सल्यान । निरन्तर वर्षासँगै आएको विनाशकारी हावाहुरीका कारण सल्यान जिल्लाका विभिन्न स्थानमा हजारौँको संख्यामा रुख ढल्दा विद्युत् प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण विद्युत्का पोल, तारलगायत संरचनामा क्षति पुगेपछि जिल्लाका धेरै ग्रामीण बस्तीमा अझै विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन ।
विद्युत् संरचनामा भएको क्षतिको अवस्था यति ठूलो छ कि ११ केभी तथा एलटी लाइनको क्षतिको विवरण संकलन गर्नसमेत केही दिन लाग्ने अवस्था रहेको जनाइएको छ । बजार क्षेत्रका अधिकांश स्थानमा विद्युत् आपूर्ति सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि ग्रामीण क्षेत्रमा भने क्षतिग्रस्त संरचनाका कारण लाइन सुचारु गर्न कठिनाइ भइरहेको छ ।
विद्युत् सेवा पुनः सञ्चालनका लागि १० र ११ गते निरन्तर प्रयास गरेर ३३ केभी प्रसारण लाइनको मर्मत सम्पन्न गर्न सफलता मिलेको सम्बन्धित निकायले जनाएको छ । तर, ११ केभी तथा एलटी लाइनमा भएको क्षति व्यापक रहेकाले सबै क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न थप समय लाग्ने देखिएको छ ।
सम्बन्धित निकायले आफ्नो आसपासमा विद्युत् संरचनामा भएको क्षतिको विवरण नजिकको ‘नो लाइट’ सेवामा टिपाउन उपभोक्तालाई अनुरोध गरेको छ । क्षतिग्रस्त संरचना मर्मत तथा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न तयार रहेको भन्दै सामुदायिकस्तरबाट समेत फोन तथा समन्वयका प्रयास हुन थालेका छन् ।
हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा रुख ढलेका कारण विद्युत् लाइन तथा संरचना मर्मतमा थप चुनौती देखिएको छ । क्षतिग्रस्त संरचना पूर्णरूपमा मर्मत गरी जिल्लाभर विद्युत् सेवा नियमित गर्न केही लामो समय लाग्ने अवस्था रहेको सम्बन्धित निकायले जनाएको छ ।
सल्यानमा विद्युत् संरचनामा भएको क्षतिको व्यापकतालाई हेर्दा अहिलेको अवस्था सामान्य अवरोधभन्दा बाहिर रहेको र जिल्ला नै विपद्को अवस्थामा पुगेको जनाइएको छ । विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरी क्षतिको विवरण संकलन, रुख कटान तथा संरचना मर्मतको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।