विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
चिलिमे—त्रिशूली २२० केभी प्रसारण लाइन

काठमाडौँ । साढे ६ वर्ष अगाडि निर्माण सुरु भएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको २८ किलोमिटरमध्ये अहिलेसम्म ११ किलोमिटरमा मात्र तार तानिएको छ । त्रिशूली नदी कोरिडोरको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्ने उद्देश्यले निर्माणाधीन यो आयोजनाको भौगोलिक विकटता कारण लक्षित तालिकाभन्दा निकै ढिलो काम भइरहेको छ ।

२०७४ साल कात्तिकमा ठेक्का सम्झौता भई सोही वर्षको पुसदेखि कार्यान्वयनमा आएको थियो । यस आयोजनाको शनिबार जर्मनी तथा युरोपेली युनियनको टोलीले स्थलगत अनुगमन गरेका छन् । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैक (केएफडब्लू) का प्रतिनिधि सम्मिलित टोलीले शनिबार प्रसारण लाइन तथा सबस्टेसन निर्माणको स्थलगत अवलोकन गरी प्रगति विवरण लिएको हो ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंँसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली ‘थ्री’बी हब सबस्टेसनको निर्माण अन्तिम चरणमा छन् । साथै, चिलिमे हबदेखि त्रिशूली ‘थ्री’बी हब सबस्टेसनसम्म २८ किलोमिटर  २२० केभी प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली प्रसारण लाइन र चिलिमे तथा त्रिशूली ‘थ्री’बी हब सबस्टेसन निर्माण गर्न लागिएको हो । अनुमानित लागत ३ करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू) को अनुदान रहेको छ । यस्तै, यसमा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी) को सहुलित ऋण रहेको छ ।

त्रिशूली ‘थ्री’बी हब सबस्टेसन र प्रसारण लाइन निर्माणको अनुगमन गरी टोलीले प्राधिकरण र आयोजना व्यवस्थापनसँग प्रगति, समस्या, निर्माण सम्पन्न हुने मिति, ऊर्जा क्षेत्रमा थप लगानीको सम्भावना लगायत विषयमा छलफल गरेको थियो । टोली प्रमुख गिजेला ह्याममरस्मिटले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा पर्ने आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नु ज्यादै खुशीको कुरा भएको बताइन् । नेपालको ऊर्जा विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धा जनाउँदै लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न उनले प्राधिकरणलाई आग्रह गरिन् ।

यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी कामहरू भइरहेको जानकारी गराए । भौगोलिकरूपमा अत्यन्तै जोखिम र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक नभएकाले पनि ढुङ्गा, बालुवा, टावरका सामान, पानी, मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढी–पहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वनको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायत कारणले निर्माण प्रभावित हुँदै आएको छ ।

प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भू–भागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । 
‘निर्माणमा केही ढिलाइ भएकोमा लगानीकर्ताहरूबाट विगतमा बारम्बार चासो र चिन्ता व्यक्त भइरहेको थियो,’ घिसिङले भने, ‘निरीक्षण क्रममा  कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिकरूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ ।’

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न,  कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिँदै घिसिङले पछिल्लो पटक निर्माण सम्पन्न गर्न तय गरिएको समयसीमाबाट कोही पनि उम्किन नपाउने बताए । ‘यही लाइनमा जोडिने १११ मेगावाटको रसुवागढी आयोजना तयारी अवस्थामा छ, लाइन बनाउन सकेनौँ भने विद्युत् खेर फाल्नुपर्ने हुन्छ,’ उनले भने, ‘सबै जिम्मेवार भएर अन्तिम प्रयास गरौँ, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने छौं ।’

आयोजनाका अनुसार कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरूमध्ये ६५ वटाको जग हालिएको छ । बाँकी १० टावरको जग हाल्ने काम भइरहेको छ । ५९ वटा टावर खडा गरिएको छ भने तीन वटाको काम भइरहेको छ । ११ किलोमिटर तार तानिएको छ भने खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । चिलिमे–त्रिशूली ‘थ्री’बी हब प्रसारण लाइन अन्तर्गत  चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली ‘थ्री’बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।

कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ को विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको आयोजनाले जनाएको । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit