विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम आधाभन्दा बढी सकिएको हो ।

अहिले बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम एक साथ अघि बढेको आयोजना प्रमुख लेखनाथ पाण्डेले बताए । उनका अनुसार बाँध क्षेत्रमा ८० प्रतिशत पूरा भएको छ ।

‘बाँध क्षेत्रको बाँकी २० प्रतिशत काम बैंशाखभित्र पूरा गर्ने लक्ष्य छ’, उनले ऊर्जा खबरसँग भने, ‘पेनस्टक पाइपलाइनको पनि २ हजार ५ सय मिटर पाइप बिछ्याइसकिएको छ ।’ ६.२ किलोमिटर लामो पाइपलाइनको काम २०७९ को माघभित्र पूरा गरिनेछ ।

विद्युतगृहको जग खन्ने काम सकिएको छ । विद्युतगृहको सिभिल संरचनाको काम ठेकेदारले मंगलबार (भोली) देखि सुरु गर्ने पनि पाण्डेले बताए । विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानी फेरि नदीमा खसाल्ने टेलरेस पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।

आयोजनाको सबै काम पूरा गरेर आगामी २०७९ चैतभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको काम २०७७ साउनदेखि सुरु भएको हो ।

प्राधिकरणले दिएको तालिकाअनुसार यो आयोजनाबाट २०७९ साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य थियो । सरकारले कोरोना महामारीका कारण ढिलो भएका आयोजनाको निर्माण अवधि १ वर्ष थप गरिदिएकाले अब २०८० साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने नयाँ तालिका पाएको कम्पनीले जनाएको छ । तर, एक वर्षको सयमअवधि थप गरेपनि आयोजना आगामी चैत्रभित पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको पनि पाण्डेले बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ५ किलोमिटर दुरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १३२ केभी डबल सर्किट प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

लाइन निर्माण गर्न जेड इन्फ्रा प्रालिसँग सम्झौता भएको छ । यसअघि लाइन सिंगल सर्किटमा निर्माण गर्न अनुमति प्राप्त गरेकोमा आयोजनाको तलमाथि निर्माणाधीन केही आयोजनाले पनि यही लाइनमार्फत विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने भएपछि डबल सर्किटमा निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रसारण लाइन निर्माण गर्नका जग्गा किन्ने र अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गर्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit