काठमाडौँ । युनियन हाइड्रोपावर लिमिटेडले आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने र शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको आइतबार सम्पन्न विशेष साधारण सभाले यस्तो निर्णय गरेको हो ।
कम्पनीका अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गरी हालको ‘युनियन हाइड्रोपावर लिमिटे’ नाम परिवर्तन गरेर ‘युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेड’ कायम गर्ने निर्णय पारित भएको हो ।
त्यस्तै, विशेष साधारण सभाले आयु मोलुङ हाइड्रोपावर पब्लिक लिमिटेडद्वारा प्रवर्द्धित ‘आयु मोलुङ खोला हाइड्रोपावर आयोजना’मा लगानी गर्न हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय अनुसार हाल कायम जारी पुँजी ७ लाख ५० हजार कित्ताको १ः१ अनुपात (शतप्रतिशत) मा हकप्रद सेयर निष्कासन गरिने भएको हो ।
कम्पनीको प्रबन्धपत्रको दफा ६ मा नयाँ उद्देश्यहरू थप गर्ने र यी सम्पूर्ण कार्यहरू अगाडि बढाउन वर्तमान सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय समेत सभाले गरेको छ ।