विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वि.सं. २०८० कात्तिक १४ गते मंगलबार, इन्डोनेसियाको बाली शहर । त्यसको एउटा महत्वपूर्ण स्थान विशाल ‘बाली नुसा–डुवा कन्भेन्सन सेन्टर’, जहाँ ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को शुभारम्भ भएको थियो । सम्मेलनको उद्घाटन सत्रमा इन्डोनेसियाका राष्ट्रपति बपाक जोको विडोडोले महत्वपूर्ण सम्बोधन गरे–

मलाई विश्वास छ, प्राकृतिक सौन्दर्ययुक्त बालीमा यो विश्वलाई दिगो मातृ–प्रकृतिको रूपमा विकास गर्न सम्मेलनले महत्वपूर्ण सिफारिस गर्नेछ । किनकि, अहिले पृथ्वी विरामी छिन् । संयुक्त राष्ट्र संघले ‘विश्व तातिँदै गएको युग समाप्त भए पनि अब विश्व उम्लिरहेको’ युग आइसकेको घोषणा गरेको छ ।

उनले अगाडि भने, ‘यदि, विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसभन्दा ज्यादा बढ्यो भने करिब २१ करोड मानिसले स्वच्छ पानीको सङ्कट भोग्नुपर्ने भविष्यवाणी छ । यस्तै, १ करोड ४० लाख जनसङ्ख्या तातो लहर (लु) को चपेटामा पर्नेछन्, २९ करोड घर तटीय बाढीका कारण डुब्नेछन् र ६० करोड मानिस कुपोषणको शिकार हुनेछन् । यी हाम्रा लागि ज्यादै खतराका सूचक हुन् ।’

यो कति त्रासदीपूर्ण तथ्याङ्क हो, सुन्दै आङ जिरिङ्ग हुन्छ । यसले के देखाउँछ भने पृथ्वी हर–प्राणीको बासस्थानको प्रतिकूल हुँदैछ । यसलाई अनुकूल बनाउन ‘अब विश्व एकै आँगनमा ओर्लेर सयुक्त पहल गर्नुको विकल्प छैन’ भन्ने पनि हो ।

उम्लिँदो पृथ्वी

माथिकै तथ्यमा घोरिएर एकछिन कल्पना गरौँ, ठूलो कराइभरि पानी छ र त्यसलाई आगोको ज्वालाले भकभकी उमालिरहेको छ । यस्तो पानीमा कुनै जीव वा वस्तु खस्यो भने के हुन्छ ? अवश्य पनि त्यो जीवको तत्कालै मृत्यु हुन्छ । हो, पृथ्वीवासी अहिले यस्तै मृत्योन्मुख भयप्रद क्षणबाट गुज्रिरहेका छन् । यसको मूल कारण तातिँदै वा उम्लिँदै गएको धर्ती र जलवायु परिवर्तनको असर नै हो ।

जब मानिसले विकास, समृद्धि र समुन्नतिको नाममा पुथ्वीको मनपरी दोहन गर्दै गयो, तब त्यसको चाप बढ्दै आयो । विस्तारै पुथ्वी, जल, वायु, अग्नी र सूर्य (आकाश) यी पञ्च तत्वको सन्तुलन खल्बलिँदै आयो । हिन्दूहरूको पौराणिक ग्रन्थ यजुर्वेद अनुसार यिनै पञ्चमहाभूत नै खासमा ऊर्जाका स्रोत हुन् । यिनको सन्तुलित व्यवस्थापन र सदुपयोग नगर्दा नै पृथ्वी र यहाँका समस्त प्राणीले दुःख पाइरहेका छन् । पञ्चमहाभूतबीच सन्तुलनको प्रयास त भयो तर पृथ्वीभित्रको स्रोत दोहन र त्यसको आफूखुसी प्रयोग रोकिएन । मानिसले पृथ्वीलाई आफ्नो निजी सम्पत्तिजस्तो ठान्यो । सायद, मानिसले पृथ्वीको ‘सदुपयोग, संरक्षण र संबर्द्धन’ गर्नुपर्छ भन्ने कहिल्यै सोचेन ।

जब दोहन र चापले सीमा नाघ्यो वा लापरबाही हिसाबले पृथ्वीलाई कोपर्न थालियो, तब भूकम्प, भूक्षय, बाढी–पहिरो, अतिवृष्टि र अनावृष्टिजस्ता प्रकोपहरू जन्मिँदै गए । वायुमण्डल तातिँदै गयो । हिमालहरू पग्लिँदै गए । हिमतालहरू फुट्न थाले । अन्ततः यसले मानिसमात्रै होइन, सिङ्गो पृथ्वी, जल, आकाश र वायुका प्राणीको अस्तिवमाथि धावा बोल्यो । आफ्नै अस्तित्व सङ्कटोन्मुख हुँदै गएपछि मानिस चीरनिद्राबाट ब्यूझिएजस्तो भएको छ । अहिले उसले आफ्नो अस्तित्व रक्षासँगै पृथ्वीप्रति सदभाव राख्नुपर्ने चेतना ग्रहण गर्न थालेको छ ।

तिनै प्रभावस्वरूप जलवायु परिवर्तनको असर न्यूनीकरण, स्वच्छ औद्योगिकीकरणको विकास, नवीकरणीय ऊर्जाको परिप्रयोगतर्फ विश्व जुर्मराएको छ । सन् १९९० को दशकदेखि यिनै विषयमा गतिशील रूपमा काम गर्न अनेक सभा–सम्मेलन, गोष्ठी, विचार–विमर्श र छलफल हुँदै आए । पृथ्वी, पर्यावरण र स्वच्छ ऊर्जाबीचको सन्तुलन खल्बलिँदै गएको सङ्कटोन्मुख अवस्थालाई पहिलो पटक सन् १९९२ मा ब्रजिलको रियोमा उठाइयो । त्यो सम्मेलनको मूल मन्त्र ‘प्रकृति सुरक्षा’ थियो । यद्यपि, अध्येताहरू ‘प्रकृति सुरक्षा’ भन्दा ‘प्रकृति सेवा’ विश्वको मूल मन्त्र हुनुपर्ने बताउँछन् ।

पृथ्वी तातिँदै गएर मानवीय अस्तित्व नै सङ्कटतर्फ धकेलिएको मुद्दालाई सबैभन्दा बढी बोकेर हिँडेको अन्तराष्ट्रिय मञ्च हो, कोप अर्थात् जलवायु परिवर्तनसँग सम्बन्धित संयुक्त राष्ट्र संघीय ढाँचा साम्झौता (युएनएफसीसीसी) अन्तर्गत पक्ष राष्ट्रहरूको सम्मेलन । जसमा अहिलेसम्म नेपालसहित १९८ राष्ट्र सदस्य छन् । कोपको पहिलो सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनमा भयो । यसरी नै सन् १९९७ को क्योटो प्रोटोकल, सन् २०१५ को पेरिस सम्झौता हुँदै कोपको २८औं सम्मेलन डिसेम्बर १२, २०२३ मा दुबईमा सकियो ।

यी सबै बैठकले पृथ्वी उम्लिरहेको, यहाँका प्राणीहरू विनाशतर्फ धकेलिएको चिन्ता र चासो बोकेर हिँडिरहेका छन् । विरामी पृथ्वीको उपचारका लागि जीवाश्म इन्धनको खपत घटाउँदै स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा जोड दिइएको छ । फलतः हरेक वर्ष वा महिना–महिनामा जलविद्युत् तथा नवीकरणीय ऊर्जा सम्मेलन, जलवायु परिवर्तन न्यूनीकरणका गोष्ठीहरू भइरहेका छन् । यो मुद्दा भूगोलका सीमाभित्र मात्र खुम्चिएको छैन । राजनीति तथा भू–राजनीतिक तह, नेता, मन्त्रीहरूका छलफलका मञ्चसम्म फराकिएर विश्वव्यापी भएको छ ।

विज्ञ समूह, अनुसन्धाता, अध्येता, नीति निर्माता हुँदै यो छलफल र बहसको पैरवी जनताबाट चुनिएर आउने सांसदहरूले उठाउन थालेका छन् । हरेक देशले जलवायु संसद अर्थात् ‘क्लाइमेट पार्लियामेन्ट’को गठन गरी पर्यावरण जोगाउन, स्वच्छ ऊर्जाको प्रयोग बढाउन जनचेतनाको अभियान चलाएका छन् । जुन विषय पेरिस सम्झौताबाटै उठान भएको थियो ।

जीवाश्म इन्धनको ध्वंस

सन् १८८० देखि हरेक दश वर्षमा पृथ्वीको तापक्रम ०.०८ डिग्री सेल्सियसका दरले बढिरहेको छ । यो दर सन् १८८१ को दशकपछि दोब्बरका दरले उकालो चढिरहेको अन्तर्राष्ट्रिय तथ्याङ्कहरूले देखाउँछन् । यसपछि, निरन्तर पृथ्वी तात्ने क्रम बढिरह्यो । अझ, सन् १९९० पछि, जब औद्योगिक विकासको सुरुवात भयो तब पृथ्वी तात्ने क्रम अझ तीव्र भयो ।

सन् २०२२ सम्म आइपुग्दा, विश्व तापमान राख्न थालिएको समयदेखि गणना गर्दा त्यो वर्ष छैटौं सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरियो । ‘वैश्विक जलवायु प्रतिवेदन, २०२२ अनुसार’ यो अङ्क सन् २०१६ मा रेकर्ड गरिएको भन्दा ०.१३ डिग्री सेल्सियस कम हो र गत वर्ष (सन् २०२१) को तुलनामा ०.०२ डिग्री सेल्सियस कम हो । जुन, अहिलेसम्मको सातौं उच्च तापमान भएको वर्ष मानिन्छ । १४३ वर्षको रेकर्डमा १० सबैभन्दा ताता वर्षहरू सन् २०१० देखि नै भएका छन् । पछिल्ला ९ वर्ष (सन् २०१४–२०२२) को रेकर्डमा यी वर्षहरू नै बढी ताता वर्षहरूमा गणना गरिएको छ । अर्कोतर्फ, संयुक्त राष्ट्र संघका अनुसार आज पनि विश्वका २ अर्बभन्दा बढी मानिसहरूमा शुद्ध पिउने पानीको पहुँच पुगेको छैन । त्यस्तै, सन् २०३० सम्म ६६ करोड मानिस विद्युतको पहुँचबाहिर हुनेछन् ।

यसैगरी, अमेरिकी जलवायु विज्ञान विशेष प्रतिवेदन, २०१७ का अनुसार सन् २००० पछि जसरी वार्षिक तापक्रम तीव्रताका साथ बढिरहेको छ, त्यस हिसाबले यो शताब्दीको अन्त्यसम्म पृथ्वी औसत ५ डिग्री फरेनहाइट तातो हुनेछ । कार्बन उत्सर्जनको क्रम विस्तारै कम हुँदै गएमा सन् २०५० पछि तापक्रम बढ्ने क्रम घट्न सक्ने अनुमान छ । यद्यपि, २०औं शताब्दीको मध्य–समयको तुलनामा कम्तीमा २.४ डिग्री तातोपना रहिरहने र समग्र तापमान ५.९ डिग्रीसम्म रहने अन्तर्राष्ट्रिय तथ्याङ्कहरूले देखाएका छन् ।

उल्लिखित अवस्थाहरू निम्तिनुका पछाडि १९औं शताब्दीको सुरुदेखि नै भएको चर्को औद्योगिकीकरण, दूषित ऊर्जाको प्रयोग र पृथ्वी–पर्यावरणको मनपरी विनाश नै प्रमुख कारणहरू औंल्याइएको छ । पछिल्लो डेढ–दुई वर्षमा ध्वस्त पारिँदै गएको पृथ्वीको पुरानो संरचना फर्काउन त सम्भव छैन तर न्यूनीकरण पक्कै सम्भव छ । तिनै अभियानहरूको पछिल्लो प्रयासस्वरूप ‘बाली सम्मलेन’ भयो । हरेक दुई–दुई वर्षमा हुने सम्मेलनले विश्वको जलविद्युत्, नवीकरणीय तथा स्वच्छ ऊर्जाका स्रोत सही सदुपयोग र आर्थिक समृद्धि अबको ‘कोसे–ढुङ्गा’ हुनुपर्ने औंल्याएको छ ।

बाली सम्मेलन

बाली घोषणापत्र जारी गर्दै सम्पन्न भएको सम्मेलनमा अधिकांश देशका प्रतिनिधिहरूले दिगो जलविद्युत् विकास राष्ट्रिय रणनीतिको मेरुदण्ड हुनुपर्नेमा जोड दिए । ‘पावरिङ सस्टेनेबल ग्रोथ (नवीकरणीय ऊर्जाको दिगो विकास)’ भन्ने निचोडका साथ वि.सं. २०८० कात्तिक १४ देखि १६ गतेसम्म आयोजित सम्मेलनमा एसिया, दक्षिण पूर्वी–एसिया, युरोप, अमेरिका, चीन लगायत राष्ट्रबाट १००० भन्दा बढीको सहभागिता थियो । घोषणापत्रले स्वच्छ तथा नवीकरणीय ऊर्जाद्वारा भरपर्दो, सम्पन्न र न्यून कार्बनयुक्त अर्थतन्त्र निर्माणका लागि दिगो जलविद्युत् विकास हुनुपर्नेमा जोड दियो ।

ऊर्जा उत्पादन र भण्डारका लागि संसारको सबैभन्दा ठूलो स्रोत जलविद्युत् रहेको सन्दर्भ उल्लेख गर्दै उन्नत औद्योगिक विकासमार्फत विश्वको अर्थतन्त्रलाई बलियो बनाउने निष्कर्ष थियो । यसले, जलस्रोतको उचित सदुपयोग र व्यवस्थानमा समेत विशेष भूमिका खेल्ने उल्लेख छ । प्रयोगमा आउन बाँकी अधिकांश जलविद्युत् क्षमता विकासोन्मुख देशहरूमा रहेको हुँदा बाली घोषणापत्रले ती राष्ट्रमा लगानी विस्तार गर्न आह्वान गरेको छ ।
हिजोको औद्योगिक क्रान्ति पनि पानीबाटै परिचालित रहेको हुँदा अबको दिगो विकासलाई समेत पानी, हावा र सूर्यबाट उत्पादित बिजुलीले रूपान्तरण गर्न सक्ने घोषणापत्रको निचोड छ । यसले, विश्वभरका नीति निर्माता र विकासकर्तालाई एकै ठाउँमा उभ्याउन सघाउने विश्वास गरिएको छ ।

बाली सम्मेलनमा उपस्थित विभिन्न देश तथा विकास साझेदार निकायका प्रमुखहरू

सम्मेलनमा प्रमुख व्यक्तिहरूका अभिव्यक्ति

बपाक जोको विडोडो (राष्ट्रपति, इन्डोनेसिया) : हरित ऊर्जा विकासको पर्याप्त सम्भावना रहेको हुँदा यसको सदुपयोगमाफर्त ऊर्जा रूपान्तरणमा इन्डोनेसिया पूर्ण प्रतिबद्ध छ । अहिले इन्डोनेसियाको हरित ऊर्जाको सम्भावित उत्पादन क्षमता ३६०० गिगावाट रहेको छ । जसमा जलविद्युत् सहित सौर्यविद्युत्, वायुविद्युत्, जियोथर्मल, सामुद्रिक छाल, बायो ऊर्जाका स्रोतको प्रचुरता छ ।

यसैगरी, इन्डोनेसियामा माम्बेरामो सहित ४४०० भन्दा बढी नदी–नालाहरू छन् । माम्बेरामोबाट मात्रै २४,००० मेगावाट उत्पादन गर्न सकिन्छ भने उत्तरी कालिमान्तान प्रदेशमा अवस्थित कयन नदीबाट १३,००० हजार मेगावाट उत्पादन गर्न सकिने सम्भाव्यता छ । यो बृहत् सम्भाव्यता पृथ्वीको भोलिको भविष्य र आउने पुस्ताका लागि उपयोग गर्न सकिन्छ । यसका बावजुत पनि इन्डोनेसियाले केही चुनौतीको सामना गरिरहेको छ ।

जलविद्युत् स्रोत माग भएको स्थानबाट धेरै टाढा रहेको हुँदा ती क्षेत्रसम्म विद्युत् पुर्‍याउन प्रसारण लाइन निर्माणका लागि इन्डोनेसियाले विशेष योजना बनाएको छ । यसले, कार्बन उत्सर्जन न्यूनीकरण गर्ने हाम्रो लक्ष्यमा सहयोग पुर्‍याउनुका साथै विश्वको कार्बनको दरमा कमी ल्याउन सक्छ ।

माल्कल्म टर्नबुल (अध्यक्ष, इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन – आइएचए) : ‘नेट जिरोमा पुग्नु भनेको संसारलाई रोक्नुस्, म ओर्लिन चाहन्छु’ भन्नु होइन । आर्थिक वृद्धि र जिरो कार्बन उत्सर्जनबीच व्यापार रोकिनु जरुरी छैन । यद्यपि, भविष्यको ऊर्जाको मेरुदण्ड भनेको जलविद्युत् नै हुनुपर्छ र दिगो जलविद्युत् विकासबिना जिवाश्म इन्धनबाट नवीकरणीय ऊर्जामा रूपान्तरण हुन सम्भव छैन । हामी एक भएर दिगो जलविद्युत्मार्फत दिगो विकासको सशक्तिकरणमा जुटेका छौँ ।

नानी हेन्डियार्टी (सामुद्रिक मामिला तथा लगानी समन्वय राज्यमन्त्री, इन्डोनेसिया) : देशको राष्ट्रिय लक्ष्य भेट्टाउन यो सम्मेलन सहायक सिद्ध हुनेछ । हामीसँग ९५ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भाव्यता रहेको छ तर अहिलेसम्म निकै थोरै मात्र उपयोगमा आएको छ । बाली घोषणापत्रले जलविद्युत् विकासमार्फत न्यून कार्बन उत्सर्जनमुखी अर्थतन्त्रको विकास गर्नेमा हामी विश्वस्त भएका छौं । यसले, सन् २०६० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्ने इन्डोनेसियाको लक्ष्यलाई पनि ठूलो मद्दत गर्ने छ ।

प्रबल अधिकारी (पूर्वउपकार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण) : सम्मेलनले नेपालको जलविद्युत् क्षेत्र वैदेशिक लगानीको आकर्षक गन्तव्य रहेको सन्देश प्रवाह गरेको छ । सम्मेलनका क्रममा विभिन्न राष्ट्रका प्रतिनिधि तथा विकासकर्ताहरूसँग भएको छलफलबाट उनीहरू नेपालमा लगानी गर्नका लागि उत्साहित देखिएको पाइयो । यसले, स्वच्छ ऊर्जामा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउनेमा विश्वस्त हुन सकिन्छ । नेपालले पनि यस्तै सम्मेलन आयोजना गरी जलविद्युत् विकासको अवस्था र आफ्नो क्षमतालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने छ ।

त्यसैगरी, जलविद्युत् विकासका आन्तरिक तथा क्षेत्रीय जोखिमहरूको न्यूनीकरण गर्दै जानु पनि आजको आवश्यकता हो । त्यसका लागि क्षेत्रीय, उप–क्षेत्रीय सहकार्यता बढाउन जोड दिँदै जाऔँ ।

शार्बिनी सुहेली (प्रमुख कार्यकारी अधिकृतः सारवाक इनर्जी, मलेसिया) : नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकतामा राख्दै जलविद्युत्लाई दिगो आर्थिक विकासको मेरुदण्ड बनाउनुपर्ने बाली घोषणापत्र निकै प्रशंसनीय छ । यही आधारमा भविष्यका लागि कस्तो प्रकारको ऊर्जा आवश्यक हुनुपर्छ भन्ने स्पष्ट मार्गचित्र तयार भएको छ । अतः जलविद्युत् विकासको दिगोपनलाई हरेक राष्ट्रका सरकार तथा वित्तीय क्षेत्र आफ्नो योजना र नियमनभित्र समेट्नुपर्ने छ । साथै, निरन्तर नवीकरणीय ऊर्जामा हुने लगानीलाई प्रोत्साहित गर्नु सान्दर्भिक हुन्छ ।

डा. अशोक खोस्ला (अध्यक्ष, हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स – एचएसए) : दिगो विकास, नवीकरणीय ऊर्जा विकास लक्ष्य भेट्टाउन र जलवायु परिवर्तनका असर न्यूनीकरणलाई सम्बोधन गर्नका लागि जलविद्युत्ले महत्वपूर्ण भूमिका खेल्न सक्छ । एचएसएले उत्कृष्ट परियोजना विकासलाई प्रेरित गर्दै विश्वसनीय प्रणालीमा विशेष ध्यान दिनेछ । सम्बद्ध समुदाय, सरकारहरू र लगानीकर्ताहरूलाई उचित लाभ प्राप्त गर्ने गरी एचएसएले भूमिका खेल्ने छ । साथै, स्थानीय पर्यावरणको असर न्यूनीकरणमा समेत भूमिका निर्वाह गर्ने छ ।

दिगो विकासमा सहयोगी जलविद्युत्‌का १० आधारहरू

१. न्यून कार्बनयुक्त दीर्घकालीन विद्युत् उत्पादन
२. जलस्रोतको व्यवस्थापन
३. गुणस्तरीय आपूर्ति तथा भण्डारमार्फत ग्रिडको सन्तुलन
४. मिश्रित ऊर्जा विकास तथा अन्य नवीकरणीय ऊर्जासँग सामञ्जस्यता
५. न्यून कार्बन उत्सर्जनयुक्त औद्योगिकीकरण
६. जलवायु न्यूनीकरण तथा उत्थानशीलता
७. सस्तो विद्युत्को उपलब्धता
८. विद्युत्‌काे भरपर्दो आपूर्ति
९. हरित रोजगारी सिर्जना
१०. समुदायमा आधारित स्थानीय तथा ग्रामीण विकास

शून्य कार्बन उत्सर्जन

अन्ततः उम्लिरहेको पृथ्वी चिस्याउन विश्वले जलविद्युत् विकास पहिलो स्रोतको रूपमा अंगिकार गरेको छ । भुटान र सुरिनामले भने शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गरिसकेका छन् । पेरिस सम्झौता अनुसार १३७ राष्ट्रले शून्य कार्बन उत्सर्जनको लक्ष्य निर्धारण गरेका छन् । त्यसमध्ये ९० प्रतिशत अर्थात् १२४ राष्ट्रहरूले सन् २०५० भित्रै शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउन सकिने भनेका छन् ।

अन्तराष्ट्रिय ऊर्जा संघ (आइइए) र अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा संघ (आइआरइएनए) ले सन् २०५० सम्म विश्वव्यापी शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न हाल भएको जलविद्युत् उत्पादनको दुई गुणा बढी आवश्यक पर्ने उल्लेख गरेका छन् । जबकि, हाल विश्वमा पम्प–स्टोरेज जलविद्युत् आयोजनासहित २५०० देखि ३००० गिगावाट विद्युत् उत्पादन भइरहेको छ ।

अहिले विश्वभर जलविद्युत्बाट मात्र ४४०८ टेरावाट घन्टा बिजुली उत्पादन भइरहेको छ । जुन, सन् २०२१ मा ३.७ प्रतिशतले थपिएको थियो । यस्तै, सन् २०२१ मा करिब १,३९७ गिगावाट बराबरको जलविद्युत् जडित क्षमता पुग्दा करिब १६० गिगावाट पम्प–स्टोरेजको योगदान रहेको छ । यसै वर्षसम्म पम्प–स्टोरेजको क्षमता १७५ गिगावाट पुगेको आइएचएले उल्लेख गरेको छ ।

सन् २०२२ मा विश्वको जलविद्युत् उपलब्धि

आइएचएको तथ्याङ्क अनुसार विश्वभर सन् २०२२ मा १०.५० गिगावाट बराबरका पम्प स्टोरेजसहित ३४ गिगावाट जलविद्युत् थपिएको छ ।

पूर्वी–एसिया तथा प्रशान्त :  यस अवधिमा चीनले २४ गिगावाट बिजुली थप्यो । जसमा ८ गिगावाट पम्प–स्टोरेजमार्फत उत्पादन भएको थियो । यस्तै, सन् २०३० सम्म २७० गिगावाट उत्पादन गर्ने चीनको योजना छ ।

मध्य तथा दक्षिण एसिया : सोही अवधिमा यस क्षेत्रमा २ गिगावाट बिजुली उत्पादन भयो । जसमा पाकिस्तानको कारकोट आयोजनाको योगदान ७२० मेगावाट रह्यो । सन् २०२४ मा भारतको बाजोली होली आयोजनाबाट १८० मेगावाट उत्पादन हुने उल्लेख छ ।

उत्तर तथा दक्षिण अमेरिका : यी क्षेत्रमा १ गिगावाटभन्दा कम बिजुली उत्पादन भएको तथ्याङ्क छ । जसअनुसार क्यानाडा र कोलम्बियामा ६१८ मेगावाट तथा चिलीमा ४७७ मेगावाट बिजुली उत्पादन भएको थियो ।
अफ्रिका : यस क्षेत्रमा २ गिगावाटभन्दा कम बिजुली उत्पादन भएको तथ्याङ्क छ । इथियोपिया, गिनियाँ, गाम्बिया, मदागास्कर, युगान्डा, रुवान्डा लगायतका देशहरुमा ५० मेगावाट बिजुली उत्पादन भयो । यस्तै अंगोलामा २ गिगावाट र क्यामरुनमा ४२० मेगावाट उत्पादनको लक्ष्य छ । 

युरोप : यस क्षेत्रमा टर्की सहित जोड्दा ३ गिगावाट बिजुली उत्पादन भएको देखिन्छ । जसमा, स्विजरल्यान्ड र पोर्चुगलको १ गिगावाट क्षमता जोडिएको छ । सन् २०३० सम्म माग र उत्पादित बिजुलीबीच ठूलो रहने आइएले औंल्याएको छ । जसअनुसार ४२० मेगावाट बिजुलीको माग रहँदा २३० मेगावाटमात्रै उत्पादन हुने देखिन्छ ।

पछिल्ला केही वर्षहरूमा पानीमाथि हाइब्रिड फ्लोटिङ फोटोभोल्टाइक (एफपिभी) मार्फत विद्युत् उत्पादन बढिरहेको छ । सन् २०१५ मा यस्तो प्रविधिबाट ७० मेगावाट विद्युत् उत्पादन भएकोमा सन् २०२० मा १३०० मेगावाट पुगेको थियो । एसिया प्रशान्त क्षेत्रमा यो प्रविधिमार्फत १३४२ मेगावाट बिजुली उत्पादन हुँदै छ भने अफ्रिकामा ६०० मेगावाट, युरोपमा २६ मेगावाट, ल्याटिन अमेरिकामा ३८१.१ मेगावाट उत्पादनको क्रममा छ । जग्गा–प्राप्ति लगायत दृष्टिकोणले लागत कम भए पनि उच्च प्रविधिमा आधारित हुनाले यो जमिनामा बनाइने सोलार आयोजनाभन्दा लागत बढी देखाइएको छ ।

सन् २०२२ मा एसियाली देशको उपलब्धि

भुटान : भुटानले २.९ गिगावाट बिजुली उत्पादन थपेको छ । पछिल्लो समयको उसको जलविद्युत् उत्पादनको गति तीव्रताका साथ अगाडि बढिरहेको छ ।

भारत : भारतले यो वर्ष कुल उत्पादनमा ४३४ मेगावाट थपेको छ । हिमाञ्चल प्रदेशको बजोली होली आरओआर आयोजनाबाट मात्र १८० मेगावाट उत्पादन गरेको छ । यसैगरी, नाथ्पा झाङ्न्क्रीबाट सबैभन्दा बढी १.५ गिगावाट थपेर सन् २०२२ मा नयाँ रेकर्ड बनाएको थियो । भारतमा १४४० मेगावाट गान्धी सागर पम्प–स्टोरेज आयोजनाले १० गिगावाट आवर विद्युत उत्पादन गर्ने बताईएको छ ।

नेपाल : सन् २०२३ को अन्त्यसम्म नेपालको कूल जडित क्षमता २८६८ मेगावाट पुगेको छ; जसमध्ये जलविद्युत्को योगदान करिब ९५ प्रतिशत रहेको छ । यसमा ग्रिड र अफग्रिड दुवै समावेश गरिएको छ ।

पाकिस्तान : पाकिस्तानमा चीनको चाइना थ्री–गर्जेज कर्पाेरेशनले निर्माण सम्पन्न गरी ७२० मेगावाट जलविद्युत् थपिएको छ । पाकिस्तानले आगामी सन् २०३० सम्म १० गिगावाट बिजुली थप्ने लक्ष्य लिएको छ ।

थाइल्यान्ड : थाइल्यान्डमा हालसम्म १.५३ गिगावाट जलविद्युत् उत्पादन भइरहेको छ । आगामी दिनमा कञ्चनाबुरी प्रदेशको भाजिरालोंकन पम्प–स्टोरेजबाट ९०० मेगावाट उत्पादन गर्ने लक्ष्य छ । यस्तै, सन् २०२७ मा १२८५ मेगावाटको बालेह जलविद्युत आयोजना सम्पन्न हुने अनुमान छ ।

भियतनाम : भियतनाममा सन् २०३० सम्म ३० गिगावाट जलविद्युत् उत्पादनको लक्ष्य रहेको छ । यो देशको कुल उत्पादन ४० गिगावाट पुगेको छ ।

जलविद्युत्‌काे भविष्य

विश्वव्यापी रूपमा सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्नका लागि वायु र सौर्य ऊर्जाको योगदान ७० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । यस अवधिमा कोइला, तेल र ग्यासबाट उत्पादित ऊर्जाको परिमाण प्रतिवर्ष १०० गिगावाटका दरले घटाउनुपर्ने देखिएको छ । साथै, शून्य कार्बन उत्सर्जनको यो लक्ष्य भेट्टाउन हालको क्षमतामा १३०० गिगावाट थपिएर २७०० गिगावाट पुग्नुपर्ने आइइएले औँल्याएको छ । आइइएको प्रक्षेपण अनुसार हालसम्म विश्व ऊर्जा प्रणालीमा जलविद्युत्को योगदान १५ प्रतिशतमात्र रहेकोमा सन् २०५० सम्म कुल विद्युत् खपतको ४० प्रतिशत अर्थात् २२ हजार ७०० टेरावाट घन्टा बिजुली उत्पादन गर्ने अनुमान छ ।

आइएचएका अनुसार विश्वभर हालसम्म ५९० गिगावाट बराबरका जलविद्युत् आयोजना पाइपलाइनमा रहेका छन् । ती मध्ये १३१ गिगावाट निर्माणाधीन, १६३ गिगावाट स्वीकृतिको चरणमा र बाँकी अन्य अवस्थामा रहेका छन् । विश्वलाई १.५ डिग्री तापक्रमभित्र राख्ने इरिनाको मार्गचित्र अनुसार आउने ३० वर्षमा जलविद्युत् उत्पादन क्षमता दोब्बर हुनुपर्ने छ । त्यतिबेला, कूल क्षमता २९०० गिगावाट पुग्ने अनुमान छ, त्यसमध्ये ४२० गिगावाट क्षमता पम्प–स्टोरेजको पुग्ने अनुमान गरिएको छ ।

सन्दर्भ सूची

1.https://www.climate.gov/news-features/understanding-climate/climate-change-global-temperature#:~:text=Earth's%20temperature%20has%20risen%20by,0.18%C2%B0%20C)%20per%20decade.

2. https://www.visualcapitalist.com/sp/race-to-net-zero-carbon-neutral-goals-by-country/

3. 2023 World Hydropower Outlook (adobe.com)

याे खाेजमूलक फिचर खबर २०८० साल पुस १ गते प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाबाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३