काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाइल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन ‘मोटो जी०६ पावर’ र ‘मोटो जी५७ पावर’ सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोलाको ‘इन्ट्री’ तथा ‘मिड–रेन्ज’ स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार मोटो जी०६ पावर विशेषगरी लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको हो । यस स्मार्टफोनमा सेग्मेन्टकै ठूलो मानिएको ७००० एमएएच ब्याट्री उपलब्ध गराइएको छ, जसले एकपटक चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
फोनमा ‘मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर’ राखिएको छ, जसले दैनिक प्रयोगलाई सहज र स्थिर बनाउने बताइएको छ । साथै ४ जिबी र्याम तथा १२ जिबीसम्मको र्याम बुस्ट सुविधाले बहुकार्य (मल्टिटास्किङ) अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।
यसमा ६.८८ इन्चको १२० हर्ज डिस्प्ले दिइएको छ, जसले ‘स्मुथ’ तथा आकर्षक ‘भिजुअल’ अनुभव प्रदान गर्ने बताइएको छ । फोटोग्राफीका लागि ५० मेगापिक्सेल ‘क्वाड पिक्सेल’ क्यामेरा समावेश गरिएको छ भने ‘डल्बी एटमस’ सहितको ‘स्टेरियो स्पिकर्स’ले उत्कृष्ट अडियो अनुभव दिने कम्पनीको भनाइ छ ।
त्यस्तै ‘कोर्निङ गोरिल्ला ग्लास ३’को सुरक्षा, आइपी६४ ‘वाटर–रिपेलेन्ट’ डिजाइन तथा ‘प्यानटोन क्युरेटेड’ रंगसहितको ‘प्रिमियम भेगन लेदर फिनिस’ले फोनलाई ‘प्रिमियम लुक’ प्रदान गरेको छ । मोटो जी०६ पावर को मूल्य नेपाली बजारमा १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, कम्पनीले मोटो जी५७ पावर लाई ‘नेक्स्ट–लेभल’ प्रदर्शन र ‘इनोभेसन’सहितको स्मार्टफोनको रूपमा प्रस्तुत गरेको छ । यसमा विश्वकै पहिलो ‘स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर’ प्रयोग गरिएको कम्पनीको दाबी छ । फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज उपलब्ध छ भने ‘र्याम बुस्ट’ मार्फत २४ जिबीसम्म विस्तार गर्न सकिने सुविधा रहेको छ । ७००० मिलिअम्प–घण्टा (एमएएच) क्षमताको ब्याट्रीले ६० घण्टासम्म पावर ब्याकअप दिने बताइएको छ ।
फोटोग्राफीका लागि मोटो एआईद्वारा सञ्चालित ५० मेगापिक्सेल सोनी लाइटिया ६०० क्यामेरा समावेश गरिएको छ । साथै ६.७२ इन्च एफएचडी प्लस १२० मेगाहर्ज डिस्प्ले, डल्बी एटमस सहितको डुअल स्टेरियो स्पिकर्स, हाई–रेज अडियो तथा बास बुस्ट जस्ता फिचरले मनोरञ्जनात्मक अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।
फोनमा एमआइएल–एसटिडी–८१० एच मिलिटरी–ग्रेड सर्टिफिकेशन तथा गोरिल्ला ग्लास ७आई सुरक्षा दिइएको छ । प्रिमियम भेगन लेदर डिजाइनमा उपलब्ध यो स्मार्टफोन एन्ड्रोइड १६ सहित आउनेछ भने एन्ड्रोइड १७ अपग्रेड तथा ३ वर्षसम्म सेक्युरिटी अपडेट्स उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । मोटो जी५७ पावरको मूल्य ३७ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ ।
सिजी मोबाइल्सका अनुसार दुवै स्मार्टफोन नेपालभर रहेका आधिकारिक सिजी रिटेल आउटलेट्स तथा पार्टनर स्टोर्स मार्फत उपलब्ध हुनेछन् । कम्पनीले यी नयाँ स्मार्टफोनमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री प्रदर्शन, आधुनिक प्रविधि तथा प्रिमियम स्मार्टफोनको अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।