विद्युत आपूर्ति : प्राधिकरण : ९४६७ मे.वा.घन्टा / निजी क्षेत्र : १८६८६ मे.वा.घन्टा / आयात : १३३४ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २९४८७ मे.वा.घन्टा/ उच्च माग : १४२८ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×
सिक्टाले कृषिमा ल्याएको क्रन्ति, जब किसानका खेतमा पानी पुग्यो …

सिक्टाले कृषिमा ल्याएको क्रन्ति, जब किसानका खेतमा पानी पुग्यो …

२०७७ मङ्सिर २५

बाँके (नेपालगन्ज) । नेपालगन्ज–कोहलपुर सडक चार लेनमा विस्तार गरिएको छ । फराकिलो सडक हुँदै नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गर्दा गोल्छा चोकबाट पश्चिमतर्फ अर्को सिंगल लेनको सडक खनिएको छ । त्यहाँबाट पश्चिम जाने बाटोको मुख्य स्रोत हो, सिक्टा सिँचाइ आयोजना ।

गोल्छा चोकबाट पश्चिम लागेपछि सिक्टाको मुख्य नहर अगाडि बढ्छ । यो खण्ड मुख्य नहरको ४५ किलोमिटर मध्येको ९ किलोमिटर क्षेत्र हो । कात्तिकको अन्तिम साता दिन घमाइलो थियो । नहरले खनेको बाटो अगाडि बढिरहँदा त्यहाँ सङ्लो पानी बगिरहेको थियो । नरहका दायाँ–बायाँको भूमि हरियो देखिन्थ्यो ।

नहरको किनारै–किनार जति पश्चिमतिर बढ्दै गयो उति दायाँबायाँ हरियाली देखिँदै गयो । नहरले बाटो खनेको थियो । बाटोले भित्री गाउँहरूको आवागमनलाई सजिलो बनाएको देखियो । नहरको किनारका खेत तथा बारीमा पहेलपुर तोरी फुलिरहेको थियो । तोरीका फूलमाथि किसानको खुसी हाँसिरहेको आभास भइरहेथ्यो ।

खेतमा कतै तोरी फुलेको थियो । कतै तरकारी फलाउनेहरू कस्सिएका थिए । कहीँ आलु लगाएका आलै ड्याङ पनि देखिए । हिजो सुख्खा खेतीयोग्य जमिन आज हरियो र भरिलो देखिएको छ । कुलो काटेर किसानका खेतसम्म पानी पुगेको त थिएन । तर, नहरबाट पाइपमा मोटर चलाएर खेतमा पानी पट्याउन भने सजिलो भएको देखियो ।

सिक्टा सिँचाइ आयाेजनाकाे पश्चिमतर्फकाे मुख्य नहर
नहरको ठाउँठाउँमा स्थानीय किसानले जाल थापेर माछा बटुलिरहेका थिए । किसानको जीवनस्तर माथि उठाउन यो अर्को उपाय हुने सम्भावना देखियो । बाह्रै महिना नहरमा पानी बग्ने वा बगाउने हो भने राप्ती नदीका माछा नहरतिर बसाइँ सर्थे । नहरमा छुट्टै पनि माछा खेती गर्न सकिन्थ्यो ।

सिँचाइबाट हुने कृषि उत्पादनमा बृद्धि, मौसमी तरकारी खेती तथा माछा पालनबाट तल्लो बर्गका समुदायले समेत मनग्य आम्दानी गर्न सक्ने सम्भावना देखियो । यदि, यसो हुने हो भने सिक्टा किसानहरूका लागि बरदान साबित हुनेमा दुई मत नहोला ।

हिजो सुख्खा मरुभूमि जस्तो खेत आज चिसो देखिएको थियो । नरहको किनारका किसानहरू मोटर र पाइपको प्रयोगबाट सुख्खा खेत भिजाइरहेका थिए । खेतमा गहुँ छर्ने सिजन सुरु भएको थियो । खेत ट्र्याक्टरले जोतेर ठिक्क पारिएको थियो । भेटिएका हरेक किसानको मुहारमा खुसी भरिएको देखिन्थ्यो ।

किसानहरू भनिरहेका थिए– गहुँ छर्ने बेला सुरु भयो । पानी अलि ठूलो छोडिदिनुपर्यो ।

सिक्टा सिँचाइ आयाेजनाकाे पश्चिमतर्फकाे मुख्य नहर
यो वर्ष सिक्टाबाट राम्रोसँग पानी सञ्चालन भएको खुसी व्यक्त गरे सिक्टा जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले । ‘नहरबाट खेतसम्म पानी पुगेकोमा किसानहरू खुसी छन्, थप नहर बनाउँदै लैजानुवर्छ,’ उनले ऊर्जा खबरसँग खुसी साटे, ‘किसानका खेतमा पानी पुगेपछि यसले उत्पादन बढाउँदै लैजानेछ ।’

दुई वर्षअघि मुख्य नहर फुटेको स्मरण गर्दै डाँगीले भने, ‘नहर फुट्यो त्यसले केही चिन्तित बनाएको थियो । माटोको नहर फुट्न सक्छ । बनाउँदै चलाउने हो ।’ यसबाट पनि प्रस्ट हुन्छ, विगतमा सिक्टाको नहरमा देखिएको समस्या सामान्य हो । मुख्य कुरा वा खुसी त किसानका खेतमा पानी पुग्नु हो । उत्पादन बढेर उनीहरूको जीवनयापनमा परिवर्तन आउनु हो ।

सँगै रहेका सिक्टाका इन्जिनियरले स्वीकृतिमा टाउको हल्लाएका थिए । साँच्चै सिक्टा सिँचाइले किसानको वर्षौंदेखिको सपना पूरा गरेको आभास हुन्थ्यो । यसले कृषिमा एक प्रकारको क्रान्तिको थालनी गरेको थियो । आज पनि करिब ६७ प्रतिशत कृषिमा निर्भर रहेको जनजीवनलाई सिक्टाले माथि उकास्ने एउटा बलियो आधार बनाएको देखिन्छ ।

हुन पनि सिक्टा सिँचाइ हिजो (केही वर्ष अगाडि) सुरु भएर आज सकिएको होइन । पहिचान, अध्ययन, निर्माण हुँदै किसानका खेतमा पानी पुग्दासम्म यो आयोजनाले झन्डै साढे चार दशक पार गरिसकेको छ । यसबीचमा अनेक अवरोध आए । विवाद, विरोध, असहयोग जस्ता अनेक गतिविधि भए । अझ भारतले त यो आयोजना निर्माण गर्न हरेक क्षण अवरोध गर्यो ।


हरेक बाधा–विरोध र विवाद छिचोल्दै सिक्टाले निरन्तर यात्रा तय गरिरह्यो । पछिल्लो डेढ दशकदेखि यहाँ कार्यरत आयोजना प्रमुख, इन्जिनियर तथा समस्त कर्मचारी काममा अहोरात्र खटिएकै कारण आज किसानका खेतमा पानी पुर्याउन सम्भव भयो ।

पश्चिम राप्तीदेखि पश्चिमतर्फ निर्माण गर्नुपर्ने ४५.२५ किलोमिटर मुख्य नहर निर्माण पूरा भएको छ । मुख्य नरह पूरा गरेर आंशिक परिमाणमा पानी छोड्दा मात्र यो मौसममा करिब १६ हजार हेक्टरमा सिँचाइ पुगेको सिक्टाका आयोजना प्रमुख लोकबहादुर थापा बताउँछन् । सिँचाइको दायरा आउने बर्खासम्म करिब २० हजार हेक्टर पुर्याउने लक्ष्य राखिएको छ ।

पछिल्लो प्रगति

सरकारले २०६१ सालमा सिक्टा सिँचाइ स्वदेशी लगानीमा निर्माण गर्ने अठाट लियो । जुनबेला, देशमा राजा ज्ञानेन्द्रको शासनकाल थियो । खासमा तत्कालीन समयमा भारतसँगको सम्बन्ध चिसिएपछि राजा सिक्टा आफैंले निर्माण गर्ने निचोडमा पुगेका थिए ।

तत्कालीन सिँचाइ विभागले आर्थिक वर्ष २०६१÷६२ बाट योजना तथा कार्यक्रममा समावेश गरेको थियो । बजेट तथा कार्यक्रममा समावेश गरे पनि आर्थिक वर्ष २०६३÷६४ सालदेखि निर्माण सुरु भएको थियो ।

सुरुमा राप्ती पश्चिमतर्फ ३३ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने योजना थियो । पछि गुरुयोजना बनाएर ९ हजार हेक्टर थपियो । पश्चिमतर्फको जमिनमा सिँचाइ पुर्याउन ५० घनमिटर पानी प्रयोग हुनेछ ।

सिक्टा सिँचाइ आयाेजनाकाे पश्चिमतर्फकाे मुख्य नहर
७ वटा शाखा र एउटा उपशाखा नहर हुँदै किसानका खेतमा पानी पुर्याउने सिक्टाको योजना छ । अहिलेसम्म पहिलो शाखा नहर सिधनीया पूरा भइसकेको छ । यसैगरी, दोस्रो डुन्डुवा, तेस्रो अकलघरवा, चौथो गोहना, पाँचौं पर्सेनीपुर, छैटौं पिरारी र सातौं गुरुवागाउँ शाखा नहर निर्माण भइरहेका छन् । डुन्डुवा र गोहनाको काम करिब पूरा भएको छ ।

अर्को उपशाखा नहर निर्माण गरी ०.४८ घनमिटर पानी छोडिनेछ । यसबाट ३ सय १६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्यछ । पश्चिमतर्फ शाखा र उपशाखा नहरको काम अबको डेढ वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको छ ।

राप्ती पूर्वको काम

बाँकेको अगैयास्थित राप्ती नदीमा निर्माण भएको मुख्य बाँधबाट पूर्वतर्फ कूल १४.७ घनमिटर पानी लैजाने योजना छ । यसका लागि ५३.५ किलोमिटरको मुख्य नहर निर्माण भइरहेको छ । पूर्वतर्फ ९ वटा शाखा नहर (१४५ किलोमिटर) निर्माण हुनेछ ।

सिक्टा सिँचाइ आयाेजनाकाे निर्माणाधीन शाखा नहर
अहिलेसम्म समग्र सिक्टा सिँचाइको काम करिब ७० प्रतिशत पूरा भएको आयोजना प्रमुख थापाले जानकारी दिए । उनका अनुसार अबको ३ वर्षभित्र सिक्टाको सबै काम पूरा हुनेछ ।

याे पनि पढ्नुहाेस्

अब सिक्टामा पानी बग्दैन !

सिक्टा सिँचाइ श्रृंखला–१, कर्मचारीको बदमासी कि कमजोर भूगोल !

सिक्टा सिँचाइ श्रृंखला–२, भारतको चंगुलबाट फुत्केको आयोजना

सिक्टा सिँचाइ श्रृंखला–३, निर्माणको प्रगति र सिँचाइको लाभ

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit