विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत ४० कम्पनी मध्ये २४ वटाले मात्र आर्थिक वर्ष (आव) २०७७/७८ मा आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये १८ कम्पनीले मुनाफा आर्जन गरेको देखिएको छ ।

शुक्रबार (भदौ ४ गते) सम्म २४ कम्पनीले मात्र एक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा गत आवमा १८ कम्पनीले २ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ । यी कम्पनीहरूले आर्जन गरेको मुनाफा अघिल्लो आव अर्थात् आव २०७६÷७७ को तुलनामा भने बढेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब ५७ करोड ४ लाख रुपैयाँ थियो ।

१८ कम्पनीमध्ये ६ वटाको नाफा अघिल्लो आवको तुलनामा घटेको छ । मुनाफा घट्नेमा चिलिमे जलविद्युत, हिमालय ऊर्जा विकास, युनियन हाइड्रो पावर, राधी विद्युत, बुटवल पावर र छ्याङदी हाइड्रो पावर कम्पनी छन् । खोलाको पानीको बहाबमा कमी आउँदा कम विद्युत उत्पादन भई आम्दानीमा असर पर्दा मुनाफा समेत घटेको जनाइएको छ ।

नाफा कमाएका सबै कम्पनीले गत आवमा विद्युत बिक्रीबाट ५ अर्ब ८७ करोड ४८ लाख २१ हजार रुपैयाँ आम्दानी गरेका छन् । विद्युत बिक्रीबाट हुने आम्दानी भने अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो वर्ष यी कम्पनीहरू ५ अर्ब १५ करोड ९४ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

नाफा कमाउनेमा चिलिमे, बुटवल पावर, अरुण भ्याली, अरुण काबेली, रैराङ, पाँचथर पावर, सानिमा माई लगायत छन् । नोक्सान देखाउने कम्पनीहरूमा दिश्वेश्वरी हाइड्रो, घलेम्दी, नेशनल हाइड्रो लगायत छन् । दिव्यश्वरी, घलेम्दी र नेशनल हाइड्रोका आयोजना सञ्चालनमा छन् ।

३–३ महिनामा आफ्नो वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाले जस्तै राष्ट्रियरूपमा सार्वजनिक गर्ने नियम छ । तर, पुँजी बजारमा सेयरको मूल्य बढाउन, गैरकानुनी रूपमा भएका खर्च ढाकछोप गर्न र अस्वभाविकरूपमा लगानीकर्ताको ध्यान तान्न नाफा देखाउने गरिएको छ ।

लामो समयदेखि जलविद्यु्तगृह सञ्चालन गरिरहेका कम्पनीहरूले पनि अहिलेसम्म लगानीकर्ता वा सर्वसाधारण सेयरधनीलाई राम्रो प्रतिफल दिन सकेका छैनन् । यद्यपि, सर्वसाधारण भने जलविद्युत कम्पनीको सेयर किन्न भने त्यतिकै तानिने गरेका छन् ।

चिलिमे जलविद्युत कम्पनी

मुनाफा आर्जन गर्ने मध्ये सबैभन्दा बढी चिलिमेको छ । अघिल्लो आवको तुलनामा खुद नाफा घटे पनि अन्य कम्पनीको तुलनामा उसले बढी नाफा कमाएको छ । गत आवमा कम्पनीले ७० करोड १८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ४ करोड ३७ लाख ५६ हजार रुपैयाँ कम हो । अघिल्लो वर्ष ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ नाफा थियो ।

चिलिमेले गत आवमा विद्युत बिक्रीबाट १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन, अघिल्लो आवमा १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ थियो । जलविद्युत केन्द्रका उपकरण तथा  सफ्टवेयर समयसापेक्ष सुदृढिकरण गर्दा  विद्युतगृह बन्द गर्नु परेको र खोलामा पानीको बहाबमा समेत कमी आएकाले आम्दानी घटेको कम्पनीले जनाएको छ ।

रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालन गरिरहेको कम्पनीले अहिले आफ्ना सहायक कम्पनीहरूमार्फत २ सय ७० मेगावाटका ४ आयोजना निर्माण गरिरहेको छ । जसमा, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेगावाटको मध्यभोटेकोसी छन् ।

बुटवल पावर

बुटवल पावर कम्पनी (बिपिसी) ले गत आवमा ५० करोड ८६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाए पनि अघिल्लो आवको तुलनामा घटेका छ । अघिल्लो वर्ष ७३ करोड १२ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले ९.४ मेगावाटको आँधीखोला र १२.५ मेगावाटको झिमरुक–खोलाको विद्युत बिक्रीबाट ६४ करोड ९४ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।

अरुण काबेली

अघिल्लो आवमा १० करोड ७९ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको अरुण काबेली पावरले गत आवमा २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले ३ मेगावाटको पिलुवा र २५ मेगावाटको काबेली बी ‘१’ बाट उत्पादित विद्युत बिक्रीबाट ७० करोड ७६ लाख ६ हजार रुपैयाँ कमाएको छ ।

रुरु जलविद्युत

रुरु जलविद्युत कम्पनीले गत आवमा ७ करोड २१ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, अघिल्लो वर्ष ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ थियो । कम्पनीले गुल्मीमा ५ मेगावाटको हुग्दी खोलाको विद्युत बिक्री गरी १४ करोड ९६ लाख २६ हजार रुयैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्ष १४ करोड ६६ लाख ९२ हजार रुपैयाँ थियो ।

रैराङ हाइड्रो पावर

रैराङ हाइड्रो पावर कम्पनीले गत आवमा ५ करोड ९० लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्ष १ करोड २४ लाख ५ हजार रुपैयाँ थियो । रैराङ खोलाकोबाट ७० लाख ५ हजार र ९.९ मेगावाट र इवा खोलाबाट २३ करोड ५३ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

पाँचथर पावर

कम्पनीले गत आवमा ३ करोड ७५ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जसले, १४.९ मेगावाटको हेवा ‘ए’ बाट ३१ करोड ८६ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

सानिमा माई

सिन्धुपाल्चोकमा २.६ मेगावाटको सुनकोसी, इलाममा २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यासकेड जलविद्युत केन्द्र सञ्चालन गरेको सानिमा माईले गत वर्ष ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसको नाफा ३६ करोड ६८ लाख ३९ हजार रुपैयाँ थियो । तीन वटै विद्युत केन्द्रको गत आवको आम्दानी ८५ करोड ३ लाख ९ हजार रुपैयाँ छ ।

अरुण भ्याली

३ मेगावाटको पिलुवा खोला सञ्चालन गरिरहेको अरुण भ्यालीले गत आवमा ८ करोड ७ लाख ६८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

रिडि हाइड्रो पावर

२.४ मेगावाटको रिडी खोला र ८.५ मेगावाटको सोलार आयोजना सञ्चालन गरिरहेको कम्पनीले गत आवमा ७ करोड २८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसको नाफा ३ करोड ४४ लाख ९८ हजार रुपैयाँ थियो । कम्पनीले ८.५ मेगाावटको सोलार आयोजनाबाट ६ करोड ५ लाख ५४ हजार र रिडी खोलाबाट ५ करोड ३६ लाख ३५ हजार रुपैयाँ कमाएको छ ।

युनियन हाइड्रो

लमजुङमा ३ मेगावाटको मिदिम खोला सञ्चालन गरिरहेको कम्पनीले ७६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । कम्पनीले अघिल्लो वर्ष १ करोड ७४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ७६ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

राधी विद्युत र छ्याङदी पावर

लमजुङमा कम्पनीले ६ करोड १४ लाख ५३ हजार,  छ्याङदी पावरले ९७ लाख ९३ हजार, माउन्टेन इनर्जीले ८ करोड ५४ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यी कम्पनीले विद्युत बिक्रीबाट क्रमशः १२ करोड ९७ लाख २७ हजार, ४ करोड ८० लाख ७९ हजार र १६ करोड ८२ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका छन् । 

खानी खोला

अघिल्लो आवमा करिब १५ करोड ६ लाख ७६ हजार रुपैयाँ घाटामा रहेको खानी खोलाले गत वर्ष ३३ करोड १६ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्ष ४.३६ मेगावाटको टुंगुन÷ठोस्ने र २ मेगावाटको खानी खोलाबाट ५१ करोड २ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अन्य कम्पनीहरू

युनाइनेट मोदी हाइड्रो पावरले ६ करोड ४२ लाख ७९ हजार, अपि पावरले १२ करोड ६० लाख ७४ हजार र युनाइटेड इदी मर्दीले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यी कम्पनीले विद्युत बिक्रीबाट क्रमशः २८ करोड ८३ लाख २९ हजार, ३६ करोड ७२ लाख ८८ हजार र १३ करोड ४५ लाख ८ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

यसैगरी, हिमालय ऊर्जा विकासले ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा देखाएको छ । कम्पनीले उपल्लो खिम्ती निर्माण गरिरहे पनि सञ्चालनमा आएको छैन । कम्पनीले अन्य स्रोतबाट भएको भन्दै १३ लाख ८५ हजार रुपैयाँ आम्दानी देखाएको छ ।

कम्पनीले निर्माण गरेका १९ मेगावाटका २ आयोजनाको निर्माण पूरा भई परीक्षण समेत पूरा भएको छ । तर, विद्युत जोडिने प्रसारण लाइन पूरा नहुँदा विद्युत खेर गइरहेको छ ।
उता, दिव्यश्वरी गत वर्ष ३ करोड ३ लाख ४५ हजार रुपैयाँ घाटामा देखिएको छ । यो कम्पनी अघिल्लो वर्ष पनि ४ करोड ३४ लाख ६६ हजार रुपैयाँ घाटामा थियो । यो कम्पनीले ३.३ मेगावाटको सभा खोलाको विद्युत बिक्री गरी ७ करोड १ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । 

यस्तै, घलेम्दी पनि १ करोड २२ लाख ४४ हजार रुपैयाँ घाटामा छ । कम्पनीले ५ मेगावाटको घलेम्दीको विद्युत बिक्री गरी २ करोड ६४ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ । नेशनल हाइड्रोपावर २ करोड २१ लाख ८२ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको विवरण उल्लेख छ । कम्पनीको ७.५ मेगावाटको इन्द्रावती ३ सञ्चालनमा छ । 

सान्जेन जलविद्युत कम्पनी पनि ३ करोड ६ लाख ६७ हजार रुपैयाँ घाटामा छ । कम्पनीको घाटा अघिल्लो वर्षको तुलनामा भने बढेको हो । अघिल्लो वर्ष २ करोड १४ लाख ३७ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको ५७ मेगावाटको २ जलविद्युत आयोजना निर्माणाधीन छन् । आयोजनाबाट चालु आर्थिक वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । 

यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनी पनि ३ करोड ९ लाख ५३ हजार रुपैयाँ घाटामा छ । अघिल्लो वर्ष ३ करोड ७० लाख ११ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको पनि १११ मेगावाटको रसुवागढी निर्माणाधीन छ । आयाजनाको काम अन्तिम चरणमा पुगेकोले चालु आर्थिक वर्षभित्र उत्पादन सुरु गर्ने योजना छ ।

माथिल्लो तामाकोसी पनि करिब ४ करोड १६ लाख ५२ हजार रुपैयाँ घाटामा छ । कम्पनी निर्माण सम्पन्न गरेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गरेको थियो । गत, साउन ३२ गतेदेखि ४६ वटै युनिट सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

सान्जेन र रसुवागढीको निर्माण गरिरहेका जलविद्युत आयोजना सम्पन्न भई विद्युत उत्पादनको चरणमा पुगिनसकेकाले वित्तीय विवरण ऋणात्मक देखिएको हो । निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि यी कम्पनीको वित्तीय विवरण पनि धनात्मक देखिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit