापनको निर्णायक चरणमा पुगेका छन् ।
यसले ऊर्जा क्षेत्रमा महिला नेतृत्व सम्भव मात्रै होइन, ठूलो आकारका आयोजना विकासमा समेत प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिएको छ ।
नवीन सन्देश
कर्माचार्यको नेतृत्व तथा संलग्नता रहेका आयोजनाको कुल क्षमता ६८७.७९ मेगावाट पुगेको छ । यसमा निर्माण सम्पन्न ३६.२७ मेगावाट, निर्माणाधीन ८.५२ मेगावाट र वित्तीय व्यवस्थापनको चरणमा रहेका ६४३ मेगावाटका आयोजना समावेश छन् । यो संख्या एउटा व्यक्तिगत व्यावसायिक यात्राको आँकडा मात्रै होइन । यो नेपालको ऊर्जा क्षेत्रमा महिलाको नेतृत्व व्यापक विस्तार हुँदै गएको संकेतसमेत हो ।
तिला–१ को वित्तीय व्यवस्थापन सम्पन्नसँगै कर्माचार्यको यात्राले अर्को महत्वपूर्ण मोड लिएको छ । अब चुनौती आयोजना वित्तीयरूपमा बन्द गर्नु मात्र नभइ त्यसलाई समयमै निर्माण सम्पन्न गरी उत्पादनमा ल्याउनु हो । तिला–१ र माथिल्लो बूढीगण्डकीजस्ता ठूला आयोजना सफलतापूर्वक निर्माण भएमा नेपालको जलविद्युत् क्षेत्रमा महिला नेतृत्वको अलग्गै मान स्थापित हुनेछ ।
पुरुषको वर्चस्व रहेको क्षेत्रमा प्रवेश गरेर नेतृत्व लिनु त एउटा उपलब्धि हुँदै हो । सयौं मेगावाटका आयोजना जोखिम बोकेर निर्माणको चरणमा पुर्याउनु त्यस उपलब्धिलाई परिणाममा बदल्ने काम हरेकका लागि प्रेरणादायी सन्देशसमेत हो । सुसन कर्माचार्यको यात्रा यसरी उदाहरणीय बन्दै गएको छ ।
सुसन कर्माचार्यको नेतृत्व तथा संलग्नताका आयोजनाहरू
|
क्र.सं. |
आयोजना |
क्षमता (मेगावाट) |
प्रवर्द्धक |
अवस्था |
|
१ |
मादमे खोला |
२४ |
मादमे खोला हाइड्रोपावर लिमिटेड |
सञ्चालनमा |
|
२ |
याम्बालिङ खोला |
७.२७ |
याम्बालिङ हाइड्रोपावर लिमिटेड |
सञ्चालनमा |
|
३ |
पिखुवा खोला |
५ |
इस्टर्न हाइड्रोपावर लिमिटेड |
सञ्चालनमा |
|
४ |
मध्यदरम खोला ‘बी’ |
४.५ |
माइलस्टोन हाइड्रोपावर प्रालि |
निर्माणाधीन |
|
५ |
मध्यदरम खोला–'ए' |
४.०२ |
ह्वाइट गोल्ड मल्टी–इनर्जी लिमिटेड |
निर्माणाधीन |
|
६ |
तिला–१ |
४४० |
एससी पावर कम्पनी प्रालि |
वित्तीय व्यवस्थापन सम्पन्न |
|
७ |
माथिल्लो बूढीगण्डकी |
२०३ |
कैलाश इनर्जी प्रालि |
वित्तीय व्यवस्थापन चरणमा/पिपीए पर्खाइमा |
|
|
कूल |
६८७.७९ |
— |
— |