काठमाडौँ । कोरियन लगानीमा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका ३५० जना कर्मचारी तथा कामदारको सकुसल उद्धार गरिएको छ । प्रतिकूल मौसम, लगातारको वर्षा र नदीको तीव्र बहावका बिच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण भूबनोटको सामना गर्दै नेपाली सेनाको टोलीले सफलतापूर्वक उद्धार गरेको हो ।
अझै सुरुङभित्र फसेका अन्य १०० जनाभन्दा बढी मानिसलाई सुरक्षित बाहिर निकाल्न उद्धार टोली पूर्ण क्षमताका साथ जुटिरहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्रको अति जटिल र संवेदनशील अवस्था मध्यनजर गर्दै उद्धार कार्य तीव्र बनाउन नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को विशेष सैन्य टोली अहोरात्र खटिएको छ ।
सुरुङको जोखिमपूर्ण बाटो हुँदै टोलीले भित्र फसेका नागरिकलाई खाद्यान्न, प्राथमिक उपचार र सुरक्षित निकासीको प्रबन्धसमेत मिलाइरहेको छ । यसैबिच, बाढी र पहिरोको उच्च जोखिममा परेका रसुवाका अन्य विकट तथा दुर्गम क्षेत्रहरूमा पनि सेनाले आफ्नो उद्धार दायरालाई व्यापक बनाएको छ ।
सी क्यू आर टी धुन्चे ब्यारेक (रसुवा) बाट सह सेनानी अभिषेक शाहीको नेतृत्वमा खटिएको १/५ को टोलीले उद्धार कार्यलाई निरन्तरता दिँदै स्याफ्रुबेँसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकु बेँसीका विभिन्न जोखिमयुक्त स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
आफ्नो ज्यानको परवाह नगरी उच्च साहस, तदारुकता र व्यावसायिक समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले आज रसुवाका यी विभिन्न बाढी प्रभावित क्षेत्रबाट कूल ८८३ जना स्थानीयवासी तथा आयोजनाका कामदारको जीवितै उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको छ । प्रभावित क्षेत्रमा बाँकी रहेका अन्य मानिसको खोजी तथा उद्धारका लागि थप टोलीहरू परिचालन गरिएका छन् ।