काठमाडौँ । १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाले औपचारिक रुपमा उत्पादन गृहको निर्माण कार्यको शुरुवात गरेको छ । आयोजना प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले ताप्लेजुङस्थित तमोर नदीमा प्रस्तावित जलविद्युत्को संरचना निर्माणका लागि बुधबार सुरुङको ब्लाष्टिङ गर्दै कार्यको शुभारम्भ गरेको हो ।
फुङ्लिङमा आयोजित एक कार्यक्रममा सुरुङ ब्लाष्टिङ्मार्फत निमाण कार्य शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीपकुमार चौधरी, सञ्चालक समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
सुरुङको ब्लाष्टिङ सँगै झण्डै तीन दशक लामो प्रशासनिक, कानुनी र नीतिगत संघर्षपछि तमोर–मेवा जलविद्युत् आयोजनाले निर्माण कार्यमा गति लिने देखिएको छ । कम्पनीका संस्थापक सञ्चालक भानेन्द्र कुमार लिम्बूले सुरुङ ब्लाष्टिङसँगै तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको जनाएका छन् । लिम्बूले हालसम्म आयोजनाका लागि आवश्यक क्याम्प निमार्ण, जग्गा खरिद प्रक्रिया तथा सडक सञ्जाल निमार्णको कामसहित करिब ३० प्रतिशत काम सम्पन्न भएको बताए ।
कम्पनीका अनुसार आयोजनाका लागि वित्तीय व्यवस्थापनमा सिद्धार्थ बैंक लिमिटेडले प्रमुख बैंकको भूमिका निर्वाह गरिरहेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड सह–प्रमुख बैंकका रूपमा सहभागी रहेकोे छ । आयोजना निर्माणका लागि २३ अर्ब ४ करोड रुपैयाँ भन्दा बढी खर्च हुने बताइएको छ । यसमध्ये कुल १७ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी र बाँकी ५ अर्ब ७६ करोड रुपैयाँ शेयर पूँजीमार्फत व्यवस्थापन गरिनेछ ।
आयोजनाको पहुँचमार्ग, बाँध क्षेत्र, सुरुङ प्रवेश क्षेत्र तथा पावरहाउससम्मको सडक पूर्वाधार निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यस्तै, सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ व्यवस्थापन गर्न नेपाली सेनाको आवास तथा भण्डारण बंकर निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् मैवाखोला–ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यसका लागि आवश्यक प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रक्रिया अघि बढाइएको छ भने उत्पादनस्थलदेखि प्रसारण लाइनसम्म भूमिगत केबलमार्फत विद्युत् पु¥याउने विकल्पबारे पनि प्राविधिक अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।
ताप्लेजुङका फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकामा निर्माण भइरहेको आयोजनाबाट वार्षिक करिब ७११ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग २०८० असोज २४ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेकाले २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने कार्यतालिका तय गरिएको छ ।
आयोजनाका लागि तत्कालीन जलस्रोत मन्त्रालयले सन् १९९९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । २०६२ चैतमा स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले १८ महिनाका लागि सर्वेक्षण अनुमतिपत्र पायो । द्धन्दकालको तत्कालीन अवस्थामा समयमा अध्ययन सम्पन्न गर्न नसकेको कारण देखाउँदै २०६४ मा मन्त्रालयले आयोजनाको अनुमतिपत्र खारेज गर्ने निर्णय ग¥यो । कम्पनीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो । लामो संघर्षपछि कम्पनीले अन्ततः उत्पादन अनुमतिपत्र प्राप्त ग¥यो ।
स्पार्क हाइड्रोइलेक्ट्रिकले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरको थियो । निर्माण शुरु गर्ने योजना अनुरुप २०८१ साल जेठ १० गते आयोजना शिलान्यास कार्य सम्पन्न गरिएको थियो ।