विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज २०, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडलअन्तर्गत नेपालमा विद्युत् प्रसारण तथा ब्याट्री भण्डारण क्षमता विस्तारका लागि सहयोग गर्ने भएको छ । विद्युत् प्रसारण र ब्याट्री भण्डारण पिपिपीमा निजी क्षेत्रको लगानी सहज बनाउन एडिबीले नेपाल सरकारसँग दुईवटा पिपीपी कारोबार परामर्श सेवा (टिएएस) सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपालमा निजी क्षेत्रको लगानी आकर्षित गर्न यो बहुपक्षीय दातृ निकाय यस प्रकारको सम्झौतामा संलग्न भएको यो पहिलो पटक हो । उक्त सम्झौतामा नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक अर्नो कोस्वा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

'नेपालले आफ्ना नागरिकलाई विद्युत् पुर्‍याउने कार्यमा उल्लेख्य प्रगति गरेको छ, जहाँ बिजुलीको पहुँच २०१६ को ५८ प्रतिशतबाट बढेर २०२५ सम्ममा ९९ प्रतिशत पुगेको छ,' कोस्वाले भने, 'अबको चुनौती भनेको यो वृद्धिलाई भरपर्दो आन्तरिक आपूर्ति र दिगो निर्यात क्षमतामा रूपान्तरण गर्नु हो । यो हासिल गर्नका लागि प्रसारण र ब्याट्री भण्डारण पूर्वाधारको समयमै विस्तार आवश्यक छ, जसमा ठूलो मात्रामा पूँजी, प्रविधि र दक्षता परिचालन गर्न निजी क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ ।'

यी दुई सम्झौताहरू एडिबीका सदस्य राष्ट्रहरूमध्ये विद्युत् प्रसारण पिपिपी र अलग्गै (स्ट्यान्डअलोन) निर्माण गरिने उपयोगिता-स्तरको ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बिइएसएस) पिपिपीका लागि एडिबीको पहिलो टीएएस हुन् । सम्झौताअनुसार एडिबीले नेपाल विद्युत् प्राधिकरणलाई सम्भाव्यता अध्ययन, आयोजना सम्झौताको तयारी, खरिद, बोलपत्र (टेन्डरिङ) प्रक्रिया र क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ। यी आयोजनाहरूबाट २० करोड अमेरिकी डलरभन्दा बढी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ ।

'यस ट्रान्ज्याक्सन एडभाइजरी सर्भिस सम्झौतामार्फत एडिबीसँगको साझेदारीको हामी सराहना गर्छौँ । यसले रणनीतिक रूपमा महत्वपूर्ण प्रसारण लाइन आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणालीलाई अगाडि बढाउन, निजी क्षेत्रको लगानी आकर्षित गर्न र नेपालको ऊर्जा क्षेत्रको दीर्घकालीन वृद्धि तथा दिगोपनलाई सहयोग पुर्‍याउनेछ,' श्रेष्ठले भने ।

पहिलो सम्झौताले लगभग १३४ किलोमिटर लामो, ४०० केभी क्षमताको तिङ्ला–न्यू खिम्ती–ढल्केबर प्रसारण लाइनको डिजाइन, वित्तपोषण, निर्माण, सञ्चालन र मर्मतसम्भारमा सहयोग पुर्‍याउनेछ। यो आयोजनाले ग्रिडको भरपर्दोपनलाई सुदृढ गर्ने, नवीकरणीय ऊर्जाको अधिक एकीकरणलाई सहज बनाउने र क्षेत्रीय विद्युत् व्यापारलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

दोस्रो सम्झौताअन्तर्गत पिपिपी मोडलमा नेपाल विद्युत् प्राधिकरणका छानिएका सबस्टेसनहरूमा १०० देखि १५० मेगावाट आवर क्षमताको उपयोगिता-स्तरको, बहु-स्थानीय बीईएसएसको डिजाइन, वित्तपोषण, जडान र सञ्चालन गरिनेछ । यस बीईएसएसले पिक समयको ग्रिड अवरोध सम्बोधन गर्न, परिवर्तनशील नवीकरणीय ऊर्जाको एकीकरणलाई सहज बनाउन र प्रणालीको स्थिरता तथा भरपर्दोपन बढाउन ग्रिड व्यवस्थापन र सहायक सेवाहरू प्रदान गर्न मद्दत गर्नेछ ।

यी दुवै आयोजनाहरूले संयुक्त रूपमा विद्युत् प्रसारण र ब्याट्री भण्डारण क्षमता विस्तार गरी नेपालको ऊर्जा प्रणालीलाई सुदृढ बनाउनेछन् । यस लगानीले उत्पादन आयोजनाहरूबाट बिजुलीको भरपर्दो निकासी सुधार गर्नुका साथै प्रसारण र बीइएसएस क्षेत्रमा निजी पूँजी परिचालनको ढोका खोल्नेछ ।

एडिबी एसिया र प्रशान्त क्षेत्रमा दिगो, समावेशी र लचिलो वृद्धिलाई सहयोग गर्ने एक प्रमुख बहुपक्षीय विकास बैंक हो । आफ्ना सदस्यहरू र साझेदारहरूसँग मिलेर जटिल चुनौतीहरू समाधान गर्न कार्यरत एडिबीले जीवन रूपान्तरण गर्न, गुणस्तरीय पूर्वाधार निर्माण गर्न र हाम्रो ग्रहको संरक्षण गर्न अभिनव वित्तीय उपकरणहरू र रणनीतिक साझेदारीको प्रयोग गर्दछ । सन् १९६६ मा स्थापित एडिबीमा ६९ सदस्यहरू स्वामित्वमा छन्— जसमध्ये ५० यसै क्षेत्रका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३