विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं विश्वविद्यालयको हाइड्रोजन प्रयोगशालामा एक साताअघि एउटा सफल परीक्षण भएको छ । नेपाली र युरोपेली प्राविधिकहरूको एउटा समूहले करिब दुई वर्षदेखि गरिरहेको अध्ययनको परीक्षण गरी प्रयोगशालाको चुल्होमा हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरियो ।  

अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले हाइड्रोजनलाई इन्धनका रूपमा प्रयोग गरेर चाउचाउ पकाउन सफल भए । यद्यपि त्यो परीक्षण प्रारम्भिक चरणमै रहेकोले अब र त्यसलाई व्यावसायिक रूपमा अघि बढाउन सकिने प्रमाणित भएको छ ।

काठमाडौं विश्वविद्यालयले खाना पकाउने इन्धनको रुपमा पाएको सफलतासँगै अब यातायातमा पनि प्रयोग गर्न अनुसन्धान केन्द्रित गर्दैछ । अब, पेट्रोलियम कारमा हाइड्रोजन प्रयोग गरेर परीक्षण गर्दै गर्ने भएको छ । काठमाडौं विश्वविद्यालयले ३ वर्षअघि ‘ग्रीन हाइड्रोजन ल्याब’ स्थापना गरी प्राध्यापक डा. विराजसिंह थापाको नेतृत्वमा हाइड्रोजनको परीक्षण गरिरहेको छ ।

यसको पनि केही समयमै खुसीको खबर प्राप्त गर्न सकिने आशा छ । कारबाट ठूलो बस र बढी इन्धन खपत हुने ट्रिपरमा यसको प्रयोग गरेर परीक्षण गर्दै छ । साधन र स्रोत पर्याप्त भए अनुसन्धानको परिणामले एकपछि अर्को खुसीको खबर दिँदै जाने अपेक्षा गर्न सकिन्छ ।

भारतमा हाइड्रोजनबाट चल्ने बसको सुरूवात यही साता भयोे । सुरुवाती चरणमा २ वटा बसमा सफल भएको छ । अब भारतले यही वर्षको अन्त्य अर्थात् अबको ३ महिनाभित्र यस्ता बस १५ वटा पुर्‍याउने लक्ष्य लिएको छ ।
छिमेकी भारतमा गरिएको प्रयोगअनुसार एउटा बसमा ३० केजीका ४ सिलिन्डर हाइड्रोजन राखेर ३५० किमि गुडाउन सकिन्छ । भारतले ६ महिनाअघि हाइड्रोजनबाट चल्ने ट्रक सार्वजनिक गर्‍यो । हाइड्रोजनबाट रेल चलाउन ‘पाइलट टेस्टिङ’ गरिरहेको छ । अमेरिका र युरोपेली मुलुकमा हाइड्रोजन इन्धनबाट साना दूरीका कार, जिप सञ्चालनमा छन् ।

जर्मनी र स्वीट्जरल्यान्डले हाइड्रोजनबाट लामो दूरी चल्ने रेल सञ्चालन गरिसकेको छ । जर्मनलगायतका देशले हाइड्रोजन ऊर्जाबाट सिमेन्ट र फलाम उद्योग सञ्चालन गरिरहेका छन् । विज्ञहरूका अनुसार विश्वमा हाइड्रोजन ऊर्जाबारे अनुसन्धान र लगानीमा तीव्रता छ ।

विश्वमा ऊर्जा उत्पादनका विभिन्न विकल्पबारे अध्ययन भइरहेका छन् । नेपालमा १५ वर्षअघिदेखि हाइ«ोजनको बहस सुरु भए पनि सरकारी प्राथमिकतामा नपर्दा जुन गतिमा प्रगति हुनु पर्ने हो हुन सकेको छैन । विश्वमा भन्ने हो भने हाइड्रोजन धेरै पुरानो विषय हो । यसमाथि २२१ वर्षअघि नै खोज अनुसन्धान भएको छ । तर, पेट्रोलियम पदार्थको सहज उत्पादन सुरु भएपछि अनुसन्धान ओझेलमा परेको हो । अब पेट्रोलियम भण्डारण सकिँदै गएकोले फेरि यसमाथिको अनुसन्धान निष्कर्षमा पुग्नै लागेको छ ।

ऊर्जाका लागि पेट्रोलियम, कोइला, दाउरा, सौर्य, वायु, जलस्रोत र आणविक प्रयोग गरिँदै आएको छ । पेट्रोलियम, कोइला, दाउराबाट कार्बनडाइ अक्साइड अर्थात् धुँवा उत्पन्न हुन्छ । यसले संसारभर गरेको वातावरण प्रदुषण अहिलेको चिन्ताको विषय बनेको छ । खानीबाट निकालिने पेट्रोलियम र कोइलाको भण्डारण सकिँदै गएकाले पनि विकल्पको रुपमा हाइड्रोजन नै हो ।

विश्वले सन् २०५० सम्ममा शून्य कार्बन नीति लिएको छ । यो नीतिलाई कार्यान्वयनका लागि ‘हरित हाइड्रोजन’ ऊर्जामा जानु उपयुक्त हुने विज्ञहरू बताउँछन् । विश्वका अधिकांश देशमा कोइला वा अन्य पेट्रोलियम पदार्थ प्रयोग गरी इनर्जी उत्पादन गरिन्छ र हाइड्रोजन निकालिन्छ । 

तर, नेपालमा पानीबाट बिजुली निकालेर त्यसबाट हाइड्रोजन उत्पादन गर्ने हुँदा हरित हाइड्रोजन उत्पादनमा नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरू बताउँछन् । नेपालमा उत्पादित हाइड्रोजनको ठूलो बजार भारत हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन् । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हाइड्रोजनमा सहकार्यका लागि इच्छा देखाएको सहभागीहरू बताउँछन् ।

कोइला र पेट्रोलियमबाट ऊर्जा उत्पादन गर्दा धुँवा फाल्छ । यो वातावरणका लागि हानिकारक छ । हाइड्रोजनबाट धुँवाको सट्टा पानीको बाफ फाल्छ । एक केजी हाइड्रोजन उत्पादन गर्न ५० युनिट विद्युत् र ९ केजी डियोनाइज्ड पानी (आयनहरू हटाइएको पानी) आवश्यक पर्ने छ । विश्वमा एक केजी हाइड्रोजन उत्पादन गर्न ५ डलर खर्च हुन्छ तर नेपालमा १ डलर मात्रै खर्च हुने अनुमान छ ।

नेपालमा जलविद्युत् विकास तिव्र गतिमा अघि बढेको छ । विद्युत् उत्पादन अनुसार उद्योगधन्दाको विकास हुन सकेको छैन । बाहिर निर्यातका लागि भरपर्दो प्रसारण लाइन बनेको छैन । तेस्रो मुलुक जहाँ विद्युत्को चरम अभाव छ तर त्यहाँ पूर्वाधार र दूरीको हिसाबले पनि हामीले विद्युत् दिन सक्दैनौं । जलविद्युत र शुद्ध पानीको सहज उपलब्धताका कारण पनि नेपालमा हरित हाइड्रोजन सस्तो पर्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।

हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । पानीबाट बिजुली निस्कन्छ । बिजुलीको सहयोगमा पानीलाई टुक्राएर हाइड्रोजन र अक्सिजनलाई अलग–अलग गर्न सकिन्छ । टुक्रिएपछि दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन तयार हुन्छ । दुवै महत्वपूर्ण छन् । अक्सिजन जीवन रक्षक हो । हाइड्रोजन ऊर्जा हो । 

हाइड्रोजनलाई ग्यास र तरल दुवै बनाएर सिलिण्डरमा भर्न सकिन्छ । यसलाई सिलिण्डरमा राखेर ढुवानी गरेर जहाँसुकै लैजान मिल्ने भएकाले ऊर्जाको रुपमा जहाँ विद्युत् अभाव छ त्यहाँ निर्यात गरेर डलर आम्दानी गर्न सकिने विज्ञहरूको भनाइ छ । यसलाई वर्षौंसम्म पनि स्टोर गरेर राख्न सकिन्छ । 

नेपाल सरकार, मेलावर्न इन्स्टिच्युट अफ टेक्नोलोजी अस्ट्रेलिया र ग्लोबल एनआरएनको संयुक्त पहलमा एक वर्षअघि हरित हाइड्रोजन ऊर्जा सम्मेलन भएको छ । यस सम्मेलनमा जलवायु परिवर्तनले हिमालयमा पारेको प्रभाव र जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनीकरणको लागि सरकारले गरेको प्रयास, बजारमा उपलब्ध प्रविधि र सरकारले तयार पारेको कार्यक्रम कार्यान्वयन तथा यसका लागि आवश्यक पछिल्ला प्रविधि हरित हाइड्रोजन सबभन्दा उपयुक्त प्रविधिबारे छलफल भएको थियो । 

मुलुकका लागि हरित हाइड्रोजन ऊर्जा आयोजना कार्यान्वयन गर्न आवश्यक नीति नियम र आर्थिक व्यवस्थापनको लागि विश्वव्यापी अभ्यासहरू तथा अनुभवहरू बारे स्वदेशी तथा विदेशी संघ संस्थाका प्रतिनिधि बिच छलफल भयो । नेपालमा यो विषय नयाँ भएकाले बहस अली बढी हुनु जरुरी छ ।

उपयोगको आधारमा हाइड्रोजन खैरो, नीलो र हरियो भनी नामकरण गरिएको छ । हाइड्रोजन एक किसिमको ग्यास हो । यो आणविक संरचनाको बारे रसायनशास्त्रका पिरियडिक टेबुलमा सबभन्दा अघि राखिन्छ । यसको आणविक भार एक मानिन्छ । वायुमण्डलमा स्वतन्त्र रूपमा हाइड्रोजन ग्यास पाइन्छ, तर यो ग्यास अन्य तत्वसित मिलेर यौगिक रूपमा रहन्छ ।

मिथेन, कोइला, इन्धन, प्राकृतिक ग्यासहरू लगायत पानीलाई विच्छेदन गरी हाइड्रोजन ग्यास प्राप्त गरिन्छ । वायुमण्डलमा कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गरी प्राप्त गरिने हाइड्रोजनलाई खैरो हाइड्रोजन भनिन्छ । मिथेनलगायत अन्य प्राकृतिक ग्यासलाई प्रशोधन गरी प्राप्त हरित हाइड्रोजनले न्यून मात्रामा उत्सर्जित कार्बनडाइअक्साइडलाई जमिनमुनि भण्डारण गरिन्छ । यस हाइड्रोजनलाई निलो हाइड्रोजन र कार्बनडाइअक्साइड उत्सर्जन नै नगरी प्राप्त गरिने हाइड्रोजनलाई हरित हाइड्रोजन भनिन्छ ।

पानीलाई विद्युतीय विच्छेदन प्रक्रियाद्वारा अक्सिजन र हाइड्रोजन ग्यास प्राप्त गर्ने विधि सन् १८०० मा बेलायतका वैज्ञानिकहरूले पत्ता लगाएका थिए । सन् १९६० तिर हाइड्रोजनको उपयोगबाट आर्थिक विकासमा समावेश गर्न सकिने स्पष्ट अवधारण तयार भएको थियो । 

हाइड्रोजनलाई आर्थिक विकास स्रोतका रूपमा उपयोग गर्ने कार्यक्रमहरू तयार भएका छन् । यही क्रममा हरित हाइड्रोजन र वायुमण्डलमा रहेको नाइट्रोजन रासायनिक प्रतिक्रियाद्वारा मिसाएर अमोनिया तयार हुन्छ । यही अमोनियालाई वायुमण्डल वा अन्य स्रोतबाट प्राप्त कार्बनडाइअक्साइडलाई रासायानिक प्रतिक्रियाद्वारा मिसायो भने कार्वमाइड नामको यौगिक बन्दछ, जसलाई बोलीचालीमा युरिया भनिन्छ । यही विधिद्वारा नर्वेले सन् १९२७ मा युरिया मल उत्पादन गरेको थियो । यही युरिया मललार्ई कृषि क्षेत्रमा अत्यधिक प्रयोग गरिन्छ । यसैगरी अक्सिजनलाई आवश्यकताअनुसार अस्पताललगायत अन्य औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । 

अहिले पनि युरिया मल अभावले हरेक वर्ष किसानहरू आन्दालित हुँदै आएका छन् । मल खरिदकै लागि अर्बौँ बाहिरिन्छ । पर्याप्त मात्रामा रहेको सिमेन्ट उद्योगबाट प्राप्त हुने कार्बनडाइ अक्साइड र हाइड्रोजन युरिया मलको कच्चा पदार्थ हुन सक्छन् ।

हरित हाइड्रोजन ऊर्जा उत्पादन गर्न आवश्यक पर्ने जलविद्युत् र ताजा पानी यसका आधारभूत पदार्थहरू हुन् नेपालमा विद्युत् विच्छेदन प्रक्रियाद्वारा हरित हाइड्रोजन ऊर्जा उत्पादन गर्न प्रशस्त पानी छ । विद्युत् उत्पादन हरेक वर्ष बढिरहेको छ । यि सबै कारणले हरित हाइड्रोजन ऊर्जा उत्पादनका लागि सहज वातावरण तयार भइरहेको छ । 

जलवायु परिवर्तनको उच्च प्रभाव नेपालका हिमाली क्षेत्रहरूमा तीव्र गतिमा देखिन थालेकाले हिउँ पग्लिने प्रक्रियालाई रोकेर जलविद्युत् आयोजनालाई संरक्षण गर्न आजदेखि नै पहल गर्नुपर्ने समय आएको छ । यही परिवेशलाई मध्यनजर गरी नेपाल सरकारले प्राथमिकता साथ आवश्यक नीति निर्माण गरी उपयुक्त कार्यक्रमहरू कार्यान्वयन गर्दै अघि वढ्ने प्रयास गरेका देखिन्छ ।

हरित हाइड्रोजन ऊर्जा उत्पादन गर्न सरकारका नीति नियमहरू, दक्ष प्राविधिक, आर्थिक पक्षहरूले महत्वपूर्ण भूमिका खेल्छन् । सरकारले गत वर्ष २० वर्षे हरित हाइड्रोजन ऊर्जा मार्गचित्र वा रणनीति तयार पारेको छ । यस नीतिले तीन चरणको योजनाहरू बनाएको छ । पहिलो चरण (२०२१–२०२५) भित्र उत्पादनका लागि आवश्यक भौतिक पूर्वाधार तयार गरी प्रवेश चरण भनिएको छ । यस मार्गचित्रले दोस्रो चरणमा (२०२५–२०३०) व्यापारीकरण गर्ने र तेस्रो चरण (२०३०–२०४०) मा विश्वसामु उपस्थिति हुने भनी चरणबद्ध गरेको छ ।

सरकारले मार्गचित्र बनाए पनि कानुनी मस्यौदा विभिन्न निकायमा अध्ययनकै क्रममा रहेका छन् । भारतको ग्रिनजो इनर्जी कम्पनीले नेपालको अपि पावर कम्पनीसित ५० मेगावाट क्षमताको हरित हाइड्रोजन उत्पादन गर्ने आयोजनाका लागि सन् २०२२ जुलाई १७ मा १० अर्ब नेपाली रुपैयाँबराबरको सम्झौता गरेको छ ।

यसको अतिरिक्त मेलबोर्न इस्टिच्युट अफ टेक्नोलोजी अस्ट्रेलियाका संस्थापक शेष घलेले सन् २०३० सम्म ५० मेगावाट हरित हाइड्रोजन उत्पादन गर्ने लक्षसहित कार्यक्रम अघि बढाएका छन् । यी प्रयासहरूले नेपाल पनि हरित हाइड्रोजन उत्पादनको चरणमा प्रवेश गरेको अनुभूति हुन्छ । तर यी सबै प्रयास सरकारी नीतिले कानुनी रूप नपाएकाले व्यवसायीले कार्यान्वयन गर्न पाएका छैनन् ।

हरित हाइड्रोजन ऊर्जाका लागि आधारभूत पक्षहरू उत्पादन, भण्डारण, वितरण र बजारीकरण ज्यादै महत्वपूर्ण हुन्छन् । हरित हाइड्रोजन ऊर्जा उत्पादनका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले स्वदेशी पुँजी सानो अर्थात् अपुग हुन सक्छ । त्यसैले विदेशी लगानीकर्तालाई उपयुक्त वातावरण सरकारले तयार पार्नुपर्छ । त्यसका लागि नीतिगत तथा कानुनी प्रावधानहरू सहज बनाउनुपर्छ । भौतिक संरचना तथा दक्ष प्राविधिकको जोहो, बजार व्यवस्थापनलगायत अन्य आवश्यक पूर्वाधार लगानी कम्पनी आफैंले गर्न सक्दछ ।
ऊर्जा धेरै खपत हुने घरायसी क्षेत्र, यातायात, उद्योग क्षेत्रमा हरित हाइड्रोजन ऊर्जा उपयोग गर्न सकिन्छ । औद्योगिक क्षेत्र खासगरी रासायनिक मल उद्योग, फलाम उद्योग तथा विद्युत् उत्पादनमा पनि पुनः प्रयोग गर्न सकिन्छ । यातायात क्षेत्रमा यसको उपयोग प्रमाणित भइसकेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा ३ खर्ब ३९ करोड ४५ लाख १४ हजार रुपैयाँ खर्चको इन्धन आयात भयो । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ३ खर्ब २२ अर्ब १० करोड इन्धन (खाना पकाउने ग्यास, डिजेल, पेट्रोल र हवाइ इन्धन) मा खर्च भयो । देशको व्यापार घाटाको ठूलो अंश इन्धन आयातमै पर्छ । 

स्वचालित मूल्य समायोजनअनुसार नेपाल आयल निगमले केही दिनअघि इन्धनको मूल्य बढाउँदा चर्को आलोचना भयो । हरेकको घरघरमा यसको प्रभाव पर्ने भए पनि चर्को आलोचना भयो । यही कारण सरकार नै ढल्ने अवस्था आउने भएपछि बाध्य भएर सरकारले मूल्यवृद्धि फिर्ता भयो । अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार घटबढ हुँदा यसमा हामीलाई असर गर्छ । अब यही बेला विकल्प नखोजे अवस्था झन् जटिल बन्ने दिन आउँछ ।

अब जसरी खाडीका मुलुकले तेल बेचेर आर्थिक रुपमा सबल बने अब हामी हाम्रो पानी र विद्युत्लाई उपयोग गरी हरित हाइड्रोजन विकास गरेर वार्षिक खर्बौँको इन्धन आयातलाई प्रतिस्थापन गरी विश्व बजारमा हाइड्रोजन बिक्री गर्न लाग्नु पर्छ । सरकारले अब लगानीकर्तालाई आकर्षित गर्ने किसिमको सहज वातावरण बनाउन ढिलाइ गर्न हुन्न । अनुसन्धानकर्ताका लागि चाहिने स्रोत साधन व्यवस्थापनमा कन्जुस्याइँ नगरौँ । यसैमा छ हाम्रो भविष्य ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३