विद्युत आपूर्ति : प्राधिकरण :५५८० मे.वा.घन्टा / निजी क्षेत्र :४४३३ मे.वा.घन्टा / आयात : १७८१९ मे.वा.घन्टा / ट्रिपिङ :५० मे.वा.घन्टा / ऊर्जा माग :२७८८२ मे.वा.घन्टा/ उच्च माग :१४३६ मेगावाट
×

जलवायु परिवर्तनले छिटो पगाल्यो हिमालयमा हिउँ

२०७७ चैत ६

हालै भारतको उत्तराखण्डमा अकस्मात् आएको बाढीजस्ता विपद्हरूले जलवायु परिवर्तनसँगै कमजोर योजनामा आधारित पूर्वाधारहरूले कसरी यो क्षेत्रमा जोखिम बढाएको छ भन्ने देखाएको विज्ञहरूले बताएका छन् ।

हालैका दशकहरूमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा हिउँ पग्लिने दरलाई बढाएको छ र यसका कारण वैज्ञानिकहरूले समेत अहिलेसम्म पूर्ण रूपमा बुझ्न नसकेका अभूतपूर्व जोखिमहरू बढिरहेका छन् । तर प्राकृतिक रूपमा र जलवायु परिवर्तनका कारण सिर्जना भएका अवस्थाबारे अध्ययनहरू हुँदै जाँदा यस क्षेत्रका देश र समुदायहरू विपद् र सुस्त गतिमा हुने पर्यावरणीय परिवर्तनहरूसित जुध्न पहिलेभन्दा राम्रोसित तयार हुने आशा पलाएको छ ।

हिउँको सिधा सम्बन्ध पानीको उपलब्धतासित हुन्छ भने पानीको उपलब्धता मानिसहरूको जीविकासित जोडिएको हुन्छ । हिमाली क्षेत्रमा मात्रै १२ करोड ९० लाख किसानहरू सिँचाइका लागि हिउँ र हिमताल पग्लिएर आउने पानीमा निर्भर छन् । हिउँको कमीले पानीको उपलब्धता, पारिस्थितिक प्रणाली र जलविद्युत्‌को उत्पादनलाई असर गर्दछ । तर हरेक वर्ष हिउँमा आउने कमी (जसलाई हिउँकाे खडेरी वा ‘स्नो ड्राउट’ भनिन्छ)का बारेमा खासै धेरै अनुसन्धान भएका छैनन् ।

सन् २०२०मा प्रकाशित एक शोधपत्रमा क्यालिफोर्निया विश्वविद्यालय अर्भिनका शाेधकर्ताहरूले सन् १९८०देखि २०१८सम्मको अवधिमा संसारभर हिउँको खडेरीको अवधि र प्रभावको विश्लेषण गरेका थिए । उनीहरूले अमेरिका, रुस र युरोपमा हिउँको खडेरी पहिलेदेखि नै व्यापक रहेको पाएका थिए । तर हिन्दुकुश हिमालय, मध्य एसिया, पूरै हिमाली क्षेत्र र दक्षिण अमेरिकाका केही भागहरूमा भने हालैका समय मात्रै हिउँको खडेरीको अवधि घटेको पाइएको थियो ।

सन् १९८०देखि २०१८का बीचमा हिमालमा स्नो ड्राउट हुने औसत अवधि घट्दै गएको पाइएको छ ।

‘अनुसन्धानले हिउँ पग्लिएर आउने पानीमा आश्रित ८० करोड मानिसहरूका लागि हिउँ र हिउँ पग्लिएर आउने पानीको कति महत्त्व छ भन्ने कुरामा जोड दिएको छ,’ अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानकी अनुसन्धानकर्ता अदिति मुखर्जीले भनिन् ।

‘हिमतालको पानीमा आधारित सिँचाइ प्रणालीहरूमा हिउँ चाँडै पग्लिनाले अथवा हिउँ पर्ने समय र पर्ने हिउँको मात्रामा आएका परिवर्तनहरूका कारण चुनौतीहरूको सामना गर्नुपरेको प्रमाण हामीसित अहिले नै छ ।’

हिउँ कति परेको छ त?

‘कुनै पनि समयमा कति हिउँ परेको रहेछ भनेर जान्नु खडेरी हुने अवस्थाको निगरानी गर्न र बाढीको पूर्वचेतावनी जारी गर्न पनि महत्त्वपूर्ण छ’, अर्भिनका सिभिल तथा वातावरण इन्जिनियरिङ प्रोफेसर तथा अनुसन्धानका प्रमुख सोधकर्ता अमिर आघाकौचकले बताए । ‘हिउँको मात्रा औसतभन्दा कम भएमा पानीको उपलब्धतामा असर पर्न सक्छ भने हिउँ धेरै परेको स्थितिमा चाँडै पग्लिने अवस्थामा बाढी आउन सक्दछ।’

स्नो ड्राउटको अवस्था मापन गर्नका लागि वैज्ञानिकहरूले ‘स्नो वाटर इक्विभ्यालेन्ट’को प्रयोग गर्दछन् । यसले भएजति सबै हिउँ एकै पटक पग्लिने हो भने कति पानी निस्केला भनेर मापन गर्दछ । अध्ययनका क्रममा भूउपग्रहको प्रयोग गरेर अक्टोबर १९८०देखि सेप्टेम्बर २०१८सम्मको अवधिमा स्नो वाटर इक्विभ्यालेन्टको मापन गरिएको थियो । त्यसको नतिजालाई संसारभरका हिउँ पर्ने स्थानहरूमा जम्मा भएको हिउँको मात्रासित दाँजेर जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरिएको थियो । अध्ययनले पश्चिमी संयुक्त राज्य अमेरिका, पूर्वी रुस, युरोप, हिन्दुकुश र मध्य एसिया तथा एन्डिज, बृहत् हिमालय र पाटागोनियाका हिउँ पर्ने क्षेत्रहरूमा आफ्नो ध्यान केन्द्रित गरेको थियो ।

सन् १९८०देखि २०१८बीचको समयलाई दुई भागमा बाँडेर अनुसन्धानकर्ताहरूले स्नो ड्राउटको प्रभाव र अवधिको तुलना गरेका थिए । विश्लेषणले पश्चिमी संयुक्त राज्य अमेरिका, पूर्वी रुस र युरोपमा कतै ठूलो त कतै सानो स्तरमा स्नो ड्राउटको प्रभावमा वृद्धि आइरहेको देखाएको थियो । हिन्दुकुश हिमालय, एन्डिज, बृहत् हिमालय र पाटागोनियामा भने स्नो ड्राउटको औसत अवधि घटेको पाइएको थियो ।

स्नो ड्राउटको अवधि छोट्टिनुलाई सधैँ राम्रो मान्न सकिन्न किनभने तापक्रम र कमजोर भूबनोटजस्ता कारकहरूले कुनै पनि क्षेत्रको हिउँ भण्डारण गर्ने सक्ने क्षमता निर्धारण गर्ने गर्दछ।

स्थानीय रूपमा पानीको प्रणालीमा आउने परिवर्तनबारे राम्रो जानकारी भएमा थप अनुकूलित पूर्वाधारहरूको निर्माण गर्न सकिन्छ ।

अनुसन्धानमा संलग्न नरहेका मेरिल्यान्ड विश्वविद्यालयका वायुमण्डल तथा समुद्र विज्ञानका प्रोफेसर रघु मुर्तुगुड्डेले प्राकृतिक र मानव-निर्मित दुबै किसिमका कारकहरूको अध्ययन गरिएकाले यसलाई राम्रो मान्नुपर्ने बताए । ‘स्नो ड्राउटका कारकहरू विभिन्न स्थानका लागि फरक हुन्छन् र यसले अध्ययनलाई थप जटिल बनाउँदछ । समुद्रबाट निकै पर रहेको हिमाली क्षेत्र त झनै यो कुरा लागू हुन्छ ।’

हिन्दूकुश हिमालयमा स्नो ड्राउटको अवधि घट्नु सुखद समाचार भएता पनि यो किन भइरहेको छ भन्ने जान्नु महत्त्वपूर्ण रहेको उनले बताए । यदि प्रशान्त र भूमध्य सागर क्षेत्रमा भएको मौसम परिवर्तनका कारण यसो भइरहेको छ भने यसले मनसुनकै स्वरूपमा परिवर्तन ल्याउन सक्ने उनले बताए ।

अवलोकनमा आधारित सूचनाहरूमा थुप्रै अनिश्चितता हुने भएकाले हिमाली क्षेत्रमा पहिलेका वर्षहरूको तुलनामा कम हिउँको अभाव भइरहेको छ भनेर यकिन गर्न सकिँदैन, मुखर्जीले भनिन् ।

सीमितताहरूका बाबजुद, स्थानीय रूपमा पानीको प्रणालीमा आउने परिवर्तनबारे राम्रो जानकारी भएमा थप अनुकूलित पूर्वाधारहरूको डिजाइन गर्न सकिन्छ ।

‘उदाहरणका लागि, यदि जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर आउने बाढी र अन्य जल-उत्पन्न प्राकृतिक प्रकोपका घटनाहरू बढेर जान्छन् भन्ने हामीलाई थाहा भयो भने कमजोर भूबनोट भएको हिमाली क्षेत्रमा हामीले जलविद्युत्‌को विकल्प खोज्नु राम्रो हुनेछ,’ मुखर्जीले भनिन् ।

पानीको व्यवस्थापनमा काम गर्ने स्वतन्त्र अनुसन्धानकर्ता काङ्गकनिका नेओगले भनिन्, ‘हामीले के बुझ्न जरुरी छ भने हिमाली क्षेत्रमा जाेखिम बढाउनमा स्नो ड्राउट बाहेक अरू पनि कारकहरू छन् ।’ उनका अनुसार यस क्षेत्रका नीतिनिर्माताहरूले सकेसम्म चाँडै ध्यान दिनुपर्ने विषय भनेको ‘कृषि र जल वा अर्थतन्त्रसम्बन्धी सबै कुरामा जलवायु अनुकूलित डिजाइनलाई समावेश गर्नु’ हो । उदाहरणका लागि, उनले भनिन्, ‘जलवायु अनुकूलित सिँचाइ पद्धति लागू गर्न होस् वा सूचनामा आधारित व्यवस्थापन प्रणाली, सबैमा किसानहरूलाई प्राथमिकता दिनुपर्दछ ।’

आघाकौचकले यसअघि गरेका अनुसन्धानहरूले हिमाली क्षेत्रमा एक डिग्री सेल्सियस तापक्रम वृद्धि भएमा मात्रै पनि हिउँको मात्रामा परिवर्तन आउने देखाएका छन् । ‘तापक्रम तलमाथि हुनेबित्तिकै ठूलो परिवर्तन आउने हिमाली क्षेत्रमा हिउँ चाँडै पग्लिनु एउटा पेचिलो विषय हो,’ उनले भने । ‘हिउँ नपरेर हुने खडेरीको अवधिमा आएको कमीलाई समग्रमा हेर्ने हो भने पनि भयावह बाढीको अवस्था आउन सक्ने देखिन्छ ।’

द थर्ड पाेल

प्रतिक्रिया