काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कालीगण्डकीसहित विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादन रोकिएको छ । बाढीले प्रसारण लाइनका संरचनामा समेत क्षति पुर्याउँदा कालीगण्डकी करिडोरसहित अन्य नदी करिडोरका गरी ४८३ मेगावाटका ९ आयोजनाको उत्पादन रोकिएको नेपाल विदुत् प्राधिकरणले जानकारी दिएको छ ।
बाढी तथा पहिरोका कारण १४० मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ४४ मेगावाटको सुपर मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको माथिल्लो मादी, २५ मेगावाटको अपर दोर्दी, २० मेगावाटको नामार्जुन मादी जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । मोदीलगायत अन्य आयोजनाको उत्पादनसमेत प्रभावित भएको हो ।
अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । यसबाट केही स्थानमा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा रहेका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको छ । यसका कारण उक्त करिडोरमा आबद्ध जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको छ ।
बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध अन्य प्रसारण र वितरण संरचनामार्फत आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ । क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर विद्युत् आपूर्ति क्रमशः पुनःस्थापना गर्ने काम भइरहेको छ ।
प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध भएका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ । सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने उनले बताए ।
प्राधिकरणले विपद्का कारण केही स्थानमा विद्युत् आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न र सम्भव भएसम्म छोटो समयमा नियमित सेवा पुनःस्थापना गर्न सबै स्रोतसाधन परिचालन गरेको जनाएको छ । साथै, उपभोक्तालाई क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार तथा पोलबाट टाढा रहन र तिनलाई नछुन आग्रह गरेको छ ।