काठमाडौँ । ताप्लेजुङमा १३.५ मेगावाटको ‘सुपर काबेली खोला-ए’ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको स्नो रिभर्स लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को आम्दानीबाट उक्त व्यवस्था गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५ सय कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत (४९ लाख ३४ हजार २१० रुपैयाँ) नगद लाभांश वितरण गर्ने जानकारी दिएको छ ।
यसअघि कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतका दरले १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरी सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लगानीकर्ताको रूपमा जोडेको थियो । कम्पनीका अनुसार बोनस सेयर वितरणपछि कुल चुक्ता पूँजी १ अर्ब ३ करोड १२ लाख ५० हजार रुपैयाँ पुग्ने जनाइएको छ ।
ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिका-८, याम्फुदिनस्थित काबेली खोलामा निर्माण सम्पन्न भएको आयोजनाले २०८१ साल पौष ५ गतेदेखि व्यावसायिकरूपमा विद्युत् उत्पादन थालेको थियो । समीक्षा अवधिमा कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद बिक्री सम्झौता (पिपिए) अनुसार वार्षिक कुल ८ करोड ३ लाख युनिटमध्ये ७ करोड ८ लाख ४३० युनिट विद्युत उत्पादन गरी वार्षिक क्षमताको ८८.२० प्रतिशत उपलब्धि हासिल गरेको वार्षिक प्रतिबेदनमा उल्लेख छ ।
यसले कम्पनीको वित्तीय स्थिति सुदृढ बनाउँदै नियमित आम्दानीको बाटो खोलेको अध्यक्ष मोहनविक्रम कार्कीले बताए । 'सुख्खायाममा पिपिए बमोजिम कन्ट्राक्ट इनर्जी पूर्ण रूपमा आपूर्ति गर्न कम्पनीले काबेलीको सहायक आम्जी खोलाको पानी प्रयोग गर्ने गरी आवश्यक भौतिक संरचनाको निर्माण कार्य पूरा गरेको छ,' उनले भने, 'यसबाट चालु वर्षदेखि नै तोकिएको विद्युत उत्पादन गरी शतप्रतिशत आम्दानी हासिल गर्ने लक्ष्य छ ।
कम्पनीले दीर्घकालीन वित्तीय स्थिति सुदृढ बनाउने र सेयरधनीलाई उच्च प्रतिफल दिने उद्देश्यले जलविद्युत क्षेत्रमा लगानी विस्तारसमेत गरिरहेको छ । जसअन्तर्गत सिन्धुपाल्चोक बाह्रबीसेमा ४६ मेगावाटको भोटेकोसी-५ (भौतिक प्रगति ४० प्रतिशत) को प्रवर्द्धक कालिका इनर्जी लिमिटेडमा ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र म्याग्दीमा ६५ मेगावाटको म्याग्दी खोलामा (भौतिक प्रगति ३५ प्रतिशत) को प्रवर्द्धक हाइड्रो भिलेज लिमिटेडमा ९ करोड ३७ लाख ५० हजार रुपैयाँ लगानी गरिसकेको छ ।
प्राकृतिक विपत्ति र हालै भोटेकोसीमा आएको बाढी-पहिरोले समग्र ऊर्जा क्षेत्रमा पुर्याएको क्षतिप्रति सरकारसँग ऐकेबद्धता जनाउँदै बाढी पहिरो पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको जनाएको छ ।