विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज १९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
रिपाेर्ट

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय पानीले भरिएपछि दोलखाको लामाबगर क्षेत्रको परम्परागत खोला किनारको बाटो डुबानमा पर्‍यो । खोला किनारका बाटो डुबानमा परेपछि त्यस क्षेत्रमा स्थानीयले अत्यन्तै कठिन भीरको बाटाबाट आवजजावत गर्नुपर्ने अवस्था सिर्जना भयो । भीरको बाटोको विकल्पका रूपमा सडकसमेत हुने गरी उक्त क्षेत्रमा आवतजावतका लागि सुरुङमार्ग बनाउनुपर्ने माग स्थानीय स्तरबाटै उठ्न थाल्यो । झण्डै १० वर्ष अघिदेखि नै यस्तो माग हुन थालेको थियो । यही मागलाई केही राजनीतिक दल तथा नेताले स्थानीयस्तरमा चुनावी नारासमेत बनाए । सरकारी टोलीले उक्त सुरुङमार्गबारे अध्ययन गर्याे तर त्यो अध्ययनलाई कागजमै सीमित गरियो । यी यस्तै पृष्ठभूमिका बीच अहिले दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा ११ सय मिटर लामो सुरुङमार्ग तयार भएको छ ।

अहिले गाडी चढेर सुरुङमार्ग छिचोल्दै माथिल्लो तामाकोसी जलाशयको माथिल्लोपट्टी पुगेर पर्यटकहरू रमाइरहेका भेटिन्छन् । सुरुङमार्गले स्थानीय र अरुलाई पनि यस ठाउँमा आवतजावत गर्न सहज बनाएको छ । सुरुङमार्गभन्दा माथिल्लो क्षेत्रमा पनि अत्यन्तै कठिन भीर र खोला किनारमा केही वर्षदेखि सडक निर्माणको काम जारी छ । यहाँ सडक निर्माणका लागि सयौँ मजदुर र प्राविधिक दैनिक काममा व्यस्त छन् । बोकेर लैजान नसक्ने उपकरणहरू हेलिकप्टरमार्फत पुगेका छन् ।

केही महिनामा सडक ट्रयाक दोलखाको अत्यन्तै दुर्गम गाउँ लप्चीसम्म पुग्ने छ । अहिलेसम्मको अत्यन्तै कठिन भूगोलबाट विद्युत् लाइन तानेर दुर्गम गाउँमा पनि बिजुली बत्ती बल्दै छ । यो ठाउँमा यति चाँडै सडक तथा विद्युत् आउला र एक हप्ता लाग्ने काठमाडौँको यात्रा एक दिनमै पूरा गर्न सकिएला भनेर यहाँका स्थानीयले सायदै सोचेका थिए । स्थानीयले कल्पनासम्म पनि नगरेको उपलब्धि यथार्थमा प्राप्त गरेका छन् ।

यही सडक तिब्बत सीमा नजिक पुग्ने हुँदा तिब्बत र नेपालबीचको परम्परागत व्यापारिक नाका खोल्न सहज हुने विश्वास गरिएको छ । प्राकृतिक रूपमा पनि हाल सञ्चालनमा रहेका तातोपानी र रसुवागढीभन्दा सुरक्षित मानिन्छ । किनकि तातोपानी नाका र रसुवा जाने सडक हरेक वर्ष पहिरोले भत्काउने गरेको छ । भारतीय सिमाना भिठ्ठामोडसम्म जोड्ने त्रिदेशीय मार्ग पनि सबैभन्दा छोटो करिब २५० किलोमिटर मात्रै रहेको छ ।

हुन त लामाबगरसम्म सडक पुर्‍याउने काम पनि चानचुने थिएन । सिंगटीदेखि लामाबगरसम्मको २८ किलोमिटर सडक कठिन भीर छिचोल्दै २०६६ सालमा पुगेको हो । यहाँबाट ३० किलोमिटर दूरी मध्ये २० किलोमिटर क्षेत्र जुन असाध्यै कठिन भूगोलमा काम जारी छ ।

यसरी बने यी सडक

सिंगटीदेखि उत्तरी क्षेत्र लामाबगरसम्म कठिन भूगोलमा सडक, पुल बनेका छन्, यसमा अहिलेसम्म राज्यको लगानी छैनभन्दा पनि हुन्छ । लामाबगरसम्म ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणका लागि सडक बन्यो । त्यही सडक नै अहिले दोलखाको उत्तरी क्षेत्रलाई कायापलट गर्ने समृद्धि रेखा बनेको छ । त्यसभन्दा माथि जलविद्युत् आयोजना निर्माणकै लागि निजी क्षेत्रका प्रवद्र्धकहरूले सुरुङमार्ग, सडक र पुल बनाइरहेका छन् ।

लामाबगरदेखि थाम्चेम्बुसम्म २० किलोमिटर सडक मध्ये कठिन भूगोलमा पर्ने ३ किलोमिटरबाहेक सडक खुलिसकेको छ । हिमालपारीको गाउँको रूपमा चिनिने लुम्नाङमा ट्रयाक्टर चल्न थालिसक्यो । थाम्चेम्बुदेखि लप्चीसम्म र जुम खोलातिर पनि सडक निर्माणको तयारी सुरु भएको छ ।

भोर्लेदेखि कोप्लाङसम्म ३० किलोमिटर सडक बनेपछि चंखु, मार्बू र खारेको पूर्वी भेगका बासिन्दालाई आवागमनमा सहज भएको छ । यो सडक पनि खानी खोला जलविद्युत् आयोजनाले निर्माण गरेको हो । उक्त सडक निर्माणपछि त्यहाँ खारे, खानी खोला र गुरुम्फी खोलामा आधा दर्जन जलविद्युत् आयोजना निर्माण भएका छन् । ती आयोजनामा हजारौँले रोजगारी पाए । यसले अन्य ग्रामीण सडक विस्तारमा सहयोग पुग्यो ।

समृद्धिको प्रमाण आँखै अगाडि

जलविद्युत् नै समृद्धिको पहिलो खुड्किलो हो भन्ने प्रमाण प्रत्यक्ष रूपमा आम दोलखाबासीले देखिभोगिसकेको विषय हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नबनेको भए सिंगटीदेखि माथिल्लो भूगागमा सडक र गाडी पुग्ने कल्पना गर्न पनि गाह्रो पर्ने थियो ।
‘बाँदर लड्ने’ ठूल्ठूला चट्टानी भीर फोरेर लामाबगरसम्म माथिल्लो तामाकोसी आयोजनाले नै सडक पु¥यायो । दोलखादेखि सिंगटीसम्मको सडक खण्ड आयोजना आफैँले स्तरोन्नती गर्‍यो । अहिले कालोपत्रे भइसकेको छ । सिंगटीदेखि लामाबगरसम्मको सडक ग्राभेल भएको व्यवस्थित भएको छ ।

सडक व्यवस्थित भएसँगै सरकारी कर्मचारी समेत नियमित नबस्ने लामाबगर, गौरीशंकर, मार्बू जस्ता ठाउँमा विद्यालय भवनहरू व्यवस्थित भएका छन् । शिक्षक नियमति छन्, पठनपाठन नियमति छ । स्वास्थ्य चौकीमा कर्मचारी नियमित हुँदा स्थानीयलाई उपचारमा सहज भएको छ । पहिलेका अति दुर्गम लामाबगर जस्ता गाउँठाउँ अहिले उच्च ओहोदामा रहेकादेखि सर्वसाधारणसमेतको पर्यटनको उत्कृष्ट गन्तव्य बनेका छन् ।

ग्रामीण विद्युतीकरण, कृषिमा नयाँ प्रविधि, खानेपानी, सिपमूलक तालिम पाएका छन् । रोजगारीका लागि बाहिर जानुपर्ने ठाउँमा अहिले बाहिरबाट रोजगारीका लागि सयौँ युवा आउन थालेका छन् । स–साना बजार केन्द्रहरू खुलेका छन् । व्यापार व्यवसाय फस्टाउँदो छ । स्थानीय सबैले अहिले जलविद्युत्को मालिक बन्ने अवसर पाएका छन् । उल्टै विदेशी विशेषज्ञलाई रोजगारी दिएर भित्र्याएको छ ।

भीरका लहरामा झुण्डिँदै कठिन यात्रा गर्न बाध्य यहाँका स्थानीय कतिपयको साथमा अहिले अहिले गाडी र मोटरसाइकल छ । विकाससँगै प्रविधि समेत हस्तान्तरण हुँदै यहाँका युवाहरू सडक, सुरुङ, विद्युतीकरणका काम गर्न सक्ने सिपालु भएका छन् । यस्ता कामको ठेक्का लिनेसम्मको क्षमता बनाएका छन् ।

माथिल्लो तामाकोसी जस्ता ठूला आयोजनाकै कारण देशमा सिमेन्ट, डण्डी जस्ता ठूला उद्योगहरू खुलेका छन् । अहिले नेपाल सिमेन्ट र डण्डीमा जस्ता निर्माण सामग्रीमा आत्मनिर्भर भएर पनि विदेश निर्यात सुरु गरेका छन् । यसले गर्दा राष्ट्रिय व्यापार घाटा न्यूनीकरण गर्न सघाऊ पुगेको छ । देशको राजस्व पनि बढेको छ ।

यस्तो अवस्था निर्माणाधीन अवस्थामै भए पनि ठूला आयोजना पूरा भएपछि केहीले स्थायी रोजगारी पाउने छन् । आयोजनाको सेयर लिएकाहरूले नियमित लाभांश वर्षौंसम्म बसिबसी पाउने आशा गरिएको छ । हरेक दोलखाली र आम नेपालीलाई आयोजनाको मालिक बन्ने अवसर दिएको छ । एउटा खिम्तीबाट वार्षिक करोड रोयल्टी पाउँदै आएको जिल्लामा अरु करोडौँ रोयल्टी थपिने छ । जसले स्थानीय सरकारको स्थानीय विकासमा आम्दानीको भरपर्दो स्रोत हुने छ । रोयल्टीबाट आएको रकम यस्ता अन्य जनताको जीवनस्तर विकास र रोजगारी सिर्जनाका लागि लगानी गर्न पाउने छन् ।

ग्रामीण क्षेत्रसम्म सेयर लगानीको अवसर

सेयर बजारमा सूचीकरण हुने जलविद्युत् कम्पनीको सेयर संख्या बढ्दो क्रममा छ । १० वर्ष अघिसम्म धितोपत्र बजारमा ५ प्रतिशतभन्दा कम सेयर संख्या जलविद्युत् कम्पनीको थियो । अहिले त्यो बढेर ३० प्रतिशत पुग्न लागिसकेको छ । एक वर्षयताको तथ्याङ्क हेर्ने हो भने पनि नेप्सेमा सूचीकरण भएका नयाँ कम्पनीहरूमा ७० प्रतिशत जलविद्युत् कम्पनी नै छन् ।

आजभोलि सेयर बजार सम्बन्धी चेतना ग्रामीण तहसम्म पुगेको छ । जिल्ला–जिल्लाबाट सेयर किनबेच गर्ने ब्रोकर कम्पनीले कारोबार गरेका छन् । ग्रामीण तहसम्म सेयरधनी बढ्नु र कारोबार गर्नुको मुख्य कारण जलविद्युत् कम्पनीहरूकै सेयर हो । एक दशक यता जलविद्युत् आयोजना निर्माण हुने र धमाधम सेयर जारी गर्ने कम्पनीहरू थपिँदैछन् । यी सबै जलविद्युत् कम्पनीहरू नै हुन् ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रबन्ध पत्रमा २०६४ माघ १५ गते नै आयोजना प्रभावितलाई १० प्रतिशत सेयर दिने उल्लेख ग¥यो । त्यो बेलासम्म कानुनी रूपमा स्थानीयलाई सेयर दिनुपर्ने व्यवस्था थिएन । चिलिमे जलविद्युत् आयोजनाको सेयर रसुवाबासीलाई २०६५ मा बिक्री गरियो । धितोपत्र ऐन २०६३ लाई संशोधन गरेर २०७३ सालदेखि उद्योग प्रभावितलाई १० प्रतिशत सेयर दिने कानुनी व्यवस्था नै भयो । यसले नै उद्योग प्रभावितहरूलाई सेयर दिने कानुनी व्यवस्था भयो । यसले हरेक जलविद्युत् आयोजनाले स्थानीयलाई सेयर जारी गर्न थाले । यसले ग्रामीण तहसम्म सेयरको शिक्षा र लगानीकर्ता थपिँदै गए ।

देशको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएकाले माथिल्लो तामाकोसीसँग कामका सिलसिलामा भएका नजिरहरू कतिपय कानुनी रूपमै परिवर्तन भएका छन् । यसले धेरै जलविद्युत् आयोजनालाई सहज बनाएकै छ । ठूला आयोजनाको सेयर र सेयरधनी पनि धेरै भएकाले यसरी आइपीओको चहल पहल भयो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा १० प्रतिशत सेयर स्थानीयका लागि सुनिश्चित गरेपछि सेयरको चेतना ग्रामीण तहसम्म फैलियो । माथिल्लो तामाकोसीमा दोलखाबासीका लागि १ अर्ब ५ करोड सेयर आवश्यक भएकोमा त्यसको ५ गुणा बढी माग भयो । अहिले पनि कम सेयर पाएकोमा दोलखाबासीको गुनासो छ ।

दोलखामा निर्माण पूरा भएका र निर्माणाधीन १० वटा जलविद्युत् आयोजनाले स्थानीयका लागि सेयर जारी गरेका छन् । कतिपयले भने संस्थापक सेयरमै लगानीको अवसर दिएका छन् । अनौपचारिक तथ्याङ्क अनुसार दोलखाबासीले मात्र स्थानीय जलविद्युत् आयोजनामा ५ अर्ब रुपैयाँभन्दा बढी सेयर लगानी गरेका छन् । यसबाट २ लाख ७६ हजार दोलखाबासी सेयरधनी भएका छन् ।

पर्यटकीय गन्तव्य बढ्दै

एक दशकअघिसम्म लामाबगर पुग्नु धेरैका लागि सपना जस्तै थियो । त्यहाँ पुग्न पैदलमार्ग समेत सहज थिएन तर आजभोलि लामाबगर पुग्नेहरूको लर्को देखिन्छ । दोलखाको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा लामाबगर पर्न थालेको छ । स्कुल, कलेजको वनभोज होस् वा अन्य समूहको भ्रमण लामाबगर पुग्ने गर्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय नै लामाबगरको मुख्य पर्यटकीय आकर्षण हो । यससँगै आयोजनाका पूर्वाधारले पर्यटकलाई यहाँ खिचिरहेका छन् । 

सुरुङमार्गमा यात्रा अनुभव लिन पनि लामाबगरलाई रोज्न थालिएको छ । हात्तीजुङको झरना, भोर्ले, मौरे भीर, तातोपानी लगायतका आधा दर्जन झरनाले पनि धेरैको मन लोभ्याउँछ । जलविद्युत् र पूर्वाधार अध्ययन गर्ने विद्यार्थीको गन्तव्य पनि लामाबगर नै हुने गरेको छ । छेतछेतसम्मको सडकमार्ग राम्रो भएको र पदमार्ग समेत सुधार भएपछि रोल्वालिङ क्षेत्र पुग्ने आन्तरिक तथा विदेशी पर्यटकहरू बढेका छन् । 

बौद्धमार्गीहरूको गन्तव्यको रूपमा रहेको लप्चीमा ध्यान गर्न र घुम्न जानेहरू वर्षेनी बढ्दै छन् । लप्चीलाई ध्यान गर्नका महत्त्वपूर्ण गन्तव्यको रूपमा लिइन्छ । नेपाली चेली भृकुटीलाई तिब्बतीय राजकुमार स्रोङचङ गम्पोले बिहे गरेर लैजाँदा पनि यही बाटो हुँदै गएका थिए । सयौँ वर्ष पुरानो तिब्बत र नेपाल बीचको व्यापारिक तथा सामारिक मार्ग भएकाले अब यही मार्गबाट चिनियाँ पर्यटकहरू भित्र्याउन सकिने चिनियाँ क्षेत्रका जानकार सोभित उप्रेतीको भनाइ छ । 

पर्यटक आवागमन बढ्नु भनेको होटल व्यवसाय, कृषि तथा पशुजन्य उत्पादनको स्थानीयस्तरमै बजारीकरण गर्न, बाह्य मुद्रा आर्जन गर्न र रोजगारी सिर्जना गर्न सहज हुनु हो । पछिल्लो समय दुर्गम पर्यटकीय क्षेत्रमा चहलपहल बढ्नुमा जलविद्युत् क्षेत्रको महत्त्वपूर्ण भूमिका छ ।

यो रिपाेर्ट २०८० साल पुस १ गते प्रकाशित 'ऊर्जा खबर अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३