विद्युत अपडेट

  • प्राधिकरण : ९९७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११६६० मे.वा.घन्टा
  • निजी क्षेत्र : २२६९९ मे.वा.घन्टा
  • आयात : ३६४४ मे.वा.घन्टा
  • निर्यात : ३६४५ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५०१२६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३०७ मे.वा.
२०८१ असार ३, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
सिमेन्ट आयातको युग सकिएसँगै निर्यात बढ्दै

काठमाडौं । कुनै जमाना थियो, नेपालका ठूला पूर्वाधार आयोजना निर्माणमा पूर्णतः भारतीय सिमेन्टमै भर पर्नुपर्थ्याे । नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको ४३ र ५३ ग्रेडको अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) को उत्पादन नै थिएन । जति हुन्थ्यो, सबैजसो सिमेन्ट ग्रेडविहीन पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पिपिसी) नै उत्पादन हुन्थ्यो ।

धेरै टाढा जानुपर्दैन । आधा दशकअघिसम्म पनि नेपालमा सिमेन्ट र क्लिङ्कर गरी वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । नेपालमा सिमेन्ट उद्योगको विकास र विस्तार हुँदै जाँदा अहिले भने अवस्था पूरै बदलिएको छ । नेपालका ठूला पूर्वाधार निर्माणमा पनि उच्च गुणस्तरको स्वदेशी सिमेन्ट नै प्रयोग हुन थालेपछि भारतबाट हुने आयात करिब–करिब शून्यमै झरेको छ ।    

नेपालका पूर्वाधार परियोजना निर्माणमा भारतबाट सिमेन्ट ल्याउने कुरा इतिहास भइसकेको नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । ‘करिब ७ वर्ष भयो, पूर्वाधार निर्माणका लागि सिमेन्ट आउन कम भएको, विगत ३ वर्षदेखि त भारतबाट सिमेन्ट आउनै छोडिसक्यो भन्दा हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘नेपालमै गुणस्तरीय सिमेन्ट उत्पादन भएपछि आयात गर्नुपर्ने बाध्यता छैन ।’

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष भारतबाट जम्मा ४ करोड रुपैयाँको मात्रै सिमेन्ट आयात भएको थियो । यो तथ्यांकलाई हेर्ने हो भने पनि थापाको भनाइ पुष्टि हुन्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्की पनि थापाको कुरासँग सहमत देखिन्छन् ।

‘अहिले स्वदेशी सिमेन्ट नै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उच्च गणस्तरमा उत्पादन भइरहेका छन्,’ उनले भने, ‘त्यसो हुँदा जलविद्युत् आयोजना जस्ता ठूला पूर्वाधार निर्माणमा विदेशी सिमेन्ट ल्याउनु परेको छैन । नेपालकै सिमेन्ट उद्योगहरूले पनि बजारमा सिमेन्टको माग घट्दा उत्पादन कटौती गर्न बाध्य भएका छन् ।’

हाल नेपालका सिमेन्ट उद्योगहरूको वार्षिक उत्पादन क्षमता करिब २५ करोड टन रहेको छ । तर, नेपालमा हाल सिमेन्टको माग जम्मा वार्षिक ८ करोड टनको हाराहारी मात्रै छ । संरचना तथा पूर्वाधार निर्माणमा आएको सुस्तताका कारण अहिले सिमेन्ट उद्योगहरू नै २५ प्रतिशतभन्दा कम क्षमतामा चलिरहेको र कतिपय बन्द हुने अवस्थामा रहेको अध्यक्ष थापा बताउँछन् ।

क्षमता अनुसार उत्पादन गर्न सिमेन्ट उद्योगहरू अहिले सीमावर्ती भारतमा समेत बजार खोजिरहेका छन् । सरकारले समेत सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । यसले गर्दा पनि नेपाली सिमेन्टको भारतमा निर्यात बढ्दै गएको छ ।

आफ्नो उत्पादनका लागि बजार खोज्ने क्रममा कतिपय उद्योगले गत आर्थिक वर्षदेखि भारतीय बजारमा सिमेन्ट निर्यत बढाउँदै लगेको शिवम् सिमेन्टका वितरक सरोज श्रेष्ठ स्वीकार्छन् ।

‘भारतीय लगानीमा निर्माणाधीन आयोजनामा भारतबाटै सिमेन्ट ल्याएको पनि हुन सक्ला तर नेपाल सिमेन्टमा पूर्णरूपमा आत्मनिर्भर भइसक्यो,’ उनले भने, ‘थोरै परिमाणमा भए पनि सीमावर्ती क्षेत्रका उद्योगले नेपाली सिमेन्ट भारत निर्यात पनि सुरु गरिसकेका छन् । सरकारको अनुदानले पनि यसमा सहयोग गरेको छ । आयात हुँदै आएको वस्तुमा आत्मनिर्भर भएर निर्यात समेत सुरु हुनु आफैँमा नेपाली अर्थतन्त्रका लागि सुखद् हो ।’

मापदण्ड बनेपछि पूर्ण आत्मनिर्भर 
त्यसो त २०२९ सालमा सरकारले काठमाडौँको चोभारमा नेपालकै पहिलो हिमाल सिमेन्ट उद्योग स्थापना भएपछि नेपालमा सिमेन्ट प्रयोगमा बढोत्तरी आउन सुरु भएको हो । २०३६ सालमा सरकारी स्वामित्वकै उदयपुर सिमेन्ट कारखाना सुरु भयो । सिमेन्टको प्रयोगले व्यापकता पाउँदै आयो । नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि आर्थिक उदारीकरणसमेत सुरु भयो । त्यसपछि सिमेन्ट उत्पादनमा निजी क्षेत्रको समेत प्रवेश हुन थाल्यो । यी सबै कारणले नेपालमा अझ सिमेन्ट कारखानाको स्थापनामा व्यापकता आयो । आन्तरिक उत्पादन र आयात दुवैमा बढोत्तरी आयो ।

आर्थिक वर्ष २०७२/७३ पछि भने नेपाल सिमेन्टमा आत्मनिर्भरतातर्फ तीव्र गतिमा अघि बढेको पाइन्छ । भूकम्पपछिको पुनर्निर्माणलाई लक्षित गर्दै नेपालमा सिमेन्ट उद्योगहरू खुल्ने क्रम उक्त आर्थिक वर्षपछि ह्वात्तै बढ्यो । पिपिसी, ओपिसी ३३ ग्रेड, पिएससीलगायत सिमेन्टमा नेपाल आत्मनिर्भर भए पनि ओपिसी ४३ र ५३ ग्रेडको सिमेन्टमा नेपाल भारतमै भर पर्नुपर्ने अवस्था थियो । किनभने, त्यतिबेलासम्म नेपालमा ओपिसी ४३ र ५३ ग्रेड उत्पादनका लागि मापदण्ड नै बनेको थिए । सरकारले अनुमति नै दिएको थिएन । उक्त मापदण्ड नबनेसम्म नेपाल सिमेन्टमा पूर्णरूपमा आत्मनिर्भर हुन सक्ने अवस्था पनि थिएन । 

त्यही अभाव पूरा गर्न नेपालमा पहिलो पटक २०७७ वैशाख २९ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले ४३ र ५३ ग्रेडको उच्च गुणस्तरको ओपिसी (अर्डिनरी पोर्टल्याण्ड) सिमेन्ट उत्पादनको नेपाल गुणस्तर कार्यान्वयनमा ल्यायो । उक्त मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नाप तौल विभागले स्वीकृत गरी नेपाल गुणस्तर परिषद्ले अनुमोदन गरेपछि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याएको थियो ।

उक्त मापदण्डअनुसार अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट ४३ र ५३ ग्रेडका लागि ‘नेपाल गुणस्तर ५७२ः२०७६ रहने’ राजपत्रमा उल्लेख छ । 

हेर्नुहोस् राजपत्र 

यो गुणस्तरको सिमेन्ट उत्पादन गर्दा सिमेन्टमा आइआरको मापन २ प्रतिशत र म्याग्नेसियम अक्साइडको मापन ४ प्रतिशतभन्दा बढी हुनु नहुने व्यवस्था छ । 

उक्त मापदण्डअनुसार नेपाली सिमेन्ट उद्योगले ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न थालेपछि भने नेपालका विदेशी लगानीका केही ठूला पूर्वाधारमा परियोजनाबाहेक सबै परियोजना निर्माणमा पूर्णरूपमा स्वदेशी सिमेन्टकै प्रयोग हुन थालेको छ ।

त्यसअघि नेपालमा उक्त गुणस्तरको सिमेन्ट उत्पादन नुहुँदा कतिपय परियोजनामा विदेशी सिमेन्टको प्रयोग गरिएको थियो । उच्च गुणस्तरीय ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादनमा पनि नेपाल आत्मनिर्भर भएपछि भने अहिले निर्याततर्फ उद्योगहरू अग्रसर भएका हुन् ।

हाल नेपालमा एक सयभन्दा बढी सिमेन्ट उद्योगहरू दर्ता भएका छन् । ६५ वटाभन्दा बढी सञ्चालनमा छन् । यी उद्योगहरूले गरेको उत्पादन मध्ये गत वर्ष करिब ७७ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ । त्यस्तै, चालू आर्थिक वर्षको २ महिनामै करिब २५ करोडको सिमेन्ट क्लिंकर र १६ करोडको सिमेन्ट भारत निर्यात भइसकेको छ ।

के हो पिपिसी र ओपीसी ?
अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) ६० देखि ७० प्रतिशतसम्म चुनढुंगा प्रयोग गरेर बनाइन्छ । ढुंगाबाट बन्ने सिलिकन सामग्री १७ देखि २५ प्रतिशतसम्म र बाँकी क्लिङ्कर मिसाइन्छ । त्यस्तै, पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पिपिसी) मा चाहिँ ७५ देखि ७७ प्रतिशतसम्म क्लिङ्कर प्रयोग गरिन्छ । यसमा १५ प्रतिशतसम्म कोइलाबाट निस्कने धुलो (फ्लाई यास) जस्ता पोजोलानिक मेटेरियल प्रयोग गरिन्छ । पिपिसी सिमेन्ट एउटै ग्रेडको बन्ने गर्छ । यसको ग्रेड ओपिसीको ३३ ग्रेडको सिमेन्टसँग मिल्छ ।

के हो ओपिसी ३३, ४३ र ५३ ग्रेड ?
सिमेन्टको दबाब बहन शक्ति (कम्प्रेसिभ स्ट्रेन्थ) कति बलियो छ भन्ने कुराले सिमेन्टको ग्रेड वा स्तर निर्धारण गरिन्छ । सिमेन्ट प्रयोग गरिएको २८ दिनपछि सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ कति छ भन्ने कुराको आधारमा ग्रेड निर्धारण गरिन्छ । ३३ ग्रेडको सिमेन्ट भन्नुको अर्थ उक्त सिमेन्ट प्रयोग गरेर बनाइएको बनाइएको क्युबले २८ दिनपछि ३३ न्युटन प्रतिएमएम स्क्वायर (३३एन÷एमएम२) दबाब बहन गर्ने शक्ति राख्छ भन्ने बुझाउँछ ।

त्यस्तै ४३ ग्रेडको सिमेन्ट प्रयोग भएको क्युबले २८ दिनमा ४३ न्यूटन प्रतिएमएम स्क्वायर र ५३ ग्रेडको सिमेन्टले २८ दिनपछि ५३ न्यूटन प्रतिएमएम स्क्वायरको दबाब बहन गर्न सक्छ । 

३३ ग्रेड र ४३ ग्रेडको सिमेन्टलाई पानीमा घोल्दा उत्पन्न हुने ताप (हिट अफ आइड्रेशन) न्यून स्तरमा रहन्छ भने ५३ ग्रेडको सिमेन्टले उत्पन्न गर्ने ताप बढी रहन्छ । ३३ ग्रेडका सिमेन्टको प्रयोग कम्पाउन्ड वाललगायत साधारण संरचना निर्माका लािग प्रयोग गरिन्छ । ४३ ग्रेडको सिमेन्टको प्रयोग एम३० सम्मको डिजाइनका आरसिसी ढलान, प्लास्टरलगायत फिनिसिङ कार्यमा प्रयोग गरिन्छ । त्यस्तै, ५३ ग्रेडको ओपिसी सिमेन्ट एम३० भन्दा माथिको मिक्स कंक्रिटको प्रयोग गर्नुपर्ने जुनसुकै आरसिसी ढलान कार्यमा ५३ ग्रेडकै सिमेन्ट प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit