काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ । बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका उत्पादन तथा विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि ती आयोजनाबाट विद्युत् उत्पादन तथा आपूर्ति अवरुद्ध भएको हो ।
त्यसबाट मुलुकको विद्युत् प्रणालीमा एकैपटक ठूलो परिमाणमा विद्युत् उपलब्धता घटेको छ । भोटेकोसी करिडोरमा रहेका जलविद्युत् आयोजनाका विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा बाढी र पहिरोले क्षति पुर्याएको प्रारम्भिक विवरण छ । क्षतिको विस्तृत विवरण तथा कुन–कुन आयोजनाको उत्पादन कति समयसम्म प्रभावित हुन्छ भन्ने यकिन हुन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
एकैपटक ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिँदा विद्युत् आपूर्ति व्यवस्थापनमा समेत दबाब परेको छ । विशेषतः वर्षामा उत्पादन उच्च हुने समयमा ठूलो क्षमताका आयोजना बन्द हुँदा प्रणालीको सञ्चालन तथा विद्युत् आपूर्तिमा चुनौती थपिएको छ ।
प्राधिकरण तथा सम्बन्धित निकाय तथा आयोजना प्रवर्द्धकहरूले बाढीबाट भएको क्षतिको मूल्याङ्कन तथा अवरुद्ध संरचना पुनःस्थापनाको काम अघि बढाउने तयारी गरेका छन् । क्षतिको अवस्था र पुनःनिर्माणको समयअनुसार प्रभावित आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु हुन समय लाग्न सक्ने देखिएको छ ।
भोटेकोसीमा आएको बाढीले जलविद्युत् आयोजनामात्र नभई सडक, पुल, प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुर्याएको छ । पछिल्लो घटनाले जलविद्युत् आयोजनाको विकाससँगै बाढी, पहिरो तथा जलवायुजन्य जोखिमबाट ऊर्जा पूर्वाधारको सुरक्षा र जोखिम व्यवस्थापन थप जोखिम बन्दै गएको छ ।
बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजनाको विवरण
| क्र.सं. | जलविद्युत् तथा सोलार आयोजना | क्षमता (मेगावाट) | कैफियत |
| १ | रसुवागढी | १११ | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरू |
| २ | सालासुङ्गी (साञ्जेन) | ७८ | निजी क्षेत्र |
| ३ | माथिल्लो साञ्जेन | १४.८ | निजी क्षेत्र |
| ४ | साञ्जेन | ४२.५ | निजी क्षेत्र |
| ५ | चिलिमे | २२ | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरू |
| ६ | लङटाङ | २० | प्रत्यक्ष प्रभावित, निजी क्षेत्र |
| ७ | माथिल्लो त्रशूली-३ए | ६० | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण |
| ८ | माथिल्लो मैलुङ | १४.८ | निजी क्षेत्र |
| ९ | मैलुङ | ५ | निजी क्षेत्र |
| १० | त्रिशूली | २४ | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण |
| ११ | देवीघाट | १४ | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण |
| १२ | सोलार | २५ | प्रत्यक्ष प्रभावित, नेपाल विद्युत प्राधिकरण |
| जम्मा | ४३१.१ |