विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिब ४ वर्ष अगाडि खरिद गरेका ३डी कोर ट्रान्सफर्मर ठेकेदारको दायित्व रहेकै समय (वारेन्टी पिरियड) भित्र आफ्नै खर्चमा धमाधम मर्मत गरिरहेको पत्ता लागेको छ । देशका विभिन्न क्षेत्रबाट बिग्रेर लैनचौर मर्मत केन्द्रमा आएका ट्रान्सफर्मर कार्यकारी निर्देशकको निर्देशनमा मर्मत भइरहेको पत्ता लागेको हो ।

ठेक्कापट्टाका आधारमा खरिद गरिएका कुनै पनि वस्तु वा सामान बिग्रेर मर्मत गर्नुपर्ने भए वा साट्नुपरे ठेकेदारले आफ्नै खर्चमा गर्नुपर्ने प्रावधान हुन्छ । सार्वजनिक खरिद ऐन र ठेक्कापट्टाको सम्झौतामा पनि यही विषयलाई जोड दिइएको हुन्छ । तर, यहाँ प्राधिकरणले खरिद ऐन वा ठेक्का सम्झौताको प्रावधान पालना नगरेको देखिन्छ ।

अहिले लैनचौर मर्मत केन्द्रमा देशका विभिन्न ठाउँबाट मर्मतका लागि २०/२२ वटा ३डी ट्रान्सफर्मर ल्याइएको छ । यी ट्रान्सफर्मर कार्यकारी निर्देशकको आदेशअनुसार मर्मत भइरहेको केन्द्र प्रमुख विनोद चौधरीले बताए । ‘कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकज्यू आएर हेर्नुभएको हो, उहाँहरूले ब्रेकर हटाएर पठाउनुस् भन्नुभयो,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘हामीले पनि १५–१६ वटाको ब्रेकर निकालेर पठायौं ।’

मर्मत गरेको रकम कसरी कसले भुक्तानी गर्ने भन्ने छ ? यो जिज्ञासामा चौधरीले भने, ‘कालोसूचीमा परेको कम्पनी हो, ब्रेकर हटाएर पठाउनुस् भन्नुभयो । हामीले त्यही गरेको हो, बाँकी कुरा माथि सोध्नुहोस् ।’

सोही विषय वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालसँग सोध्दा उनले आफूले बल्ल जानकारी पाएको बताए । ‘मैले पनि तपाईंले भनेपछि थाहा पाएँ, के भएको रहेछ बुझेर भन्छु,’ उनले ऊर्जा खबरसँग भने ।

टिबिईए इनर्जी (भारत) प्रालि र टिबिईए शेन्याङ ट्रान्सफर्मर ग्रुप कम्पनी लिमिटेड (चीन) मिलेर उक्त ३डी कोर ट्रान्सफर्मर आपूर्ति गरेको देखिन्छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयले ठेक्का नम्बर आईसिबी/डिसिएसडी–०७४/७५–०६/०२ मार्फत किनिएका ती ट्रान्सफर्मरको वारेन्टी पिरियड कायमै रहेको भन्दै गत फागुन १ गते (फेब्रुअरी १३) हेटौंडालाई ‘मर्मतबापतको रकम ठेकेदारबाट लिएर काम गर्नु’ भन्ने पत्र पठाएको छ ।

उता सो निर्देशनालयले आफ्नो मातहत रहेको लैनचौर मर्मत केन्द्रलाई भने ‘कालोसूचीको कम्पनी हो, ब्रेकर निकालेर जोडेर पठाउनु’ भन्ने निर्देशन दिनुले यहाँ ठेकेदारसँग मिलेर आर्थिक चलखेल भएको आशंका गर्न सकिन्छ । साथै, केन्द्रीय नेतृत्व अर्थात् कार्यकारी निर्देशकले कालोसूचीमा परेको र वारेन्टी पिरियडभित्रकै दायित्व पूरा गर्नुपर्ने ठेकेदारलाई जोगाउन खोजेको देखिन्छ ।

सोही प्रकृतिका ३डी ट्रान्सफर्मर हेटौंडा केन्द्रीय ट्रान्सफर्मर मर्मत केन्द्रले भने भुक्तानीको सुनिश्चितता भएपछि मात्र मर्मत गर्ने भनेर थन्क्याएको छ । त्यहाँ ६५ वटा यस्ता ट्रान्सफर्मर मर्मतका लागि आएको तर मर्मबापतको रकम कसले दिने भन्ने निश्चित नहुँदा काम नगरिएको स्रोतले बतायो ।

‘यहाँ ६५ वटा ट्रान्सफर्मर आएका छन्, ठेकेदारको वारेन्टी पिरियडभित्रका भएको हुँदा हामी मर्मतबापतको रकम उसैले तिर्नुपर्ने अडानमा छौं,’ इन्जिनियरिङ निर्देशनालयका एक अधिकारीले ऊर्जा खबरसँग भने, ‘वितरण तथा ग्राहक सेवा निर्देशनालयले पनि ठेकेदारबाट मर्मतबापतको रकम असुल गर्ने गरी मर्मत गर्न पत्राचार गरेको छ । अब हामीले ठेकेदारलाई सोही बेहोराको पत्र लेख्नेछौं ।’

यहाँनिर, हेटौंडा केन्द्रीय मर्मत र लैनचौरका तालुक निकाय फरक छन् । हेटौंडा केन्द्र इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत पर्छ भने लैनचौर वितरण तथा ग्राहक सेवामा । वितरण निर्देशनालयले आफू मातहतको केन्द्रमा नियम मिचेर काम गर्ने तर आफ्नो क्षेत्राधिकार नभएको (इन्जिनियरिङ सेवा) हेटौंडालाई ‘ठेकेदारबाट पैसा लिएर काम गर्नु’ भन्नुले त्यहाँ आर्थिक चलखेल रहेको प्रस्टिन्छ ।

के हो ३डी कोर ट्रान्सफर्मर ?

यो ट्रान्सफर्मर सामान्यभन्दा केही विशेष खालको र गुणस्तरीय हुने प्राधिकरणका इन्जिनियरहरू बताउँछन् । सामान्यको तुलनामा ३० प्रतिशतसम्म ऊर्जा बचत गर्ने यस्तो ट्रान्सफर्मर नयाँ प्रविधिमा निर्माण भएको हुन्छ । यसबाट प्राविधिकरूपमा विद्युत चुहावट पनि कम हुने इन्जिनियरहरूको भनाइ छ ।

प्राधिकरणले अहिले यही प्रविधिमा उत्पादन भएका थुप्रै ट्रान्सफर्मर खरिद गर्ने प्रक्रियामा छ । कति त खरिद गरेर ढुवानीको क्रममा रहेको बताइएको छ ।

प्राधिकरणकै इन्जिनियरहरूका अनुसार उन्नत प्रविधिमा निर्माण गरिने हुँदा विश्वका धेरै कम्पनीले यस्ता ट्रान्सफर्मर कम उत्पादन गर्छन् । नयाँ प्रविधिमा जानु वा यस्ता उपकरण भित्र्याउनु परिवर्तन वा रूपान्तरण हो तर यो पक्षलाई अपनाइरहँदा यसका अगाडि र पछाडिका असरहरूको समेत सुक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ ।

बिग्रेको खण्डमा मर्मत गर्नु परे यसमा हाम्रा इन्जिनियरहरू अभ्यस्त छन् वा छैनन् भन्ने पनि हेक्का राख्नुपर्ने विषय हो । गत वर्ष विराटनगर वितरण केन्द्रमा मर्मतका लागि आएको यही खालको ट्रान्सफर्मर प्राधिकरणका कर्मचारीले खोल्नै नजानेको एक इन्जिनियरको भनाइ छ ।

नयाँ तथा उन्नत प्रविधिमा निर्माण भएका यी ट्रान्सफर्मर कुनै निजी वर्कसपमा मर्मत हुनै नसक्ने प्राधिकरण इन्जिनियरहरूको दाबी छ । मर्मत गरिहाले पनि १०–१५ हजार रुपैयाँ लिएर सामान्य काम गरेर पठाउँछन् । तर, प्राधिकरणले हेटौंडा मर्मत केन्द्रमा १०० केभिएको ट्रान्सफर्मर मर्मत गर्दा १ लाख रुपैयाँसम्म लिन्छ । जहाँ गुणस्तरीय काम हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit