एउटा मन्द, गहिरो गुन्जायमान आवाज विशाल, धमिलो उज्यालो भएको चिहानभित्रबाट निस्किन्छ, जहाँ बस्ने प्राणीले ऊर्जा र पानीलाई अमानवीय लोभका साथ खपत गर्छन् । बैजनी रङको बाकसजस्तो डेटा सेन्टर कुनै अर्थमा रक्तपिपासु जस्तै हो - फिक्का, अमर, तिर्खाएको । घामबाट टाढा राखिएको, रातभर सक्रिय । लोककथामा सुनिएअनुसार यो रातभर रगत पइरहने राक्षस ठानिन्छ । यसले कुनै ठाउँभित्र पस्न तबमात्र सक्छ, जब उसलाई भित्र पस्न निमन्त्रणा दिइन्छ ।
अमेरिकाभर राज्य र काउन्टीहरूमा कानुन निर्माताले यी रूपकात्मक यान्त्रिक राक्षसका लागि केवल ढोका मात्र खोलिरहेका छैनन् । उनीहरू कर छुट र अन्य प्रोत्साहनमार्फत तिनलाई भित्र्याइरहेका छन् । नयाँ नगरपालिका आम्दानी र कृत्रिम बुद्धिमत्ता वरिपरि भइरहेको तीव्र वृद्धिको हिस्सा प्राप्त गर्ने लालसा बढिरहेको देखिन्छ ।
यो कुरा अतिरञ्जित जस्तो लाग्न सक्छ तर डेटा सेन्टरहरू वास्तवमै स्रोतहरूका लागि अत्यन्त भोकाएका हुन्छन् । मध्यम आकारको डेटा सेन्टरले पनि सानो शहरले जत्तिकै पानी खपत गर्छ, जबकि ठूला डेटा सेन्टरले दैनिक ५० लाख ग्यालनसम्म पानी पिउँछन्, जुन करिब ५०,००० जनसङ्ख्या भएको सहरको बराबर हो ।
सर्भरका पङ्क्तिहरू सञ्चालन गर्न र चिसो राखिरहन पनि अत्यन्त धेरै विद्युत् आवश्यक पर्छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का अनुसार परम्परागत डेटा सेन्टर जस्तैः क्लाउड स्टोरेज वा भिडियो स्ट्रिमिङले १० हजारदेखि २५ हजार घरधुरी बराबर विद्युत् खपत गर्छ । नयाँ एआई-केन्द्रित “हाइपरस्केल” डेटा सेन्टरले १ लाख वा त्यो भन्दा बढी घरमा उपभोग हुने बराबरको विद्युत् प्रयोग गर्न सक्छन् ।
उदाहरणका लागि, लुइजियानामा निर्माणाधीन मेटाको हाइपरियन डेटा सेन्टरले पूर्ण भएपछि न्यू अर्लिन्स सहरको कुल विद्युत् खपतको दोब्बरभन्दा बढी प्रयोग गर्ने अपेक्षा गरिएको छ । वायोमिङमा योजना गरिएको अर्को मेटा डेटा सेन्टरले राज्यका सबै घरले प्रयोग गर्नेभन्दा बढी विद्युत् खपत गर्ने छ ।वास्तविक बादलजस्तो नभई डेटा सेन्टरलाई प्रशस्त भूमि चाहिन्छ । अहिले निर्माण भइरहेका केही ठूला डेटा सेन्टरले सयौं एकड जमिनमा इस्पात, कङ्क्रिट र पक्की सतहले ढाक्नेछन्, जसले खेती, प्रकृति वा आवासका लागि उपलब्ध जमिन हटाउने छ । थप प्रसारण लाइन तथा अन्य पूर्वाधार आवश्यक पर्ने छ ।
डेटा सेन्टरहरू दशकौँदेखि निर्माण गरिएका भौतिक संरचनाको हिस्सा भइसकेका छन् । धेरैजसो सामान्य कार्यालय परिसरमा लुकेर, हाम्रो इन्टरनेट खोजी र मोबाइल फोटोहरू प्रशोधन गर्दै तिनले ठाउँ ओगटिरहेका छन् । त्यसो भए किन चिन्ता ? ठूलो भाषा मोडेलमा आधारित एआई उपकरणहरू जस्तैः च्याट जिपिटीले परम्परागत क्लाउड सेवाभन्दा धेरै गुणा बढी कम्प्युटिङ शक्ति प्रयोग गर्छ । अमेजन, मेटा, गुगल र माइक्रोसफ्टजस्ता ठूला प्रविधि कम्पनीले एआईमा तीव्र लगानी गरिरहेका छन् ।
सन् २०१८ देखि २०२१ बीच अमेरिकामा डेटा सेन्टरहरूको सङ्ख्या दोब्बरभन्दा बढी भयो । एआई लगानीले गर्दा त्यो सङ्ख्या फेरि दोब्बर भइसकेको छ । सन् २०२३ मा एआई बुमको सुरुवातमै अमेरिकी डेटा सेन्टरहरूले १७६ टेरावाट-घन्टा विद्युत् खपत गरे, जुन आयरल्यान्ड देशको कुल खपत बराबर थियो । सन् २०२८ सम्म यो दोब्बर वा तीन गुणासम्म बढ्ने अपेक्षा गरिएको छ ।
यो तीव्र विस्तारले स्थानीय तथा क्षेत्रीय स्रोतहरूमा ठूलो दबाब सिर्जना गर्न सक्छ, जसका लागि धेरै समुदाय पूर्ण रूपमा तयार छैनन् ।
भनिन्छ - एआईका कारण डेटा सेन्टरको माग विस्फोटक रूपमा बढेको छ । भर्जिनिया र टेक्सासमा पहिलेदेखि कर छुटहरू दिइँदै आएको छ । अन्य राज्यहरू पनि त्यसै मार्गमा लागिरहेका छन् ।
विभिन्न अन्तर्राष्ट्रय सभा सम्मेलनमा बताउने गरिएको छ - विश्वको करिब दुई-तिहाइ इन्टरनेट ट्राफिक उत्तरी भर्जिनियाबाट बाहिरिन्छ । यहाँ करिब ३०० डेटा सेन्टरहरू छन् र थप दर्जनौं निर्माणाधीन छन्।
राज्यस्तरीय कर छुट भए पनि डेटा सेन्टरहरूले स्थानीय कर आम्दानीमा ठूलो योगदान पुर्याउँछन् । लाउडन काउन्टीमा मात्र सन् २०२५ मा करिब ९० करोड अमेरिकी डलर राजस्व असुल भएको अनुमान छ । तथापि, यस्ता संरचना दीर्घकालीन रोजगारी सिर्जनाका लागि प्रभावकारी नहुने दाबी गर्ने गरिन्छ । अधिकांश रोजगारी निर्माण चरणमा मात्र सीमित हुन्छन् ।
अघिल्लो समयमा एओएलजस्ता कम्पनीका क्याम्पसमा हजारौं कर्मचारी काम गर्थे । अहिले सोही जमिनमा ठूला डेटा सेन्टरहरू बनेका छन्, जहाँ केवल १००–१५० जनालाई रोजगारी पाइरहेका छन् । यी संरचनाहरू विशाल छन् र विद्युत् पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेका छन् । प्रसारण लाइन, ग्यास प्लान्ट, पाइपलाइन र वायु प्रदूषण लगायत असरहरू पनि बढिरहेका छन् । उत्तरी भर्जिनियामा हजारौं डिजेल जेनरेटरले वायु प्रदूषण बढाएका छन्, जसले बालबालिकाको स्वास्थ्य र वृद्धवृद्धाको रोगमा थप असर पुर्याएको छ ।
टेक्सासमा २०२५ मा डेटा सेन्टरहरूले ४९ अर्ब ग्यालन पानी प्रयोग भएको अनुमान छ, जुन सन् २०३० सम्म ३९९ अर्ब ग्यालन पुग्न सक्छ । पानी मुख्य रूपमा कुलिङका लागि प्रयोग हुन्छ तर यसको धेरै हिस्सा वाष्पीकरण भएर उड्छ । पुनःप्रयोग गरिएको पानी पनि नदी स्रोतहरूमा फर्किँदैन ।
वैकल्पिक प्रविधिहरू जस्तैः इम्मेर्सन कुलिङ उपलब्ध भए पनि महँगो भएका कारण व्यापकरूपमा प्रयोग भएका छैनन् । गुगलले मात्र सन् २०२३ मा ५ अर्ब ग्यालन पानी प्रयोग गरेको जनाएको छ । क्यालिफोर्निया विश्वविद्यालयको अध्ययन अनुसार २० वटा एआई प्रश्नले एक बोतल पानी बराबर खपत गर्न सक्छन् । डेटा सेन्टर एउटा ठूलो स्ट्राजस्तै भएकोले एकै ठाउँबाट धेरै पानी तान्छ ।
संसारमा धेरै डेटा सेन्टरहरू पानी अभाव भएका क्षेत्रमा निर्माण भइरहेका छन् । साथै, विद्युत् उत्पादन (विशेष गरी जीवाश्म इन्धन) पनि पानीमा निर्भर हुन्छ । माइक्रोचिप निर्माणमा पनि ठूलो मात्रामा पानी प्रयोग हुन्छ - दैनिक करोडौं ग्यालन । यसले भविष्यमा पानी र विद्युत् आपूर्तिमा ठुलो समस्या खडा गर्ने अनुमान पनि गरिएको छ ।
डाटा सेन्टरको विकासमा गरिरहँदा समुदायले डेटा सेन्टरका फाइदा र जोखिम दुवै मूल्याङ्कन गर्नुपर्छ । एआईले उपयोगी कामहरू गर्न सक्छ, जस्तैः ऊर्जा र पानी प्रणाली सुधार तर अनावश्यक प्रयोग पनि बढिरहेका छन् । उदाहरणका लागि, एआई भिडियो बनाउन अत्यधिक ऊर्जा लाग्छ । ५ सेकेन्डको भिडियो बनाउन माइक्रोवेभ एक घन्टा चलाएबराबर ऊर्जा खपत हुन्छ ।
जर्जियाको एउटा डेटा सेन्टरले मात्र काउन्टीको १०% पानी प्रयोग गर्छ । स्थानीय निर्णयहरू जटिल छन् र प्रारम्भिक योजना आवश्यक छ । अतः डेटा सेन्टरको विकास गरिरहँदा सुरुदेखि नै पानीको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
डेटा सेन्टरहरूले विद्युत् माग बढाएका छन्, जसले उपभोक्ताको बिल बढाएको छ । विद्युत् खपत गर्नुपर्ने क्षेत्रका लागि यो धेरै उपयोगी हुन्छ तर नयाँ पूर्वाधारको लागत सबै उपभोक्ताले तिर्नुपर्छ । केही कम्पनीहरूले आफ्नै ऊर्जा स्रोत प्रयोग गरिरहेका पनि छन् तर त्यसले पनि ग्रिड प्रयोग गर्छ । तथापि, ऊर्जा दक्षता, ब्याट्री र एआईको प्रयोगले समाधान दिन सक्छ ।
डेटा सेन्टर विस्तारले भूमि, पानी, ऊर्जा, स्वास्थ्य र जलवायुबीच सन्तुलनको प्रश्न उठाएको छ । सही योजना र दिगो नीतिबिना दीर्घकालीन असर गम्भीर हुन सक्छ । यसैले स्थानीय तहले मात्र होइन, राज्यस्तरबाट पनि नियमन जरुरी देखिन्छ । डाटा सेन्टर विकासको पूर्वसर्तको रूपमा पारदर्शिता, दिगोपन र समुदायको सचेतना अत्यावश्यक देखिएको छ ।
गोरे अमेरिकाको लिंकन इन्स्टिच्युट अफ ल्याण्ड पोलिसीका आवासिए लेखक हुन् । यो सामग्री सन् २०२७, अक्टोबर १७ मा सोही संस्थाको वेबसाइटमा प्रकाशित लेखको संक्षिप्त अनुवाद हो ।
जोन गोरे अमेरिकाको लिंकन इन्स्टिच्युट अफ ल्याण्ड पोलिसीका आवासिए लेखक हुन् ।