वीर नेपाली ...
हटी होइन, डटी लड्ने
परिचय यत्ति काफी थियो,
अब त समयले
कोल्टे फेरिसक्यो;
सायद फेरिँदैछ
परिचय पनि !
नियतिले हर-नेपालीको
मुटु हल्लाएको छ -
पिल्सिएको छ, पोलिएको छ
डढेको छ अँगारसरी
मौन-पीडा फैलिएको छ
समाजका गह्राभरि विषसरी !
आगोको ज्वाला
शरीरमा मात्र सल्बलाएन
गल्ली र चोक
मन-मस्तिष्कमा दन्किरह्यो !
भयानक महामारीझैँ,
बस्ती-बस्ती गिँजोल्दै !
टाढा-टाढा कसैको
चित्कार सुनिँदैछ
विनाशकारी विस्फोटझैँ,
पृथ्वीको अन्त्य नजिकिएझैँ
प्रलयको सङ्केतझैँ
बिनाचिता, बिनाब्रह्मनाल
बिनामलामी, बिनासलामी ।
आर्यघाट जानसमेत नभ्याउँदै
मध्यसडकमै जल्दैछ
गङ्गाजलले होइन,
पेट्रोलले नुहाउँदैछ, ऊ ।
सायद, यही हो – नियति !
बूढो रुखको ठुटोजस्तै
दन्दनी बल्दैछ
सबैलाई जिस्क्याउँदै
चिन्ता-पीर बिसाएर
झिल्का फाल्दैछ
मुक्तिको अन्तिम सास फेर्दै
स्वतन्त्रताको विगूल फुक्दैछ !
गरिबी, अभाव र निराशाको
निशाना बनेर
तिरस्कार र बहिष्कारका
चोटहरू सहेर
बाँच्ने आधार खोज्दा–खोज्दै,
हतियार सकिएपछि
गोला-बारुद रित्तिएपछि
युद्ध लड्ने आँटको
दियो निभाएर
भुक्लुक्क ढल्छ, ऊ !
अलि पर,
उसैका लागि होला
मानवता र वाक्-स्वतन्त्रताका
नारा गुन्जिँदै थिए - जिन्दावाद !
भुसुनाझैँ लाग्ने
नामबिनाको 'नेपाली'
थरबिनाको 'नेपाली'
यही होला– विडम्बना !
हो, उसले अन्ततः
नाम पाएछ
परिचय पाएछ !
न्याय पाएछ, जिउमा
आगो सल्किएपछि
अझै केही पर
उसको अमरताको
नारा घन्किएको सुनिँदैछ
रातको चौथो प्रहरमा
पशुपतिमा निरन्तर
बजिरहने घन्टाजस्तै ।
तर, देखिरहेछु
घृणा र निराशा
विश्वासको विघटन
सर्वत्र नकारात्मक राज
समाजमा, सम्बन्धमा
व्यवहार र राजनीतिमा
अन्तत: मानव-चेतनामा
बाक्लिँदै गएको अँध्यारो !
ज्वालामुखी फुट्दै
विश्वासका हिमाल ढल्दै
सह-अस्तित्वका पहाड भत्किँदै
सिङ्गो देशलाई प्रश्न छोडेर
अंश नमागी
कसैबाट दागबत्ती नपर्खी
कुनै अपेक्षा नराखी
सधैँका लागि ढल्यो
ऊ !
अब फर्किन्न, कराउन्न
अतीत भइसक्यो
सुन्नुपर्ने छैन
भुईंमान्छेको एउटा
विदीर्ण चित्कार !
यहाँ नियतिले पुनः
टाउको नउठाओस्
मृत्युपछिका करुणा
दयाका भिक्षापत्र
निरर्थक प्रशंसा
र, खोक्रा संवेदनाले
जुलुस ननिकालुन् ।
तथापि, हामी संस्कारबाट
अभिप्रेरित छौँ,
मृत्युपछि जय मनाउन
कर्कशा ध्वनि मिसाएर
कालचक्रको अन्तिम राग
अलापिरहन !
स्रष्टा, नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन् ।