काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित छोम्रोङ खोलाको पानी सदुपयोग गर्ने गरी ४.८९४ मेगावाटकाे छोम्रोङ खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नदी प्रवाहमा आधारित (आरओआर) आयोजना निर्माणको अनुमति माग्दै प्रवर्द्धक घान्द्रुक हाइड्रोपावर प्रालिले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
विभागका अनुसार आयोजनाका सबै संरचनाहरू छोम्रोङ खोलाको बायाँ किनारमा निर्माणका लागि प्रस्ताव गरिएको छ । आयोजनाको खोलाको पानी फर्काउन ८ मिटर लामो ३ मिटर अग्लो बाँध निर्माण गरिने छ । बाँधसँगै खोलाको बायाँ किनारमा १.५ मिटर चौडाइको १.२ मिटर अग्लो २ वटा साइड इन्टेक निर्माण गरिने छ । त्यहाँबाट आउने पानीलाई ७ मिटर अग्लो ग्राभेल ट्र्याप हुँदै ३ मिटर चौडाइ र २.४९३ मिटर उचाइ भएको ५६ मिटर लामो सेटलिङ बेसिनमा लगिने छ । त्यसपछि ६ मिटर लम्बाइ, ६.४ मिटर चौडाइ र ३.६१ मिटर अग्लो हेडपोन्ड हुँदै ५४५ मिटर लामो हेडरेस पाइप हुँदै १८.४५ मिटर अग्लो सर्ज ट्याङ्कसम्म पुर्याइने छ । त्यहाँबाट पेनस्टक पाइपमार्फत उक्त पानीलाई २५.४ मिटर लम्बाइको ११.८५ मिटर चौडाइ र १० मिटर उचाइ भएको विद्युत्गृहमा पुर्याएर बिजुली उत्पादन गरिने छ ।
विद्युत्गृहमा रहने २ वटा युनिटमार्फत विद्युत् उत्पादन गरिने छ । त्यहाँबाट निस्केको पानीलाई २५ मिटर लामो टेलरेस पाइपबाट खोलामा छोडिने छ । आयोजनाबाट वार्षिक २८.५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने बिजुलीलाई १५ किलोमिटर लामो प्रसारण लाइनमार्फत माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने योजना छ ।
आयोजनाको निर्माण २०८४ साल मंसिर २२ गतेसम्ममा पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।