विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

देशको जलविद्युत विकासमा पछिल्लो समय निजी क्षेत्रको भूमिका फराकिलो हुँदै गएको छ । धैरै बैंकसँग ऋण लिएर साना आयोजना निर्माण गर्ने प्रवर्द्धक अहिले सय मेगावाटभन्दा ठूलामा संलग्न हुन थालेका छन् । सय मेगावाटसम्मका आयोजना स्वदेशी लगानीमा एक्लै निर्माण गर्न सक्ने क्षमता पनि बनाइसकेका छन् ।

सरकारले विद्युत ऐन, २०४९ जारी गरेपछि निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्ने ढोका खुलेको हो । करिब साढे २ दशकभित्र जलविद्युतमा निजी क्षेत्रको झन्डै ६ खर्ब रुपैयाँ लगानी भइसकेको छ । पुँजी परिचालन गर्ने निजी कम्पनीमा सिइडिबी हाइड्रो फन्ड लिमिटेड अग्रपंक्तिमै पर्छ ।

कम्पनी स्थापना गरी लमजुङमा पहिलो पटक १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजना निर्माण भएको थियो । यही अनुभव बटुल्दै सिइडिबीले संखुवासभामा ४५ मेगावाटको कसुवा खोला निर्माणको तयारी गरिरहेको छ । सिइडिबीले पछिल्लो समय लगानीको दायरा निकै फराकिलो बनाएको छ ।

जलविद्युत विकासमा लगानी गर्ने उद्देश्यले २०६६ साल मंसिर १५ गते सिइडिबीको स्थापना भएको हो । यसले अहिलेसम्म ८.५८ मेगावाटका ३ आयोजना निर्माण गरिसकेको छ । १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी सिइडिबीले निर्माण गरेका आयोजना हुन् । अब ५ आयोजना निर्माणाधीन छन् । सबै आयोजना निर्माण गर्न छुट्टा–छुट्टै सहायक कम्पनी खडा गरिएको छ ।

सिइडिबीले निर्माण गरेका आयोजना

स्याङ्गे (१८३ किलोवाट)

तस्बिर साैजन्य : सिइडिबी वेबसाइट

स्याङ्गे सिइडिबीको सहायक कम्पनी हो । यसले लमजुङमा १८३ किलोवाटको आयोजना निर्माण गरेको छ । स्याङ्गे कम्पनीले लगानी गरेको यो पहिलो जलविद्युत केन्द्र हो । यसमा सिइडिबीको ६०.४२ प्रतिशत लगानी छ ।

स्याङ्गे सिइडिबी स्थापना हुनुअघि नै खुलेको हो । पछि यो सिइडिबी मातहत ल्याइयो । २०५८ सालमा २ करोड ४० लाख रुपैयाँमा निर्माण पूरा भएको स्याङ्गेले बैंकको ऋण चुक्ता गरेको ७ वर्ष भइसक्यो । अहिले कम्पनी नाफामा सञ्चालन भइरहेको छ ।

खुदी (४ मेगावाट)

खुदी हाइड्रो पावर कम्पनीले लमजुङमा ४ मेगावाटको खुदी निर्माण गरेको छ । बुटवल पावर कम्पनी (बिपिसी) सँगको सहकार्यमा निर्माण भएको आयोजनामा सिइडिबीले १५ प्रतिशत स्वपुँजी लगानी गरेको थियो । ५७ करोड रुपैयाँमा निर्माण पूरा भएको खुदीले २०६३ सालबाट व्यावसायिक विद्युत उत्पादन गर्दै आएको छ । यो जलविद्युतगृहबाट वार्षिक २४.२८४ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

राधी (४.४ मेगावाट)

राधी विद्युत कम्पनी पनि सिइडिबीकै सहायक कम्पनी हो । यसले लमजुङमा ४.४ मेगावाटको राधी निर्माण गरी २०७१ जेठ ३१ गतेबाट विद्युत उत्पादन गर्दै आएको छ । राधीमा सिइडिबीको ४७.२७ प्रतिशत स्वपुँजी लगानी छ ।

६० करोड रुपैयाँमा निर्माण सम्पन्न राधीले वार्षिक २६.२६७ घन्टा विद्युत उत्पादन गर्छ । प्रतिमेगावाट १३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण पूरा भएको आयोजनाले विद्युत उत्पादन सुरु गरेको पहिलो वर्षबाटै लगानीकर्तालाई प्रतिफल दिन सुरु गरेको थियो ।

सिइडिबीद्वारा निर्माणाधीन आयोजना

तल्लो खारे (११ मेगावाट)

सिइडिबीको सहायक कम्पनी युनिभर्सल पावर कम्पनीले दोलखामा ११ मेगावाटको तल्लो खारे खोला निर्माण गरिरहेको छ । आयोजनाको ४० प्रतिशत निर्माण पूरा भइसकेको छ । २ अर्ब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनाबाट वार्षिक ६२.७३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत सिंगटी सबस्टेसनमा लगेर जोडिनेछ ।

दोर्दी खोला–१ (१२ मेगावाट)

तस्बिर साैजन्य : सिइडिबी वेबसाइट

दोर्दीखोला जलविद्युत कम्पनीले लमजुङमा १२ मेगावाटको दोर्दी–१ निर्माण गरिरहेको छ । सुरुमा १०.३ मेगावाटको अनुमति लिइएको आयोजना क्षमता बढाएर १२ मेगावाट पुर्याइएको हो ।

२ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि ठेकेदार नियुक्त गरी परिचालन भइसकेको छ । आगामी ४ वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । वार्षिक ६५.४४ गिगावाट घन्टा विद्युत उत्पादन हुने आयोजनाको विद्युत दोर्दी कोरिडोरमा जोडिनेछ ।

रुकुमगाड (५ मेगावाट)

तस्बिर साैजन्य : सिइडिबी वेबसाइट

रुकुममा ५ मेगावाटको रुकुमगाड निर्माण गर्न राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनी स्थापना गरिएको छ । यो पनि सिइडिबीको सहायक कम्पनी हो । रुकुमगाडको निर्माण चालू वर्षबाट सुरु गर्ने योजना छ । ठेकेदारले आयोजनास्थलमा निर्माणपूर्वको काम गरिरहेको छ । आयोजनाबाट २०७६ पुस १ गते व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य छ । प्रस्तावित मुसीकोट सबस्टेसनमा आयोजनाको विद्युत जोडिनेछ । यसबाट वार्षिक २८.५८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

न्यादी (३० मेगावाट)

सिइडिबीले जलविद्युत आयोजना विकास गर्न अन्य कम्पनीसँग पनि साझेदारी सुरु गरेको छ । यसको पहिलो उदाहरण हो, लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी । न्यादी बुटवल पावर कम्पनी (बिपिसी) को अगुवाईमा अघि बढाइएको आयोजना हो । सिइडिबीले बिपिसीसँग न्यादीमा लगानी साझेदारी गरेको छ । ६ अर्ब लागत अनुमान गरिएको आयोजनामा सिइडिबीको २.७८ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनाबाट उत्पादित विद्युत मस्र्याङ्दी कोरिडोरमा जोडिनेछ । यहाँबाट वार्षिक १७१.९९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

कसुवाखोल (४५ मेगावाट)

कसुवाखोल हाइड्रो पावर कम्पनीले संखुवासभामा ४५ मेगावाटको कसुवाखोला निर्माण गर्दैछ । सम्पूर्ण अध्ययन पूरा भएको आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) हुने तयारीमा छ । कसुवाखोला सिइडिबीले लगानी गर्न लागेको अहिलेसम्मको ठूलो आयोजना हो ।

स्थापनाको ९ वर्ष भइरहँदा सिइडिबी विद्युत विकासमा सफल ‘होल्डिङ’ कम्पनीको रूपमा स्थापित हुँदै गएको छ । एकपछि अर्को आयोजना निर्माणमा लैजानुलाई सिइडिबीको सफलतासँग जोडेर हेरिएको छ । १८३ किलोवाटबाट सुरु भएको जलविद्युत विकास यात्रा ठूला आयोजना निर्माण गर्ने अभियानमा छ । यो जलविद्युत विकासमा निजी क्षेत्रको बलियो उपस्थितिको संकेत हो । साथै, यसलाई देशको आर्थिक विकासमा सरकारको साझेदारका रूपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit