विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले नेपालमै पहिलो पटक हाइड्रोजन ग्यासबाट चल्ने कार र रिफ्युलिङ स्टेशनका लागि आवश्यक उपकरण भित्र्याएको छ । 

केयू आफैँले डिजाइन गरी चीनमा ‘प्रोटोटाइप’ बनाएर आफ्नै उपस्थितिमा दक्षिण कोरियामा एसेम्बल गरिएको हाइड्रोजन रिफ्युलिङ स्टेशनको उपकरण भित्र्याइएको केयूको हाइड्रोजन ल्याब प्रमुख डा‍‌‍. विराज सिंह थापाले बताए । साथै उक्त रिफ्युलिङ् स्टेशनबाट हाइड्रोजन ग्यास भरेर परीक्षण सञ्चालन गर्न हाइड्रोजन कार समेत भित्र्याएको उनको भनाइ छ । उक्त कार र उपकरण शनिबार दिउँसो कोरियाबाट नेपाल आइपुगेको थापाले जानकारी दिए ।  

केयू र नेपाल आयल निगम (एनओसी) ले संयुक्त रुपमा हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरेर नेपालको यातायात क्षेत्र कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा एक अध्ययन परियोजना सञ्चालन गरेको थियो । उक्त परियोजना अन्तर्गत नै हाइड्रोजन कार र त्यसमा हाइड्रोजन इन्धन भर्न आवश्यक रिफ्युलिङ् सेन्टरको उपकरण केयूको हाइड्रोजन ल्याबमा ल्याइपुर्‍याइएको प्रमुख थापाको भनाइ छ ।  

‘नेपालमा भएको बिजुली र नभएको पेट्रोलियमबीच कसरी तालमेल मिलाएर यातायात क्षेत्रलाई अघि बढाउन सकिन्छ भन्ने विषयमा हामीले परियोजना बनाएर अध्ययन गरेका थियौँ,’ ल्याब प्रमुख थापाले भने, ‘नेपाल आयाल निगमलाई पेट्रोलियम आयात र बिक्री गर्ने संस्थाबाट इन्धन उत्पादन र निर्यात गर्ने संस्था कसरी बनाउन सकिन्छ भन्ने पनि उक्त अध्ययनको पाटो थियो । त्यसैअन्तर्गत हामीले नेपालकै बिजुली प्रयोग गरी चलाउन सकिने हाइड्रोजन रिफ्युलिङ उपकरण र कार ल्याएका हौँ ।’

हाइड्रोजन कार भने पार्टपूर्जा ल्याएर नेपालमा केयू आफैँले एसेम्बल गर्ने विषयमा सोचिएको भए पनि एसेम्बल गर्नुभन्दा आयात धेरै गुणा सस्तो देखिएपछि कोरियाको सडकमा दौडिरहोको उच्च गुणस्तरको कार भित्र्याइएको उनले बताए । परीक्षणका लागि ल्याइएको कार भएकोले उक्त कारलाई भन्सार कर तिर्नु नपरेका कारण ३३ हजार अमेरिकी डलरको लागतमा कार नेपाल ल्याउन सफल भएको उनले बताए ।

‘यो एउटा मर्सिडिज स्तरकै सुविधायुक्त कार छ,’ उनले भने, ‘अब रिफ्युलिङ सेन्टरबाट कारमा हाइड्रोजन भर्ने, सुरक्षाका विषयहरु जाँच गर्ने र कार कुदाउने कार्यको शुभारम्भ उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको उपस्थितिमा गर्ने गरी तयारी गरिरहेका छौँ ।’

‘फुल ट्याङ्क’ हाइड्रोजनबाट १२ सय किमि चल्न सक्ने  
हाइड्रोजन कार पनि इलेक्ट्रिक कार नै हो । यसलाई 'फ्युल सेल इलेक्ट्रिकल भेइकल' (एफसी इभी) भनिन्छ । यो पनि इभी जसरी नै बिजुलीले कुद्ने गर्छ । यसमा जडित मोटरलाई बिजुलीले चलायमान गराउँछ तर कारमा उत्पन्न हुने बिजुली भने हाइड्रोजन ग्यासबाट उत्पन्न हुन्छ । केयूले ल्याएको उक्त कारमा ६ किलो हाइड्रोजन ग्यास अट्ने ट्याङ्कको व्यवस्था गरिएको छ । ट्याङ्कमा भरिएको हाइड्रोजनबाट विद्युत् उत्पन्न हुन्छ र विद्युत्‌ले कारलाई चलाउँछ । 

विद्युतीय गाडीमा ब्याट्रीलाई चार्ज गरेर ब्याट्रीबाट बिजुली प्रदान गरिन्छ । ब्याट्री भारी हुन्छ र यसको बिजुली स्टोरेज क्षमता पनि कम हुन्छ । हालसम्मका इभीहरू एक पटकको फुल चार्जबाट बढीमा ५ सय किलोमिटर कुद्न सक्ने क्षमताका छन् । तर, हाइड्रोजन कार १ किलो हाइड्रोजनबाट २ सय किलोमिटर कुद्न सक्छ । अर्थात् ६ किलो हाइड्रोजनबाट १२ सय किलोमिटरसम्म कुद्न सक्ने देखिएको प्रमुख थापाको भनाइ छ ।  

पेट्रोलियम कारभन्दा ३ देखि ५ गुणा सुरक्षित
सामान्यतया पेट्रोलभन्दा अधिक प्रज्वलनशील पदार्थको रूपमा हाइड्रोजनलाई लिने गरिन्छ । तर, अध्ययनहरूले भने पेट्रोलियम कारभन्दा हाइड्रोजन कार ३ देखि ५ गुणासम्म सुरक्षित हुने देखिएको हाइड्रोजन ल्याब प्रमुख थापाको भनाइ छ । 

‘हाइड्रोजनलाई बमकै रूपमा बुझ्ने गरिँदै आएको छ तर पेट्रोलियम कारभन्दा हाइड्रोजन कार सुरक्षित देखिएको छ,’ उनले भने, ‘कुनै दुर्घटनामा पर्दा पेट्रोलियम कारमा हुने पेट्रोल चुहिन्छ अनि त्यसमा आगो सल्किएर पूरै कार जल्न सक्छ तर हाइड्रोजन अत्यन्तै हलुका पदार्थ भएकोले आगो लाग्नुअघि नै यो उडेर आकाशतिर पुगिसक्छ, त्यसले क्षतिबाट बचाउने देखिएको छ ।’


 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit