काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव बाहिर निकालिएको छ । गत भाद्र १० गते रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा शुक्रबार सुरुङभित्र भेटिएका ती शवहरू बाहिर निकालिएको हो ।
आयोजनाका प्रतिनिधिसहित खटिएको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा आयोजनाको अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शवहरू फेला पारेको हो । उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी हिलो र डन्डीको जाली काट्दै शवहरू बाहिर निकालेको जनाएको छ ।
यस्तै, टनेलको भित्री भागमा हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तै आकृतिहरू समेत देखिएकाले उक्त क्षेत्रमा टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्र रूपमा जारी राखेको बताइएको छ ।