विद्युत अपडेट

  • प्राधिकरण : १०२१९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०११४ मे.वा.घन्टा
  • आयात : ६१४ मे.वा.घन्टा
  • निर्यात : ९०८६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४३८०६ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १९३९ मे.वा.
२०७९ असोज २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ऊर्जा दक्षता उहिलेकाे खबर

काठमाडाैं । नेपाल जलस्रोतमा निकै धनी छ भन्नुको अर्थ जल–जन्य विपद्का कारण हामी त्यत्तिकै गरिब हुने सम्भावना पनि छ भन्ने पनि हो । हिमताल, ताल, हिमनदी, नदी, खोलानाला र पोखरीहरूका कारण हामी जति धनी छौं उति नै बाढी–पहिरोको जोखिममा पनि हामी छौं । हरेक वर्षायाममा पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानका कारण जनधनको क्षति भइरहेको हुन्छ÷छ । भौगोलिक विविधतायुक्त मुलुकको बासिन्दा भएकोमा गौरव गर्दागर्दै हामी विपद्मा परिरहेका हुन्छौं । बाढी, पहिरो र डुबानजस्ता जल–जन्य विपद्का अतिरिक्त आगलागी, भूकम्प, रोगव्याधी र दुर्घटनाजस्ता गैरजल–जन्य विपद्बाट पनि हामी निरन्तर पीडित भइरहेका छौं ।

अनुसन्धानकर्ता बुद्धिराज श्रेष्ठका अनुसार प्रतिवर्ष एक हजारभन्दा बढी नेपालीले ज्यान गुमाउने गरेका छन् । श्रेष्ठले ४५ वर्षमा भएका विपद्का घटनाका कारण ४३,८६८ व्यक्ति मरेका र २,८२८ व्यक्ति हराएको तथ्यांक संकलन गरेका छन् । पछिल्ला वर्षमा विपद्का घटना बढेको र वर्षेनी ५९३ विपद्का घटना हुने गरेको उनको संकलनले देखाउँछ । हिमाली भन्दा पहाडी र तराई क्षेत्र जल–जन्य विपद्का कारण तुलनात्मकरूपमा बढी प्रभावित रहेको तथ्यांक छ । सात प्रदेशमा बीचको क्षेत्र अर्थात् बागमती प्रदेश सर्वाधिक प्रभावित देखिन्छ । 

मोतिलाल घिमिरे र देवराज अर्यालले जल–जन्य विपद्मै केन्द्रित रहेर अनुसन्धान गरेका छन् । केन्द्रीय पत्रकारिता विभाग, त्रिविले प्रकाशित गरेको आलेखअनुसार जलवायु परिवर्तन, जनसांख्यिकी तथा जमिनको प्रयोगमा भिन्नताका कारण सिर्जित जल–जन्य संकट नेपालका लागि गम्भीर विषय बनेको छ । नेपालमा जलवायु परिवर्तन तथा भूकम्पका कारण भएका घटना अधिक छन् किनभने यहाँ वर्षाको पानीका कारण बढी प्रभावित हुने स्थलाकृति छ ।

संरचनाका हिसाबले कलिला डाँडाकाँडा छन्, प्राविधिकरूपले सक्रिय ठाडो भीर भएका विषमतायुक्त पर्वत श्रृंखलाको बाहुल्य छ । पछिल्ला दशकहरूमा जलवायुको अनियमितताका कारण अधिकांश स्थानमा तापक्रम बढ्नुका साथै अस्वाभाविक वर्षाको अभ्यास सुरु भएको देखिन्छ । यसकै परिणामस्वरूप अति संवेदनशील क्षेत्रमा पहिरो जाने र बाढी आउने जस्ता विपद् बढेका छन् । यसमा भीरालो जमिन, अति वर्षा, सक्रिय खोटयुक्त धरातल आदिको संयुक्त भूमिका देखिन्छ ।

अर्कातिर, २०२८ सालयता जनसंख्या शतप्रतिशत थपिएको छ; यसमध्ये ठूलो परिमाणमा मानिसहरू बाढी आउने सम्भावनाका क्षेत्र र भीरालो, अस्थिर तथा कमजोर जमिनमै खनजोत गर्दै आवादी बसाउन पुगेका छन् । यसले गर्दा पनि विपद्को जोखिम बेपत्ताले बढेको छ । विनायोजना जमिनको प्रयोग र संकटापन्न क्षेत्रमै जथाभावी गाउँ र शहर बसाउनाले विपद्को जोखिम अझ तीव्र भएको छ ।

घिमिरे र अर्यालको विश्लेषणमा मुलुकको उत्तर–पश्चिम र उत्तरी क्षेत्रमा अति नै वर्षाको प्रवृत्ति देखिनु जल–जन्य विपद्को कारण हो । उत्तरी जिल्लाहरूमा सामान्य वर्षा र अधिक वर्षा हुने दिनको संख्या अधिक छ । सिवालिक, तराई र मध्य तथा सुदूर–पश्चिमका उत्तरी जिल्लाहरूमा अति वर्षा भएको देखिन्छ । बुद्धिराज श्रेष्ठले बागमती प्रदेशलाई बढी प्रभावित देखेजस्तै लेखकद्वयले उत्तरी क्षेत्रमा पहिरो जाने, भूक्षय हुने, बाढी आउने क्रम बढेको देखेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार खासगरी उत्तर–पश्चिम क्षेत्रका जिल्लामा वर्षापछिका सुख्खा दिनहरू उल्लेख्य रूपमै घट्दैछन् । आँधीहुरी, पहिरो, हिमपहिरो र बाढीजस्ता संकटहरू अकस्मात रूपमा बारम्बार आउने र पूर्व चेतावनी प्रक्रिया कमजोर भएका कारण सिंगो नेपाल जल–जन्य विपद्ले बढी प्रभावित बन्न पुगेको छ ।

पहिरो, बाढी र सुख्खा जल–सम्बन्धी विपद्हरू हुन् । यी विद्का कारण जीवनकै क्षति, सम्पत्ति र जीविकोपार्जनका आधारहरूको विनाशका बारेमा चारैतिर जानकारी गराउने र यस्ता घटना पछि पनि दोहोरिनु हुन्न भन्ने चेतना विस्तार गर्ने कार्य आवश्यक छ । जलवायुमा देखिएको अनेकता वा अनिश्चितताले प्रत्यक्ष रूपमा व्यक्तिको जीविकोपार्जनमाथि असर गर्छ, किनभने नेपालको ठूलो जनसंख्या जलवायु सम्बद्ध गतिविधिजस्तो कृषि तथा बन पैदावारमा निर्भर छ । जल–जन्य विपद्ले मुलुकको अर्थतन्त्र र नागरिकको रोजगारीमा असर पार्दछ । 

भूगर्भीय वनावट, सतहगत स्वरूप जस्तो कि भीरालो पन, उबडखाबड अवस्था र सबल चट्टानको उपस्थितिले जलवायु परिवर्तनका कारण हुने पृथ्वीको सतह प्रभावित हुन्छ । भौगोलिक प्रक्रियामा कुन सतहमा कति असर पर्छ, कुन बढी जोखिमको शिकार हुन्छ भन्ने कुरामा भूगर्भीय संरचनाको हात हुन्छ ।

मुलुकको कूल भू–भागमा करिब ६४ प्रतिशत जमिन भीरालो छ अथवा सक्रिय बाढीको प्रकोपमा पर्नसक्ने सम्भावना छ, यही क्षेत्र पहिरो, भूक्षय तथा हिउँ र हिमनदी सिर्जित प्रकोपमा पर्ने अवस्थामा छ । यस्तो जमिन अधिकांशतः उच्च हिमाली, उच्च पहाड र सिवालिक क्षेत्रमा पर्दछ । हिउँ र चट्टानको पहिरो, हिउँ पग्लिएर आउने बाढी र हिमताल फुट्ने जस्ता समस्या उच्च हिमाली क्षेत्र (४००० मिटरभन्दा माथि) मा सामान्य मानिन्छन्; जहाँ लेकाली जलवायुको प्रभाव रहन्छ । अग्ला पहाड (३००० देखि ४००० मिटर) मा आंशिकरूपमा लेकाली जलवायु रहन्छ, कठोर चट्टान, अग्ला भीर र पानीका छाँगा र खोंचहरू यहाँ भेटिन्छन् ।

नयाँ आवादीका लागि जंगल फडानी, प्राविधिक निर्देशनबिना नै सडक सञ्जालको विस्तार, कृषिजन्य गतिविधिमा मानवजन्य व्यवहारले जलवायु विनाशमा थप नकारात्मक असर पारेको छ; भूकम्पजस्ता प्राकृतिक संकट निम्त्याएको छ । यसअतिरिक्त, विभिन्न क्षेत्रमा अतिवर्षाको अवस्था वृद्धि भएका कारण बाढीको जोखिम बढेको र नदीतटीय क्षेत्र वा उपत्यकामा बसोबासको विकास गरिएका कारण सघन बस्ती नै बाढीको चपेटामा परेको, मुलुकको दक्षिणी भागमा रहेको तराई क्षेत्र डुबानमा परेको, व्यक्तिले जीवन गुमाउनु परेको, खेतीयोग्य जमिन कटानमा परेको र भौतिक सम्पत्ति क्षति भएको अवस्था छ । निष्कर्षमा सामाजिक–आर्थिक जीवनमै नकारात्मक असर परेको विश्लेषण लेखक द्वयको छ ।

प्राकृतिक संकटले समाज र अर्थतन्त्रमा क्षति पुर्यानु नै विपद् हो । नेपालको सन्दर्भमा भौगोलिक रूपमा कमजोर संरचना, भूगर्भीय हिसाबले चलायमान पर्वतहरू जो भिराला छन्, उबडखाबड धरातल तथा कडा चट्टान छ जसका कारण मनसुनको असर बढी पर्दछ । पछिल्ला दशकहरूमा तापक्रम बढेसँगै जलवायुको अनिश्चितता पनि थपिएको छ । यसकै कारणले वर्षा हुने क्रम अस्वाभाविक र अनियमित छ । सघन वर्षाको मात्रामा वृद्धि भएको देखिन्छ ।

परिणामतः कमजोर क्षेत्रमा पहिरो तथा बाढीका विपद्का घटनाको संख्या बढेको छ । २०२८ सालमा नेपालमा जति जनसंख्या थियो आज त्यो दोब्बरले बढेको छ, जनसंख्याको ठूलो भाग र उनीहरूको गतिविधि बाढी जानसक्ने क्षेत्रमै केन्द्रित देखिन्छ, बारम्बार यही क्रम दोहोरिएको छ, ठाडो जमिन, भीरालो र अस्थिर भूभाग आदिले विपद्को जोखिमलाई बढाएको छ । विपद् जोखिम न्यूनीकरणका लागि संघीय, प्रादेशिक र स्थानीय सरकार तथा समुदाय स्तरबाट संस्थागत नीति, कार्यक्रम र गतिविधिका साथ पर्याप्त प्रयास हुन सकिरहेको छैन ।

विपद्बाट आम व्यक्ति र वस्तीलाई सुरक्षित राख्न सरकारको भूमिका मात्र पर्याप्त छैन, नागरिक समाज पनि उत्तिकै सक्रिय हुनुपर्छ । नागरिक समाजभित्रको सक्रिय पक्ष पत्रकार तथा सञ्चारकर्मी पनि हुन्, उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ । डा. सुधांशु दाहालको निष्कर्ष छ– विपद् आइपर्दा मिडियासँग ठूलो अपेक्षा गर्ने गरिन्छ, कुनै पनि घटना हुँदा, खासगरी विपद्का सन्दर्भमा मिडियाले सधैं ‘किन’ र ‘कसरी’को जवाफ खोज्छ । यसअतिरिक्त, उनीहरूलाई आवश्यक पर्ने सूचनाको जानकारीका लागि स्थानीय विपद् मामिलाका कर्मचारी समेत समाचारका स्रोत हुन्छन् । सञ्चारकर्मीको सक्रियताका साथ समाचारका स्रोतमा विज्ञता पनि उत्तिकै आवश्यक हुन्छ । अन्यथा गलत सूचना सम्प्रेषण हुने सम्भावना विपद्का समयमा अधिक देखिन्छ ।

मुलुकको कूल भू–भागमा करिब ६४ प्रतिशत जमिन भीरालो छ अथवा सक्रिय बाढीको प्रकोपमा पर्नसक्ने सम्भावना छ, यही क्षेत्र पहिरो, भूक्षय तथा हिउँ र हिमनदी सिर्जित प्रकोपमा पर्ने अवस्थामा छ । यस्तो जमिन अधिकांशतः उच्च हिमाली, उच्च पहाड र सिवालिक क्षेत्रमा पर्दछ ।

विपद् मामिलाका अनुसन्धानकर्ता र त्यसमाथि प्रतिक्रिया जनाउनेहरूले मिडियाको निगरानीकर्ताको भूमिकामाथि प्रायः आशंकाको दृष्टि लगाउँछन् । केही अनुसन्धानकर्ताहरूले अखबारको विश्लेषण गर्दै सबै व्यवहारगत वर्गीकरणलाई हेर्दा सीमित प्रतिशत (१० प्रतिशतभन्दा कम) मात्र अमिल्दा र अस्वाभाविक सन्दर्भ समेटिएको पाएको जनाएका छन् । त्यसैगरी, अनुसन्धानकर्ताहरूले प्रसारण सञ्चारमाध्यम, खासगरी टेलिभिजन र चलचित्र उद्योगले सहकर्मी छापा माध्यमले भन्दा निकै बढी सन्सनी फैलाउने काम गरेको पाएको डा. दाहाल उल्लेख गर्नुहुन्छ ।

सन्सनीपूर्ण र रहस्यात्मक प्रस्तुतिको आरोपका सम्बन्धमा अनुसन्धानकर्ताहरूले लगाएको आरोप के छ भने, खास विपद्सँग सम्बन्धित विवरण प्रस्तुत गर्दा मिडियाले भौतिक सम्पत्तिको नोक्सानी, मानव क्षति र सामाजिक विचलनका सम्बन्धमा बढाईचढाई गरेर वा सन्दर्भलाई अन्यत्र मोडेर प्रस्तुत गर्नेगर्दछ । जबकि विपद् सम्बन्धी सामग्रीमा स्वतः ‘मानव अभिरुचि’ का तत्वहरू अन्तरनिहित हुन्छन् । मानव अभिरुचिका तत्त्वहरू मिसाउँदै मिडियाले वास्तविकता बंग्याउन सक्छन् ।

विपद्का कारण सर्वस्व गुमाएका व्यक्तिको व्यक्तिगत मार्मिक सन्दर्भ जसमा परिवारको सदस्यको मृत्यु वा यस्तै भयानक दुर्भाग्यको शिकार भएको दर्दनाक कथा अन्तरनिहित हुन्छ, त्यही नै समाचारमा समेटिन्छ । वास्तवमा, त्यही व्यक्ति समाचारको विषय बनेको हुन्छ जो ऊजस्तै अन्य प्रभावितमध्ये ‘भिन्न’ देखिन्छ । तर, उसैलाई सबैको प्रतिनिधि वा नमुना पात्रका रूपमा उभ्याइन्छ र विषयलाई सामान्यीकरण गरिन्छ । मृत्यु, आर्थिक क्षति, मानव पीडा र सामाजिक विचलन विपद्का सन्दर्भमा मिडियाले प्रस्तुत गर्ने मानक पक्षहरू हुन् ।

मिडिया प्राध्यापन पनि गर्ने डा. दाहालले विपद्का समयमा सञ्चारकमीले समेट्न सक्ने अन्य विषय पनि देखाउनुभएको छ । मिडियाले समेट्न सक्ने त्यस्ता विषयमा सहायताका लागि बेनामी प्रस्ताव कति आए, प्रभावित क्षेत्रमा विनास भएका कुन वस्तुका लागि कति सहायता आयो, आवश्यक नै नभएका र चाहना नै नगरिएका कपडा, खाद्यान्न आदि सामग्रीको थुप्रो लाग्यो कि इत्यादि हुन सक्छन् । यस बाहेक, स्थानीय पद्धतिमा सञ्चार र सूचना प्रवाहको बोझ बढेका कारण बाह्य प्रभाव सिर्जना भएको, प्रभावित समुदायको अधिकांश समय व्यक्तिहरूको जिज्ञासा मेट्नमै लागिरहेको हुन सक्छ ।

विपद् सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा भविष्यमा मिडियाको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा ध्यान दिनु स्वाभाविक हुन आउँछ । संकटका स्वरूपहरू बदलिदै छन्, मिडिया प्रविधिमा पनि परिवर्तन आएको छ र यसका पाठक–श्रोता–दर्शकको मानसिकता पनि बदलिएको छ । यी आदि पृष्ठभूमिमा मिडियाको भूमिका हेरिनुपर्छ ।

सुनामी, समुद्री आँधी, आँधी, हुरी–बतास, बाढी र भूकम्पजस्ता वातावरणीय विपद्का कारण प्रभावित नागरिकका साथ अन्य व्यक्तिहरूको प्रत्यक्ष अन्तरक्रिया र बहसका समीक्षात्मक चरणहरू चलिरहन्छन् । विपद्का समयमा हुने सञ्चारका मूलतः दुई स्वरूप छन्– जानकारी मूलक र अभिप्रेरणा प्रदायक । यी दुवैको लक्ष्य भने एउटै हो– विपद्ले पार्ने असर रोक्ने वा न्यूनीकरण गर्ने ।

प्रथमतः समाचार सामग्रीले सम्बद्ध नागरिकलाई जोखिमका विषयमा सन्तुलित र पूर्ण जानकारी प्रदान गर्नुपर्छ, सम्भाव्य चुनौती हटाउन र यस घटनाबाट हुने परिणामको सामना गर्न सक्षम बनाउनुपर्छ । विपद् व्यवस्थापनका लागि योजनाको आवश्यकता पर्दछ, जनशक्ति परिचालन र समन्वय, निजी संस्था तथा स्वयंसेवकहरूका गतिविधिको व्यवस्थापन, प्रभावित समुदाय तथा मिडियाको परिचालनमा ध्यान दिनुपर्छ । विपद् मामिला सम्बन्धी चरणहरूमा सूचना सम्प्रेषणको पर्याप्तता वा त्यसको कमीले सकारात्मक वा नकारात्मक प्रभाव वा असर पार्दछ । यस अर्थमा, विपद् सम्बन्धी सञ्चार तथा बुझाइमा र त्यसको परिणामका बारेमा मिडियाले महत्वपूर्ण भूमिका खेल्दछ ।

विपद्का विषयमा समाचार संकलन गर्ने कार्य अस्थायी प्रकृतिको हुन्छ, यस्तो संकटका समयमा सामान्यतया मिडिया औपचारिक स्रोतमा भरपर्दछन्, घटनाको नाटकीय तथा वर्णनात्मक प्रस्तुतिलाई प्राथमिकता दिन्छन्, यसरी लेखिएका समाचार सामग्रीले आम जनमानसमा विपद्को असर अनुभूत गराउनु, नागरिकलाई सचेत बनाउनु वा प्राकृतिक वातावरण अनुकूल बनाउन सघाउनु चुनौतीपूर्ण हुन्छ । आकस्मिक रूपमा गरिने व्याख्याले मात्र यस प्रकारको प्रभाव दिन सक्तैन, यसका लागि अनुगमन विधिअनुसार समाचार सम्प्रेषण गर्नुपर्दछ भन्ने सुझाव डा. दाहालको छ ।

मिडिया सम्बन्धी अध्ययनहरूले देखाएअनुसार मिडियाका विश्वसनीय तथा सुरक्षित सूचनाका लागि विपद्मा प्रत्यक्ष परेका वा पीडितसँग सम्बन्धित व्यक्ति स्रोतका रूपमा रहन्छन् । तर, मिडियासँग यस्ता व्यक्तिहरूको बलियो सम्बन्ध भएमा उनीहरूले घटनाका सम्बन्धमा तिललाई पहाड बनाइदिन्छन् र सबैतिर आफै छाउँछन् ।

अर्कातिर, विपद् प्रभावित क्षेत्रका व्यक्तिको पहुँचमा कुनै पनि सञ्चार माध्यम छैनन् भने उनीहरूका कुनै पनि समाचार बाहिर नआउने वा जथाभावी आउने हुन्छ । संकट तथा विपद्का घटनापछि मिडिया खोज्दै हिँड्नुभन्दा पहिलादेखि नै सम्पर्क, परिचय र विश्वासमा रहेका सञ्चार माध्यमले सहज ढंगले समाचार सम्प्रेषण गरिदिने पूर्वाधार बनाइराख्नु आवश्यक छ । यसका लागि विपद् मामिलाका व्यवस्थापक र मिडियाबीच अरूका आवश्यकता बुझ्ने प्रष्ट दृष्टिकोण र समझदारी हुनुपर्छ ।

दुवै पक्षले आम नागरिकको सेवा नै आफ्नो लक्ष्य हो भन्ने कुरामा सहमति जनाए र त्यसअनुसार काम गरे भने विश्वासको वातावरण तयार हुन्छ । खासगरी विपद्का बेला अफबाहहरू चारैतिरबाट फैलिन्छन्; त्यसबाट बचाउने र परीक्षण गरेर मात्र सूचना सम्प्रेषण गर्ने, विपद्का भोगाइ र अनुभवहरू साटासाट गर्ने कार्य आवश्यक हुन्छ ।

विपद्का समाचार संकलन गर्दा नयाँ मिडिया प्रविधिको बढ्दो र सिर्जनात्मक प्रयोगबारे पत्रकारलाई अभिमुखीकरण आवश्यक हुन्छ; जसले गर्दा उनीहरूले सहज र प्रभावकारी रूपमा मिडियाको भूमिका निर्वाह गर्न सकून् ।

विपद्का समाचार संकलन गर्दा नयाँ मिडिया प्रविधिको बढ्दो र सिर्जनात्मक प्रयोगबारे पत्रकारलाई अभिमुखीकरण आवश्यक हुन्छ; जसले गर्दा उनीहरूले सहज र प्रभावकारी रूपमा मिडियाको भूमिका निर्वाह गर्न सकून् । अनुसन्धानकर्ता जानुका ज्ञवालीका विचारमा प्राकृतिक संकटलाई रोक्न सकिन्न तर प्रक्षेपित उपायहरूको अनुशरण गरेर विपद् रोक्न सकिन्छ र रोक्नु पनि पर्छ । प्रक्षेपित उपायहरूको अनुशरणले मानवलाई जलवायु परिवर्तनका कारण सिर्जना हुने अनेक विपद्बाट बचाउन सकिन्छ, ठीक समयमा ठीक तरिकाले यस्ता उपाय अपनाउनुभने आवश्यक हुन्छ । यसका लागि मिडियाको भूमिका महत्त्वपूर्ण छ ।

‘सही समयमा सही सूचना’ विपद् जोखिम व्यवस्थापनका लागि एक महत्वपूर्ण चाबी हो । विद्युतीय सञ्चार माध्यमको तत्कालै सन्देश पुर्याउने क्षमता र छापा माध्यमको पहुँचका कारण विपद् हुनुपूर्व, विपद्का समयमा र विपद्पछिको व्यवस्थापनका विषयमा आम नागरिकसम्म सन्देश पुर्याउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह हुन्छ । समयमै हुनसक्ने विपद्का सम्बन्धमा विश्वसनीय जानकारी प्राप्त भएमा सम्भाव्य जोखिमपूर्ण अवस्थामा रहेका नागरिकहरू सतर्क हुनसक्छन्, राम्रो तयारीका साथ विपद्को सामना गर्न थाल्छन् र मानवीय तथा आर्थिक क्षतिबाट बच्न र बचाउन सक्छन् । 

मिडियाले विपद्का तीनवटै चरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । विपद् आउनुअघि नै मिडियाले जोखिमको स्रोत तथा प्रवृत्तिका विषयमा विश्लेषण गर्नसक्छ, संकटापन्न अवस्थाका बारेमा लेखहरू प्रकाशित गरेर र विज्ञका विचार समेटेर सरोकारवाला समुदायलाई जोखिमसम्बन्धी जानकारी दिनसक्छ, संकटका विभिन्न स्वरूपबारे सचेतना बढाउन, पूर्वचेतावनीका सूचना प्रसार गर्न र वैज्ञानिक भविष्यवाणी गरेर नोक्सान र क्षतिबाट समुदायलाई सावधानीका उपायहरू अवलम्वन गर्न सघाउँन सक्छ ।

विपद्का बेला केन्द्रिकृत ढंगले उद्धार तथा राहत कार्यलाई सफल बनाउन मिडियाले प्रभावित व्यक्तिलाई सहयोग गर्न सक्ने समुदायसम्म अवस्थाको विवरण सम्प्रेषण गर्नसक्छ, आकस्मिक तथा पूर्वसावधानीका कार्यहरूमा सघाउन सक्छ, विपद्को दायरा बढ्न सक्ने सम्भावनाप्रति नागरिकलाई जानकारी गराउन, नोक्सानको कारण र संकटको मौजुदा अवस्था र बचेका व्यक्ति तथा परिवारलाई सुविधा पुर्याउने कार्यमा योगदान दिनसक्छ ।

विपद्पछिको समयमा पनि मिडियाले संकटग्रस्त क्षेत्रको यथार्थ तस्बिर वा असर बाहिर ल्याउन, प्रभावकारी रूपमा प्रत्यक्ष सहयोग जुटाउन, पुनस्थापना र पुनर्निमाण योजनाका बारेमा जानकारी दिन सक्छन् । सहयोगका लागि राज्यको सम्बद्ध निकायको ध्यानाकर्षण गर्न र समष्ठीगत वातावरणलाई बचाउनका लागि आवश्यक जानकारी उपलव्ध गराउन सक्छन् । मिडियाले विपद् व्यवस्थापन प्रक्रियाका तीनै चरणमा तयारी, प्रतिक्रिया, उपचारका लागि भूमिका खेलेर जीवन र जीविकोपार्जनको सुरक्षा गर्न सक्छ ।

ज्ञवाली लेख्नुहुन्छ; विपद् जोखिम व्यवस्थापनको अवधारणा सर्वसाधारणका लागि प्राविधिक, वौद्धिक र प्रायः बुझ्न कठिन भए पनि पत्रकारले ‘अनुवादक’ को भूमिका निर्वाह गर्न सक्छ । विपद् व्यवस्थापनमा प्रयोग हुने प्राविधिक सूचना विज्ञबाट व्याख्या गराएर सरल शब्दमा सरोकारवाला आम व्यक्तिसम्म पुर्याउने कार्यका लागि मिडियाको भूमिका महत्त्वपूर्ण देखिन्छ ।

याे आलेख गत असार १ गते प्रकाशन भएकाे ऊर्जा खबर अर्धवार्षिक जर्नलबाट साभार गरिएकाे हाे । लेखक, अग्रज पत्रकार तथा नेपाल प्रेस इन्स्टिच्यूटका सञ्चालक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit