विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केही दिनदेखि भएकाे निरन्तर वर्षाका कारण कालीगण्डकी र मर्स्याङ्दी नदीमा आएको बाढीले ठूला जलविद्युतगृहको विद्युत उत्पादन प्रभावित भएको छ । नदीमा पानीको सतह बढेर उच्च विन्दुमा पुगेपछि विद्युत उत्पादनकाे तालिका प्रभावित भएकाे हाे ।

विद्युतगृहमा नदीको बाढी पस्ने खतरा बढेपछि ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रकोे उत्पादन आज (मंगलबार) बिहान ३ बजेदेखि बन्द गरिएको छ । गएराति एक्कासी नदीमा पानीको सहत बढेपछि नेपाल विद्युत प्राधिकरणले मध्यमर्स्याङ्दीको उत्पादन बन्द गरेको हो ।

बाढी पस्ने खतरा बढेपछि रातिदेखि नै उत्पादन बन्द गरिएको केन्द्र प्रमुख शिवकुमार साहले बताए । ‘राति २.५० बजेसम्म त विद्युतगृह चलाएका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘नदीमा पानीको सतह बढ्ने क्रम नरोकिएपछि विद्युतगृह नै बन्द गर्नुपर्ने अवस्था आयो ।’ 

उनले राति २.५० बजे पहिलो युनिट र ३.०९ बजे दोस्रो युनिटको उत्पादन बन्द गर्नुपरेको बताए । अहिले पनि नदीमा पानीको सहत घटेको छैन । बिहान ९ बजेसम्म ९ सय मिटर क्युब प्रतिसेकेन्ड पानीको बहाब रहेकामा दिउँदो ३ बजे बढेर ११४१ मिटरक्यूब प्रतिसेकेन्डसम्म पुगेको साहले बताए ।

नदीको पानीमा लेदो र काठका टुक्रा मिसिएकाले विद्युतगृहमा पठाउन सकिएको छैन । अहिले जलविद्युत केन्द्रको बाँधमा भएको ‘स्पिल वे’ गेट (११.७ मिटर लम्बाइका ३ वटा गेट) ) खुल्ला गरी सबै पानी नदीमै छोडिएको छ । नदीको बहाब घटेर सफा पानी नआएसम्म विद्युतगृह चलाउन सक्ने अवस्था नरेको साहले जानकारी दिए । 

यस्तै, १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्र पनि बाढीको चपेटामा परेको छ । रातिदेखिको बाढीका कारण विद्युतगृहको एउटा युनिटको उत्पादन बन्द छ । राति ३.४० मा विद्युतगृहका ३ वटै मेसिन बन्द गरिए पनि अहिले २ वटा सञ्चालन गरिएको केन्द्र प्रमुख पशुपतिप्रसाद गौतमले बताए । कालीगण्डकी नदीमा पानीको बहाब बढेर ३३०० मिटर क्युबप्रतिसेकेन्ड पुगेपछि राति ३.४० बजे विद्युतगृह बन्द गरिएको थियो ।

‘नदीमा पानीको सहत बढेर बाढी पस्ने अवस्था आएपछि रातिदेखि बिहानसम्म सबै युनिटको उत्पादन बन्द गरेका थियौं,’ उनले भने, ‘रिजर्भवायर (जलाशय) र डिसेन्डिङ बेसिन फ्लस गरेर फेरि २ वटा युनिटको उत्पादन सुचारु गराउन सफल भयौं । एउटा युनिटको उत्पादन अहिले पनि बन्द छ ।’

राति ३३०० मिटरक्यूब प्रतिसेकेन्ड पुगेको पानीको बहाब अहिले ३ हजार मिटरक्यूब प्रतिसेकेन्डमा झरेको गौतमले जानकारी दिए । कालीगण्डकी सञ्चालन गर्न कूल १४१ (एउटा युनिटका लागि ४७ मिटरक्यूब प्रतिसेकेन्ड पानी आवश्यक पर्छ) मिटरक्यूब प्रतिसेकेन्ड पानी आवश्यक पर्नेमा नदीमा पानीको सतह बढेर आवश्यकता भन्दा २१ गुणा बढी पुगेको छ ।

६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन भने सुचारु छ । नदीमा पानीको बहाब १६ सय मिटर क्युब प्रतिसेकेन्ड रहे पनि विद्युतगृहमा बाढी पस्ने खतरा नरहेकाले उत्पादन सुचारु राखिएको केन्द्र प्रमुख बद्री फुयाँलले बताए । 

यो जलविद्युत केन्द्रका ३ मध्ये २ वटा युनिट चलिरहेका छन् । एउटा युनिट मर्मतका लागि बन्द छ । ‘रातिदेखि ठूलो बाढी आए पनि अहिलेसम्म विद्युतगृह चलाइरहेका छौं’ उनले भने, ‘नदीमा पानीको सहत बढ्दै गएमा भने बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’ 

उनले बढी भएको पानी गेट खोलेर नदीमै छोडिएको बताए । यो जलविद्युतगृहको गेट १० मिटर खोलेर  बढी भएको पानी नदीमा छोडिएको छ । अविरल वर्षा भइरहेकाले नदीमा पानीको बाहाब अझै बढ्ने देखिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले मनाङ्गको चामेमा पहिरो खसेर नदी थुनिएकाले पानीको सतहले खतराको संकेत पार गर्न सक्ने भन्दै सतर्क रहन सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit