काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको १३२ केभी प्रसारण कन्डक्टर (तार) स्तरोन्नति आयोजनाले स्युचाटार सबस्टेसनदेखि मातातीर्थ सबस्टेसनसम्मको पुरानो तार फेरेर स्तरोन्नति गर्ने भएको छ । यसका लागि वैशाख २३, २५ र २७ गते विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बिहान १० देखि बेलुकी ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहने आयोजनाले सूचनामार्फत जानकारी दिएको छ ।
सूचना अनुसार विशेषगरी हसनटार, खड्का गाउँ र थानकोट फिडर अन्तर्गतका क्षेत्रहरूमा प्रत्यक्ष रूपमा विद्युत् अवरुद्ध हुने छ । हसनटार फिडर अन्तर्गत पाटोचोक, अमरज्योति, पुरानो हेल्थ पोस्ट, कृष्ण मन्दिर, गौतमगाउँ, कंकाली, रामकोट, दहचोक, भिमढुङ्गा र छत्रे देउराली लगायतका स्थानमा विद्युत् काटिने छ ।
त्यसैगरी, खड्का गाउँ फिडर अन्तर्गतका शालिकचोक, एलआरआई, न्यू डायमण्ड, पिपलबोट, थानेटार र पञ्चकन्या स्कुल क्षेत्र तथा थानकोट फिडर अन्तर्गतका पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, ढुङ्गेधारा, बानियाँ गाउँ र सृजना चोक लगायतका क्षेत्रमा उक्त मिति तथा समयमा विद्युत् अवरुद्ध हुने छ ।
प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् आपूर्तिलाई थप प्रभावकारी बनाउन स्तरोन्नति कार्य गर्न लागिएको आयोजनाले जनाएको छ ।