नुवाकोट । ६० मेगावाटको माथिल्लो त्रिशूली–३‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको उद्धारका लागि अहिले सुरुङको मुख खन्न काम सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको तदारुकता एवम् गृह मन्त्री सुदन गुरुङको समेत पहलमा काम थालिएको हो ।
नेपाली सेना तथा दक्ष जनशक्तिको सहभागितामा आवश्यक उत्खनन उपकरण प्रयोग गरी उद्धार कार्य अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार विद्युत्गृहभित्र प्रवेश गर्ने केबल सुरुङको मुख पुरिएपछि कर्मचारीहरूको उद्धारमा जटिलता थपिएको छ । अहिले नेपाली सेनाको त्रिशूली ब्यारेकबाट प्रभावित क्षेत्रमा थप स्काभेटेर, आवश्यक डिजेल लगायत अत्यावश्यक सामान पठाउने तयारी भइरहेको छ ।
आयोजना स्थलको अवस्था तथा भौगोलिक जटिलताका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ ।
स्थानीय प्रशासनले शुक्रबार हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा डोजर पुर्याएर उद्धार तथा उत्खनन कार्य थालेको थियो तर जठिलताका कारण काम हुन सकेको थिएन । उद्धार कार्यमा आवश्यक उपकरण हवाईमार्गबाट पुर्याउने निर्णय ढिलो भएको भन्दै सम्पर्कविहीन कर्मचारीका परिवारजन तथा आफन्तले निरन्तर प्रश्न गरिरहेका छन् ।